केटाकेटीहरू
लडीबुडी गरिरहेका छन्
माटोमा ।
केटाकेटीहरू
यतिबेला माटोमा
देशको नक्सा कोरिरहेका छन् ।
उनीहरू
कहिलेकाहीँ
देशको नक्सा
ठूलो बनाउँछन्
र, खुसी हुन्छन् ।
उनीहरू
कहिलेकाहीँ
देशको नक्सा
सानो तुल्याउँछन्
र, दु:खी हुन्छन् ।
उनीहरूले
यो सोचिरहेका छैनन् –
माटो नै नरहे यहाँ
कहाँ कोर्ने होला
देशको नक्सा ?


