सुरेशकुमार पाण्डे
“बेली! तेरो घर त ठीकै रहेछ,” ममताले घरलाई चारैतिरबाट हेर्दै भनिन्।
आमाको कुरा सुनेर केही नबोली बेली खिसिक्क हाँसिन्। बेली र जागेले भागी विवाह गरेका थिए। आज पहिलो पटक आमा छोरीलाई भेट्न आएकी थिइन्।
“अब आफैँ पनि सोच्नू, छोरी! ज्वाइँको पनि राम्रै कमाइ रहेछ,” बेलीकी आमा ममताले आँगनमा बसेका बूढाबूढीतिर नजर घुमाउँदै भनिन्।
“मैले बुझिनँ नि, आमा! हजुरले भन्न खोज्नुभएको कुरा ?” बेली आफ्नी आमाको मुखमा ट्वाल्ल परेर हेर्दै सोधिन्।
“अब तँलाई पनि सबै कुरा मैले नै भन्नुपर्छ? आफ्नो पनि केही दिमाग लगा, जसरी विवाह गर्दा लगाएकी थिइस्,” ममताले आफ्नी छोरीतिर हेर्दै भनिन्।
“बिस्तारै सबै राम्रो हुन्छ, आमा! नआत्तिनुहोस्।” उनलाई लाग्यो, सायद आमाले छोराछोरी जन्माउनेतिर इसारा गरिन् कि! तर, ममताको इसारा अन्तै थियो।
“सबै ठीक हुन्छ, आमा! नआत्तिनुहोस् न,” उनी लजाएझैँ गर्दै भनिन्।
“हुन्छ, खुब बिस्तारै! समयमै बुद्धि पुगेन भने पछि पछुतो लाग्न सक्छ। अझै दुई भाइ विवाह नभएका रहेछन्। बूढाबूढीलाई पनि रेखदेख गर्नुपर्ने होला?” ममताले गर्दन बटार्दै भनिन्।
“हजुरको मतलब…?”
“ठीक सम्झिस्, त्यही हो। आजैबाट आफ्नो बाटो लाग्ने तयारी गर्,” ममताले बेलीको कुरा बीचमै काट्दै भनिन्।
“हो हो, सासूआमा! भाउजूलाई राम्रो संस्कार सिकाउनुहोस् है,” बेलीको देवर भित्र पस्दै बोल्यो।
दाङ, घोराही-१८
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।