स्याङ्जामा “नियमित भेटघाट तथा सिर्जना वाचन” समारोह सम्पन्न ।
०३ जेठ, स्याङ्जा ।
आज मिति २०८३ साल जेठ ०३ गते आइतबारका दिन ‘साहित्यिक अभियानमा स्याङ्जाली नारी’द्वारा आयोजित “नियमित भेटघाट तथा सिर्जना वाचन” समारोह सम्पन्न भएको छ । कार्यक्रम वालिङ-८ स्थित चियाघरको प्राङ्गणमा अनौपचारिक रूपमा आयोजना गरिएको थियो ।
संस्थाकी अध्यक्ष लक्ष्मी रेग्मी खनालले सहजीकरण गर्नुभएको कार्यक्रममा स्याङ्जाली साहित्याकाशका मूर्धन्य व्यक्तित्वहरूको समुपस्थिति रहेको थियो । ‘नियमित भेटघाट र सिर्जना वाचन’ नाम दिइएको उक्त कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव एवं युवा स्रष्टा मिलन समीर, भेषजराज साहित्य प्रतिष्ठान वालिङ, स्याङ्जाका अध्यक्ष यमकान्त खनाल र सचिव श्यामप्रसाद ढुङ्गाना, ज्येष्ठ नारी स्रष्टा दमकला बगाले, अग्रज साहित्यकार व्यक्तित्व लेखनाथ काफ्ले, सर्जकहरू कमलप्रसाद बगाले, वसन्त खनाल, ढालबहादुर केसी, सिर्जना खनाल, सरस्वती काफ्ले, मञ्जु पराजुली, आशिष मिजारलगायतले आफ्ना उत्कृष्ट रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यप्रेमी अग्रज व्यक्तित्व सूर्यप्रसाद खनालले नारी स्रष्टाको यो कर्म सराहनीय रहेको र निरन्तरतालाई मुख्य केन्द्रबिन्दु बनाउनुपर्ने धारणा राख्नुभयो । प्रस्तुत कार्यक्रममा गीता ढकाल, रमेश अधिकारी, विश्व पराजुली, देव बुढाथोकी, सूर्यांश काफ्ले र सुलभ खनाललगायतको समुपस्थिति रहेको थियो ।


