संस्मरण
सबैका प्रिय दाइ— जगत दाइ !
➢ ईश्वर थोकर
म भर्खर-भर्खर कलेजमा भर्ना भएर पढ्दै थिएँ । त्यही समयमा ‘ताम्सालिङ’ पाक्षिक अखबार मेरो हातमा पर्यो । अखबार पूर्ण रूपमा आफ्नै मातृभाषा (तामाङ) मा थियो । आफ्नो मातृभाषाको अखबार आफ्नै काखमा पाउँदा म खुसीले उफ्रिएँ र अखबारलाई धेरै बेरसम्म आफ्नै काखमा प्रेमपूर्वक च्यापिरहेँ । त्यसपछि अखबारलाई जतनसाथ पल्टाउन थालेँ । जति पटक पल्टाए पनि धीतै नमर्ने ! धीत नमरुन्जेलसम्म पल्टाइरहेँ— ‘ताम्सालिङ’ पाक्षिक अखबारलाई । धीत नमरुन्जेलसम्म पल्टाइरहेँ ।
‘ताम्सालिङ’ पाक्षिक अखबारको सम्पादक जगत (दोङ) दाइ हुनुहुन्थ्यो । मैले त्यस बेलासम्म आफ्नै मातृभाषामा कुनै पनि अखबार पढ्ने अवसर पाएको थिइनँ । यस हिसाबले मैले आफ्नै मातृभाषामा पढेको पहिलो अखबार हुन पुग्यो— ‘ताम्सालिङ’ पाक्षिक अखबार । त्यसपछि मैले ‘ताम्सालिङ’ पाक्षिक अखबारलाई नियमित रूपमा पढ्न थालेँ । म ‘ताम्सालिङ’ पाक्षिक अखबारको नियमित पाठक बनेँ । ‘ताम्सालिङ’ पाक्षिक अखबार भक्तपुरको सूर्यविनायकमा अवस्थित ‘बाराहीस्थान कोल्ड स्टोर’ मा नियमित रूपमा आउँथ्यो । मैले ‘ताम्सालिङ’ पाक्षिक अखबारलाई त्यही स्टोरबाट नियमित रूपमा लिन्थेँ । महिनामा दुई पटक म त्यही स्टोरमा पुग्थेँ— ‘ताम्सालिङ’ पाक्षिक अखबारका लागि । ‘ताम्सालिङ’ पाक्षिक अखबारमा प्रकाशित भएर आएका विज्ञापनसमेत स्वाद लिई-लिई पढ्थेँ । ‘ताम्सालिङ’ पाक्षिक अखबारमा प्रकाशित भएर आएका अरू लेख-रचनाहरू त झन् पढ्ने नै भएँ । त्यसै गरी लेखक भक्त स्याङतानको त्यसै अखबारमा प्रकाशित भएर आउने चर्चित नियमित स्तम्भ ‘म्हेन्दोदा चिठ्ठी’ अर्थात् ‘म्हेन्दोलाई पत्र’ पनि मलाई असाध्यै मन परेको स्तम्भ थियो । त्यस स्तम्भमा लेखक भक्त स्याङतानले समसामयिक विषयलाई मार्मिक ढङ्गले उठान गर्नुहुन्थ्यो र पाठकहरूको हृदयमा चेतनाको दीयो धपक्कै बालिदिनुहुन्थ्यो । उहाँको त्यो स्तम्भ पाठकहरूका माझमा साह्रै लोकप्रिय पनि भयो र उहाँ अनि ‘म्हेन्दोदा चिठ्ठी’ स्तम्भ एकअर्काका परिपूरक नै बने ।
जगत दाइ प्रस्तोता रहनुभएको तामाङ भाषाका अति नै लोकप्रिय दुई कार्यक्रमहरू क्रमशः ‘ह्याङला डाजाङ’ र ‘होइसेर’ नामक रेडियो कार्यक्रमको पनि म नियमित स्रोता नै थिएँ । तामाङ समुदायका हरेक स्रोताका हृदयमा बस्न सफल रेडियो कार्यक्रम थिए— ‘ह्याङला डाजाङ’ र ‘होइसेर’ । यी दुवै रेडियो कार्यक्रमको क्रेज लोभलाग्दो थियो । यी दुवै रेडियो कार्यक्रम तामाङ समुदायकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय रेडियो कार्यक्रम बन्न पुगे । मैले ‘ह्याङला डाजाङ’ र ‘होइसेर’ मा प्रत्यक्ष रूपमा भाग नलिए पनि म यी दुवै रेडियो कार्यक्रमको असल स्रोता थिएँ, नियमित स्रोता थिएँ ।
‘ताम्सालिङ’ पाक्षिक अखबार पढिसकेपछि र रेडियो कार्यक्रम ‘ह्याङला डाजाङ’ र ‘होइसेर’ सुनिसकेपछि जगत दाइसँग भेट्ने रहर त्यसै-त्यसै पलाएर आयो । तर मसँग उहाँसम्म पुग्ने माध्यम थिएन, पहुँच थिएन । मैले जगत दाइसँग भेट्नका लागि धेरै कसरत गरेँ, धेरै पसिना बगाएँ । आफूले चिनेजानेका नजिकका व्यक्तिहरूसँग हारगुहार गरेँ । तर मेरो केही सीप लागेन । यति हुँदाहुँदै पनि मेरो आशाको दीयो झन् बलिरह्यो— कहिल्यै ननिभ्ने गरी । बलिनै रह्यो, निरन्तर ।
मेरो प्रिय सम्पादक दाइ— जगत दाइ । मेरो प्रिय रेडियो कार्यक्रम प्रस्तोता दाइ— जगत दाइ । सबैका प्रिय सम्पादक/रेडियो कार्यक्रम प्रस्तोता दाइ— जगत दाइ । मेरो स्कुल जीवनकी क्लासमेट प्रिय मित्र सुजाता (दोङ) का प्रिय दाइ— जगत दाइ । मैले उहाँलाई भेट्न सकिनँ, लाख प्रयत्न गरे पनि । उहाँसँग भेट्नका लागि म असमर्थप्रायः नै थिएँ । हठात् मेरा दुवै आँखा रसाए— त्यही पीडाले । त्यस्तो अवस्थामा मैले सहारा लिन्थेँ— महिनामा दुई पटक नियमित रूपमा प्रकाशित हुँदै आइरहेको ‘ताम्सालिङ’ पाक्षिक अखबार र हप्तामा दुई पटक नियमित रूपमा प्रसारण हुँदै आइरहेका ‘ह्याङला डाजाङ’ र ‘होइसेर’ रेडियो कार्यक्रमको । जगत दाइलाई मैले महिनामा दुई पटक ‘ताम्सालिङ’ पाक्षिक अखबारमा भेट्न पाउँथेँ, हप्तामा दुई पटकचाहिँ रेडियो कार्यक्रममा भेट्न पाउँथेँ । यसरी रेडियो कार्यक्रममा/अखबारमा जगत दाइलाई भेटिरहन पाउँदा जगत दाइलाई नै प्रत्यक्ष रूपमा भेटिरहेझैँ महसुस गर्थेँ म । उहाँसँगै बसेर गफ गरिरहेझैँ लाग्थ्यो, उहाँसँगै बसेर कफी पिइरहेझैँ लाग्थ्यो— अखबार पढुन्जेलसम्म/रेडियो कार्यक्रम सुनुन्जेलसम्म । यो सिलसिला यसै गरी चलिरह्यो ।
मैले लेखेका केही कविताहरू भर्खर-भर्खर केही अखबारहरूमा प्रकाशित हुँदै आइरहेका थिए । रेडियो कार्यक्रमहरूमा चाहिँ मैले लेखेका कविताहरू प्रसारण भइसकेका थिएनन् । रेडियो र अखबारहरूमा मेरो नाम प्रकाशित गर्ने रहर थियो । त्यसमाथि जगत दाइको सम्पादनमा प्रकाशित हुँदै आइरहेको ‘ताम्सालिङ’ पाक्षिक अखबारमा पनि नाम प्रकाशित गर्ने रहर थियो । रहरै रहर ।
कलेजमा पनि म साथीहरूका माझमा कविका रूपमा स्थापित भइसकेको थिएँ । भेटेलगत्तै साथीहरूले मलाई कविता सुनाउन अनुरोध गरिहाल्थे । साथीहरूलाई सुनाउनकै लागि मैले नियमित रूपमा कविताहरू लेख्न थालेँ । कलेजमा मेरा केही साथीहरूले पनि कविता लेख्थे । ती कवि साथीहरूमा तिलक योन्जन, चुनावलाल थिङ, चिना मोक्तान, म्हेन्दो दोङ, सूर्य तिमिल्सिना, विष्णु मोक्तान, अर्जुन गदाल र सौजन्य मोक्तान थिए । कलेजमा हामीले एउटा साहित्यिक माहोल नै सिर्जना गरेका थियौँ ।
कविता लेख्न कलेजमा मलाई मेरा साथीहरूले झैँ मेरी नेपाली विषयकी गुरुआमा विमला रानाले पनि प्रेरणा दिनुहुन्थ्यो । उहाँ गुरुआमा मात्र नभएर एक कवयित्री पनि हुनुहुन्थ्यो । उहाँले आफ्ना विद्यार्थीहरूलाई कविता लेखनका लागि मलजलको वातावरण निर्माण गरिदिनुहुन्थ्यो । हामी सबै जना उहाँबाट प्रभावित थियौँ, साह्रै प्रभावित थियौँ ।
कलेजमा पढ्ने बेलाका साथीहरूमा कवितासङ्ग्रह प्रकाशित गर्ने साथीचाहिँ तिलक योन्जन मात्र थिए । मेरो अति मिल्ने साथी चुनावलाल अहिले यस संसारमा अस्तित्वमा रहेका भए, उसले पनि तिलकले झैँ कवितासङ्ग्रह प्रकाशित गरिसक्थे । चुनावलालले भेटैपिच्छे मलाई आफ्नो डायरी देखाउँथे र डायरीमा लेखिएका कविताहरू पढेर सुनाउँथे । अहिले उसको त्यस बेलाको डायरीका कविताहरू सुरक्षित छन् कि छैनन् ? म अनभिज्ञ छु । उसको डायरीका कविताहरू सुरक्षित भएका भए, दुईवटा जति अरू कवितासङ्ग्रहका लागि सामग्री पुग्थे । चुनावलाल एक असल कवि थिए । सबैका आँखाका नानी थिए ।
त्यस समयमा अखबारहरूमा आफूले लेखेका कविताहरू कसरी पठाउने ? कहाँ पठाउने ? कसलाई पठाउने ? यसबारे जानकारी नै थिएन । आफूले लेखेका कविताहरू इमेलमार्फत पठाउने सीप पनि थिएन । त्यसमाथि कम्प्युटर/इन्टरनेटको पहुँच पनि थिएन । प्रविधिबाट टाढा थिएँ । जे गरे पनि आफूभन्दा जान्ने साथीहरूको सहायता लिनुपर्थ्यो । अहिलेझैँ त्यस बेला आफैँले कविता टाइप गर्न सक्ने सीप पनि थिएन । त्यस समयमा अखबारहरूमा रचना पठाउने बेलामा इमेलभन्दा हुलाक घरबाट रचना पठाउने प्रचलन थियो । मलाई आफ्ना रचनाहरू अखबारहरूमा पठाउन असहज हुन्थ्यो । मेरा रचनाहरू त्यस बेला जति प्रकाशित भए, ती सबै कि साथीहरूको सहायताबाट कि पत्रपत्रिकाहरूकै सम्पादकहरूको कार्यकक्षमा प्रत्यक्ष पुगेर प्रकाशित भएका थिए । त्यसै गरी ‘ताम्सालिङ’ पाक्षिक अखबारमा पनि कविता प्रकाशन गर्ने रहर थियो, तर पूरा भएन ।


