संस्मरण: कोटगाउँको सेरोफेरोमा मेरो बाल्यकाल अनि स्मृतिमा सावित्रा दिदी
म अहिले जीवनको उत्तरार्धमा आरामको जीवन व्यतीत गर्दै छु । मेरो मानसपटलमा अतीतका अनेकौँ घटनाहरूका स्मृतिहरू एकपछि अर्को गर्दै आउँछन् । कतिपय घटनाहरूको सम्झनाले म आफैँलाई लज्जित बनाउँछ; कतिपय सम्झनाले उत्तेजित बनाउँछ र कतिपय सम्झनाले निराश वा हतोत्साही पनि बनाउँछ ।
अहिले म मेरो जीवनको ओरालो यात्रा तय गर्दै छु । यो ओरालो यात्रामा विगतका घटनाहरूको सिंहावलोकन गर्दै त्यसबाट शिक्षा लिन सकेँ भने यात्रा सहज हुने मैले ठानेको छु । हुन त कतिपय विद्वान्हरू विगतलाई हेरेर होइन; आगतलाई हेरेर यात्रा तय गर्नुपर्छ भन्दछन् तर मलाई लाग्छ, त्यो जीवनको उकालो यात्रामा मात्र हो; जतिबेला मानिसलाई पछाडि फर्कनेसमेत फुर्सद हुँदैन । म्याराथन दौडमा जस्तो, पछाडिको साथी कहाँ आइपुग्यो भनेर हेर्न थाल्यो भने अर्को प्रतिस्पर्धीले उछिन्ने सम्भावना हुन्छ । तर जीवनको ओरालो यात्रामा न कुनै गन्तव्य हुन्छ, न प्रतिस्पर्धा नै । त्यसो भएकाले ओरालो यात्रामा अतीतका घटनाहरूको सम्झना, तिनीहरूको व्यावहारिक पक्ष र अव्यावहारिक पक्षको विश्लेषण अनि त्यसबाट सन्तुष्ट-असन्तुष्ट हुने इत्यादि नै प्रमुख हुँदो रहेछ ।
आज एकाएक मेरो मानसपटलमा मेरो जन्मस्थल कोटगाउँको परिदृश्य देखा पर्छ । त्यहाँ म जन्मिएँ र हुर्किएँ । त्यो रमाइलो पारिलो डाँडो आज कस्तो भयो होला ? त्यहाँका खेतहरू र बारीहरू अहिले पनि उब्जनी दिइरहेका छन् कि अन्यत्रजस्तै बाँझो पल्टिएका छन् ? दसैँअगाडि सबै गाउँले जम्मा भएर, बर्खाको पानीले भत्केका-बिग्रेका बाटो मर्मत गर्ने चलन अहिले छ कि छैन ? अहिले चन्दने डाँडामा रोटे र लिङ्गे पिङ हालिन्छ कि हालिँदैन ? पिपलेमा जात्रा लाग्छ कि लाग्दैन ? लाग्छ भने दोहोरी गीत, जुवा र रक्सी पसलको बाहुल्यको जात्रा लाग्छ कि अर्कै किसिमको लाग्छ ? आदि-इत्यादि तर्कनाले राति अबेरसम्म पनि मलाई निद्रा लागेन । फेरि, अर्कोतिर कोटगाउँको नामकरण नै कसरी रह्यो होला भन्ने पनि लाग्न थाल्यो ।
कोटगाउँ, कोत अथवा कोट, राज्यले हातहतियार, खरखजाना राख्ने ठाउँ अथवा किल्ला भन्ने बुझाउँछ; तर कोटगाउँमा त्यस्तो कुनै ऐतिहासिक संरचना वा भग्नावशेष फेला परेको मैले देखिनँ वा कसैले भनेको सुनिनँ पनि । एउटा जनश्रुति के थियो भने सन् १३२४ मा मुगलानका सुल्तान गयासुद्दीन तुगलकले सिम्रौनगढ राज्यमा आक्रमण गर्दा त्यहाँका राजा हरिसिंहदेव भागेर काठमाडौँ गएको र उनी जनकपुर, सिन्धुली र कोटगाउँ हुँदै रोसी खोलाको बाटोबाट धुलिखेल हुँदै काठमाडौँ पसेको भन्ने छ ।
कोटगाउँको मध्यभागमा अवस्थित मन्दिरमा स्थापना गरिएकी पाटनदेवी उनै हरिसिंहदेवले सिम्रौनगढबाट ल्याएकी पटनादेवी हुन् भनिन्छ । कतिपय इतिहासकारले राजा हरिसिंहदेवले काठमाडौँमा रहेको तलेजु भवानीको तान्त्रिक पूजाविधिको चलन चलाई राज्यदेवीका रूपमा प्रतिस्थापन गरेका हुन् भन्ने भनाइ पनि छ । पाटनदेवी र तलेजु भवानीको पूजा गर्ने विधि समान भएकाले पनि हरिसिंहदेवले पटनादेवी स्थापना गरेको भनाइलाई बल पुग्छ; कालान्तरमा उनै पटनादेवी अपभ्रंश भएर पाटनदेवी भएकी हुन सक्छिन् ।
त्यसो हो भने हरिसिंहदेव लामो समय यहाँ बसेका र उनले आफ्नो साथमा ल्याएका सैनिक तथा हातहतियार राखेको स्थान भएकाले यसलाई कोटगाउँ भनिएको पनि हुन सक्छ ।
जे भए पनि यो एउटा गहिरो ऐतिहासिक खोजको विषय हो र, यसतर्फ सम्बन्धित विशेषज्ञको ध्यान जानुपर्ने जस्तो लाग्छ । यस विषयमा अध्ययन गर्दा पाटनको चोन्छे टोलमा रहेको पुरानो तथा ऐतिहासिक पाटनदेवी मन्दिरलाई समेत समावेश गर्दा तथ्यको नजिक पुगिन्छ जस्तो लाग्छ ।
यी सबै कुरा रहस्यको गर्भभित्र रहेको भए तापनि म मेरो जन्म एउटा ऐतिहासिक स्थानमा भएको हो भनेर ढुक्कसँग भन्न सक्छु ।
बाल्यकालका मेरा साथीमा पल्ला घरकी सावित्रा दिदी र डहरपारि कोइरालाका छोरा हेमप्रसाद थिए । हेमप्रसादलाई हामी ह्यामे भन्दथ्यौँ । यसरी बाल्यकालमा सावित्रा दिदी, ह्यामे र म गरी जम्मा तीन जनाको एउटा समूह थियो । हाम्रो खेल खासमा पुतलीको बिहे गर्ने, जन्ती जाने, भतेर पकाउने इत्यादि हुन्थ्यो । त्यस्तै अर्को समूह पनि थियो । अर्को समूहमा मेरा तीनवटी दिदी र काजीलाल मितबाकी छोरी रेसम र दालचिनी दिदीहरू थिए ।
मितबाको ठुलो पसल थियो । उहाँका छोरीहरू, खासमा दालचिनी दिदी सधैँजसो मिस्री-नरिवल लिएर आउनुहुन्थ्यो । मिस्री-नरिवल खान पाउने आसले हामीहरू पनि कहिलेकाहीँ उहाँहरूकोमा जान्थ्यौँ ।
दिदीहरू गट्टा खेल्नुहुन्थ्यो; हाँसोठट्टा खुब गर्नुहुन्थ्यो । मलाई सबैभन्दा रमाइलो चाहिँ के लाग्थ्यो भने रेसम दिदीले बिँडी र सलाई ल्याउनुहुन्थ्यो र रेसम दिदीलगायत सबै जनाले बिँडी खानुहुन्थ्यो । बिँडीको धुवाँ मुखमा भएको थुकसँग घोलेर धुवाँले भरिएको थुकको फोका बनाउनुहुन्थ्यो । मैले पनि त्यस्तो गर्ने प्रयास गरेँ तर सकिनँ । उल्टै एकपल्ट धुवाँ सर्किएर झन्डै परमधाम गइनँ ।
त्यस दिनदेखि मलाई दिदीहरूजस्तो बिँडी खान मन लाग्न छाड्यो; बरु मिस्री खाने लोभले खरबारीबाट घाँसको भारी लिएर कहिले आउनुहुन्छ भनेर रेसम दिदी र दालचिनी दिदीको बाटोमा पर्खन थालेँ । मलाई देखेर उहाँहरू घाँसको भारी बिसाउनुहुन्थ्यो र मलाई काखमा राखेर मेरो हात र टाउको सुम्सुम्याउनुहुन्थ्यो अनि चोलाको गोजीबाट झिकेर मिस्री दिनुहुन्थ्यो । म मिस्री खान पल्किसकेको थिएँ । रेसम दिदी र दालचिनी दिदीको घाँस लिन जाने र घाँस लिएर आउने बेला पारेर म सधैँजसो उहाँहरू आउने बाटोमा हाजिर हुन थालेँ ।
हाम्रो समूहमा पहिले पुतलीको बिहे हुन्थ्यो, अनि माटाको भतेर पाक्थ्यो । हाम्रो समूहका सबै जना खबटामा माटाको भात हालेर चिउँडोमा खान्थ्यौँ ।
बिहेमा बेहुलो बेहुलीको घरमा जाने र बेहुली लिएर आउने कुरामा सावित्रा दिदी सधैँ असहमत हुनुहुन्थ्यो । उहाँको भनाइ थियो— ‘बेहुलो बेहुली लिन जाने होइन, बेहुली बेहुलो लिन जाने हो ।’ र सावित्रा दिदी हामीलाई हप्कीदप्की पारेर आफ्नो भनाइमा सहमत हुन बाध्य गराउनुहुन्थ्यो ।
मैले एक दिन प्रतिवाद गरेको थिएँ– ‘यस्तो बेहुलो लिन जाने चलन मलाई मन परेन ।’
‘किन मन परेन ?’ दिदीले झपार्दै सोध्नुभयो ।
‘के म ठुलो भएर केटीको घरमा बिहे गरेर जानु ?’ मैले पनि जङ्गिएरै भनेँ ।
‘अनि मैले चाहिँ जानु त ?’ दिदीले भन्नुभयो ।
‘तपाईँ छोरी हो; तपाईँ जानुपर्छ ।’ मैले भनेको थिएँ ।
‘तँ पनि त्यही आमाको दूध खाएर हुर्केको; म पनि आमाकै दूध खाएर हुर्केकी । तैँले चाहिँ जानु नपर्ने, मैले चाहिँ जानुपर्ने ?’ दिदीले भन्नुभयो ।
‘म अब तपाईँसँग खेल्दिनँ ।’ मैले फन्किँदै भनेको थिएँ ।
‘तँ नखेले नखेल्, ह्यामे छैन र ! ऊ र म खेल्छौँ ।’ दिदीले भन्नुभएको थियो ।
त्यो दिनको सावित्रा दिदीको वचन मलाई नराम्रो गरी बिझ्यो ।
त्यस दिनदेखि म सावित्रा दिदीसँग खेल्न जान छाडिदिएको थिएँ ।
त्यसपछि म कहिले दिदीहरू खेलेको ठाउँमा मिस्री खान पाउने लोभले जान्थेँ । धेरैजसो चाहिँ रेसम र दालचिनी दिदी खरबारीबाट घाँसको भारी लिएर आउने बाटो पर्खेर बस्थेँ ।
एक दिन रेसम दिदी र दालचिनी दिदी आउनुभएन । मलाई धेरै शून्य लाग्यो । मैले जसोतसो दिन बिताएँ । भोलिपल्ट पनि दिदीहरू आउनुभएन । म अधैर्य भएर उहाँहरूकै घरमा गएँ । उहाँहरू घरमा पनि हुनुहुन्नथ्यो । मितआमाले ‘कान्छो आएछ’ भनेर कागजमा मिस्री र नरिवल दिनुभयो । मैले चिरिप्प खाएँ, तर मलाई रेसम र दालचिनी दिदीले दिएकोजस्तो स्वादिलो मितआमाले दिएको मिस्री र नरिवल लागेन; दिदीहरूले दिएको मिस्रीमा स्नेह मिसिएको हुन्थ्यो, त्यो यहाँ थिएन; मितआमाले केवल औपचारिकता पूरा गर्नुभएको थियो । मैले मितआमासँग दिदीहरूका बारेमा सोधेँ । थाहा भयो— उहाँहरू आफ्नो पुर्ख्यौली घर धुलिखेल जानुभएको रहेछ । म दौडिँदै घर आएँ । मलाई घरमा पनि बस्न मन लागेन । कत्लेशिखरमा माइली दिदीको घर थियो । माइली दिदीको घर जान घरमा कर गर्न थालेँ । भोलिपल्ट अम्बिका दिदीले मलाई माइली दिदीको घरमा लिएर जानुहुने भयो ।
कत्लेशिखरमा बट्टी दिदी हुनुहुन्थ्यो । बट्टी दिदी शिवलाल बाकी छोरी । उहाँहरूको पनि ठुलो पसल थियो । अम्बिका दिदी र बट्टी दिदीको खुब मिलाप थियो, उहाँहरू पनि एकान्तमा बिँडी खानुहुन्थ्यो र धुवाँका फोका पार्नुहुन्थ्यो । म चाहिँ बट्टी दिदीले दिएको मिस्रीमा रमाउँथेँ ।
सरकारले औलो उन्मूलनको घोषणा गरेपछि हाम्रो परिवार कोटगाउँबाट बेँसी (तीनपाटन) मा झरेको थियो । कुनै राजाले आफ्नी छोरीलाई दाइजो दिएको थियो रे तीनवटा पाटन । यी पाटनहरूमा एउटा गौमती नदीको फाँट रे । गौमतीको फाँटलाई हिजोआज सिन्धुली माडी नामले चिनिन्छ । दोस्रो पाटन कमला नदी वारिपारिको फाँट रे । कमला नदीले बनाएको फाँटलाई हामी कमला खुँच भनेर चिन्दै आएका छौँ । अनि तेस्रो पाटन चाहिँ यही चदाहा खोलाको वारिपारिको फाँट रे; हाम्रो बेँसी यही हो; हामी कोटगाउँबाट यही चदाहा नदीले बनाएको फाँटमा झर्यौँ ।
तीनपाटनमा औलोको बिगबिगी हुँदा वरिपरिका डाँडामा रहेका मुङ्ग्रेथाम, कत्लेशिखर, कोटगाउँ, जखनीशिखर, नेपालेशिखरजस्ता ठाउँहरूमा स्थायी घर बनाई बेँसीमा खेतीघर वा धन्सार बनाउने चलन थियो । हाम्रो पनि धन्सार थियो । दिनभरि बेँसीमा खेतको काम गरेर साँझमा बास बस्न शिखरमा जानुपर्दथ्यो । अब त्यसो गर्नु परेन; औलो उन्मूलन भइसकेको थियो । एकातिर औलो उन्मूलन भएपछि यसरी गाउँ-बेँसी गरेर जीवन व्यतीत गर्ने आम नेपालीहरूको जीवन सहज भयो भने अर्कोतिर मानवजातिले प्रकृतिमाथि घातक प्रहार पनि सुरु गर्यो । औलोको डर हटेपछि चुरे पर्वतशृङ्खलादेखि दक्षिणतर्फ अवस्थित चारकोसे झाडी धमाधम फाँड्ने काम सुरु भयो; जताततै आगो र धुवाँको मुस्लो देखा पर्न थालेका थिए । झाडी, सेउला, रुखका हाँगाबिँगा र कम गुणस्तरका रुखहरूमा आगो लगाउन पनि थालियो । अब साल, विजयसाल, सतीसाल, सान्दान, करमजस्ता गुणस्तरीय काठहरू भारत निकासी हुन पनि थाले । जनकपुर–जयनगर रेल्वे बिजलपुरासम्म विस्तार गरियो । यी रेलगाडीहरूले मानिसभन्दा रुख बढी बोक्न थालेका थिए; भारतको भीमनगरदेखि सुनसरीको चक्रघट्टीसम्म चल्ने मालगाडीले ढुङ्गा, गिट्टी, बालुवा त बोक्थे नै; अब रुख टुक्र्याएर बोक्न बढी प्राथमिकतामा राख्न थाले । रक्सौल–अमलेखगञ्ज रेलले पनि रुख बोक्न नै बढी प्राथमिकतामा राख्यो; उता महाकाली नदीमा सारदा ब्यारेज तरेर रेल्वे लाइन चुरे घाँछसम्म पुग्यो । हामीले हेर्दाहेर्दै पूर्व–पश्चिम राजमार्ग उत्तर चुरे पर्वतसम्मको समथर भाग र कतिपय ठाउँमा दक्षिणतर्फ समेतमा रहेको घना जङ्गल सखाप भएर मानव बस्तीमा परिणत भएको थियो ।
जाबो एउटा औलोको लामखुट्टेलाई विनाश गर्दा यति ठुलो उथलपुथल हुन्छ भने हजारौँ स्क्वायर किलोमिटर वन फँडानी गर्दा कति सूक्ष्म किराहरू लोप भए होलान् । कयौँ वनस्पति तथा जीवजन्तु लोप हुने अवस्थामा पुगे होलान्, कयौँ किराफट्याङ्ग्राको जीवन समाप्त भयो होला; कयौँ सर्प, बिच्छी, खजुरा, सालक, ठोटरीजस्ता जीवहरू अनि कयौँ चराचुरुङ्गीहरू लोप भए होलान्; ठुला जीवजन्तु–अर्ना, बाघ, बँदेल, हरिण, मृग, नीलगाईहरू कता बिलाए होलान् । अनि यत्रो विनाशको परिणाम हामी मानिस र पर्यावरणका लागि कति घातक र भयानक होला !
जन्मको ठाउँ कोटगाउँबाट तीनपाटन बेँसीमा झर्दा म पाँच वर्षमा हिँड्दै थिएँ क्यारे । त्यसपछि निरन्तर पन्ध्र–सोह्र वर्षसम्म पढ्ने नाउँमा मैले विभिन्न स्कुल–कलेजमा चाहर्नुपर्यो । आफ्नो गाउँमा बस्न पाइनँ । कलेजको पढाइ सकेर म आफ्नो गाउँमा आएँ । गाउँमा आएपछि थाहा भयो— ह्यामेले बिहे गरिसकेछ । सावित्रा दिदीले पनि बिहे गर्नुभएछ । तर दुवैको बिहे फरक किसिमले भएछ । ह्यामेले बेहुलीलाई घरमा भित्र्याएछ, तर सावित्रा दिदी चाहिँ सानामा पुतलीको बिहे खेल्दा बेहुली बेहुलो लिन जानुपर्छ भनेर जिद्दी गर्नुहुन्थ्यो, आफ्नो वास्तविक जीवनमा समेत त्यो जिद्दी छाड्नुभएनछ । उहाँले भिनाजुलाई आफ्नै घरमा ल्याएर आनन्दले जीवन बिताइरहनुभएको रहेछ ।
एक दिन मैले सावित्रा दिदीलाई यसबारे जिज्ञासा राखेँ । उहाँले हाँस्दै भन्नुभयो— ‘यो कुनै ठुलो कुरो होइन । जे गर्दा समस्या समाधान हुन्छ त्यही गर्ने हो । कसैका छोरी मात्र छन् भने उनीहरूले ज्वाइँलाई बिहे गरेर ल्याउने हो । जसका छोरा छन्; उनीहरूले घरमा बुहारी ल्याउने हो । जस्तोसुकै परे पनि छोरीले अर्काको घरमा जानुपर्छ भन्ने नियम गलत हो ।’ उहाँको स्वरमा दृढता पनि मिसिएको थियो ।
म बेलुकाको खाना खाएर ओछ्यानमा पल्टिएँ । मनमा अनेक कुराहरू खेल्न थाले । मेरो जन्मस्थान कोटगाउँ, मेरा खेल्ने साथीहरू, दिदीहरूले बिँडीको धुवाँलाई डल्लो बनाएर पातमा राखेको, रेसम दिदी र दालचिनी दिदीले सधैँजसो दिने मिस्री र नरिवल अनि सावित्रा दिदीसँग बेहुलाले बेहुली ल्याउने कि बेहुलीले बेहुला ल्याउने भन्ने विषयमा भएको मतमतान्तर, दिदीको जिद्दी र मेरो असहमति, कोटगाउँ र तीनपाटनका बारेमा सुनेका कुरा आदि मनमा एकपछि अर्को गर्दै आइरहे र आज राति निकैबेरसम्म मलाई निद्रा परेन ।
सावित्रा दिदीमा त्यति सानो उमेरमा कसरी आयो होला— पितृसत्ताको मेरुदण्डमै प्रहार गर्ने त्यस्ता कुरा ! समाजमा दिदीले भन्नुभएजस्तै व्यवस्था लागू होला त भन्ने कुरामा पनि आज म अल्झिएँ । मलाई लाग्यो— ‘अहँ, यस्तो हुन सक्दैन ।’ फेरि अर्को मनले भन्यो— ‘हरेक सामाजिक कुरीति अन्त्य गर्न कसै न कसैले जिद्दी गरेकै हुनुपर्छ; बालविवाह, सतीप्रथा पनि यसैगरी अन्त्य भएका होलान् ।’
फेरि मनमा तर्कना उठ्यो— ‘त्यो त हो, तर फेरि सतीप्रथा र बालविवाहजस्तो सामाजिक अपराधजस्तो होइन— विवाहको रीतिथिति ।’ फेरि सम्झिएँ— ‘सावित्रा दिदीले भनेजस्तो आवश्यकताअनुसार गर्दा भइगयो नि । बेकारको किन टेन्सन लिने !’
मैले निदाउने प्रयत्न गरेँ । तर फेरि सकिनँ । मनमा फेरि यस्तै कुरा खेल्न थाले । समाजमा जसले बढी जिम्मेवारी वहन गर्दछ; उसैको हाइहुकुम चल्छ भन्ने कुरा आयो भने पनि पुरुष तल नै पर्नेजस्तो लाग्यो । किनभने सृष्टिको स्थितिलाई निरन्तरता दिन पुरुषभन्दा महिलाकै दायित्व बढी छ । दस महिनासम्म गर्भमा बोकेर सन्तान जन्माउने, दसधारा दूध खुवाएर हुर्काउने, पढाउने, लेखाउने र बुद्धिमान् नागरिक बनाउने दायित्व त लोग्नेमान्छेको भन्दा बढी स्वास्नीमान्छेकै छ ।
त्यसै भएर मानव सभ्यताको सुरुआती अवस्थामा मातृप्रधान समाज थियो । निजी सम्पत्तिको उदयसँगै मातृसत्ता कमजोर हुँदै गयो र पुरुषहरूको वर्चस्व हाबी हुँदै गयो । तर यो पितृसत्ता नदीको स्वाभाविक गतिलाई बाँध बाँधेर नहरतिर पानी चढाएकोजस्तो लाग्यो ।
अनि लाग्यो— त्यस बाँधलाई हाम्री सावित्रा दिदीजस्ता जागरुक नारीहरूले बिस्तारै–बिस्तारै कोपर्दै जानेछन् र यो युगौँदेखि कायम रहेको पितृसत्तात्मक बाँध भत्किनेछ ।’ म बाल्यकालका अनेकन घटनाहरूको सम्झना र मनमा उठ्ने तर्कवितर्कमा जेलिइरहेँ ।
देउरी, उदयपुर


