फेरिएको छ सहर
नयनहरू नियाल्छन् सहरको सौन्दर्य
यो सहरको उपमा ‘धर्तीको स्वर्ग’
नयनका तृष्णाहरू
सौन्दर्यमा डुबेर कहाँ तृप्त हुन्थे र ?
जति सुन्दर भेटिन्छन् तृष्णाको इनार अझ गहिरो
बढ्दै जाँदा तृप्तिको अभिलाषा
“हेल्लो जाने हो.. ?” वाक्यको मधुर ध्वनि
सुरम्य स्वरलहरी गुञ्जिन्छन्
श्रव्य इन्द्रियको कुनाकन्दरा
नयनका पर्दामा चपक्क टाँसिन्छन्
स्वर्गकी परी/अप्सरा !
मन पग्लिन्छ सम्मोहकले
उष्णतामा हिउँचुलीको पग्लिँदो बरफ जस्तो
अनायास सम्हालिन्छ
अधैर्यपनको ब्रेक अनि स्टेरिङ्ग
क्षोभ छ अन्तर्हृदयभरि
कलियुगकी छद्मी अप्सराहरू प्रति
परीहरूले स्वर्ग मै लैजान्छन् भन्ने पनि छैन
अप्सराले चोबलिदिन सक्छे नर्कको अग्नि कुण्डमा।
– जिबी मगर
निस्दी गाउँपालिका- ६ अर्चले,पाल्पा


