गाउँपालिकाको चुनाव लागिरहेको छ । जिन्दावाद-मुर्दावादका गुञ्जनले सहर-गाउँ तातिरहेको छ । होटलले मासुभात खुवाएर फुर्सद पाएको छैन । जताततै तानातान र हानाहान पनि मच्चिएकाले प्रहरी कार्यालय पनि फुर्सदमा छैन ।
यता केही वर्षदेखि सडकपेटीमा बास भएका पूर्व हेडसर कमलिकान्त त्यही पाटीमा नै थला परेका छन् । उनलाई हनहनी ज्वरो आइरहेको छ । गोडामा घाउ आएदेखि माग्न जान पनि सकेनन् । सँगै बस्ने दुई सडक बालकहरू चुनाव प्रचारमा गएदेखि बास बस्न पनि आएका छैनन् । कहिलेकाहीँ खानेकुरा ल्याएर दिन्थे । तिनीहरूको मुख देखिएको छैन । त्यसैले आज उनको पेट भरिन नपाएको तेस्रो दिन पनि हो ।
माघ महिना थियो । त्यही पाटीलाई स्टेज बनाएर हिजो एउटाले भाषण गर्न आयो । बाहिर मैलो, झुत्रो र रङ नचिनिने कम्बल ओढेर सुतिरहेका कमलिकान्तलाई हकार्दै पाटीको छहारीबाट हुत्याएर सडकमा निकालिदिए । पाटी सजाएर मञ्च बनाए । त्यहाँ दमदार भाषण चल्न थाल्यो । भाषण गर्ने वक्ताले आकर्षक मन्तव्य दिए । श्रोता र दर्शक दीर्घाबाट तालीको पर्रा छुट्दै थियो । अब त्यस पालिकाको उमेदवार र प्रमुख अतिथि सेवकलालको बोल्ने पालो आयो । उनले भने, ‘यस पालिकामा मेरो जितपछि कोही असहाय हुनुपर्ने छैन । सबैका सहारा म र गाउँपालिका हुनेछ । कसैले ओखतीमूलो नपाएर मर्नुपर्ने छैन । म सबैको ओखतीमूलो गरिदिने छु । खान नपाएर कोही मर्ने छैनन् । सबैको नाना, माना, छाना र बिमारको म प्रबन्ध गरिदिने छु ।’ कार्यकर्ताहरूले सडक उचाल्ने गरेर ताली पिटे । सेवकलाल जिन्दावादको नारा लगाए । माहोल रमाइलो बन्यो । त्यही सडक किनारमा मिल्काइएका कमलिकान्तले पनि यो सब सुनिरहे । उनको बिमार बिस्तारै बिस्तारै बढ्दै गयो । उच्च ज्वरोका कारण उनी बेहोस भए । केही दिनदेखि अन्न मुखमा परेको पनि थिएन । नातागत, घामको ताप र ज्वरोको डाहले प्याक-प्याक गर्दै त्यही थोत्रो पाटीमा उनको शरीरले यस नश्वर शरीर छोडेर सदाका लागि अस्तायो । अस्ताउनुअघि उनले छोराको वजनदार र रहरलाग्दो झुट सुने ।
बेलुका कार्यकर्ताहरूले जुलुस निकाले । ‘हाम्रा उमेदवारका पितालाई विपक्षीहरूले आक्रमण गरेर मारेका हुन् !’ – ‘कमलिकान्त जिन्दावाद !’
यतिबेला सेवकलाल सेतो किरियापुत्री पोसाकमा छ । भेट्नेहरूको लर्को र सहानुभूतिको वर्षा पनि छ । बेलाबेलामा भन्छ, ”बा’को नाम राख्नकै लागि म उमेदवार भएको हुँ । हाम्रा बा महान् शिक्षासेवी हुनुहुन्थ्यो ।'”
अक्षर आवास धादिङ
nabindahal1000@gmail.com


