Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: मेरो लोग्ने तिम्रो लोग्ने

कथा: मेरो लोग्ने तिम्रो लोग्ने

आख्यान - कथा
दिव्य गिरीदिव्य गिरीचैत्र ४, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

साउन महिनाको अन्तिम सोमबार। पशुपति मन्दिरमा पूजा गर्न आउने महिला भक्तजनहरूको निकै भीड थियो। तारा हातमा पूजाथाली लिएर भक्तजनहरूको त्यो भीडमा उभिइरहेकी थिई। भक्तजनको लाम छिटो अगाडि नसरेकोमा उसलाई दिक्क लागिरहेको थियो र मनमा चिन्ता पनि। चिन्ता यस कारण कि उसको लोग्नेले ‘मलाई दस बजे नै अफिस पुग्नुछ, छिटै आउनु…’ भनेको थियो र ऊ आफूचाहिँ सडक किनारामा मोटरसाईकल अड्याएर मोबाइलमा गेम खेलिरहेको थियो। आधा घन्टा नै भइसकेको थियो तारा लाममा उभिएकी। कतिखेर पालो आउला र चाँडै जाउँला भन्ने आशामा उभिइरहेकि थिई। यसबीच उसको लोग्नेले तीन पटक तारालाई मोबाइलमा फोन गरिसकेको थियो।

‘ए तारा! मलाई चिन्यौ?’ अकस्मात् वन्दनाले ऊ नजिकै आएर भनी। ताराले आवाज आएतिर फर्केर हेरि र आश्चर्यभावमा सोधी- ‘लौ! वन्दना हौ नि! किन बिर्सन्थें ! अरूलाई सम्झेको र तिमीलाई बिर्सेको, उस्तैउस्तै हो। त्यति निष्ठुरी त छैन म। जीवनमा मेरो मिल्ने यौटी साथी भनेकै तिमी हौ। मैले सम्झिने पनि तिमी नै भएर होला बेलाबेलामा तिम्रो सम्झना आइरहन्छ। कुरा गर्न तिम्रो फोन नम्बर पनि मसँग भएन। के छ हाल खबर? सन्चै छ्यौ नि?’ ताराले एकै पटक धेरै कुरा गरी।

‘सन्चै छु। कलेजबाट छुट्टिएपछि कताकता भइयो। झन्डै चार वर्षपछि आज भेट भयोे। त्यो पनि पशुपतिको मन्दिरमा। हाम्रो यो भेटलाई उनै बाबाले जुराइदिएको हो कि क्या हो!’ वन्दनाले हाँस्दै भनी।

‘होला, बाबाकै कृपा भन्नु पर्ला अब। यतिका वर्षपछि भेट हुन जुराएको रहेछ। हामी चेलीलाई यस्तै हो। बिहे गरेर लोग्नेको घर गएपछि कता हो कता। घरको सुसेधन्दाले फुर्सद नहुने।’ यति भन्दै ताराले वन्दनाको अनुहारमा निकै नियालेर हेरि। ऊ पहिले जस्तै हँसिली र खुसी देखिन्थी। शरीर पनि उस्तै। पहिले झैँ अहिले पनि उस्तै पातलो जिउडालकी नै थिई।

‘कति बेला आएको?’ वन्दनाले सोधी।

‘म आएको त आधा घन्टाभन्दा बढी नै भइसक्यो। तर खोई लाम अगाडि सर्दै सर्दैन। हेरन, पछि आएर ढोकामा घुइँचो गर्ने कति छन्, लाज-सरम पचेकाहरू। आफूलाई ढिला भइसक्यो। यहाँसम्म आएपछि दर्शन नै नगरी कसरी जानु। उता बुढो रिसाएर बम्बम् भएको होला।’ ताराले खिन्न हुँदै भनी।

‘यहाँ यस्तै हो। हामी नेपालीमा नागरिक चेत अर्थात् सिभिक्स सेन्स् भन्छन्, त्यो नै छैन। आफूलाई मात्र भए पुग्यो। मानिसहरू लाममा बसेको देख्दादेख्दै ढोकामा गएर झुम्मिन्छन्। न अनुशासन छ न त नैतिकता नै। त्यसो त अनुशासनहीन मान्छेमा लाज, सरम भन्ने हुँदै हुँदैन। स्वभाव नै एकलकाँटे हुन्छ।’ भीड मध्येकै एक जना अधबैँसे आइमाइले भनी।

‘ठीक भन्नुभयो तपाईंले। एक्काइसौं शताब्दिमा पनि हामीमा अझैँ जङ्गली स्वभाव गएको छैन।’ ऊसँगै पछाडि उभिएकी अर्की अधबैँसेले उसको कुरामा सहमति जनाउँदै भनी।

यसैबीच ताराभन्दा दुई जना अगाडि उभिएकी आइमाईको पूजाथाली नै बाँदरले झम्टेर भुइँमा खसालि दियो। एकछिन त्यहाँ खैलाबैला नै भयो। लाममा उभिएकाहरू सबैले आ-आफ्नो पूजाको थाली र टपरीलाई सकेसम्म बाँदरबाट बचाउने प्रयास गरे।

‘मर्न नसकेको डाम्नो! झम्टिन आइपुगेछ। अब मैले केले पूजा गर्नु?’ भन्दै त्यो आइमाइले बाँदरलाई गाली गरी र खसेको फूल, धूप, बत्ती टिप्न थाली। अक्षता र अबिर त सबै भुइँभरि छरपस्ट छरिएको थियो। बाँदर भने अलिकति पर गएर यताउति पल्याकपुलुक हेर्दै केरा खाँदै थियो।

‘यहाँ यस्तै हो, बाँदरबाट पूजाको सामान जोगाउनै मुस्किल हुन्छ। बाँदर कताबाट आउँछ, आउँछ। फलफूल त देखाउनै हुन्न, झम्टिहाल्छ।’ एउटी बुढी आइमाईले भनी। उसले भनेको कुरा सत्य थियो। किनकि प्लास्टिकको झोलामा राखेको फलफूल टाढैबाट बाँदरले देख्थ्यो र पछाडिबाट झम्टेर तानि हाल्थ्यो ।

‘तिमी कहाँ बस्छ्यौ नि?’ ताराले सोधी।

‘नयाँबजारमा।’ वन्दनाले छोटो उत्तर दिँदै सोधी- ‘अनि तिमी नि?’

‘हामी अहिले सीतापाइलामा बस्छौं। दुई वर्ष भयो तेतातिर सरेको। घर फापेन भन्छन् सासु-ससुरा।’ ताराले आफ्नो पूजाथालीलाई आफैंले ओढेको सलले छोप्दै भनी। किनभने अहिले अर्कै ढेडुबाँदर उनीहरू भएतिरै आउँदै थियो।

‘कतै काम पनि गर्ने गरेको छ कि?’ वन्दनाले सोधी।

‘अहिले काम गरेको छैन। पहिले एउटा सहकारीमा दैनिक पैसा उठाउने काम गर्थें। त्यसको सञ्चालक झन्डै तीन करोड रुपैयाँ खाएर फरार भयो। त्यसपछि घरमै बस्छु। काम-धाम केही छैन। बुढाको सानोतिनो जागिर छ प्राइभेट कम्पनीमा। धेरथोर घर भाडा पनि आउँछ। त्यसैबाट गुजारा चलाउने हो। दिनभर यसै बस्ने।’ ताराले यताउती हेर्दै सोधी- ‘तिम्रो के छ नि?’

‘म एउटा निजी प्राइमरी स्कूलमा पढाउँछु। बुढा सरकारी अफिसमा सुब्बा छन्। उनको तलबले मात्र पुग्दैन। केटाकेटीहरूलाई पनि पढाउनै पर्छ। अर्को वर्षदेखि आफ्नै छोरीलाई पनि प्ले गु्रपमा नराखी भा’छैन।’ वन्दनाले बेलीबिस्तार लगाई।

‘ए! कति जना छन् केटाकेटी? आज स्कुल जान पर्दैन?’

‘तीन जना छन्। आज बिदा लिएकी छु। यो अन्तिम सोमबारको व्रत पूरा गर्नु पऱ्यो नि।’ वन्दनाले भनी।

‘म पनि हरेक वर्षको साउने सोमबारको ब्रत बस्छु। यो वर्ष त पाँच सोमबार परेको छ। छुटाउनै भएन।’ तारा भन्दै थिई। त्यत्तिकैमा ताराको मोबाईलमा फेरि पनि घन्टी बज्यो।

‘बुढाले पनि फोन मात्र गरेर हैरान पारिसके।’ ताराले भनीे-‘हेलो! अब पालो आउनै लाग्यो। अब पाँच मिनेट जति अझैँ लाग्छ। म ढोकामा नै पुग्न लागे। छिटै आउँछु।’
‘… …’
‘हुन्छ, हुन्छ… हस्।’ ताराले मोबाइललाई ब्यागमा जतनसाथ राखी। बिजुलीको खम्बामा चढेर बसेको बाँदर चाहिँ ताराले ब्याग खोलेर मोबाईल राखेको हेरिरहेको थियो।

मन्दिरको ढोका अगाडि मान्छेहरूको भीड देखेर एक जना स्वयंसेवक आयो अनि भीडलाई हटाउँदै भन्न थाल्यो- ‘यहाँ ढोकामा यसरी भीड गर्नुभएन। तपाईंहरूभन्दा पहिले आएकाहरू अघिदेखि लाममा उभिएका छन्। तपाईंहरू पनि उतै लाममा गएर बस्नुस्।’

स्वयंसेवकले त्यति भनेपछि केही भक्तजनहरू लाममा उभिन पछिल्तिर गए। केही भने अझैँ अटेर गरेर त्यहीँ उभिइरहे। उनीहरू स्वयंसेवक कतिबेला त्यहाँबाट जाला र उसको आँखा छलेर फेरि पनि ढोकामा जाउँला भन्ने दाउमा अटेर गरेर उभिएका थिए।

भक्तजनको लाम अघि बढ्दै गरेको मौका पारेर वन्दना पनि ताराको पछाडि लुस्स बसी। पछिल्तिरबाट ‘लाइन मिच्नु भएन…’ भन्ने आवाज आयो। वन्दनाले त्यसलाई नसुने जस्तो गरी। उसलाई आवाज आएतिर हेर्न असजिलो लाग्यो। एउटी बुढी आइमाई फतफताउँदै थिइन्।

केही समयपछि तारा र वन्दनाले मन्दिरभित्र पसेर सँगसँगै महादेवको दर्शन गरे। पूजा-आजा गरे। फूल-प्रसाद लिएर बाहिर आए। अब गौदान गर्ने काम अझैँ बाँकी थियो। साउन महिनाको प्रत्येक सोमबारको व्रत बसेपछि अन्तिम सोमबारको दिन गौदान गर्ने चलन थियो। गौदान गर्ने ठाउँमा पनि महिलाहरू कै भीड थियो। सबै हतारिएका देखिन्थे।

‘म घरमै गएर गौदान गर्छु। छिमेकमै एक जना बुढा बाहुन छन्, उनैले गौदान गराउँछन्। मेरो बुढालाई अफिस जान ढिला भैसक्यो। म जान्छु।’ भन्दै ताराले वन्दनासँग उसको मोबाइल नम्बर लिएर फटाफट गई। तारा गएपछि वन्दनाले पालो पर्खेर नै गौदान गरेर घर गई। आज अचानक तारासँग भेट भएकोमा ऊ खुसी थिई। कलेजबाट अलग भएपछि उनीहरू दुवै जनाको यो नै पहिलो भेट थियो।

बेलुका चार बजेतिर ताराले वन्दनालाई फोनमा भनी- ‘कति वर्षपछि भेट भएर पनि तिमीसँग दुःख-सुखका केही कुरा गर्न पनि पाइएन। बुढाको कारण म आज ज्यादै हतारमा थिएँ। अब कहिले भेट्ने?’

‘मलाई शनिवार फुर्सद हुन्छ। अरू दिन केटाकेटी हेर्नुपर्छ। सधैँ बाहिर निस्कन पाउँदिन। शनिवार भयो भने केटाकेटी बुढालाई जिम्मा लगाएर दुई चार घन्टा बाहिर निस्कन सक्छु। वन्दनाले सम्भावना व्यक्त गरी।’

‘हुन्छ, त्यसो हो भने आउँदो शनिबार भेटौँ। मेरो बजारमा किनमेल पनि गर्नु छ।’ ताराले प्रस्ताव राखी।

शनिवार तारा र वन्दना दुबै जनाको भेट भएपछि उनीहरू सँगसँगै बजारमा किनमेल पनि गरे। झन्डै चार वर्षपछि भेट भएका उनीहरू एक-अर्कोलाई आफ्नो कथा-व्यथा सुन्न सुनाउन चाहन्थे।

‘तिम्रा केटाकेटी तीन जना छन् भन्यौ। कति छिटोछिटो पाएकी? वर्षौटे हुन् कि क्या हो?’ ताराले सोधी।

‘अहिलेको जमानामा पनि कसैले वर्षौटे सन्तान जन्माउँछन् र? मेरोतर्फबाट एउटी छोरी मात्र हो। बाँकी दुई जनामा छोरी र छोराचाहिँ सौताका हुन्। वन्दनाले भनी।

‘सौताका! ताराले आश्चर्यचकित हुँदै वन्दनाको अनुहारमा हेर्दै सोधी।

‘हो, किन ढाँट्नु।’ वन्दनाले हाँस्दै ताराको अनुहारमा हेरि।

‘ए! भनेपछि तिमी सौतामाथि गएकी?’ ताराले सोधी।

‘यसै गएकी होइन, बिहे नै गरेर गएकी।’ वन्दना फेरि पनि हाँसी।

‘बिहे नै गरेर गएकी! अहिले पनि दुईटा बिहे गर्न पाइन्छ? सौताले मुद्धा हालिन त?

‘केको मुद्धा हाल्नु, विचरा यो संसारमा भए पो। मोटरसाइकल दुर्घटनामा परेर बितेकी रहिछ। बुढा आफैंले चलाएका रहेछन् मोटरसाइकल। माइक्रोबसले हल्का धक्का दिएछ र दुबै जना पछारिए छन्। बुढालाई भने घुँडामा सानोतिनो चोटबाहेक केही पनि भएन छ। बुढीको चाहिँ टाउको नै फुटपाथमा गएर बजारिएपछि ब्रेन हेम्रेज भएर तीन महिनापछि निधन भएछ।’ वन्दनाले बेलीबिस्तार लगाई।

वन्दनाको कुरा सुनेर ताराले सोधी- ‘बिहे भएको कति भयो?’

‘तीन वर्ष पूरा भयो।’
‘अनि तिम्रो नि तिम्रो? कति जना भए केटाकेटी? मैले अस्ति पनि सोध्ने मौका नै पाइनँ। तिमी पनि निकै हतारमा थियौँ।’ वन्दनाले भनी।

‘अहिलेसम्म भएको छैन।’ ताराले निराश हुँदै भनी।

‘कति वर्ष भयो बिहे भएको?’

‘मेरो पनि बिहे भएको त तीन वर्ष नाघिसक्यो।’ ताराले भनी।

‘ए! किन त? अब त धेरै ढिला भएन र? अहिले पनि नपाए कहिले पाउने? कहिले हुर्काउने? कहिले बढाउने? अझ पढाउने कुरा त छँदैछ। त्यो पनि जति ढिला गऱ्यो उति गाह्रो हुन्छ। छोरा-छोरी बेलैमा पाएपछि हुर्कंदै जान्छन्।’

‘हो, तिमीले भनेको ठीक हो। तर के गर्ने?’ ताराले निराश हुँदै भनी।

‘किन के गर्ने भनेको? मैले त तिम्रो कुरै बुझिन है! सन्तान पाउने कुरामा पनि तर भन्ने कुरा हुन्छ र?’

‘त्यस्तै छ। तिमीले भनेको जस्तो मेरो सहज अवस्था छैन वन्दना! सासू-ससुराले त अब भन्न पनि छोडिसके। थाकिसके यस विषयमा।’ यति भनेपछि ताराले यताउता हेर्दै वन्दनाको कानमा केही कुरा खुसुक्क भनी।

‘साँच्चै हो! तेस्तो पो?’ वन्दनाले आश्चर्य मान्दै ताराको अनुहारमा जिल्ल परेर हेरी।

‘हो नि वन्दना। मनको बह कतै न कह भन्छन्। यस्तो कुरा सबैसँग भन्दै हिँड्नु पनि भएन। अरूहरूले जे जति कुरा काटे पनि मेरो आफ्नो पीर आफैंसँग छ। “किन चाउरिस् मरिच आफ्नै रागले” भनेझैँ भएको छ मलाई पनि। दुनियाको अगाडि कतिञ्जेल ढाँट्नु। आफन्त, इष्टमित्र, छरछिमेकी, साथीभाइ सबैले … धेरै के भन्नु अब।’ यति भनिसक्दा नसक्दै ताराको आँखामा आँसु रसाइसकेको थियो। वन्दनाले त्यो प्रष्टै देखी।

ताराको कुरा सुनेर वन्दनालाई पनि नराम्रो लाग्यो। उसको मन खिन्न भयो। नारीको व्यथा नारीलाई नै थाहा हुन्छ। उसले तत्काल केही भन्न सकिन।
त्यसो त वन्दना स्वयंले पनि भोगेकी हो त्यो व्यथा। तर उसले समयमा नै आफूलाई त्यसबाट छुटकारा दिलाई। घर परिवारले पनि उसको साथ दिए। दुनियाले के कुरा काट्छ भन्नेसँग उसलाई मतलब थिएन। आफ्नो जिन्दगी र भविष्यको प्रश्न खास महत्त्वपूर्ण थियो। समाजदेखि डराएर र समस्यादेखि भागेर जिन्दगी कहिले पनि सुखमय हुँदैन। त्यसको निम्ति शङ्घर्ष गर्नै पर्दछ। शङ्घर्ष नै जीवन हो। वन्दनाले जीवनभर पिल्सिएर बाँच्नुभन्दा बरू आइपर्ने जस्तोसुकै चुनौतीको पनि सामना गर्ने आँट गरी। उसले यथार्थलाई लुकाएर जीवनलाई सधैँ अँध्यारो सुरुङमा तड्पाइरहन चाहिन। समाजले उठाउने अनेक प्रश्नको उसले डटेर जवाफ दिई र हिम्मत गरेरै चुनौतीको सामना गरी। अर्थात् उसले विद्रोह गरी र अन्ततः सफलता पनि पाई। अहिले जीवन जसरी बितिरहेको छ त्यसमा ऊ सन्तुष्ट छे। बिगत प्रति उसको कुनै पछुताउ छैन। जीवनमा सुख-दुःख त आइरहन्छन् गइरहन्छन्। यस संसारमा जीवनमा सुखै सुख पाउने र दुःखै मात्र भोग्ने पनि सबै हुँदैनन्।

‘तिम्रो मागी विवाह कि प्रेम विवाह?’ वन्दनाले सोधी।

‘मैले कसैसँग प्रेम गरेको तिमीलाई थाहा छ?’ ताराले अलिक रिसाएजस्तो भावमा सोधी।

‘छैन।’

‘मेरो मागी विवाह नै हो। मेरो लोग्नेलाई बिहे गरेको तीन महिनामा नै केटीले छोडेर गएकी रे। केटीको अर्कै केटा रहेछ रे भन्ने गर्थे। लोग्ने मेरो मामाको आफ्नै साथीको छोरा हो। मामाले नै मागिदिएका मलाई। असल परिवार, यौटै छोरा, दुई दिदी मात्र त्यो पनि बिहे गरेर गइसकेका। ससुरा पनि सरकारी जागिरबाट अवकास भएका। सबै कुरा राम्रो छ भनेपछि मैले मात्र हुँदैन भन्ने कुरा आएन। आमा र मामा दुबै जनाले निकै सम्झाए मलाई। विवाहिता स्वास्नीले छोडेर गएको लोग्ने मान्छेसँग विवाह गर्न मेरो मनले मानेकै थिएन। परिस्थिति नै त्यस्तो आइलाग्यो। वाध्यतामा परें म। एक जना कोही न कोहीसँग त जीवन बिताउनै पर्छ भन्ने लाग्यो र उसैसँग विवाह गर्न मन्जुर भएँ। तर मेरो त भाग्य नै फुटेको परेछ वन्दना।’ यति भन्दै ताराले ओढिरहेको सलको एक छेउ तानेर निहुँरिदै आँसु पुछी।

ताराको कुरा सुनेपछि वन्दनाको मनमा कताकता शङ्का अङ्कुरायो र नरमाइलो पनि लाग्यो। यतिका वर्षपछि भेट भएकी साथीको वेदनामय कुरा सुन्दा वन्दनाको मन पनि अमिलो भयो। साथीको आँखामा आँसु देखेर ऊ पनि भाव विह्वल भई। ऊ एक छिनसम्म सोचमग्न भई।

‘तिम्रो लोग्नेको नाम के हो?’ वन्दनाले सोधी।

‘किन? तिमीले चिनेको छ र?’ ताराले प्रतिप्रश्न गरी।

‘पहिले नाम त भन। मलाई सोध्न मन लाग्यो।’ वन्दनाले भनी।

‘कुलदीप हो।’

‘अनि ससुराको नाम नि?’

‘धनदीप।’

बाबु र छोरा दुवै जनाको नाम सुनेर वन्दना एक छिन जिल्ल परी। ऊ चुपचाप ताराको अनुहारमा मात्र एकनास हेर्नथाली। केही बोल्नै सकिन। तत्काल के भन्ने? उसले सोच्नै पनि सकिन।

‘किन त्यसरी हेरिरहेकी? के तिमीलाई मेरो कुरामा विश्वास लागेन? मैले झुट बोलेको हो र? ताराले प्रश्नमाथि प्रश्न सोधी।

‘विश्वास लाग्यो। तिमी झुट बोल्दिनौ भन्ने कुरा क्याम्पस पढ्दा देखि नै मलाई थाहा छ। तर आज म आश्चर्यमा परेकी छु। मैले सपनामा पनि नचिताएको कुरा आज आफैंले सुन्दैछु। यस्तो होला भन्ने के थाहा तारा!’ लामो सुस्केरा हाल्दै वन्दनाले भनी।

‘कस्तो आश्चर्य? कस्तो नचिताएको कुरा? के भन्दैछ्यौ तिमी? अचानक तिमीमा यस्तो परिवर्तन किन? तिमीले भनेको कुरा मैले केही पनि बुझ्न सकिरहेकी छैन। अहिले म पो आश्चर्यमा परेकी छु, तिम्रो कुरा सुनेर।’ ताराले भनी।

‘आज म मेरै साथीलाई यो कुरा कसरी भनुँ कि तिमीले जुन अवस्था अहिले भोगिरहेकी छौ त्यो अवस्था आजभन्दा चार वर्ष पहिले म आफैंले भोगेको हुँ। अहिले तिमी जुन अवस्थामा छ्यौ म आफैं पनि त्यहीँ र त्यही अवस्थामा थिएँ।’ यति भन्दाभन्दै वन्दना रोकिई।

‘भन वन्दना तिमीले भोगेको व्यथा र मेरो व्यथा कसरी उस्तै हो। तिमी त बिहेपछि सुखी जीवन बिताइरहेकी छ्यौ। लोग्ने छ, छोराछोरी छन् र सुखी परिवार छ। तिमी कसरी म भन्दा पनि दुःखी र पीडित भयौ? म’मा र तिमीमा दाँजेर हेर्ने कुनै कुरा नै छैन। म पो अभागी हुँ, तिमी त भाग्यमानी। यौटी साथीको भाग्यमा घामै घाम, अर्की साथीको भाग्यमा औँसीको रात।’ यति भन्दै ताराले वन्दनाको अनुहारमा एकनास हेरिरही।

‘तारा आज तिमी जसलाई लोग्ने भनिरहेकी छ्यौ नि, कुलदीप! हो उही कुलदीपसँग चार वर्ष पहिले नै मेरो बिहे भएको थियो। ऊसँग मागी बिहे नै हो मेरो पनि। ऊ मेरो विवाहित लोग्ने थियो। आज तिम्रो सन्तान किन भएनन् त्यो मलाई राम्ररी थाहा छ। त्यो सबैको जड कुलदीप स्वयम् हो। ऊ नाम मात्रको लोग्नेमान्छे हो भन्ने कुरा थाहा पाएपछि नै हो मैले उससँग सम्बन्धविच्छेद गरेकी। दुर्भाग्य, तिमीलाई पनि मलाई जसरी नै उसैसँग फसाएछन्। विडम्बना, तारा! आजको तिम्रो लोग्ने कुनै बखत मेरो पनि लोग्ने थियो।’
०००
टिकाथली, ललितपुर

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा दिव्य गिरी मेरो लोग्ने तिम्रो लोग्ने

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.