सगरका टिलपिलाएका
ताराहरुले पनि अक्षर कोर्दा होलान्
अक्षर अक्षर जोडेर शब्द भर्दा होलान्
शब्द शब्द गाँसेर
भावनाका माला उन्दा होलान्
ती ताराहरुका अक्षर कस्ता होलान्?
शब्दहरु कस्ता होलान्?
तिनीहरुका भावना कसले बुझिदेलान्
ताराहरुका पनि आफ्नै व्यथा होलान्
तर पनि ताराहरुले धरातल भुलेका छैनन्
विरासत त्यागेका छैनन्
अन्धकारमा ज्योति बनेर मुस्कुराउन छाडेका छैनन्
के मान्छे पनि
ताराहरुजस्तै हुन सक्तैनन्?


