नेपाली आख्यान, समालोचना र नाट्य विधामा सुपरिचित नन्दलाल आचार्यको जन्म उदयपुरको ठोक्सिला, जहडामा वि.सं. २०३० असार २८ गते भएको हो। स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरी शिक्षण पेसामा संलग्न रहँदा पनि उहाँले साहित्यमा आफ्नो एक विशिष्ट पहिचान बनाउनुभएको छ। साहित्यलाई जीवनधर्म मान्ने आचार्यले आफ्नो कलमलाई ‘लौरो’, मनलाई उपन्यास र संवेदनालाई ‘शल्यक्रिया’को विषय बनाउँदै सिर्जनात्मक यात्रालाई निरन्तरता दिनुभएको छ।
उहाँका प्रकाशित कृतिहरूले उहाँको बहुआयामिक साहित्यिक व्यक्तित्वलाई उजागर गर्छन्। ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाट्यकृति), ‘गरूराहा’ (उपन्यास), ‘एकहाते जीवन’ (निबन्धसङ्ग्रह), ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचनासङ्ग्रह), ‘लौरो’ (लघुकथासङ्ग्रह) र ‘शल्यक्रिया’ (कथासङ्ग्रह) जस्ता कृतिहरूले उहाँलाई बहुविधामा कलम चलाउने स्रष्टाको रूपमा स्थापित गरेका छन्। संवेदनशील दृष्टिकोणका साथ सामाजिक विषयवस्तुको कलात्मक उठान गर्नु उहाँको लेखनको प्रमुख विशेषता हो।
नेपाली साहित्यमा, विशेषगरी लघुकथा विधामा, ‘उत्तरकथा’ लेखनको प्रयोग थालनी गर्ने श्रेय आचार्यलाई नै जान्छ। विश्व साहित्यमा प्रचलित यस परम्परालाई नेपाली माटोमा मलजल गर्दै उहाँले एक नौलो आन्दोलनको प्रारम्भ गर्नुभएको छ।
यसै प्रयोगलाई निरन्तरता दिँदै उहाँले हाम्रो कथाघरको “लघुकथामा एक प्रयोग” स्तम्भ सञ्चालन गर्दै आउनुभएको छ। यस स्तम्भमा उहाँले प्रत्येक पटक तीन स्रष्टाका लघुकथा छनोट गरी तिनको विश्लेषणात्मक समीक्षा गर्नुका साथै तिनै कथामा आधारित उत्तरकथाहरू पनि सिर्जना गर्नुहुन्छ। यसरी उहाँले समीक्षा र सिर्जनालाई एकैसाथ अगाडि बढाउँदै नेपाली लघुकथामा एउटा नवीन र महत्वपूर्ण आयाम थप्नुभएको छ।
प्रस्तुत छ “लघुकथामा एक प्रयोग” को नयाँ श्रृङ्खला
१. गाईजात्रे लघुकथा: नेता
हिरण्यलालले आश्चर्य व्यक्त गरे- “नर्वे भनेको!”
अघिल्लो चुनावमा जब नेता प्रचारमा आउँथे, कति त उनकै पछि लाग्थे, कति आफ्ना माग राख्न धाउँथे। कसैले जागिरको सिफारिस गर्थे, कसैले पार्टीको पदमा राखिदिन अनुरोध गर्थे। कोही भन्सारको जागिर माग्थे। नेता सबैको कुरा सुन्थे र सबैलाई आश्वासन दिन्थे- “म पूरा गरिदिन्छु।” त्यसैमा मख्ख परेका जनता प्रचारमा लाग्थे, कतिले त आफ्नै खर्चमा पर्चा बाँड्थे।
त्यस्तै एक दिन, नेता फेरि भाषण गर्दै थिए।
“हेरौँ, मैले यस ठाउँबाट चुनाव जितेँ भने यसलाई स्वर्ग बनाइदिन्छु!”
एक छिन रोकिए。
पहिले त यस्तो भनाइमा तालीका पर्रा छुट्थे। आज शून्यता।
नेता झस्किए। फेरि बोले-
“मलाई भोट दिनुभयो भने युवायुवतीलाई रोजगारीमा लगाउनेछु!”
फेरि पनि ताली सुनिएन।
उनी भन्दै गए-
“सिँचाइको व्यवस्था, कृषि अनुदान, कृषक पेन्सन, पाँचवटा पुल, राजमार्ग, सबै बनाउनेछु!”
तर ताली त के, सासको आवाजसमेत हरायो।
थकित हुँदै उनले अन्तिम प्रयास गरे-
“तपाईंहरू धेरै भोकाएका देखिनुहुन्छ। यो कार्यक्रमपछि दशवटा होटल रिजर्भ छन्। जो-जोलाई जे-जे मन लाग्छ, खाइदिनुहोस्!”
त्यो भनाइ पनि सुनसानमै हरायो।
त्यतिखेरै, पल्लो छेउमा बसेका एक वृद्धले ठूलो स्वरमा भने-
“नेताजी, धेरै भयो हामीलाई झुक्क्याएको! अब तपाईं उचित सजायको भागी हुनुहुन्छ।”
त्यसपछि हेर्दाहेर्दै हजारौँ जुत्ताका माला र कालो मोसोले नेता ‘सजिए’।
☛ हास्यव्यङ्ग्यात्मक दृष्टिले ‘नेता’ लघुकथाको शल्यक्रिया
समकालीन नेपाली लघुकथा लेखनमा सक्रिय तुलसी पण्डितको ‘नेता’ लघुकथाले नेपाली राजनीति, जनताको जागरुकता र विगतमा दोहोरिने चुनावी ठगीको त्रासद विडम्बनालाई गाईजात्रे हाँसोको रङ मिसाएर प्रस्तुत गरेको छ। कथाको नाम सरल, कथावस्तु सर्वसाधारणको जीवनजस्तै साँचो र प्रस्तुति व्यङ्ग्यात्मक घोचाइको गहिराइमा डुबेको छ।
कथाको सुरुवात हिरण्यलालको एक शब्दमा अडिन्छ– “नर्वे भनेको!” यो एक किसिमको आकस्मिक जिज्ञासा हो, जसले तत्कालै पाठकलाई झस्काउँछ। सायद, सन्दर्भमा त्यो वाक्यले सीधा योगदान नदिए पनि यो अनपेक्षित वाक्यले हास्यको लय सिर्जना गर्न भूमिका खेलेको छ।
लघुकथाको मुख्य मेरुदण्ड भनेको चुनावी भाषण, झुटा वाचा, जनताको सहनशीलता र अन्ततः उकुसमुकुस भएर उठेको विद्रोह हो। विगतका चुनावहरूमा जनताले जुन रूपमा नेताको पछाडि लागे, त्यो दृश्य नेपाली राजनीतिमा बारम्बार दोहोरिएको दृश्य हो। त्यसमा जनताले झुटा वाचाहरूमा पत्याउँछन् र आफ्नै ढाड खियाएर प्रचार गर्छन्। लेखकले यस यथार्थलाई उत्कृष्ट ढङ्गले समेटेका छन्।
नेताले क्रमशः स्वर्ग बनाउने, रोजगारी दिलाउने, पुल-सडक-कृषि योजना ल्याउनेजस्ता वाचा गर्दा पनि श्रोताबाट कुनै ताली नबज्नु लघुकथाको सबैभन्दा प्रभावशाली व्यङ्ग्यात्मक दृश्य हो। यस्तो नीरवता नेपाली जनताको अबको बदलिएको मनोवृत्तिको प्रतीक बनेको छ। लघुकथाले स्पष्ट देखाउँछ- अब जनता लोभमा होइन, अनुभवमा बोल्ने अवस्थामा छन्।
सबैभन्दा रमाइलो पक्ष भनेको जब नेता अन्ततः होटलको खानाको प्रलोभन दिन्छन्, तब पनि जनता मौन रहन्छन्। यो भाग लघुकथाको व्यङ्ग्यको शिखर हो, जहाँ नेपाली समाजमा देखिने “भोकका भरमा बिक्ने मत” पनि अब प्रतिरोधको चरणमा प्रवेश गरेको चित्रण छ।
अन्त्यमा वृद्धको स्वर, “अब तपाईं उचित सजायको भागी हुनुहुन्छ” ले लघुकथालाई पूर्ण परिणतिमा पुर्याउँछ। अनि त्यसपछिको जुत्ताको माला र कालो मोसोको ‘सजावट’ले कथाको हाँसोलाई सटिक व्यङ्ग्यमा परिणत गर्छ।
तर आलोचनात्मक दृष्टिकोणले हेर्दा, कथा केही अपेक्षित प्रतीकहरूबाट चलायमान भएको अनुभूत हुन्छ। जुत्ताको माला र कालो मोसोको प्रयोग व्यङ्ग्य लघुकथामा दोहोरिइरहने दृश्य हो। यदि लेखकले सजायको नयाँ र अप्रत्याशित ‘नेपाली’ रूप दिन सकेका भए व्यङ्ग्य अझ धारिलो हुन्थ्यो। यस्तै, ‘नर्वे’ शब्दको सुरुआती प्रयोग र त्यसको प्रसङ्गसँगको मेल पत्तो नलाग्दा त्यो खाली हाँसोको टुक्काझैँ मात्र बनेको छ।
साथै, पात्रहरूको व्यक्तिगत चिनारी नहुनुका बाबजुद, उनीहरू सामूहिक असन्तोषको प्रतिनिधि बनेका छन्, जुन यस शैलीको लघुकथा लेखनमा उपयुक्त हो। भाषाशैलीमा व्यङ्ग्यात्मक खारिएकोपन छ, तर भावात्मक धक्का दिन सक्ने प्रतीक वा वाक्य केही थोरै छन्। एकाध सूक्तिमय वा झटारो दिने वाक्य थपिएको भए प्रभाव अझ बढ्थ्यो।
समग्रमा, ‘नेता’ हाम्रा भोटको इतिहास, विश्वासको अस्थिरता र जनताको बदलिँदो व्यवहारको कार्टुन चित्र हो। यसले गाईजात्राको परम्परा झल्काउँछ, जहाँ मृत्युलाई स्मरण गर्ने यो जात्राले झुटको मृत्युलाई हाँसो र व्यङ्ग्यले सम्झिरहेको छ। लघुकथा सफल छ, तर अझै तीव्र, तिखो र प्रतीकात्मक बनेको भए कालजयी बन्न सक्थ्यो।
❛उत्तरकथा❜
लघुकथा: आत्मबोध
बिहानको कुहिरो अझै फाट्न बाँकी थियो। तर नगरपालिका चोकमा भिड भइसकेको थियो। एउटा ब्यानर झुन्डिएको थियो-
“नेताको सार्वजनिक पश्चात्ताप सभा: आजको दिन, जनताको नाम!”
उही नेता, जसको अनुहार केही अघि कालो मोसोले ढाकिएको थियो, जसको घाँटीमा जनताले जुत्ताका माला लगाइदिएका थिए, मञ्चमा नतमस्तक उभिएका थिए।
उनी बोल्न थाले-
“म सोच्थेँ, भाषणले जनता बन्छन्, स्वार्थले म मित्र बनाउँछु।
तर आज बुझेँ- मौनता जनताको अन्तिम फैसला हो।
अब म बोल्दिनँ, म गर्छु।
किनकि जनताको विश्वास, चुनावभन्दा ठूलो मञ्च हो!”
यो सुनेर एक छिन सहर चुप लाग्यो।
त्यसपछि वृद्ध, जसले त्यतिबेला सबैभन्दा पहिले “सजायको भागी हुनुहुन्छ” भनेका थिए, उठे र भने-
“नेताजी, जुन दिन तपाईं मौन भएर काम गर्नुहुन्छ, त्यो दिन हाम्रो भाषण बन्द हुन्छ।”
नेता मुस्कुराए, ढोग गरे।
त्यही दिनदेखि उनले भाषणको माइक बन्द गरे, र कार्यालयको ढोका बिहान पाँच बजे खोल्न थाले।
दुई महिनाभित्रै-
पुरानो पोखरी सफा भयो, युवा क्याफे खुले, फोहोरमैला छुट्याउने अभियान चल्यो।
उही चोक, जहाँ उनी कालो मोसोले पोतिएका थिए, आज त्यहाँ एउटी बालिकाले चित्र बनाएकी थिई-
“विश्वासको मूर्ति: एउटा पश्चात्तापी नेता”
त्यसको भित्तामा एउटा सानो वाक्य टाँसिएको थियो-
“झुटले जितेको चुनाव अन्ततः सत्यको न्यायालयमा हार्छ।”मैले यति भनेर नेता सप्रेको कथा सकेँ।
तर त्यस मञ्च छेउमा एउटा जुत्ताको माला अहिलेसम्म पनि झुन्डिरहेकै छ-
स्मृतिको प्रतीक भएर, चेतावनीको प्रतिमूर्ति बनेर।
२. गाईजात्रे लघुकथा: मोबाइल शिक्षा
विद्यालयको गेटमा झुन्डिएको थियो-
‘शिक्षा, सूचना र सेल्फी मन्त्रालय’
त्यसको निरीक्षण गर्न मन्त्रीज्यू आए-
हातमा चम्किलो स्मार्टफोन, अनुहारमा डिजिटल जोश।
उनी उत्साहित हुँदै बोले-
“अब विद्यार्थीलाई ल्यापटप बाँडिन्छ! पढाइ मोबाइलमै! कक्षा सिधै टिकटकमार्फत!”
प्रधानाध्यापक मुस्कुराउँदै बोले-
“अब त किताब होइन, क्लिपबाट आउँछ होला ज्ञान!”
त्यत्तिकैमा नरेन्द्रले कापी देखाउँदै मन्त्रीतिर फर्कियो-
“अङ्कल! साइन्सको होमवर्कमा आज रिल बनाउने अभ्यास छ!”
छेउको शिक्षकले कानमा फुसफुसाए-
“गणित पनि ह्यासट्यागबाट पढाइने दिन टाढा छैन!”
प्रधानाध्यापकले गम्भीर स्वरमा सोधे-
“शिक्षाको उपलब्धि के हो त?”
नरेन्द्रले आँखा झिम्क्याउँदै जवाफ दियो-
“हामी अब मोबाइल पास, तर जीवन फेल!”
त्यत्तिकैमा स्कुलको आँगनमा हल्ला मच्चियो-
“वाइफाइ हरायो!”
प्रधानाध्यापकले आकाशतिर हेर्दै चिसो स्वरमा भने-
“वाइफाइ होइन बाबु, दिशाबोध हराएको हो!”
दिशाहीन विद्या चौतारी, इन्टरनेट निर्भर गाउँ
(गोलबजार-४, सिरहा)
☛ हास्यव्यङ्ग्यात्मक दृष्टिले ‘मोबाइल शिक्षा’ लघुकथाको शल्यक्रिया
शिक्षण पेसामा आबद्ध भएर माध्यमिक प्रथम श्रेणीको शिक्षक भएपछि लघुकथा लेखनमा सक्रियता बढाएका हुन् रामकृपाल महतोले। उनको लघुकथा ‘मोबाइल शिक्षा’ एक स्मार्ट सामाजिक व्यङ्ग्य हो। यसले प्रविधिको नाममा शिक्षामा भइरहेको दिशाविहीन आधुनिकताको हाँस्यपूर्ण रूपमा चित्रण गर्छ। लघुकथा छोटो, मार्मिक, रेखा-चित्रणयुक्त शैलीमा रचिएको छ। यहाँ प्रत्येक पात्र संवादको माध्यमबाट प्रवृत्तिको प्रतिनिधि बनेका छन्।
लघुकथाको प्रारम्भिक दृश्य नै अत्यन्त व्यङ्ग्यात्मक छ। विद्यालयको गेटमा टाँगिएको बोर्ड “शिक्षा, सूचना र सेल्फी मन्त्रालय”। यी तीन शब्दले शिक्षा मन्त्रालयको वास्तविक हुलिया नापिदिएको अनुभूति हुन्छ। शिक्षा अब पाठशालामा नभई प्रदर्शनशालामा बदलिएको छ भन्ने कुरालाई लेखकले एउटै वाक्यमा बुझाइदिन्छन्।
मन्त्रीको प्रवेश, हातमा चम्किलो मोबाइल र अनुहारमा ‘डिजिटल जोश’ एक परिपक्व नेताको कार्टुन तस्बिरजस्तै लाग्छ। भाषणमार्फत उनी विद्यार्थीलाई ल्यापटप, मोबाइल र टिकटकमार्फत पढाउने ‘उपलब्धि’ सुनाउँछन्। यहाँ हास्य दुई तहमा काम गर्छ- पहिलो, सरकारको प्रविधिप्रतिको लत; दोस्रो, प्रविधिलाई ज्ञानको सार्थक विकल्प ठान्ने भ्रम।
प्रधानाध्यापक र शिक्षकको संवाद, विशेष गरी “अब त किताब होइन, क्लिपबाट आउँछ होला ज्ञान!” र “गणित पनि ह्यासट्यागबाट पढाइने दिन टाढा छैन!” जस्ता वाक्यहरूले नेपाली शिक्षा प्रणालीमा व्यापक फैलिएको ‘डिजिटल सस्तोपन’ लाई घोचपेच गर्छन्।
नरेन्द्र नामक विद्यार्थीको संवाद, “साइन्सको होमवर्कमा आज रिल बनाउने अभ्यास छ!” ले बालबुद्धिमा प्रविधिको अनुपयुक्त उपयोगलाई केलाउँछ। विद्यार्थी अब खोजी, मनन र अभ्यासमा होइन, एप्स र भिडियो प्रभावमा शिक्षित हुँदैछन्। उनले “मोबाइल पास, तर जीवन फेल!” भन्ने वाक्यमा लघुकथाको निचोड निकालिदिएका छन्। शिक्षा अब परिणाम होइन, सजावट बन्दैछ।
लघुकथाको क्लाइम्याक्समा आएको “वाइफाइ हरायो!” भन्ने विद्यार्थीको चिच्याहट र त्यसमा प्रधानाध्यापकको उत्तर “वाइफाइ होइन बाबु, दिशाबोध हराएको हो!” एक प्रहारजस्तो लाग्छ। यो संवादले सम्पूर्ण कथालाई एक शक्तिशाली अन्त्यमा पुर्याउँछ, जसले पाठकलाई हास्यको रङमा पोल्ने व्यङ्ग्यको तातो छडी दिएको छ।
शैलीगत रूपमा कथा सफल छ। संवादमै कथा बग्छ, वर्णन न्यून छ, तर दृश्य स्पष्ट छन्। हास्य, व्यङ्ग्य र विडम्बनाको तालमेल एक लयमा बगिरहेको छ। पात्रहरू- मन्त्री, प्रधानाध्यापक, शिक्षक र विद्यार्थी सबै परिपक्व व्यङ्ग्यका प्रतिनिधि पात्र बनेका छन्।
तर आलोचनात्मक दृष्टिले हेर्दा, कथा गहिरो व्यङ्ग्य भए पनि, पुरानै शैलीका प्रतीकहरूमा अडिएको छ- मोबाइल, टिकटक, वाइफाइ। यदि लेखकले एकाध नयाँ प्रविधि वा भाषाशैलीका प्रवृत्तिलाई उधिनेका भए (जस्तै: एआई होमवर्क, फेक सर्टिफिकेट, वा मेटाभर्स स्कुलजस्ता कल्पनाशीलता) व्यङ्ग्यको उचाइ अझ फराकिलो हुन्थ्यो। यस्तै, शिक्षा मन्त्रालयको पात्र मन्त्रीलाई अलि बढी भाषिक उत्कृष्टता दिइएको भए व्यङ्ग्यात्मक कटाक्ष अझ गहिरिने सम्भावना थियो।
यद्यपि, यस्ता सामान्य सीमाबद्धता हुँदाहुँदै पनि लघुकथाले समकालीन शिक्षाको घनघोर टेक्नो-सञ्चार अन्योललाई सशक्त हास्य शैलीमा उधिनेको छ। कथा पढ्दा पाठक हाँस्छ, फेरि एक छिनमै सोच्न थाल्छ, यही नै व्यङ्ग्यको सफलताको लक्षण हो।
निष्कर्ष
‘मोबाइल शिक्षा’ गाईजात्रा शैलीमा लेखिएको डिजिटल युगको शिक्षाको व्यङ्ग्यचित्र हो। हाँसो छ, चोट छ, सन्देश गहिरो छ। कथाले प्रविधिप्रतिको अन्धभक्तिमा प्रश्न गर्छ, अनि भन्छ- ‘सीपबिना स्क्रिन, ज्ञान होइन दृश्यविलास हो।’ लेखकको कलम सजीव छ, व्यङ्ग्य झटारो हो।
❛उत्तरकथा❜
लघुकथा: दिशाबोधको दिन
शुक्रबार बिहानको वातावरण केही अनौठो थियो। विद्यालयको गेटमा झुन्डिएको पुरानो बोर्ड ‘शिक्षा, सूचना र सेल्फी मन्त्रालय’ हटाइएको थियो। साटोमा नयाँ बोर्ड टाँसिएको थियो-
“ज्ञान, विवेक र मूल्यको विद्यालय”
एकाएक प्रधानाध्यापकको कक्षबाट ट्याब्लेट, प्रोजेक्टर र रिल बनाउने मोबाइलहरू झोलामा हालेर निस्कँदै गरेको दृश्यले शिक्षकहरू चकित परे।
“सर, कता लैजाँदै हुनुहुन्छ?”
शिक्षक रामप्रसादले सोधे।
प्रधानाध्यापकले हल्का मुस्कानसहित भने-
“शिक्षा फेरि कापीमा फर्किँदैछ, मोबाइल अब साधन मात्र हो, स्रोत होइन।”
त्यही दिनदेखि विद्यालयमा तीन नयाँ नियम लागू भए-
- पहिलो घन्टी ‘पढेर सिकौँ’ कक्षा।
- दोस्रो घन्टी ‘जसरी सिकियो, त्यसरी लेखौँ’ अभ्यास।
- तेस्रो घन्टी ‘सामूहिक विमर्श’, जहाँ विद्यार्थीहरू आफूले पढेको कुरा बोलेर आत्मसात् गर्न सिक्थे।
सबैभन्दा अचम्म त तब भयो, जब नरेन्द्र, जो रिल बनाउने होमवर्कमा अब्बल थियो, एक दिन सबैको अगाडि उभिएर भन्यो-
“सर, अब मलाई टिचर बन्ने मन छ। म अब टिकटक होइन, टिचिङको सपना देख्छु!”
मन्त्री फेरि एकपटक निरीक्षण गर्न आए। यसपालि हातमा मोबाइल थिएन, नोटबुक थियो।
विद्यालयको आँगन चकमन्न थियो, शिक्षकहरूसँग सामूहिक पाठ तयारी भइरहेको थियो।
मन्त्रीले चकित भएर सोधे-
“यो कसरी सम्भव भयो?”
“हामीले चाहे दिशा फर्किहाल्दो रहेछ नि!”
प्रधानाध्यापकले विनम्रतापूर्वक थपे,
“मोबाइलजस्तो उपकरणलाई हामीले उपकरणकै रूपमा व्यवहार गर्न सिक्यौँ, शिक्षकलाई फेरि ‘मार्गदर्शक’ बनायौँ, अनि विद्यार्थीलाई ‘शोधकर्ता’।”
विद्यालय व्यवस्थापन समिति अध्यक्षले म शिक्षा पत्रकारलाई विद्यालयको प्रगतिबारे यति लामो मौखिक रिपोर्टिङ गरे। उनी बसेको कोठाको भित्तामा लेखिएको थियो, “जहाँ दिशाबोध फर्किन्छ, त्यहाँ शिक्षा आत्मा बन्न थाल्छ।”
स्कुलको प्रगति-तरिका मनमा गुन्दै बाहिरिन नपाउँदै पर्खालको मूल ढोकामा कुनै बालकले कोरेको देखियो-
“हामी अब जीवन पास, मोबाइल साक्षर मात्रै हुनेछौँ !”
३. गाईजात्रे लघुकथा: क्रान्ति
“केटा हो! यिनीहरूलाई कालोमोसो दलौँ। जुत्ताको माला पनि लगाऔँ!”
हामीमध्ये एक जनाले नेतृत्वको शैलीमा बोल्यो।
मैले डराउँदै भनेँ-
“यिनीहरू त देशका उच्च पदस्थ अर्थात् उपल्लो दर्जाका कर्मचारी, नेता र न्यायाधिकारी हुन्!”
उसले आवाज बुलन्द पार्दै भन्यो-
“यी देशका रक्षक होइनन्, भक्षक हुन्!
देशमा हुने गरेका भ्रष्टाचार, बलात्कार, तस्करी, रण्डीबाजी, जुवातासजस्ता अपराधमा यिनै संलग्न छन्!”
“हो! हो!!” – सबैले समर्थन गरे।
हामीले ठूलो ब्यानरमा कालोमोसो पोतेर अनुहार नचिनिने तर नाम मात्र देखिने गरी बजार परिक्रमा गराउन थाल्यौँ।
त्यतिबेला एक समाजसेवी वृद्धले नजिकिँदै भने-
“बाबु हो! यो गाईजात्राको दिनमा पाइने स्वतन्त्रता जोगाउन अझै पनि क्रान्तिको खाँचो छ!”
उहाँको स्वरमा चेत थियो, हाम्रो हिम्मतमा गति।
रातोपुल
☛ हास्यव्यङ्ग्यात्मक दृष्टिले ‘क्रान्ति’ लघुकथाको शल्यक्रिया
समकालीन यौन आख्यान लेखनमा चर्चित सर्जक अञ्जु शर्माको ‘क्रान्ति’ लघुकथाले गाईजात्रालाई राजनीतिक, न्यायिक र प्रशासनिक सन्दर्भमा सशक्त व्यङ्ग्यको मञ्च बनाउँदै ‘क्रान्ति’को रूपमै पुनः कल्पना गरेको छ। कथा हास्यको गहिराइमा गम्भीर सन्देश बगाउँछ, तर शैली भने व्यङ्ग्यात्मक उचाइ र प्रतीकात्मक प्रभावबीच उतारचढावमा छ।
लघुकथाको उद्घाटन संवाद अत्यन्तै शक्तिशाली छ- “कालोमोसो दलौँ, जुत्ताको माला पनि लगाऔँ!” भन्ने आक्रोश युवाको जनविद्रोही चेतनाको उद्घोष हो। तर यही लाइनले कथाको शैलीलाई अझ धेरै खुला व्यङ्ग्यको जगमा टिकाउने अपेक्षा गरिन्छ। अगाडिका वाक्यहरू यथार्थ चित्रण छन्, तर केही सामान्य र पुनरुक्त शैलीमा प्रस्तुत भएका छन्। “देशका उच्च पदस्थ कर्मचारी, नेता र न्यायाधिकारी” भन्ने वाक्यले आरोपित पात्रहरूको पहिचान स्पष्ट गर्छ, तर भाषिक रूपमा औपचारिक र पत्रकारीय झुकाव बोकेको छ, जसले व्यङ्ग्यीय तीखोपन अलि शान्त बनाउँछ।
कथाको प्रगतिशील भावना यिनै पात्रहरू ‘भक्षक हुन्’ भन्ने भनाइबाट पुनः शिखरतिर जान्छ। भ्रष्टाचार, बलात्कार, तस्करीजस्ता ‘गम्भीर सामाजिक विसङ्गति’हरूलाई समेटेर लघुकथाले एउटा आवाज दिन खोजेको छ, तर सबै शब्द यथासम्भव प्रयोग भएपछि लघुकथा अलि घोषणामूलक हुन पुगेको छ।
हास्यव्यङ्ग्यको कला भनेको देखाउनु हो, भन्नु होइन। यस कथामा केही अंशमा त्यो ‘भनाइ’ हाबी भएको देखिन्छ। उदाहरणका लागि, “देशमा हुने गरेका भ्रष्टाचार…” भन्ने वाक्य पत्रकारितासुलभ विवरणझैँ लाग्छ, कथात्मक संवादभन्दा बढी प्रतिवेदनजस्तो।
तर सबै कमजोरीमाथि चढेर आएको प्रसङ्ग भनेको- “हामीले ठूलो ब्यानरमा कालोमोसो पोतेर अनुहार नचिनिने तर नाम मात्र देखिने गरी बजार परिक्रमा गराउन थाल्यौँ।” यही दृश्य नै लघुकथाको प्रभावशाली व्यङ्ग्य दृश्य हो। जहाँ पात्रहरूको मुहार लुकाएर नाम मात्र देखाउने शैलीमा पाप त लुकेको, पापकर्मीको नाम भने प्रकट भन्दै व्यङ्ग्यले सशक्त चोट पुर्याउँछ। यो सटिक छ, बलियो छ, अनि प्रतीकात्मक अर्थले भरिएको छ।
त्यसपछि आएको वृद्ध समाजसेवी पात्र लघुकथाको टर्निङ प्वाइन्ट हो। “यो गाईजात्राको दिनमा पाइने स्वतन्त्रता जोगाउन अझै पनि क्रान्तिको खाँचो छ!” भन्ने संवादले हास्यलाई गम्भीरतातर्फ मोड्छ। यहाँ व्यङ्ग्यले शिखर चुम्छ, अनि पाठकलाई सोच्न बाध्य बनाउँछ। गाईजात्रा अब हाँसोको होइन, सत्य बोल्न पाउने ‘एक दिनको लोकतन्त्र’ बनेको छ।
अन्तिम वाक्य “उहाँको स्वरमा चेत थियो, हाम्रो हिम्मतमा गति” लयात्मक छ, प्रतीकात्मक छ, तर एकैसाथ केही घोषणात्मक पनि लाग्छ। यस्ता वाक्यमा भाषा झनै कसेर लघुकथालाई सूक्तिपरक निष्कर्षमा पुर्याउन सकिन्थ्यो।
सारांशमा:
‘क्रान्ति’ गाईजात्रालाई भाषिक, वैचारिक र राजनीतिक क्रान्तिको प्रतीक बनाउने सार्थक प्रयास हो। हास्यको पृष्ठभूमिमा रहेको क्रोध, निराशा र व्यङ्ग्यलाई लघुकथाकारले समेटेकी छन्। तर कतिपय वाक्यमा व्यङ्ग्यको साटो नारा हाबी भएकोले कलात्मक चोट कम महसुस हुन्छ। यदि संवादहरू अझै मार्मिक, पात्रगत भाषाशैलीअनुसार वैविध्यपूर्ण, अनि अन्त्य अझ सूक्तिपरक शैलीमा हुने हो भने यो कथा व्यङ्ग्य साहित्यमा झनै दह्रो बन्छ।
निष्कर्ष:
लघुकथाले भन्छ, अब गाईजात्रा हाँस्ने होइन, लाजले अनुहार छोपेर क्रान्तिको मुख हेर्ने दिन हो। क्रान्तिको घोषणा माइकबाट होइन, ब्यानरमा पोतिएको कालो रङले हुन्छ। यही शक्ति हो कथाको व्यङ्ग्य, जसले पाठकलाई हाँस्दै सोच्न बाध्य बनाउँछ।
❛उत्तरकथा❜
लघुकथा: ब्यानरको आकाश
“ए! ए! ब्यानर सम्हाल नत्र चिप्लिएर मन्त्रीको लादी देखिन्छ!” एक जना युवाले हतारिँदै भन्यो, कालो मोसो पोतिएको ब्यानरको कुनो समात्दै।
भिड फेरि उर्लँदै थियो। कसैले पुराना जुत्ता खोज्दै थियो, कसैले मोबाइलबाट लाइभ गर्दै।
ठ्याक्कै त्यत्तिकैमा, त्यही समाजसेवी वृद्ध फेरि त्यहीँ देखिए। तर यसपालि हातमा थियो कागज र कलम, अनि ओठमा मुस्कान।
“हे ब्यानरबाज योद्धाहरू!”, वृद्धले बोले, हाँसो थाम्दै।
“आज ब्यानरमा नाम मात्र देखिएर के भयो? भोलि तपाईंको अनुहार देखियो भने?”
एक छिन सन्नाटा छायो। त्यो अगाडि बोल्ने युवाले भन्यो, “तर हजुरबाबा, अब त सबै जनताले यिनको असली रूप चिने! अब स्वतन्त्रता हामीले जित्यौँ!”
वृद्धले निधारमा चस्मा मिलाउँदै भने-
“जित्यौ? कुन स्वतन्त्रता जित्यौ बाबु? जुत्ताको मालाले आत्मा शुद्धिन्छ? कालो मोसोले नीति धोइन्छ?”
हामी अचम्म परेर हेर्दै थियौँ, उहाँले सोच्दै लेख्न थाल्नुभयो-
“क्रान्ति भनेको नारा होइन, निरन्तर चरित्र सुधार हो। क्रान्ति जब आत्मविश्लेषण बन्छ, स्वतन्त्रता तब समाजको अनुहारमा देखिन्छ।”
उनले हातमा समातेको कागज देखाउँदै भने- “अब एउटा नयाँ ब्यानर बनाऊ, जहाँ न कसैको अनुहार पोतिएको होस्, न कसैको नाम लुकेको होस्, तर सबैको विवेक उजागर भएको होस्!”
युवाहरू चुपचाप भए। मोसो बोकेको बाल्टिन छेउमा राखियो। जुत्ताका माला फूलका मालाले बदलिए। ब्यानरमा लेखियो-
“साँचो क्रान्ति त्यो हो, जब हामी आफैँलाई सुधार्न थाल्छौँ।”
“`
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।