कृतिकार: भूमिका गैरे तिमिल्सिना
कृति: नमस्ते
विधा: लघुकथा
समीक्षक: डा. शंकरप्रसाद गैरे
‘नमस्ते’ लघुकथा सङ्ग्रह भूमिका गैरे तिमिल्सिनाद्वारा लेखिएको हो । यसको प्रकाशन नमस्ते आधुनिक लघुकथा मञ्चले २०८१ वैशाखमा गरेको हो ।
पेसाले शिक्षक गैरेले स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी छन् । उनी शिक्षणका साथै समाजसेवा र साहित्य साधनामा समेत सक्रिय छन् ।
२०८० सालबाट लघुकथा लेखनमा लागेकी गैरेले छ महिनाको छोटो अवधिमा पाँच दर्जन लघुकथा लेखेर आफ्नो प्रतिभाको परिचय दिएकी छन् । लघुकथा लेखनको अध्ययन तथा अभ्यासमा सक्रियतापूर्वक लागेकी गैरेको लेखन निरन्तर परिष्कृत हुँदै गएको प्रतीत हुन्छ ।
गैरेको ‘नमस्ते’ लघुकथा सङ्ग्रह सैँतिसवटा लघुकथाहरू समाविष्ट छन् । सानासाना लघुकथाहरूमा विषयगत विविधता देखिन्छ । यिनका लघुकथाले घर परिवार, छरछिमेक, समाज, संगीसाथी, शिक्षा, विद्यार्थी, शिक्षक, अभिभावक, दाजुभाइ बीचको सम्बन्ध लगायतका विषयको उठान गरेको देखिन्छ ।
बालमनोविज्ञान, कुरीति, कुसंस्कार, सौतेलो सन्तानको समस्या, भूकम्प, कोरोनाजस्ता दैवीप्रकोप, सामाजिक सेवामा प्राप्त हुने सम्मान प्रतिष्ठा यिनका लघुकथामा उठाइएका विषय हुन् ।
स्वार्थी श्रीमानले श्रीमतीमाथि गर्ने छल र वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमतीको तडकभडक जस्ता विषयलाई अत्यन्त जीवन्त रूपमा यसमा प्रस्तुत गरिएको छ ।
मित्रका मित्र प्रतिका इमानदारी र दायित्व तथा मित्रता माथि गर्ने धोका आफन्तले गर्ने अपमानको पीडा, छोराछोरीमाथि हुने भेदभाव, क्षमताबिनाको जिम्मेवारीले गर्दा हुने समस्या, भावुकतामा गरिएको निर्णयले गर्दा हुने पछुतो गैरेका लघुकथाका विषय हुन् ।
पदीय रवाफ, भनसुन गर्ने प्रवृत्ति र योग्यताको अवमूल्यन, यथार्थ लेख्ने पत्रकारमाथि हुने दुर्व्यवहार, नेताहरूका चुनावी भाषण, कर्म र भाग्यमाथिको दृष्टिकोण, शिक्षकको दायित्व, मेडिकल क्षेत्रमा देखिएको लापरबाही, दाइजो प्रथाको बिरोध भूमिका गैरेका लघुकथाको महत्त्वपूर्ण कथ्य हो ।
व्यङ्ग्य पक्ष कम र सरल रैखिक कथ्यपद्धतिलाई अवलम्बन गरिएका ‘नमस्ते’ लघुकथाका आधारमा गैरे सम्भावना बोकेकी लघुकथाकार हुन्, जो निरन्तर साधनारत छन् भन्ने देखिन्छ ।
उनीबाट भोलिका दिनमा अझ शक्तिशाली लघुकथाको अपेक्षा गर्न सकिन्छ ।



