तिमी नभएकाे माैका छाेपेर
खुब हेप्न थालेकाे छ अचेल
काठमाडौंले मलाई
तीनपाने रक्सीभन्दा कडा
तिम्राे सम्झनाकाे मातले
दिउँसै टन्न मातेर
मनभरि लर्खराउँदै
त्याे अग्लाे धरहरा हेर्छु
स्वाभिमान र पवित्रताकाे प्रतीक
त्याे साेझाे स्तम्भ पनि
अहिले नै ग्वार्लम्म ढलेर किचुँलाझैँ गर्छ मलाई
रत्नपार्ककाे मान्छेकाे याे घुइँचाे
कति रमाइलो हुन्थ्याे
सँगै हिड्न नसकेर भीडमा
तिमीकहाँ म कता पुग्दा!
बस, ट्याक्सी ट्राफिक पुलिस
याे भीडकाे ठेलमठेल
यी फुटपाथका पसलहरू
रमाइलो मानेर हेर्दै
पार्क रेष्टुरेन्टकाे छतमा
सिमसिम पर्ने पानीलाई पनि राम्ररी छेक्न नसक्ने
बडेमानका रङ्गीन छातामुनि
अलिअलि भिजेकाे
हाम्राे पारदर्शी मनकाे हरेक अङ्ग चियाउदै
उत्तेजित बनेकाे तरुनी साँझमा
तिम्राे याैवन छचल्किने कविता पाठसँगै
सुरूप – सुरूप पिएकाे ताताे कफी
सबै- सबै भयानक अट्टास लगाउँदै
उडाइरहेछन् खिल्ली मेराे यतिखेर
बाँधेर राख्छ घण्टौं- घण्टासम्म
स्मृतिकाे फलामे साङ्लाले
बिना कसुर मलाई
भृकुटीमण्डपकाे चिया पसलले
कुनै वाहन चढेर
कहिँ जानू छैन मलाई र पनि
पुरानाे बसपार्क, सहिदगेट र काठमाडौं
मलले व्यर्थैमा अल्झाएर
फगत ठिङ्ग उभ्याइरहन्छ मलाई
म, अत्याधिक भयभीत हुन्छु
जब सपिङ गरिरहेका प्रत्येक मान्छेमा
तिम्रै अनुहार देखाइदिन्छ मलाई
खिचापाखरीले
काठमाडौंबाट आजित भएर
उदासीकाे अँध्यारो काेठामा
छामछाम- छुमछुम गर्दै खाेजिरहेछु
तिमीले छाडेर गएका शुन्यताहरू
साँच्चै भनेकाे
तिमीबिनाकाे काठमाडौं
काठमाडौं जस्ताे छैन अचेल।।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।