कहिले कपाल लुछिन्छ
कहिले नीलडाम हुन्छन् गालाहरू
कहिले खोसिन्छ खाँदै गरेको गाँस
कहिले खानु पर्छ पेट भर्नकै लागि
सबैले छोडेको जुठो सोरेर
सबै सबै भोग्न परिरहेछ यहाँ नारीले
सँसारकै सबै बकबास
नारीबाटै नारीहरूले
कहीँ भोगिरहेछन् चरम उत्पीड़न
पोखिँदैछन् गुनासाहरू
नारीबाट नारीकै विरुद्ध
सुनाउँदैछिन् आमा छोरासँग
सुनाउँदैछिन् श्रीमती श्रीमानसँग
उम्लिरहेछन् नारी नारीकै विरुद्धमा
कोही बुहारीको भेषमा
कोही सासुको भेषमा
नारी बाटै लुटिन्छन् नारीहरू
बेचिन्छन् नारीहरू नारीबाटै
नारी भएकै कारण मिल्किन्छन्
कयौँ नारीहरू कुडा दानिमा
एउटा भ्रुणका रुपमा
यी सबै काला कर्तुतहरूलाई
नामेट पार्न सकिनेछ नारीहरूबाटै
जब बन्नेछन् हरेक नारीहरू
केवल नारी
तब रहने छैनन्
पुरातनवादी सासुहरू
र रहने छैनन्
आधुनिकताको बर्को भित्रका बुहारीहरू
कतै गुञ्जिने छैनन्
नारीबाट नारी प्रतिका गुनासाहरू
सबै नारीको अनुहारमा
सधैं उज्यालो घाम पोतिएपछि
मनाइरहनु पर्नेपनि छैन
बर्षमा केवल एक दिन
नारी दिवसको तानाबाना बुनेर
०००
कुमाख गा. पा. सल्यान, कर्णाली प्र.


