“चमेलीले यसपालि पनि छोरी पाई भने तैले अर्को बिहे गर्नुपर्छ बुझिस्, माहिला !”, आमाले आदेशात्मक शैलीमा भनिन् ।
“बच्चा जन्मँदा दुईपल्टै अप्रेसन गर्नुपऱ्यो। चमेली पनि कमजोर छे । बच्चा पुग्यो । बिहे गर्ने कुरो हुँदैन, आमा ।” माहिलाले सानो स्वरमा जवाफ दियो ।
आमाले जङ्गिदै भनिन्, “छोरो भएन भने वंशनाश हुन्छ । लाछी कुरो नगर माहिला ! मर्दका दुइटी स्वास्नी भएर केही बिग्रिदैन । चलेकै रीत हो । चमेलीले छोरो दिन सकिन र पो भनेकी । खुरूक्क अर्को बिहे गर् । छोरो जन्मिहाल्छ कि । नातिको मुख नदेखी मरियो भने हाम्रा लागि स्वर्गको ढोका पनि खुल्दैन ।”
माहिलाले आमालाई सम्झाउन खोज्यो, “छोरी मात्र पाउनुमा चमेलीको दोष छैन । मैले अर्को विवाह गर्दैमा छोरै हुन्छ भन्ने के ग्यारेन्टी ? डाक्टरले भनेको छोरा वा छोरी हुने महिलाले गर्दा होइन पुरूषले गर्दा हुन्छ रे ।” आमाले मुन्टो बटारिन् ।
माहिलाले आमाको हात समाउँदै भन्यो, “ल भन्नुहोस् त, आमा ! उल्टै चमेलीले मलाई तिमीले गर्दा छोरो भएन । अब म अर्को बिहे गर्छु भनी भने मैले के गर्नु ?”
( दृष्टि लघुकथा सङ्ग्रहमा सङ्ग्रहित लघुकथा ‘छोरी’ )
⁰⁰⁰⁰⁰
– रूद्र अधिकारि `निर्दोषी′
इटहरी- १९, सुनसरी
हाल: लन्डन, बेलायत
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।