गरुराहा
स्रष्टा परिचय:
वि.सं. २०३० असारमा जहडा, उदयपुरमा माता भगवती र पिता विष्णुप्रसाद आचार्यका सुपुत्रका रूपमा जन्मिएका नन्दलाल आचार्य नेपाली साहित्यका एक स्थापित स्रष्टा हुन् । हाल बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुरमा बसोबास गर्दै आएका उनले सानैदेखि नेपाली साहित्य लेखनमा रुचि राख्दै वि.सं. २०५३/५४ देखि विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू प्रकाशन गर्दै आएका छन् ।
साहित्यमा निरन्तर सक्रिय आचार्य नेपाली भाषाका प्रायः सबै विधामा कलम चलाउँछन् । उनका नाटक, समालोचना, निबन्ध, उपन्यास, लघुकथा र कथा विधाका कृतिहरू प्रकाशित छन् । उनले नेपाली साहित्यमा पुर्याएको योगदानका लागि एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।
हाल उनी विभिन्न साहित्यिक पत्रपत्रिका तथा संघ-संस्थामा आबद्ध रही नेपाली साहित्यको सेवामा समर्पित छन् । उनका महत्वपूर्ण कृतिमध्ये “गरुराहा” उपन्यास विशेष रूपमा चर्चित छ, जसलाई जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरले वि.सं. २०७६ मा प्रकाशित गरेको थियो । सो उपन्यासलाई “हाम्रो कथाघर डट कम” अनलाइन पत्रिकाले डिजिटल रूपमा पुनः प्रकाशन गरेको छ ।
अध्याय: १२
ज्योति! आज म जीवनकै सर्वाधिक दुःखद क्षणबारे अवगत गराउँदै छु । खाँदै नखाएको विषले रन्थनिएका एकाध प्रसङ्गहरू कोट्याउँदै छु । यस काण्डले नै मेरो हिँड्ने मार्ग बदलिदिएको आभास गराउँदै छु ।
गरुराहाको पश्चिमतिर पर्ने आँपको बगैँचामा वरपरका गाउँबस्तीका हजारभन्दा बढी मानिस जम्मा भएका थिए । तीन जना प्रहरीका साथमा म पनि त्यतै लगिँदै थिएँ ।
टाढाबाट नियाल्दा मेला नै हो कि भन्ने भान हुन्थ्यो । मान्छेको आवतजावत बाक्लै थियो । कुरै नबुझाई म त्यहाँ पुर्याइएँ र एक कुनामा विपरीत दिशामा फर्काएर राखिएँ । अनुमति नलिई हेर्ने, फर्कने तथा बोल्ने अधिकार छैन भनेर मलाई पाठ घोकाइएको थियो । खुलेर मसँग आत्मीयता प्रकट गर्ने कोही थिएन । त्यस बेला त्यहाँको माहोल मविरोधी बन्दै थियो ।
गोलो घेरामा मानिसहरू बसेका थिए । एक छेउमा मालती घुम्टो ओढेर, शिर झुकाएर बसेकी थिइन् । उनको दायाँतिर फुपू बसेकी थिइन् । पछाडि आमा र एक नचिनेकी, मालतीकै उमेरकी युवती थिइन् । बायाँतिर अन्य गाउँले आइमाईहरू थिए । तिनीहरूका वरपर साना-साना बालबच्चा थिए ।
पञ्चहरू अलिक परतिर थिए । पञ्चहरूकै नजिक मालतीका बुबा गम्भीर मुद्रामा उपस्थित थिए । अन्य गोलाकार आकृतिमा कोही बसेका थिए, कोही खडा थिए । कोही भने चौरमा यत्रतत्र ओहोरदोहोर गरिरहेका थिए ।
कोही झुन्ड-झुन्ड बनाएर कुराकानी गरिरहेका थिए । मालतीका वरपरका नारीहरू पनि एकअर्कामा कानेखुसी गर्दै थिए । फुपू चाहिँ बेलाबेलामा मालतीको कानमा मुख लगाइरहन्थिन् । गरुराहावासीहरू भने गम्भीर थिए । ढेडुझुलावासीहरूमा उल्लास थियो । टाठाबाठाहरू र दलालहरू फुर्तीफार्ती गर्थे ।
मलाई मालतीको ठीक सम्मुख तर उल्टो फर्काएर उभ्याइयो । मेरो पिठ्युँ मात्र उपस्थितहरूले देख्थे । झुकेको शिर र ओढेको घुम्टोले उनको अनुहार पढ्न दिइरहेको थिएन । एकपटक म स्वयं झुकेँ र उनको अनुहार पढ्न खोजेँ । हत्त न पत्त फुपूले अघि सरेर छेकिन् । म झन् सशङ्कित भएँ ।
स्पष्ट देख्न त पाइनँ, तर मलाई लाग्यो– उनको मुख कुनै कपडा वा टेपले टालिएको छ, पछाडि हात बाँधिएको छ । प्रतिकूल व्यवहार देखाए पाता कसेर सुलीमा चढाउने धम्की दिइएको छ । अझ जिद्दी गरे मेरो पनि ज्यान तलमाथि गरिदिने चेतावनी दिइएको छ ।
वरपरका वृक्षहरू समेत निरीह भएर उभिएका छन् । दुई प्राणीको जीवनमा खेलवाड भइरहेको रमिता हेरिरहेका छन् । नजिकैको बयरको पानपाते टोड्को पनि रित्तो-रित्तो छ । हाम्रा दुःख-सुखको इतिवृत्त पल्टाउन भुलेको छ ।
घाम तातिँदै छ । छहारीको खोजी गर्नुपर्ने अवस्था निम्त्याइँदै छ । हावाले पनि बहन बन्द गरिदिएको छ । मानौँ, यो पनि टक्क उभिएर पापिष्ट पञ्चायतको पञ्चायती सुन्न तयार छ र त्यो सन्देश संसारका कुनाकाप्चामा पुर्याएर खबरदारी गर्न आतुर छ ।
पञ्चका सहयोगी उठे र फलाक्न थाले– “न्याय-अन्यायमा परेका, फैसला गर्न र सुन्न तयार रहेका सम्पूर्ण महानुभावहरू उपस्थित भइसक्नुभएको छ । सरकारको उपस्थितिका लागि तीन सुरक्षाकर्मी र आरोपित राजदेवको समेत आगमन भइसकेको छ । गरुराहा र ढेडुझुला दुवै गाउँ यहीँ खनिएका छन् । त्यसैले छलफलको कारबाही अघि बढोस् र निष्कर्ष निकाली न्यायमा रहेकालाई राहत र अन्याय गर्नेलाई उचित दण्ड दिइयोस् भन्ने जनआकाङ्क्षा रहेको छ ।”
“उसो भए खाट्टी कुरा बुझौँ । त्यसपछि रहलपहल कुरामा छलफल गर्नुपर्ने भए गरौँला । भन मालती, तिमीहरूले कसरी विवाह गर्यौ ?” श्रेष्ठ पञ्चको प्रश्नले सबै स्तब्ध भए ।
मालतीको आवाज सुन्न सबै आतुर थिए । जवाफ आइरहेको थिएन । पञ्चको प्रश्नको पुनरावृत्तिसँगै मालतीको मुख खुलेको आशय सर्वसाधारणले बुझे ।
“परिवारका सम्पूर्ण सदस्यहरू साँझमा ‘सम्पूर्ण रामायण’ हेर्न व्यस्त भएको समयमा म कलतिर निस्केकी थिएँ । त्यसै समय राजदेव देखा पर्यो । परतिर मोटरबाइकमा प्रकाश खडा थियो । राजदेवले मेरो हात पक्रियो, मुख बन्द गरिदियो र बाइकमा लगेर बसायो । प्रकाशले विराटनगर पुर्याई कैद गरेर राख्यो । केही दिनपछि राजदेव देखा पर्यो र ललाई-फकाई गरी विवाह गर्यो । जोगवनीको बाटो भएर मलाई बिक्री गर्ने योजना बन्दै थियो । यता मतियार प्रकाशको अकस्मात् निधन भएकाले उसले मलाई गाउँमा ल्याएको हो । साथीको निधनले ऊ विक्षिप्त मनोदशामा निकै समय रह्यो । उसले नरम व्यवहार गरेर मेरो मनको कटुतालाई हटाउने काम समेत गर्यो । त्यसैले मैले भ्रमवश उसकी पत्नी बन्ने सोच बनाएकी थिएँ । अहिले म पूर्णतः होसमा आएकी छु । यो राजदेव एक नम्बरको दलाल हो । यसले मेरो इज्जत मात्र डुबाएन, ५० हजार बराबरका मेरा गरगहना समेत बेचेर खायो । यस्ता अपराधीलाई समाजले कडाभन्दा कडा सजाय दिएर मेरो जलिरहेको मनमा मलमपट्टीको काम गरोस् । समाजसमक्ष मेरो यही प्रार्थना छ । म यहाँभन्दा एक शब्द पनि बोल्दिनँ । कसैको सवालको जवाफ दिनु उचित पनि ठान्दिनँ ।”
म उभिएको धर्ती फनफनी घुम्न थाल्यो । मेरो मुटुले ठाउँ छोड्यो । मेरा दायाँ-बायाँ बसेका प्रहरी एक शब्द पनि बोल्न मिल्दैन भनिरहेका थिए । मालतीलाई सोध्नका लागि थरीथरीका प्रश्नहरूको ओइरो मनमा लागेको थियो ।
मुन्टो फर्काउन खोजे खुट्टा कुल्चिदिन्थे । मुख खोल्न खोजे डन्डा कोचिदिन्थे । म असाध्यै दयनीय पात्रका रूपमा उभिएको थिएँ । हत्कडीले बाँधिएका मेरा हात मुक्त थिएनन्, बोलीमा समेत लगाम लाग्यो ।
मेरो समर्थनमा कतैबाट एक शब्द पनि चुहिएन । ठूला भनाउँदा पञ्चसमेत एकोहोरो कुरा सुनेर चुपचाप थिए । गरुराहाका मान्छे कालानिला थिए । बोलक्कडहरूको मुखमा लड्डु कोचिदिएको हुँदो हो । मेरो पक्षमा बोलून् म भन्दिनथेँ, सत्यको पक्षमा विदुर भएर बोलून् भन्ने चाहन्थेँ । सबैतिरबाट प्रतिकूलता मात्र अनुभव भइरहेको थियो ।
अन्तमा श्रेष्ठ पञ्चको अन्तिम फैसला सुनाउने समय आयो– “सबैका कुरा सुनेपछि निर्णयतिर जानै पर्यो । निष्कर्षलाई कार्यान्वयनतिर लानै पर्यो । पञ्चको निर्णय सुन्न र मान्न सबै जना तयार हुनुहुन्छ, हैन ?” सबैजसोले सकारात्मक जवाफ फर्काए ।
पूर्णरूपेण मलाई नै दोषी बनाइँदै थियो । मलाई एक शब्द पनि बोल्न दिइएको थिएन । आफ्नो सफाइ पेस गर्नबाट वञ्चित गरिएको थियो । किनभने मालतीको मुखबाट बोलिएको आवाज उनकै हो भन्ने भ्रम सबैमा थियो । त्यो आवाज उनका पछाडि बसेकी युवतीको हो भन्ने कुरामा मलाई भने शङ्का थिएन । त्यस रटन्ते बोलीले अरूलाई भ्रममा राख्न सक्थ्यो, तर मलाई किमार्थ राख्न सक्दैनथ्यो ।
यहाँ संस्कृति र संस्कारका नाममा गरिने कर्मको टाठाबाठाले दुरुपयोग गरेको कुरा सोझासीधाले बुझ्ने कुरै भएन । नारीहरूलाई ठूलाबडाका सामुन्ने मन खोलेर कुरा राख्ने र बहसमा सहभागी हुने अवसर कमैलाई हुन्छ । सहरबजारतिर चेतनाको विकासले धेरै परिवर्तन आए पनि गाउँघरमा अझै नारीको पीडा उस्तै छ । फेरि पञ्चायतजस्तो औपचारिक थलोमा आफ्ना कुरा माथि पार्न नारी ठूलो स्वरले बोल्नु अपराध नै ठानिन्छ । त्यसकै आडमा नयाँ युवतीलाई प्रयोग गरिएको हो भन्ने बुझ्न मलाई समय लाग्दै लागेन ।
त्यस बेला म सोच्दो भएँ– कानुनले नै नारीको गुनासोलाई बढी प्राथमिकता दिएको छ । नारीले चाहे धेरै कुरा हुने, पुरुषले चाहँदैमा ती कुरा भइहाल्न नसक्ने केही विशेष व्यवस्था नारीका पक्षमा छन् । समाजले पनि नारीका पीरमर्कालाई एकोहोरो तवरले सुनेर गल्ती त गरेन ? आरोपीलाई सफाइ पेस गर्ने मौका नदिनु लाटाका लागि पनि चित्तबुझ्दो कुरा हुँदै होइन । नारी हुँदैमा दोहोरो कुरा बोल्नै हुँदैन भन्ने पनि छैन । अझ मालती त पूर्णतः मैथिल परम्परा र संस्कारकी नारी पनि होइनन् । उनी जन्मेको भूमि अर्कै छ, बाल्यकाल बिताएको भूमि मात्र मधेस हो । अझ वयस्क हुँदै गएपछि राजधानीको आधुनिक परिपाटीको सङ्गत भेटेकी नारी हुन् । उनले त बहसमा भाग लिन मिल्थ्यो । तर, त्यसलाई पचाउने समाज नै हो । समाजले नपचाउने कुरा गरेर पञ्चायतमा हाँसीमजाकको पात्र बन्नु बुद्धिमानी पनि हुन्नथ्यो ।
श्रेष्ठ पञ्च निष्कर्ष सुनाउन तम्तयार थिए । एउटा कागजको लोस्टो हेर्दै सर्वसाधारण सबैले बुझून् भनेर मैथिली भाषामै आफ्नो कर्कश आवाज घन्काए–
“उपस्थित पञ्च भद्रभलादमीगण! एहि गाममे प्रचलित नीति-नियमके दायरामे रही कऽ हम सभने निष्कर्ष निकालने छी । निष्कर्ष ई अछि–
– राजदेव मालतीकें अपहरण कऽ कऽ विआहक नाटक रचि कऽ बेचबाक जोगाड़ कएलक ।
– राजदेव ओकरा बन्दी बना कऽ यौन सम्बन्ध बनेलक, तैं एक महिनाक भीतर क्षतिपूर्ति स्वरूप राजदेवक पिताद्वारा रु. १ लाख मालतीक पिताकें देबए पड़त ।
– मालतीक गरगहना बेचि कऽ खा लेलक, तैं ओहि एवजमे रु. ७५ हजार एक महिनाक भीतर मालतीक परिवारकें देबए पड़त ।
– राजदेवक मतियार प्रकाशक निधन भऽ गेलाक कारणें ओकर सम्पूर्ण अपराध क्षमा कएल गेल ।
– सभ गोटेकें दुःख दऽ कऽ गामघरक शान्ति भङ्ग करबाक सङ्गहि मालती आ ओकर परिवारक इज्जत नष्ट करबाक काज कएल गेल अछि, तैं आइन्दा एहेन कर्म नहि करब कहि कऽ माफी माङ्गैत राजदेवकें स्वविवेकसँ १०० बेर कान पकड़ि कऽ उठबैस करए पड़त ।
– निर्धारित समयमे कहल गेल रकम नहि देला पर सबटा टाका ओकर परिवारक चलअचल सम्पतिसँ समाजेद्वारा असुलउपर कएल जाएत ।”
(उपस्थित पञ्च भद्रभलादमीहरू! यस गाउँमा प्रचलित नीति-नियमका दायरामा रही हामीले निष्कर्ष निकालेका छौँ । निष्कर्ष यस्तो छ–
– राजदेवले मालतीलाई अपहरण गरी विवाहको नाटक रचेर बेच्न तयार पारेको ।
– राजदेवले बन्दी बनाएर करणी गरेको हुँदा एक महिनाभित्र क्षतिपूर्तिस्वरूप राजदेवका पिताले रु. १ लाख मालतीका पितालाई बुझाउनुपर्ने ।
– मालतीको गरगहना बेचेर खाएबापत रु. ७५ हजार एक महिनाभित्र मालतीको परिवारलाई बुझाउनुपर्ने ।
– राजदेवको मतियार प्रकाशको निधन भइसकेकाले उसको सम्पूर्ण अपराध क्षमा गरिएको ।
– सबैलाई दुःख दिएर गाउँघरको शान्ति भङ्ग गर्नुका साथै मालती र उनको परिवारको इज्जत डगाउने काम गरेको हुँदा आइन्दा त्यस्तो कर्म गर्ने छैन भनी माफी माग्दै राजदेवले स्वविवेकले १०० पटक कान समातेर उठबस गर्नुपर्ने ।
– तोकिएको समयमा तोकिएको रकम नबुझाएमा निजको परिवारको चलअचल सम्पत्तिबाट समाजले नै असुलउपर गरिदिने ।)
निष्कर्षको घोषणासँगै तालीको गडगडाहट सुनियो । प्रहरीले मलाई उठबस गर्न निर्देश गर्यो । मैले मालतीको मुहार हेरेर मात्र उठबस गर्ने निर्णय सुनाउन भ्याएँ ।
प्रहरीको आज्ञा शिरोधार्य नगरेको भन्दै मेरो शरीरमा बुट बजार्न थालियो । दोषीलाई जस्तोसुकै दण्ड दिँदा पनि स्वीकार्य हुने कथन अघि सारियो । म दर्दले छटपटाउन थालेँ ।
प्रहरीले मलाई हकारेको, पिटेको र म चिच्याएको दर्दनाक आवाजले मालतीको हृदयलाई घोचेछ कि क्या हो, उनी मतिर फर्किन् । तर, म फर्कन सकिनँ । उनको मुहार हेर्ने सौभाग्य त्यत्तिकै गुमाएँ । उनलाई आइमाईहरूको झुन्डले बेहुलीलाई झैँ डोर्याएर लग्यो । खै, कताबाट हो कुन्नि मालतीको स्वर सुनियो– “राजदेव! मलाई माफ गर! म तिम्रो अपराधी हुँ… ।”
कसैले मुख बन्द गरिदिएको हुनुपर्छ, भन्दाभन्दै बोली बन्द भयो । यत्ति बोली नै मेरा लागि अमृतवाणी थियो । तर, त्यो वाणीलाई पूरा हुन दिने र सुनिदिने कोही भद्रभलादमी त्यहाँ उपस्थित थिएन । सबका सब एकै घ्याम्पाभित्र डुबिसकेका थिए । उनीहरूको मानवता एकै चिहान भइसकेको थियो । कालो इतिहासको ठेली तयार पार्दै कालै कानुन र कालै शासन चलाउन मख्ख र मस्त थिए ।
मेरा पिताजीले सहन गर्न सक्नुभएनछ । छोरालाई दिने सजाय म भोग्छु, पिट्न बन्द गर भन्ने आशयले भन्न थाल्नुभयो– “हमर बेटाके सजाय नइँ दिअ । ओकर स्थानमे हम जेल जाइलऽ तयार छी । हम ओकर दुर्दशा नइँ देखऽ सकैछी । हम उठबैस करैलऽ तयार छी ।”
उहाँ उठबस गर्न थाल्नुभयो ।
हत्त न पत्त उहाँलाई रोकेर सकिनसकी आफैँले सजाय पूरा गरेँ । प्रहरीले हिँड्न सङ्केत गरिरह्यो ।
आफ्नो शरीरमा पुर्खाको रगत दगुरिरहेकाले एक दिन विजयी अवश्य हुन्छु भन्दै पिताजीलाई चिन्ता नगर्न सम्झाएँ– “बाबु, हम अहाँके बेटा छी । दारासिंहके बेटा छी । हमर शरीरमे अहाँके जवानीके खून दौड रहल छै । हम एहि अन्यायके पर्दाफास करबे करब । अहाँ चिन्ता नइँ करू । हमरा अंशसे जे हर्जाना कहने छै, से चुका दिऔ । पाछाँ हम एक-एक टका असुल करब । हमर चिन्ता एक्को रत्ती नइँ करू । अन्याय करैक सीमा होइछै । जे एहि सीमाकें पार करैछै, ओ सब चकनाचूर होइछै । एक दिन हमर जित अवश्य हेतै ।”
पिताजी मतिर लम्कन थाल्नुभयो । म डराइरहेको थिएँ । सबैका सामु कतै दारासिंहको रामधुलाई त पाउँदिनँ! कुलपरम्परामा कसैले नगरेको उपद्रो गरेको झोँकमा हकारपकार त भेट्दिनँ ? मेरै कारण किसनपुर र ढेडुझुलावालाले उहाँको ढाडमा पनि भाटा बर्साएका थिए । त्यो दर्द सेलाउन नपाउँदै प्रहरी थानामा गालीबेइज्जतीका साथ थुनिनुको पीडा अर्कै हुँदो हो ।
मुद्दा मिलाएर छोराबुहारी फिर्ता ल्याइदिन्छु भन्ने पञ्चभलादमीलाई खाई-नखाई साँचेर राखेको पैसा पटक-पटक बुझाउनुपर्दाको पिरलो अर्कै होला । अर्कातिर भर्खरै तोकिएको त्यत्रो आर्थिक दण्ड उनैले तिर्नुपर्दा कत्ति रिस उठेको होला, त्यसको हिसाब नै गर्न सकिन्न । म शारीरिकभन्दा पनि नैतिक आधारमा भयभीत भएँ ।
उहाँ मेरो नजिक आइपुग्नुभयो । ठिङ्ग उभिएर एक क्षण नियाल्नुभयो । प्रसन्नचित्त बन्नुभयो । अनि, मेरो टाउकामा हात राख्नुभयो । बच्चालाई जस्तो गाला सुम्सुम्याउनुभयो । आफ्नो बुढ्यौली पाखुरासँग मेरो पाखुरा दाँज्नुभयो र मेरो निधारमा म्वाइँ खाएर मलाई बिदा गर्नुभयो ।
उहाँको स्नेहपूर्ण स्पर्शले मलाई अपार आनन्दानुभूति दिलायो । मेरो शरीरमा शक्तिशाली ऊर्जा सञ्चार भयो । शरीरको सम्पूर्ण दर्द हराएर गयो । युद्ध जितेर फर्किएको सैनिकझैँ छाती गर्विलो पारेर म प्रहरीका साथ थानातिर लम्किएँ ।
प्रहरीहरूले मेरो दुर्दशा राम्ररी नै नियालेका थिए । उनीहरू आफ्नै भाका र लयमा कुरा गर्दै थिए–
“एउटा गाउँले ठिटो पैसाको खेलमा नराम्ररी फस्यो, बिचरा! पैसा देखेपछि महादेवका तीन नेत्र पनि बल्छन् भनेको सही रहेछ । आफूलाई कानुनको संरक्षक र शान्ति-सुव्यवस्थाको हिमायती भनेर ढोल पिट्ने हाम्रो जङ्गे हाकिमका आँखा पनि पैसा देखेपछि बलेका छन् । खान पनि कति सकेको हो कुन्नि ? मात्रै एक लाख नगद, दुईवटा खसी र चार घ्याम्पा रक्सी त लिएको रहेछ । अचेल त खुब दसैँ आएको छ । नफाल्नु इज्जत फाल्नु परेपछि गुन्द्रुकको झोलमा फालिन्न भन्दै दलाली गरेर त्यति कुरा असुल गरेको हो । केटीको बाउ पनि बाठो रहेछ । सबै पैसा केटैबाट असुलउपर गरिहाल्यो ।”
एउटा प्रहरीले नयाँ कुरा गर्यो– “केही दिन त्यो चिन्ता गर्ली, भागेर यसकहाँ आउने कोसिस गर्ली । यो बिचरा हाम्रो पञ्जाबाट छुट्ने होइन । बाबुले काठमाडौँ पुर्याउँछ । केही दिन सुकसुक गर्ली, विस्तारै बिर्संदै जान्छे । ल्याङ्गफ्याङ जिन्दगीवाला केटाहरू जति पनि पाइन्छन्, एउटासँग जोडी बाँधिदिन्छ, लन्ठैसाफ!”
अर्को अघि सर्यो– “हैन, हेर्दा त यो केटो पनि हिरोभन्दा कम छैन । त्यो पनि राम्री रैछ । जोडी त मिलेकै हो । झन्डै साढे दुई महिना सँगै बसेका रहेछन् । हाम्रो पहाडतिर भए त छुटाउने कुरा सोच्दा पनि सोच्दैनथे । साह्रै रिस उठे मरी भनेर काजक्रिया गर्थे । खै, यहाँ त के हो हो! कति पुरानो परम्परा पक्रेर हिँडेका हुन् कुन्नि ? म त छक्क परेको छु ।”
अर्को व्यङ्ग्यपूर्ण स्वर लिएर अघि सर्यो– “यो केही होइन, इगो हो इगो! भोजभतेर खान, अर्कालाई बर्बाद पार्न, आफ्नो पछिपछि दगुरोस् भनेर उकास्ने र भरोसा दिएजस्तो गरेर सिध्याउनेहरूको यहाँ बाक्लो झुन्ड छ । तिनकै पछि लागेर यी घटनाहरू विकसित भएका हुन् । कमजोरी कहाँ छ, कसरी लुट्न पाइन्छ, कसरी सर्वसाधारणलाई उल्लु बनाएर स्वार्थको घैँटो भर्न सकिन्छ– त्यसकै चिन्ता र चिन्तन गर्ने महान् समाजसेवीहरूको कमी कहीँ पनि छैन ।”
ज्योति! पीडाका कुरा कति भनूँ । कुरा गर्दागर्दै वरपीपलको बिसौनी पनि आयो । मलाई एकातिर बस्न लगाएर प्रहरीहरू सुस्ताउन थाले । शीतलमा बाहिरी शरीरको पोलाइ कम भए पनि म भित्रभित्रै जलिरहेको थिएँ ।
∎∎∎∎∎
क्रमशः


