कवि: डा. दामोदर पुडासैनी ‘किशोर’
पृष्ठभूमिमा
लियोनार्डो दा भिन्चीको
‘द लास्ट सपर’ चित्र कैद गरेर
केही तानाशाहहरूले भर्खरै खिचेका छन्
अन्तिम सेल्फी ।
हिजो साँझ
उनीहरूका लागि आयोजना गरियो
शताब्दीकै अन्तिम भोज ।
अहिलेसम्मका सबै योजनाका ठेलीहरू
टुँडिखेलमा जलाउन सुरु गरिएको छ ।
नयाँ योजनाका रूपरेखा कोर्नेहरू
डिमेन्सिया रोगले ग्रस्त छन् ।
अल्जाइमरले ग्रस्त भएकाहरूलाई
जिम्मा लगाइएको छ,
समयको लेखाजोखा गर्न ।
एक से एक साइकोहरूले
जिम्मा पाएका छन् प्रमुख निकायहरूको ।
जनताहरूमा
कि सदमी छर्न
कि गुरुमापाको नाममा
भक्कुको राँगो ढाल्न
चलिरहेछ ठूलै प्रतिस्पर्धा ।
दासप्रथा मुक्तिको
शताब्दीपश्चात्को समीक्षा गर्न
अब्राहम लिङ्कन र चन्द्रशमशेर बसेका छन्
शिखर बैठकमा ।
उनीहरूलाई नुहाइदिन,
भोजन ज्युनार गराइदिन
र शयनकक्षको प्रबन्ध गर्न खटाइएको छ
विश्वका एक से एक दासका नेताहरूलाई ।
इल्युजनले ग्रस्त तानाशाहले
लामो दौडधुप र धूपधूपारपछि
हात पारेको छ
लेखाजोखा विभागको विरासत ।
‘जँगे भेटे जँगेदास, चन्द्रे भेटे चन्द्रेदास’
भन्ने सल्लाहकारको सहारामा
हरेक वर्ष छापिँदैछन् इल्युजन प्रतिवेदन ।
नक्कली दासहरू
तानाशाहको अभिनय गर्दै छन्
ज्यामी माहुरीहरूको अघिल्तिर ।
राक्षसी अनुहारमा
मानवीय मुकुन्डो सुहाएको बारेमा
भजन लेखन प्रतियोगिता सुरु गरिएको छ ।
यो शृङ्खलाले
करोड नाघ्ने घोषणा छ आयोजकको ।
लगानी गर्न असाध्यै हौसिएका छन्
प्रायोजकहरू ।
अबको युद्ध अन्तरिक्षबाट गर्ने योजना थियो,
बाध्यताले घोडचढी युद्ध गर्ने बनायो ।
एकातिर अकुत सम्पत्ति छ,
अर्कातिर अकुत गरिबी छ ।
राजहंस र कऱ्याङकुरुङले
सहयात्रा थाल्ने खबर प्रक्षेपित छ ।
देवताहरूले
बाँडिरहेछन् सफाया मन्त्र ।
धुलैधुलोको पृथ्वी
एकपटक कणकणमा छुट्टिन खोज्दै छ ।
एउटा नयाँ सूर्य
पृथ्वीमा पदार्पणको तयारी गर्दै छ ।
सोलुखुम्बु, सगरमाथा


