वि.सं. २०३० असारमा जहडा, उदयपुरमा माता भगवती र पिता विष्णुप्रसाद आचार्यका सुपुत्रका रूपमा जन्मिएका नन्दलाल आचार्य नेपाली साहित्यका एक स्थापित स्रष्टा हुन्। हाल बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुरमा बसोबास गर्दै आएका उनले सानैदेखि नेपाली साहित्य लेखनमा रुचि राख्दै वि.सं. २०५३/५४ देखि विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू प्रकाशन गर्दै आएका छन्।
साहित्यमा निरन्तर सक्रिय आचार्य नेपाली भाषाका प्रायः सबै विधामा कलम चलाउँछन्। उनका नाटक, समालोचना, निबन्ध, उपन्यास, लघुकथा र कथा विधाका कृतिहरू प्रकाशित छन्। उनले नेपाली साहित्यमा पुर्याएको योगदानका लागि एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्।
हाल उनी विभिन्न साहित्यिक पत्रपत्रिका तथा संघ-संस्थामा आबद्ध रही नेपाली साहित्यको सेवामा समर्पित छन्। उनका महत्वपूर्ण कृतिमध्ये “गरुराहा” उपन्यास विशेष रूपमा चर्चित छ, जसलाई जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरले वि.सं. २०७६ मा प्रकाशित गरेको थियो। सो उपन्यासलाई “हाम्रो कथाघर डट कम” अनलाइन पत्रिकाले डिजिटल रूपमा पुनः प्रकाशन गरेको छ।
ज्योतिजी! यस घडीमा मेरो मनमा आँधी चलिरहेको छ। त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा म स्वयम् द्विविधामा छु। मेरो यस पत्रात्मक आँधीबेहरीले टुङ्गो भेट्छ वा अझ अव्यवस्थित ढङ्गले उत्पात मच्चाउँछ, त्यो भने समयले नै बताउला। र, तिम्रा भागमा समेत त्यसको जस र अपजस जाला। अहिले भने म मन खोलेर देखाउने मनस्थितिमा छु। सिर्फ तिम्रो धैर्यको अपेक्षा गर्दछु।
उत्तर दिशातिर पूर्व-पश्चिम लम्केको शृङ्खलाबद्ध चुरेपर्वत हरियो पोशाकमा मुस्कुराइरहेको छ। पश्चिम दिशामा वर्षा याममा उर्लेर जथाभावी फाँडफुँड गर्ने तर अरू बेला छातीभरि बालुवा नै बालुवा बोक्ने बलान नदी झोक्राइरहेको छ। पूर्व दिशामा भने सप्तकोशी आफ्नो गतिमा सुसाइरहेको छ। दक्षिण दिशामा छिमेकी विहार टुलुटुलु हेरिरहेको छ। यिनैले वेष्टित भूमिलाई सप्तरी नामाङ्कन गरिएको छ।
त्यसकै पश्चिमी सीमानामा पर्ने लोकराजमार्गसँगै टाँसिएका प्रमाणपुर, मलहनियाँ, कुशाहा, पन्सेरा अनि बनरझुला-कञ्चिराजस्ता गाउँ विकास समिति छन्। भौगोलिक रूपमा आफ्नो गाविससँग सम्बन्धविच्छेद भए पनि कागजी रूपमा पन्सेरा गाविससँग सम्बन्ध दर्ता भएका दुई वटा वडा नं. ८ र ९ गरुराहा गाउँमा पर्छन्। त्यसै गाउँमा सानो क्षेत्रफलमा फैलिएको चमारहरूको विशाल बस्ती छ।
अहिले त्यो बस्ती आफ्नै गतिमा फड्को मार्दै छ। ज्ञान-विज्ञानको चमत्कारले त्यसलाई पनि रत्याएको छ। र, पनि गाउँको जीवनशैली, सामाजिक मनोविज्ञान र सङ्घर्षमय जीवनदर्शनमा खासै फेरबदल छैन। मधेसको एउटा नमीठो पाटो पिठिउँमा बोकेर प्रत्येक दिनको सूर्योदयसँग अन्त्यहीन युद्ध गर्न भने गरुराहा कहिल्यै पछि परेको छैन।
त्यहाँ अझै पनि अबुझ छायाहरू उत्तिकै सल्बलाउँछन्। सामाजिक विद्रोहको भावना बोकेर रीतिथिति उल्टाउन समर मैदानमा खटेकाहरू समेत यदाकदा भेटिन्छन्। पुस्तौनी चलनलाई मलजल दिन खोज्नेहरू पनि उत्तिकै छन्।
जोशका साथ पाखुरी चलाएर बिहान-बेलुकाको गर्जो टार्नेहरू प्रशस्त छन्। गोजीमा दुई पैसा भएपछि रक्सी भट्टीतिर दगुर्ने र साँझ अबेर घर आएर निरीह श्रीमती तर्साउनेहरू पनि उत्तिकै सङ्ख्यामा छन्।
खोज्दै जाँदा समर विश्वविद्यालयमा अध्ययन गर्दाका गर्बिला सफलताहरूका साथै दुर्भाग्यपूर्ण असफलताहरू काँधमा बोक्ने मधेसी ठिटाठिटीहरू लुखुरलुखुर हिँडिरहेका समेत भेटिन्छन्। सोझासिधालाई त्रस्त पारिरहेमा आफ्नो भविष्य सुरक्षित ठान्ने ठूला-ठालु पनि वरपर त्यत्तिकै छन्।
तिनले पहाडी कुना-कन्दरामा गर्नुपरेका सङ्घर्षमय क्षणहरू, मधेस र पहाडी जनजीवनका सांस्कृतिक रूपान्तरणका सवालहरू बारे धाराप्रवाह विचार ओकल्ने गरेको पनि सुनिन्छ। साथै, नेपाली माटोमा हुनुपर्ने र गरिनुपर्ने राजनीतिको मोडलजस्ता जटिल विषयवस्तुमा विशद चर्चा-परिचर्चाले ढाकिने आँपगाछीका चौताराहरू पनि पर्याप्त छन्।
ज्योति! म त्यसै गाउँ र ठाउँ अनि जनजीवनको एउटा बिरुवा हुँ। ठूलठूला सपनाहरू मनभरि सजाएर उकाली-ओरालीको यात्रामा हरदम सक्रिय जीवन बिताइरहेकै छु। किताबी ज्ञानमा ठूलो प्रमाणपत्र पाइनँ। आफ्नै यात्रामा पाएको प्रमाणपत्र भने गहकिलो छ।
म समाजसँग मिल्न सक्दिनँ। समाजलाई नै आफूभित्र मिलाउन हरसम्भव कोसिस गर्दै छु। यसै कोसिसलाई साकार रूप दिन सघाउँछ्यौ भनेर तिम्रो मुहार मनभरि सङ्गालेर सादा पानालाई रङ्गाइरहेछु।
विगत दश वर्षदेखि तिमी मेरा आँखा वरपर छ्यौ। म समेत तिम्रो पारिवारिक पृष्ठभूमिको जानकार छु। चुरे र महाभारत बीचको उदयपुरे धर्तीमा तिमीले पहिलो पटक धर्ती स्पर्श गरेको सुनेको छु। समर मैदानको सेल्टर जीवनले कर्म दिएको बुझेको छु। र, २०६३ देखि राजधानीले तिम्रो जीवनमा नयाँ रङ्ग चढाइदिएको देखेको छु।
समर मैदानको शिक्षाका कारणले नै म पत्र लेख्न बसेको हुँ। समयले नै पत्र लेखनको औचित्य पुष्टि गर्दै जाने छ। अन्तिम श्वास फेर्दै गर्दा साथी अग्निका मुखबाट निस्केका मधुर ध्वनिले मलाई हरबखत घचघचाइरहन्छ।
ऊ नै मेरो मार्गदर्शक सिद्धान्त हो। उसले जुन पाइलो जहाँ टेक्यो, मैले पनि त्यहीँ टेक्दै रहेँ। कतै आँखा चिम्लेर टेकेँ, कतै आँखा खोलेरै टेकेँ। कतै पनि उसका पाइलाका कमजोर छाप देखिनँ। हरेक पाइला माटाका सुगन्धले भरिएका थिए। तसर्थ तिनैलाई सहर्ष आफ्ना पाइलामा बदलेँ।
मेरो क्षमता, इच्छा र रुचिलाई मध्यनजर गरेरै मलाई रोगी-घाइतेको सेवा र उपचारमा संलग्न गराइयो। म औधी खुसी भएँ। जीवनदानको मार्गमा तत्कालै होमिन पाउँदा मलाई मेरो समरयात्रा गन्तव्योन्मुख भएको अनुभूत भयो। ‘मर कि मार’को बेलामा बचाउने काम पाउनु अहोभाग्य हो।
ज्योतिजी! मसँग त तिमीलाई चिनाउन पुग्ने धेरै साधनहरू छन्। सबै पाटाहरू चाहेर पनि खोल्न सक्दिनँ। मैले भोगेको समय तिमीलाई अवगत गराएर पनि सक्दिनँ। म जे सक्छु, त्यही लेख्छु।
यसैलाई आधिकारिक स्रोत र साधन सम्झेर पढ। पढिसकेपछि त्यसको सत्यता जाँच। जे भेट्छ्यौ र जे ठम्याउँछ्यौ, त्यही गर। मेरो पक्षमा निर्णय गर या विपक्षमा गर। त्यसमा तिमी पूर्ण स्वतन्त्र छ्यौ।
मात्र मलाई राम्ररी पढिदेऊ भन्दै छु। सक्छ्यौ र चाहन्छ्यौ भने मेरो जीवनभरकी सहेली बन। र, रूपान्तरणको अभियान-यात्रा आफैँबाट सुरुआत गर्न पाइला अघि सार। होइन भने अलग्गै रहेर पनि रूपान्तरणको गाथा रच्न सहयोगी बन।
हेर ज्योति! म सजिलै यस ठाउँमा उभिएको छैन। पलपल प्राणलाई दाउमा राखेर यहाँ आइपुगेको हुँ। मैले अहिलेसम्म ठूलो मूल्य चुकाइसकेको छु। धेरैका सपनाहरू आफ्नो मुट्ठीमा कैद गरेको छु। तिनै सपना साकार पार्न अटल सगरमाथा बनेर समाजसँग जुधिरहेछु।
शारीरिक रूपमा अशक्तलाई सशक्त पार्न सञ्जीवनी बुटीयुक्त पर्वत माथमा बोकेर चारचौरास डुलेको छु। काँडाघारी फाँडेर बस्ती बसाल्ने योद्धाहरू सँगसँगै हिँडी बिझेका काँडा झिकेर तन्दुरुस्त पारिदिएको छु।
एक फकीरको भेषमा घाइते बोकी अस्पताल अस्पताल धाएको छु। र, अचेल भने साँच्चैको फकिरी जीवन धानिरहेको छु। मभित्र मैलो दुनियाँ देख्ने छैनौ। कञ्चन छु भन्ने इच्छा छैन। दुर्गन्ध हुनबाट दस हात पर बस्ने गरेको भने अवश्य छु।
ज्योति! आज तिमीलाई मेरो सेरोफेरो घुमाउँदै छु। मलाई शब्दमा उत्रिएको पाएपछि तिम्रो मन पनि शान्त होला भन्ठान्दै छु। मनमा उठेका हरेक प्रश्नहरूले जवाफ भेटे भने तिमी प्रश्नविहीन हौली भन्दै छु।
हेर! मलाई अहिले केवल एक विद्रोहीका रूपमा मात्र नचिन। म एक समयमा ‘राजदेव’ नामधारी अबुझ ठिटो पनि थिएँ भन्ने कुरा बुझ। म पनि कुहिराको काग बनेर धेरै समयसम्म अलमलिरहेँ भन्ने पनि सम्झ।
आजको घडीसम्म आइपुग्न मैले दर्जनौँ पटक मृत्युसँग साक्षात्कार गरेको छु। अबुझ राजदेवदेखि एक विद्रोहीसम्मको यात्रामा जीवनलाई कति वर्ष कसरी मथ्ने काम गरेँ भन्ने वृत्तान्त नसुनाई तिमी मलाई बुझ्न सक्दिनौ।
जीवनलाई सतहीमा बुझ्न खोज्दा नै सङ्कटको घडी आउँछ। ज्योति! कुरा सुन्दै जाऊ, मनमा पनि गुन्दै जाऊ! कुनै न कुनै घडीमा मेरो हैसियत र दुर्दशा अवश्य थाहा पाउने छ्यौ।
आखिर संसारमा सबै एकै प्रकारले आउँछन्। र, एकै प्रकारले जान्छन्। सबैलाई धनी बन्ने रहर हुन्छ। गरिब बन्ने इच्छा कसैलाई हुँदैन। सबैलाई उच्च कुलमा जन्मने मनोकाङ्क्षा हुन्छ। कथित निच कुलको भएर दुनियाँको हेपाहा प्रवृत्तिको सिकार हुने रहर कसैलाई हुँदैन। म पनि त्यही ड्याङको र जातको मुला हुँ।
संसारलाई खुसी तुल्याउने सामर्थ्य कसैमा छैन। कतै फूलको वर्षा त कतै पत्थरको पीडा दुवैलाई जसले स्वीकारेर जुझारु पाइला चाल्यो, उसकै अगाडि सफलताको रास लाग्दछ। त्यही बाटो भएर हिँड्दा हिँड्दै पत्रका हरफहरू बढ्दै गएको देख्दै छु। यसले हाम्रो सम्बन्धलाई निर्दोष धागोले कसेर बाँध्ने आशा राख्दै छु।
अब भने दिनानुदिन परिभाषाहरू बदलिँदै छन्। एक आशलाग्दो सूर्योदय भइरहेको प्रतीत हुन्छ। परिवर्तनको किरण महलसम्म नपुगेको आभास समेत भइरहेछ, किनभने अझै पनि समानताको शङ्खघोष हुन नसकेको भान भइरहेछ।
यसले गर्दा समाज एकाध शताब्दीसम्म पुरातन संस्कारकै वरपर घुमिहिँड्ने निश्चित भइरहेछ। समय भने आफ्नै गति र सुरमा परिवर्तनको दिशातर्फ मोडिइरहेछ। हामी भने मन पुरातनतिर र मुख आधुनिकतातिर पारिरहेछौँ।
थरिथरिका जिब्राहरू हामीसँगै छन्। कुन जिब्राको प्रयोग कतिखेर गर्ने भन्ने कुराको जानिफकार पनि हामी नै छौँ। हाम्रो मन जे भए पनि आफूलाई बचाउने रणनीति अपनाउन जान्दछौँ।
यथास्थिति नै हाम्रो जप, तप र गन्तव्य हुन्छ। अनि, रूपान्तरण कहाँ पाइन्छ? त्यसैले त मलाई तिमीसँग आफ्ना कुराहरू गर्न गाह्रो परेको छ। मन ओछ्याउन असहज भएको छ।
ज्योति! मेरा यी शब्दहरूको भुक्तभोगी म स्वयम् हुँ। भावनाको लेप लगाउनु आवश्यक ठान्दिनँ। यस्तो तीतो जीवनलाई समेट्ने शब्द भेट्दिनँ। यद्यपि खोज्दै छु र कनिकुथी लेख्दै छु।
मान्छेले समयले पढाएको पाठ सिक्नुपर्ने रहेछ। आफू समाजमा समायोजित हुने होइन, समाजलाई आफू अनुकूल बनाउने हो भने हिम्मत जुटाउनु पर्ने रहेछ। हो, संसारलाई अग्रदिशामा लम्काउन आफैँले कहर काट्न पनि रहर गर्नुपर्ने रहेछ।
समयले गरेको यसै सङ्केतलाई मैले गुरुअस्त्र मानेँ। विचारले मथेको अनुभवलाई व्यवहारमा उतारेँ। तराई मधेसको माटोले पिलाएको अमृतका बलले पहाडलाई जोड्न सकेँ। धेरैले हारेका युद्धहरू म एक्लैले धेरै पटक जितेँ। सामान्य भएर पनि पटक-पटक असामान्य जीवन बिताएँ।
साँच्चै भनूँ, प्रिय! म धेरै पटक मान्छे नभई बाँचेँ। धेरै पटक पत्थरको जीवन धारण गरेँ। र, पो यत्तिखेर म विद्रोही भएर सबैका सामु चिनिन सकेँ।
त्यसबेला वैयक्तिक झमेला र चाहनालाई पिएको थिएँ। परिस्थितिलाई पचाएको थिएँ। कर्तव्यलाई नै मैले मूलमन्त्र ठानेको थिएँ। ‘मुक्ति वा मृत्यु’ मध्ये एक चाहिँ अवश्य हात पर्ने ठानेर म महायुद्धमा सरिक थिएँ। जनताको हारको खेलमा होइन जितको खेलमा म सरिक थिएँ।
मात्र धेरै जित कि थोरै जित भन्नु मात्र थियो। आखिरमा थोरै थोरै जितबाट ठूलो जित हात पार्न सकिन्थ्यो। खासमा म पाइला-पाइलामा जित हात पार्दै दगुरेँ। र, पो तिम्रा सामु यी अक्षरहरूका माध्यमले खडा हुन सकेँ।
गरुराहा पुगेर मेरो विगत बुझेपछि तिमी सोच्दी हौ— बलान नदी किनारको बालुवामा जन्मे हुर्केको, चुरे पहाडबाट बग्दै आएको पानीको भेलले चलखेल गर्ने खरचुहिया र गरुराहा गाउँको झाँडी-झोक्रीमा लुकामारी खेल्दै बढेको यस केटोले कत्रो नै मन बनाउन सकेको होला र! समयको कालो पाटाले यसलाई घाउ दियो। त्यसैमा मलहमपट्टी बाँध्न यसले गरुराहा गाउँलाई नै भुलिदियो। खरचुहिया चोकको धुलौटे बाटो नै हिँड्न बिर्सिदियो। जन्मले दबेको थियो, कर्मले उक्सने रहरले आफ्नो नामलाई नै त्यागिदियो। सानो सकसले ठूलो फल प्राप्तिको सपना सजाइरह्यो। फलस्वरूप बुबाआमा, दाजुभाउजूलाई उठिबास दिलायो। आफ्ना स्वजातीय भाइबन्धुको अमनचयनमा प्रश्नचिह्न लगायो। यो केटो यस्तो केटो हो जसले स्वजातिलाई धेरै दिन वृक्षमुनि सुतायो। कठोर कठघरामा उभ्याएर स्पष्टीकरणको लामो बयान दिन लगायो। आफूले त कहिल्यै सन्तोष भेटेन तर अरूलाई समेत धरधरी रुने बनायो। र, पनि अझै न गाँसको ठेगान छ, न बासको व्यवस्था छ। सफल हुन नसक्नेले सफलताको सूत्र सिकाउँदै हिँड्नु किमार्थ उचित होइन। भएको यस्तै छ। चिप्ला कुराले मन त भरिएला तर पेट भरिन्न। क्षणिक प्रिय बन्ला तर कालान्तरसम्मको छाप्रो बन्दैन। सत्यलाई बङ्ग्याएर मान्छेलाई भुल्याउन मिल्दैन।
हो, प्रिय! तिम्रा मनमा यस्ता अनगिन्ती कुराहरू खेलिरहेका होलान्। तिम्रो दिमागमा मलाई अशुद्ध देख्ने धेरै प्रमाणहरू विद्यमान होलान्। मेरो मन र मस्तिष्क पढ्न चाहेर पनि पढ्न नसकेका धेरै अवस्थाहरू होलान्। आलोचनात्मक आँखाले हेर्दा दुनियाँ चित्रविचित्रको छ।
हो, तिम्रा लागि म थरिथरिको हुँला। हो, तिम्रा आँखामा म अलिक अप्ठ्यारो मान्छे गनिउँला। मभित्र भएको गुण वा अवगुण पक्ष पत्ता लगाएर मात्र हुँदैन। तिमी नै मभित्र मर्ज हुन सक्नुपर्छ। अनि मात्र यथार्थबोध हुँदै जान्छ।
चिन्ता नमान, यस पटक म स्वयम्लाई शब्दमा रूपान्तरण गर्दै छु। तिमी चाहेको बेला मलाई पढ्न सक्छ्यौ। बेफुर्सदको बेला थन्क्याउन सक्छ्यौ। थोरै भए पनि गुण देख्यौ भने आफ्नै सम्झेर ग्रहण गर्न सक्छ्यौ। अवगुण फेला परेछ भने पाठ पढेर आफू सप्रिन सक्छ्यौ।
नत्र, मलाई सक्दो धिकार्न सक्छ्यौ। तिम्रो अधिकार तिमीसँगै सुरक्षित छ। त्यसको सम्मान गर्ने एउटा मन मसँग पनि छ। मन नै नभएको विद्रोही भन्नुपर्दैन। पत्थर मन बनाएर काम गरेको भए पनि मान्छे-मन मसँग पर्याप्त छ।
भ्रममा नपर। तिमी मबाट परपर नसर। नजिक हुन सक्यौ भने मलाई अवश्य पढ्न सक्छ्यौ। टाढिँदै जाँदा मलाई सम्झन समेत सक्दिनौ।
मेरो बोक्रे अध्ययनले तिमीलाई फुटेको कौडी मिल्ने छैन। मभित्र डुबेर मलाई नियाल्यौ भने मात्र मलाई छर्लङ्ग देख्ने छ्यौ।
धरोधर्म भन्छु— तिमी आफ्नो सोचमा अझ गम्भीर बन्ने छ्यौ। मलाई हेर्ने तिम्रा नकारात्मक आँखाहरू धमिला हुने छन्। सकारात्मक आँखाहरू खुल्ने छन्। अन्ततोगत्वा तराई मधेसमा एउटा दुखेसोको पहाड ठडिएको पाउने छ्यौ।
हेर, ज्योति! तिमीलाई म सुटुक्क त्यतैतिर लान्छु। अघाउँजी चिसो जल पियाउँछु। र, पुनः यही धरातलमा फर्काउँछु। किनभने, जीवनलाई गन्तव्यसम्म त्यही विन्दु भएर पुर्याउनुछ।
सोझो राजमार्ग रोज्दारोज्दै नपुगे अवश्य बाङ्गो-टिङ्गो राजमार्ग समाउनुपर्छ। हो, मैले फर्केर यतै आउनुछ। र, साथमा तिमीलाई पनि ल्याउनुछ।
अतीतको पूजाआजामा समय सिध्याउनेका लागि अतीत केवल भ्रम हो। अतीतबाट मनग्य पाठ पढ्नेका लागि अतीत सत्य हो। अतीतको जग छामेर वर्तमान चियाउने र भविष्य सजाउनेले नै राज गर्न सक्छ।
सुखी अतीत पढ्दै दुःखी वर्तमानमा आत्तिनेहरू धेरै हराएका छन्। अझ दुःखी अतीत घोक्दै सुखी वर्तमान पकडमा लिन नसक्नेहरू बौलाएर गएका छन्। अतीतको हविगतलाई निचोरेर सुकिलो पाटोले वर्तमान सेक्नेहरू अहिले ठूलो छाती पारेर गर्व गर्न सक्ने भएका छन्।
हो, म पनि त्यही हुँ, वर्तमान सेक्न तम्तयार सिपाही हुँ। धेरै पल्ट मृत्युशास्त्र पढेर शास्त्रार्थ गरेको व्यक्ति हुँ। धोकाको खोल कुल्चेको ठिटो हुँ। विश्वासको गम्छा ओडेको मान्छे हुँ।
खोला-नदीनाला, खोँच, गुफा, उकाली-ओराली जताततै जसरी हुन्छ, त्यसरी पुगेर कर्तव्य निर्वाह गरेको विश्वविद्यालयको असल शिष्य हुँ। म धेरै ठाउँमा उत्तीर्ण तर महत्त्वपूर्ण स्थानमा अझै अनुत्तीर्ण विद्यार्थी हुँ। अझै सङ्घर्षमा होमिएको सिकारु हुँ।
म अझै विश्वविद्यालयको अध्ययनमा जुटिरहेको छु। अझै आफ्नो छातीभित्र जबरजस्त दबाइएका ज्वारभाटाहरूलाई विस्फोट गर्न कम्मर कसेको लाल सिपाही हुँ। यही मेरो जीवनको अहिलेसम्मको अन्तिम तोक हो। यसैबाट मेरो गाउँठाउँको हिजो पनि देखिन्छ, आज पनि भेटिन्छ र भोलिको ढोका खोल्ने आधार पनि बन्दछ।
∎∎∎∎∎ क्रमशः
नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
nandalalacharya@gmail.com
मो. नं. ९८४२८२९२०६
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।