Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: घृणा

असार १९, २०८२

छोटो कथा: अँध्यारोतर्फको यात्रा

असार १८, २०८२

निबन्ध: ॐ को प्रभावबारे धर्म र विज्ञान के भन्छ?

असार १८, २०८२

कथा: घरको मृत्यु

असार १७, २०८२

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: उठ तिलोत्तमा !

कथा: उठ तिलोत्तमा !

आख्यान - कथा
डा. शशी थापा पण्डितडा. शशी थापा पण्डितमाघ ७, २०८१878 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

आँखाबाट बलिन्द्र धारा आँसु चुहाइरहेकी, सम्पूर्ण कपाल यत्रतत्र छरिएर मुख छोपिएकी, मुर्दा भएको लोग्नेको खुट्टामुनि मुन्टो गाडेर अलापविलाप गरेर रोहिरहेकी तिलोत्तमालाई हातले तान्दै उठाउन कोसिस गरिरहेछ माधव ।

पिढीको उत्तर छेउको फलैंचामा बसेको रवीन्द्रनाथ भनिरहेका छन्, ‘जसको छेउमा तिमी बसेकी छौ तिलोत्तमा, त्यो निर्जीव छ । अब ऊ कहित्यै उठ्न सक्दैन ।… जसले तिम्रो हात समात्दै छ, जसले तिमीसँग प्रेम गर्छु भनिरहेको छ, जाऊ ऊसँग जीवन बिताऊ । पति-पत्नीको सम्बन्ध गाँस ! तिमी मरेकी छैनौ । जिउँदै छौ ।… जिउँदाहरू बाँच्नै पर्छ । मरेकाहरूसँगै जिउन सकिँदैन । त्यसैले पत्नीधर्म निभाऊ माधवसँग ! उसलाई पनि पतिधर्म निभाउन देऊ !’

‘उठ तिलोत्तमा, उठ !’ रवीन्द्रनाथ उसलाई उठाउने आग्रहमा यी शब्दहरू दोहोऱ्याइरहन्छ ।

अर्कोतिर, घोप्टिरहेकी तिलोत्तमालाई उठाउने प्रयासमा टुक्रुक्क उसैको छेउमा बसेर माधव आफ्ना दुवै हातले उसको दाहिने हात समाउँछ र मायालु बोलीमा भन्छ- उठ तिलोत्तमा, म तिमीलाई अँगाल्छु । तिम्रो जीवन सकिएको छैन । तिमी बाँच्नुपर्छ । तिम्रो यो एक्लो जीवनमा म तयार छु तिम्रो बाँकी जीवनको सहयात्री बन्न । के, अँगाल्न चाहँदैनौ तिमी मलाई तिलोत्तमा ?

तिलोत्तमालाई माया दिनुभन्दा पनि बढी मात्रामा यो समय उसबाट माया पाउन याचना गरिरहेजस्तो देखिन्छ माधव ।

आफ्नो शिर उठाउँदै अनुहारलाई छोपिरहेका कपालभित्रबाट आँसु चुहिरहेका राता-राता आँखाले माधवलाई पुलुक्क हेर्छे तिलोत्तमा, भाव शून्य मुद्रामा । कुनै शब्द बोल्दिन ऊ । पुनः मृत लोग्नेको लडिरहेको शरीरलाई नै नियाल्न थाल्छे । रगतको धाराले मुखै नचिनिने भएको लोग्नेको मुखमा गएर टक्क अडिन्छन् उसका आँखाहरू ।

उसको दिमागमा उम्लिन थाल्छन् यादका तरङ्गहरू । एकपछि अर्को गर्दै लोग्नेसँग बिताएका ती पलहरू निस्किन थाल्छन् तछाड्मछाड् गर्दै । रोक्न पनि चाहँदिन ऊ, उब्जिएका ती तरङ्गहरूलाई । बिना लगामको घोडाजस्तो फुकुवा छोडिदिन्छे तिनलाई र सम्झनारूपी टुंडिखेलमा छोडिदिन्छे उसै गरी सम्झनामा परेड खेल्नलाई ।

लोग्नेले गरेका बाचाहरू सम्झिन थाल्छे । उनले पोखाएका मायाहरू सम्झिन थाल्छे ।

उसको विवाह भएको सात वर्ष बितिसकेको थियो । तर सन्तान भने भएको थिएन । उसले लोग्नेलाई ‘अर्की विवाह गर’ नभनेकी पनि होइन । र, उदार दिलका उसका लोग्नेले पनि उसलाई ‘तिम्रो मनपरेको कोही पुरुष छ भने उससंगको सम्भोगबाट बच्चा जन्माऊ नभनेका पनि होइनन् । उसकी सानीआमाकी छोरी रूपमती र उसका साथीहरू कमला, कुन्ती, माद्री, सत्यवतीलगायत थुप्रैले नियोग गरी अरू पुरुषसँग यो चलन अपनाएका पनि थिए । अझ कुन्तीले र सत्यवतीले त विवाहअघि नै सूर्यसँग र परासरऋषिसँग नियोग गरी कर्ण र व्यासलाई जन्माएका थिए । खोई, कसैले औंला उठाएनन् उनीहरूलाई । अझ पटरानी पो बन्न पाए त यी दुवैले ।

आज लोग्ने मरेको छ मेरो । हो, चाहिने रहेछ सन्तान, चाहे छोरा होस् या छोरी । ऊ सोच्छे, मलाई छोराको मोह छैन । मात्र सन्तान साथमा चाहिएको छ । हो, आज सन्तान साथमा भएको भए शायद म एक्लो हुने थिइनँ ।

पुरुषलाई मृत्युपछिको स्वर्गलोकमा पुऱ्याउनका लागि अनि वंश अघि बढाउन अरूको नासो अँगाल्ने यो समाज, लोग्नेलाई चाहे मनपरोस् या मननपरोस्, छोरा जन्माउनका लागि अरू पुरुषसँग सहवास गर्न पठाउनै पर्ने अनि परपुरुषसँग रमाएकी श्रीमती अँगाल्नै पर्ने । त्यति मात्र होइन, अरूको वीर्यलाई आफ्नो मानेर उसलाई सम्पत्तिको मालिक बनाउनुपर्ने । विडम्बना !

श्रीमतीले पनि आफ्नो श्रीमानबाहेक अरू पुरुष मनपरोस् कि नपरोस्, छोराको आमा हुनको लागि परपुरुषलाई अँगाल्नै पर्ने । हुन त एउटै श्रीमान् भनेर उसैको सत् अँगालेर जिन्दगीभर उसैको नाममा सेतो पहिरनमा बाँधिनु नपर्ने । तर आफ्नो कोख बाँझो नभएर पनि बाँझी आइमाईको रूपमा नामर्द लोग्नेको सजाय आफूले भोग्नुपर्ने । आफ्नो कोख मलिलो भएमा बच्चा जन्माएर आवाद गरी मातृत्वको अधिकार उपभोग गर्न पाइने । अनि विधवाको नाममा जवानी उमेरमै शारीरिक र मानसिक चाहना रोक्नु नपर्ने । के भन्ने यसलाई ? महिलाको अधिकार या दण्ड ? ऊ एकतमासले यी कुराहरू सोच्छे । तर आफूमा नै प्रष्ट हुन सक्दिन ।

उसका आँखाबाट बर्सिन छाडेको छैन साउने भेल । आँखाबाट निस्कँदै दुई गालाको बीचबाट बग्दै चिउँडोबाट झरेका आँसुका थोपाहरू उसको हात समाइरहेको माधवको हातमाथि तप्प… तप्प… खसिरहेका छन् ।

आफ्नो लोग्नेबाट बच्चा नपाएपछि वंश धान्नकै लागि र लोग्ने मरेपछि सद्गति प्राप्त हुन्छ भनेर छोरा जन्माउनकै लागि उसकी सानीआमाकी छोरी रूपमतीले लोग्नेको मृत्युपछि ससुराको आग्रहमा जेठाजु पर्ने सगोत्रीसँगको संसर्गबाट बच्चा जन्माएकी थिई । एक त, त्यो केटा उसलाई मननपर्ने, अर्को आफ्नै साख्य दिदीकै श्रीमान् थियो ऊ । त्यही दिदीको सौता हुनु कम्ती गाह्रो लागेको थिएन । तैपनि समाजको बुज्रुकहरूले भनेको आज्ञा पालना गर्नै पऱ्यो ।

हो, कमलाले पनि लोग्नेसँगको पाँच वर्षको संसर्गबाट पनि बच्चा नभएर लोग्नेकै सल्लाहअनुसार आफ्नै देवरसँगको सहवासमा छोरा जन्माएकी थिई ।

एक चोटि कमला र तिलोत्तमा दुवै त्यो माझडाँडोको वनमा दाउरा लिन जाँदा कमलाले भनेकी थिई, ‘तिलोत्तमा, तिमी पनि आफूलाई मनपर्ने पुरुषसँग सहवास गर र बच्चाको आमा बन ! यसरी बाँझो आइमाई भएर नबस !’

आंगनभरि भएका भीडमा उसको ध्यान पटक्कै गएको छैन । बस्, एकतमासले मरेका श्रीमान्‌को अनुहारमा नै छन् तिलोत्तमाका आँखा । सोच्दै छे, मनभित्र उठेका ज्वारभाटा सही हो या गलत ? आफूले कुन निर्णय लिँदा सही हुन्छ ?

पाण्डुले कुन्तीबाट सन्तान नजन्मिएपछि न हो माद्रीलाई विवाह गरेका । कुन्तीले भाग्यले आफूलाई ठगेको सम्झिँदै मनमाथि ढुङ्गा राखेर सौतेनी डाह गर्नु र छटपटाउनु बाहेक के नै पो गर्न सक्थिन् र ! सौता र लोग्ने भित्र खोपीमा एक- अर्कासँग रसरङ्ग मनाइरहँदा बाहिर आफूले लोग्नेसँग बिताएका पल सम्झिनु र यौनको स्पर्शको आतुरतामा विह्वल बन्नु उनको बाध्यता थियो ।

जन्मेन बच्चा माद्रीबाट पनि । त्यसैले पाण्डुले आफ्नो वंश अगाडि बढाएर उनलाई स्वर्गमा बास दिन कुन्ती र माद्रीसँग सल्लाह गरे । सल्लाहअनुरूप आफूहरूलाई मनपर्ने अरू पुरुषसँग नियोग गरेर सन्तान जन्माउन भनिएपछि न हो कुन्तीले धर्मराजसँग नियोग गरी युधिष्ठिर, वायुसँग नियोग गरेर भीमसेन र इन्द्रसँग नियोग गरेर अर्जुनलाई जन्म दिएकी । पछि माद्रीले पनि आफूलाई मनपर्ने अश्विनीकुमारसँग नियोग गरेर नकुल र सहदेव दुई पुत्र जन्माएकी थिइन् ।

कसरी स्वीकार्न सकेका होलान् यी पुरुषहरूले आफ्नी स्वास्नीको परपुरुषसँगको सम्बन्ध ? छोराको चाह पनि अचम्मैको हुँदो रहेछ । त्यसमाथि मरेपछि स्वर्गमा पुऱ्याउने कुरो झनै अचम्म !

मरेपछि कहाँ पुगिन्छ ? कसलाई के थाहा ?… सोच्दा पनि तिलोत्तमालाई दया लागेर आउँछ यी पुरुषहरूको सोचप्रति । वाह ! बाँचुञ्जेल जेसुकै होस् बरु, मरेपछि चाहि राम्रो ठाउँ चाहिने रे ।

यी मेरा लोग्ने मरिसके ।… तिलोत्तमा आफै फुसफुसाउँछे- मरिसके ? झसङ्ग हुन्छे एक फेर, लोग्नेको मृत्युमा । हो, मेरा लोग्ने अब कहाँ पुगे, के थाहा ? यिनको शरीर यहीं भुइँमा लडिरहेको छ । एकै क्षणपछि उठाएर खरीखोलाको घाटमा सबै अङ्ग जलाउँछन् । दाउराको चितामाथि राखेर हरियो बाँसले घोची-घोची खरानी बनाउँछन् । अनि यिनैलाई सद्गति दिन मैले अर्को पुरुषसँग विवाह गरेर छोरा जन्माउनुपर्ने रे ! मरिसकेका यिनले अब के पाउँछन् मैले छोरा पाएर ?… केहीक्षण यी कुरा सम्झँदै बाँच्नै पर्ने बाध्यता सम्झन्छे ऊ ।

दृढ बनाउँछे मन र आफैंभित्रको शक्ति निकाल्छे तिलोत्तमा, हो मैले मेरो लागि छोरा जन्माउनुपर्छ बाँच्नको लागि, नकि मेरा मृत श्रीमान्‌का लागि । म यो जीवनबाट मुक्त नहुञ्जेल म बाँच्नुपर्छ । माधवले भनेको ठीक हो । कतै न कतै रमाउनुपर्छ मैले । बाँकी भएको जीवनलाई अर्थपूर्ण र सार्थक बनाउनुपर्छ । शायद यसैको लागि बनेको नियम हो रहेछ यो नियोग प्रथा ।

उसका श्रीमान् जीवित छउञ्जेल उसलाई बाँच्न सजिलो थियो । उसको मन भुल्थ्यो उनीसँग । त्यसैले उनले जति आग्रह गरे पनि ऊ गइन अरू पुरुषसँग बच्चाको भीख माग्दै । उनको माया उसमाथि यति धेरै बर्सिन्थ्यो कि उसले यो सारा संसार बिर्सिएकी थिई ।

एक दिन उनका श्रीमानले ऊसँग लिपिक्क टाँसिएर भनेका पनि थिए, ‘तिलोत्तमा, म तिमी मात्र चाहन्छु, बस् तिमी । त्यहाँ कोही नहोस, न बच्चा, न परिवार, न समाज ।’

उनको भित्री चाह थियो, तिलोत्तमाले कुनै पुरुषसँगको संसर्गबाट बच्चा नजन्माओस् । ऊ उनकै मात्र भएर बसोस् !

तिलोत्तमालाई पनि बच्चाको लागि आफूमाथि सौता हालियोस् भन्ने चाहना कहाँ थियो र । उसको लोग्ने केवल आपनै मात्र होस्, कोहीसँग नबाँडियोस् ! उसको यो भावना उसको लोग्नेले बुझेका थिए । र’त उसको जति आग्रहमा पनि उनले अर्की नारी अपनाएका थिएनन् ।

एक रात उनका श्रीमान्ले सपना देखेका पनि थिए रे आफ्नो मृत्यु भएको । उनले सोधेका थिए त्यसै रात, ‘म मरें भने तिमी के गर्छौ तिलोत्तमा ?

‘यस्तो शब्द नबोल्नोस् ! हजुरबिना म बाँच्न सक्दिनँ ।… हजुरको मायाले पोल्छ मलाई । म पनि सँगै मर्छु ।’ तिलोत्तमाले लोग्नेको मुख आफ्नो हत्केलाले छोपिदिएकी थिई । त्यसपछि उसको लोग्नेले उसमाथि यसरी पोखिएर माया बर्साएका थिए कि अहिले पनि उनकै वलिष्ठ पाखुराले बेसरी अँगालोभित्र कसिएकी छु जस्तो लाग्दै छ उसलाई ।

फेरि तरङ्ग छुट्छ तिलोत्तमाको र बेसुरमै ऊ बोल्छे- ‘उठ्नुस् प्राणनाथ, उठ्नुस् ! आँखा खोल्नुहोस्, म कसरी सजिएकी छु हजुरको लागि ! कति राम्री खुलेकी छु यो रातो धोती, चोली अनि सोह्रश्रृ‌ङ्गारमा । मेरो रूपको हजुर कति पारखी हुनुहुन्छ ! म यसरी सजिदा हजुरको आँखा एकनिमेष पनि बाहिर हट्‌दैनथ्यो मेरो मुहारबाट । आज किन हेर्नुहुन्न तपाईं मलाई ? ऊ लोग्नेको मुर्दा शरीरलाई दाहिने हातले घचघच्याउँछे ।

अर्कोतिर माधवले उसैलाई तानिरहेको हुन्छ, उठ तिलोत्तमा, उठ । यो गुज्रिसकेको पल हो, होशमा आऊ ! नयां पल अँगाल्न तयार होऊ !’

आँगनको लासलाई घाटमा पुऱ्याउन गाउँले सुरसार गर्दै हुन्छन् । तर तिलोत्तमा उसको लोग्ने मरेको हो भन्ने मान्न अझै पनि तयार हुँदिन । एक घन्टाअगाडि मात्रै त हो उसलाई घरबाट निस्कने बेलामा उसको लोग्ने अभयराजले अँगालोमा बेर्दै मीठो चुम्बन बर्साएर ‘छिट्टै फर्कन्छु है । खाना मीठो बनाएर राख !’ भन्दै बाहिरिएको । तर घरबाट निस्केको एक घन्टा नबित्दै उनको लास देख्दा कसरी विश्वास गर्नु ?

घरभित्र कसौडीमा छाड्किरहेको भात चुलोमा त्यसै अड्कल्चिरहेको छ ।

लास उठाउन अबेर भइसकेको छ । गाउँलेहरू कराउँदै छन् । तर ऊ लामो निद्रामा ढलेका लोग्नेको पाखुरा समाएर उनलाई बिउँझाउने कसरतमा छे । तिलोत्तमा लोग्ने मरेको मान्न तयार छैन, अहँ पटक्कै छैन ।

‘भर्खर त्यो पारि वनमा दाउरा लिन जाँदै छु काका भन्दैथ्यो । कतिबेला कसले यसरी मारेछन् हँ ? काशिराम सोध्छन् त्यहाँ उपस्थित गाँउलेलाई ।

लास बोकेर आएको भोलानाथले भन्छन्- ‘त्यहीं माथिको चौतारोभन्दा केही परतिर पशुरामले बञ्चरोले छप्काएछन् ।…

त्यो परशुरामले सबै क्षेत्रीहरूलाई मारिसकेको थियो एउटै बञ्चरोले हानेर । क्षेत्री वंश नै सिध्याउँछु भनेर हिँडेको छ त्यो परशुराम । धन्न यिनी भने गाउँदेखि केही माथि वनको खोरिया फाँडेर बसेका भएर आजसम्म बाँचेका रहेछन् । यो एउटा क्षेत्री बाँकी छ रे भन्ने थाहा पाएर आज यतै आएर वनमा जाँदै गर्दा बाटोमै छप्काएछ । कठै । पछाडि फर्केर कसले हिर्कायो भनेर हेर्न पनि भ्याएनछन् यी अभयराजले । त्यत्रो ठूलो ऋषिको छोरा भएर पनि कस्तो पशुजस्तो व्यवहार गरेको त्यो परशुरामले ! हैन, यी क्षेत्रीहरूले के बिगार गरेछन् है ?

भीडभित्रबाट रामनाथले जवाफ फर्काए- ‘कार्तवीर्य अर्जुन राजाले उसको बाबुलाई अपमान गरे भनेर रे ।

एउटाको रीसमा वंश नै सखाप हुने गरेर यत्रो धैरै एक्काईस कुलकै ज्यान लिन हुन्छ ? एउटा पनि क्षेत्री बाँकी रहेनन् अब त यहाँ ।… नाम जस्तो, बुद्धि पनि पशु नै रहेछ यिनको ।’ शिवगोपाल बोल्छन् ।

गाउँका गन्यमान्यसमक्ष रामनाथ प्रश्न तेर्स्याउँछन्- ‘क्षेत्री कुल सकियो त ! अब यी क्षेत्रीणीहरूले कसको वंशको बच्चा जन्माउँछन् ?

सबैभन्दा वृद्ध ब्राह्मण शिवगोपाल बोल्छन्- ‘क्षेत्रीणीहरूको यो समय भनेको रोएर बस्नेभन्दा समयको यस खेललाई शक्तिमा बदलेर आफ्नो वंश जोगाउने हो । त्यसको लागि ब्राह्मणसँगै विवाह गरेर वंश अघि बढाउनु नै बुद्धिमता हुनेछ यो समय क्षेत्रीणी नारीहरूले । बरु यसको लागि हामी ब्राह्मण पुरुषहरूले साथ दिनुपर्छ । यी वैधव्य भोगेका नारीहरुलाई पनि आफ्नो लागि जो उत्तम पुरुष लाग्छ उसैलाई वरको रूपमा छान्नको लागि पूर्ण अधिकार दिनुपर्छ ।

उनले अगाडि थपे- यो आज हामीले बनाएको नियम होइन । भलाद्‌मीजन बुझ्नुहोस् । हाम्रा पितापुर्खाले नै बसालेको नियम हो । मात्र त्यसैको निरन्तरता गरौं भन्न खोजेको हो । पूर्वजले अपनाएका राम्रा कामहरू अपनाउँदा कुनै खतबात लाग्दैन । बुझ्नुहोस् तपाईंहरूले, वेदकालीन समाजदेखि नै विधवालाई नियोग प्रथाद्वारा बच्चा जन्माउन र विवाह गर्न छुट थियो । आजको दिनमा पनि विधवा विवाह गर्नु कुनै पाप होइन । पुरुषले दोस्रो विवाह गर्नु हुन्छ भने महिलाले किन नहुने ? महिलालाई समाज, धर्म र संस्कृतिले दिएको मानवअधिकार हो दोस्रो विवाह । अनि प्रकृतिको सूक्ष्मभन्दा पनि सूक्ष्म जीवहरूले उपभोग गर्ने मातृत्वको अधिकार हो यो । जो महिलाले पनि उपभोग गरून् र उनीहरूको मातृत्वको अधिकार नखोसियोस् भन्नु नै हो यो अधिकार ।’

लास उठाउन भेला भएका गाउँलेहरु एक-आपसमा मुखामुख गर्दै हेराहेर गर्छन् । कोही- ‘हो हो’ भनेर टाउको हल्लाउँदै छन् । कोही ट्वाल्ल पर्दै छन् ।

यसैको उपक्रम थियो माधवले अर्धवेहोश हालतमा रहेकी तिलोत्तमालाई स्वीकार्ने तत्परता देखाएको ।

शिवगोपाल एकाएक तिलोत्तमाको छेउमा आउँछन् र ठूल्ठूलो स्वरमा गर्जन्छन्- ‘उठ तिलोत्तमा, तिमी बाँच्नुपर्छ । तिम्रो लोग्ने नउठ्ने गरेर ढलिसक्यो । उसको अस्तित्वको रक्षा अब तिमीले बाँचेर गर्नुपर्छ । तिमीलाई जसले अँगाल्छु भन्दै छ, प्रेम बर्साउँछु भन्दै छ, तिमीलाई स्वीकार्छु भन्दै छ; यदि तिम्रो मनले उसलाई स्वीकार्छ भने अपनाऊ उसलाई ! हामी सबै तिम्रो साथमा छौं । म तिम्रो कुलको पुरोहित हुँ । तिम्रो कुलको भलो हुने काम गर्नु मेरो धर्म हो । त्यसैले पनि म तिमीलाई आग्रह र आदेश दुवै दिन्छु । यदि तिमीलाई यो माधव ठीक लाग्छ भने पतिको रूपमा स्वीकार गर !’

पतिको लास हेरेर आँसुको धारा बगाउँदै नाना कुराले मथि‌ङ्गल घुमाएर टोलाइरहेकी तिलोत्तमा गुरुको यस वचनबाट अर्धचेतन अवस्थाबाट पूर्ण चेतना अवस्थामा फर्किन्छे र आँसु पुछ्‌दै पतिको लासको छेउबाट उठ्‌छे ।

एक पटक चारैतिर हेर्छे र बोल्छे ‘बाँचेकाहरूले नै इतिहास बनाउने हो । हो, मलाई थाहा छ र मैले बुझेको पनि छु, मैले क्षेत्रीकुल जोगाउनै पर्छ । क्षेत्री वंशलाई कायम राख्नु मेरो कर्तव्य हो । त्यति मात्रै होइन, अहिले त मैले के ठानिरहेको छु भने यो काम गर्नु मेरो अधिकार नै हो । ठीक छ गुरु, म यिनी ब्राह्मण, जो मलाई माया गर्छु भन्दै छन्, मेरो हात थाम्न तयार छन्; माधवको बधू हुन स्वीकार गर्छु ।’
⁰⁰⁰⁰⁰
( डा. शशी थापा पण्डितको “उठ तिलोत्तमा” कथा सङ्ग्रहमा सङ्ग्रहित शीर्ष कथा )
संयोजक:- तारा के. सी

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा शशी थापा पण्डित

यो पनि पढ्नुहोस्...

छोटो कथा: अँध्यारोतर्फको यात्रा

कथा: घरको मृत्यु

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

कविता: घृणा

असार १९, २०८२

छोटो कथा: अँध्यारोतर्फको यात्रा

असार १८, २०८२

निबन्ध: ॐ को प्रभावबारे धर्म र विज्ञान के भन्छ?

असार १८, २०८२

कथा: घरको मृत्यु

असार १७, २०८२

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.