पहिलोपटक
रजस्वला भएपछि
निकै छटपटाइरहेकी मेरी बैनीलाई
मैले नै तातोपानी तताएर दिएको छु
उसले लगाएको सुरुवाल रगताम्य भएपछि
उसकै खानामा गएर
अन्तर्वस्त्र र जामा ल्याइदिएको हुँ मैले
मेरी आमाले कपडाको टालो दिँदै गर्दा
पसल गएर प्याड किनेर
लगिदिएको थिए।
पहिलोपटक पाखा लाग्दा
दाजुभाइसँग देखिन हुँदैन भनेर
बाले छाउगोठ पठाएका थिए बैनीलाई
उसको छटपटी देखेर अतालिएको म
मेरी बैनी घरमै बस्छे भनेर
विद्रोह गर्न त सकिन बासँग
तर
रुषडांडे कान्छाको घर
पढ्न जाने बहाना बनाउँदै
सात दिनसम्म दुई कोष पर
अनकन्टार ठाउँमा रहेको छाउगोठमा
मैले पनि रात बिताए बैनीसँगै।
दाइ हुँ सानै थिएँ, लाज लाग्थ्यो
ब्राह्मण समुदायमा निवीत लगाइसकेपछि
रजस्वला भएकी युवतीलाई छुनु हुँदैन भन्थे
तर
बैनीको त्यो पीडा सहन सकिन म
अत्यधिक पीडा भएर छटपटाइरहेकी
मेरी बैनीको छाती मालिस गरिदिएको छु
रगताम्य भएका उसका फरिया र सुरुवाल
ब्रेसियर र अन्तर्वस्त्र मैले धोइदिएको छु।
बैनीको बिस्तरामा लागेको
रगतको टाटो पखाल्दै गर्दा
त्यहीँ छाउगोठको बाटो हुँदै
मकैमा पानी लगाएर फर्किंदै गरेकी
पल्लाघरे जैसीनी आमैले निकै हपार्थीन
संगै आएका सुवेदी बाले त
यसको मतीभ्रष्ट भयो गाउँबाटै
लखेट्नु भन्दै मतिचौरका मुखियालाई
खबर पनि पठाएका थिए ।
जैसीनी आमैले हपारेको
छ महिना पछि
आफ्नै छोरी पर सर्दा
छाउगोठ छाडेर फर्किएकी
जैसीनी आमैकी राइली छोरी
अर्को विहान मृत अवस्थामा भेटिएकी थिइन्
ग्वादि प्रहरी चौकीको अनुसन्धानले
सामुहिक बलत्कारका कारण
मृत्यु भएको उर्दी गाउँभरि फैलाएको थियो ।
अचेल
म उनको घर जाँदा
हरेक पटक रुन्छिन् र भन्छिन्
ए माइला! मैले तलाई
फक्कैमा गाली गरेछु त्यतिबेला
खुब मन दुखाइस होला है!
मेरी जमुनाको हत्यारा मै हुँ
मैले उसलाई एक्लै नछाडेको भए
उसलाई केही हुँदैन थियो
छोरा मैले प्राथना गरेको छु
तँ जस्तो दाइ
सबै बैनीले पाउन ।
म
आज पनि मेरी बैनीको
रजस्वला हुँदा
उसकै छेउमा हुन्छु
उसले आमालाई भन्दा पहिले मलाई सुनाउछे
उसको दुखाइ कम गर्न निम्स ल्याइदिएको छु
आज पनि उसको लागि प्याड किनेर फर्कदै छु।
– प्रभात न्यौपाने
कपिलवस्तु



