कर्तव्य र जिम्मेवारीले थिचेपछि
खुलेर हाँस्न पनि बिर्सिएछु
सबै रमाउँदा रमाइदिने
सबै नाच्दा नाचीदिने
खै कस्तो पात्र भएछु ?
साथीसँगीमाझ हरवखत हुँने म
सदा रमाइलो गर्न मन पराउँने म
जिन्दगी यस्तै हो भनि सोच्ने म
बल्ल बुझ्दैछु , सोचे जस्तो नहुँदो रहेछ ।
कन्यादान दिनुभयो बाबा गोत्र सारियो
सिउदोमा सिन्दुर परेपछि थर फेरियो
घरमा सबै मेरो हो भनि धाक जमाउँने म
आज त्यसैलाई माइतीभन्दा लरबराए
यसो पछाडि फर्किएर हेर्दा त आफैं बिरानो भएछु ।
सम्झिएर हेर्दा ती दिन अचेल
आफैंले आफैंलाई चिमोट्न मन लाग्छ
केवल मानसपटलमा मात्र कैद छन् ती यादहरु
अहिलो जिम्मेवारीको भारी बोक्ने पात्र भएछु ।
सासुको लागि संस्कारी बुहारी बने
श्रीमानको लागि आदर्शवान नारी
सम्बन्धको भुमरीभित्र जेलिएर
आफैं गुमनाम भएछु ।
सबैको चित्त बुझाउदा – बुझाउदै
म यति गहिराइमा पुगेछु कि
खुलेर हाँस्न पनि बिर्सिएछु ।
आफ्नो लागि त समय नै छैन
म त केवल इसारामा चल्ने पात्र भएछु ।
निर्धक्क डटेर हिड्ने गर्थे
मनमा लागेका कुरा सहजै बोल्थे
यसो पछाडि फर्किएर हेर्दा
नसोचिकन बोल्ने बानी हराएछु ।
स्वतन्त्रता सबैलाई प्यारो हुने
सबैलाई सम्मान चाहिने
सम्बन्धमा खरा उत्रँदा- उत्रँदै
सबैलाई पूर्णता दिँदा- दिँदै
म त आफै अल्पविराम भएछु ।
सन्तानका लागि ममतामयी माता
घरको लागि मजबुत खम्बा
कुटुम्बको लागि मान गर्ने पात्र
सम्बन्धको जालोमा घेरिएर
म त सहनशीलता कि पात्र भएछु


