कवि: नन्दलाल आचार्य
जिन्दगीको कमाइ जति औषधिमै बित्यो,
पैसा कमाउने होडबाजीमा रोगले नै जित्यो ।
आजको काम भोलिलाई भनी पन्छाउने बानी,
थुप्रिएर फाइलको पहाड भयो जिन्दगानी ।
जिम जाने भन्दै ट्रयाकसूट किनेँ महँगो दाममा,
त्यो त अचेल झुम्रो बनी आउँछ घरको काममा ।
चुनावी त्यो आश्वासनको मीठो उधारोमा,
गयो उमेर बूढो बन्दै आसैको भारोमा ।
बिहानीको मीठो निद्रा त्याग्न सकिएन,
सिरकभित्रै स्वर्ग भेटियो, बाहिर निस्किइएन ।
भाषणमा देशलाई विकासको नमुना बनाउँछन्,
कामको पालो आउँदाखेरि विदेश भगाउँछन् ।
फेसबुक र टिकटक हेर्दा रात सारा बित्यो,
ज्ञानको कुरा सिक्ने बेलामा निद्राले जित्यो ।
योजना त बन्छन् यहाँ कागजमा कति,
काम गर्ने बेला सधैँ हराउँछ मति ।
“भोलिदेखि रक्सीलाई छुन्न” भन्थ्यो साथी,
आज फेरि भट्टीभित्रै देखियो ऊ माथि ।
सरकारी त्यो टेबलमुनि दाम नबुझाए,
फाइल कुहिन्छ दराजभित्रै, जति कराए ।
फेसबुकमा माया बस्छ, म्यासेन्जरमा रुन्छ,
भेट्न जाँदा बूढो मान्छे अर्कैको पो हुन्छ !
नोटको त्यो बिटो गन्दै बैँस सारा ढल्यो,
सम्पत्ति त जम्मा भयो, शरीर पो जल्यो ।
झण्डा बोकी नेताको पछि कुद्ने युवा जमात,
आफ्नो भविष्य अन्धकार छ, गर्छन् देशको बात ।
“भोलि पढौँला” भन्दै किताब पल्टाउँदै गएँ,
जाँचको दिन हलमा बस्दा रित्तो भाँडो भएँ ।
“नेपालमै केही गर्छु” भन्थे कलेजका साथी,
अहिले तिनै पासपोर्ट बोकी उडे आकाशमाथि ।



