नियात्रा
चखेवाकी लुकुनी
➢ विष्णु न्यौपाने
“खुकुरीको सान भोजपुरको पहिचान” भन्ने नारा घोकाइरहेथ्यो देउराली चोक । त्यहाँबाट पश्चिम लागेपछि बोखिम छुँदै पुगियो दावा । सौन्दर्यकी खानी दावाले लपक्कै भिजाइन् हाम्रा हृदय । वसन्त छरेर जताततै गुञ्जायमान थिए बगैँचाहरू । लट्टिएछौँ हामी उद्यानका मौरी जसरी नै ।
सिमखेतमा तौली धानको बीउ काढ्दै गरेका लाठेहरू कान्ला उक्लेर छेउमा आए । एक जनाले सोधे,
“दाजुहरू कता जानुहुने ?”
हामीले भन्यौँ, “दिक्तेल” ।
फेरि तिनै लाठेलाई सोध्यौँ, “दिक्तेल पुग्न कति समय लाग्छ भाइ ?”
“नबिसाई जानुभयो भने त तपाईँहरू २/३ घण्टामै पुग्न सक्नुहुन्छ । तर डाँडापाखा घुम्दै, रमाइलो गर्दै जानुभयो भने दिनभरि पनि लाग्न सक्छ ।”
फेरि उनले सोधे, “अनि चिन्न त सकिएन नि ?”
“हामी दमक बस्ने व्यापारीहरू हौँ भाइ । चैतमा व्यापार नहुँदा यसो डाँडापाखा डुली खान उक्लेका नि ।”
“अनि किन हतार त ? डाँडापाखा नै डुली खानका लागि त हाम्रोतिर पनि बेस्कनै छ । दिक्तेल पुग्न पर्दैन नि त्यतिका लागि । यताहुँदीकै डाँडा घुमे हुन्न र ?”
हामीलाई जिस्क्याएर हाँसे उनीहरू । लक्ष्मण दाइले पनि हाँसेर भन्नुभयो,
“आहा ! कुरा त बसौँबसौँ लाग्ने आयो है विष्णुजी । पहाडको मेजमानीमै पो परिएला जस्तो छ आज ।” उनीहरू पनि आफ्ना स–साना आँखा अझै खुम्च्याएर हाँसे ।
अर्का लाठेले भने, “यदि दावा घुम्न भ्याउनुभएन भने पनि माथि गोठेसिङ होमस्टे चाहिँ नछिरी नजानुहोला । यता आइसकेपछि त्यता घुम्नु, बस्नुको बेग्लै मज्जा हुन्छ ।”
मैले भनेँ, “हैट ! बस्नु, घुम्नु त तपाईँहरूसँगै रमाइलो होला जस्तो छ । पाहुना लागेपछि मेजमानी पनि पाइने, साथ–सहयोग पनि । गोठेसिङले पनि देउता त मान्ला, फूल–प्रसाद पनि चढाउला तर गहकिलो भेटी त आफैँले चढाउनु पर्छ उसलाई । देउतालाई भेटी चढाउने संस्कारका मान्छे हामी आफैँ देउता बनिमागेर भक्तजनलाई भेटी चढाउनुपर्ने ठाउँमा जानुहुन्न नि । हाम्रा लागि त तपाईँहरूकैमा मज्जा आउला जस्तो छ ।”
फेरि हाँसे दुवै लाठे ।
रमाइलो संवादपछि उनीहरूले त्यहाँबाट देखिने पर्यटकीय स्थलहरू टेम्केडाँडा, सेल्मेडाँडा र अन्य गाउँहरू चिनाइदिए र हामीलाई बिदा गरे । हुइँकियौँ हामी पनि दिक्तेलउन्मुख भएर ।
त्यो पन्याइलो पाटो, सिमसार, हरियाली क्षेत्र नियाल्दै, खोला–खोल्सी नाघ्दै पुग्यौँ पारिपट्टिको पहाडमा । बाटो उक्लिँदै गयो उँभो–उँभो । बस्तीहरू छिचोल्दै, डाँडापाखा नाघ्दै, जङ्गल र घुम्तीहरू पार गर्दै निकै अग्लो उचाइ बोकेको नाघीमा पुग्यौँ । खुला पाटनका बीचैबीच दौडिएको कालोपत्रे छोडेर दायाँ लागेको गोरेटोतर्फ बाङ्गियौँ । मुखमा तगारो ठोक्दो रहेछ गोरेटोले । खोल्यौँ र पुग्यौँ ‘गोठेसिङ होमस्टे’ । आनन्दित भयो मन । चिउरीका पातमा पथारेको कोदोको रोटी, भुङ्ग्रोमा पोलेको रूखटमाटर र सिमे धनियाँ सिलौटामा पिसेर बनाएको चटनी, पहाडे खसीको कबाफ र खुट्टाको तातो–तातो झोल तयारी गरिदिन अनुरोध गरेर वरिपरिका सुन्दर दृश्यहरू नियाल्न उक्लियौँ माथिल्लो पाटनतिर । वारिपारिका फाँटहरूमा आँखा डुलाउँदै हरियो नाघीमा लडिबडी खेल्यौँ निकैबेर । आँत भरिने गरी चिसो हावा निल्यौँ स्वारस्वार्ती र झर्यौँ होमस्टेतिरै ।
बीचमा पुरातन शैलीको तर रङ्गरोगन गरी चिटिक्क सजाइएको राई संस्कृति झल्काउने मूल घर र वरिपरि स–साना घरहरू थिए । भान्साघर निकै फराकिलो थियो । एकै पटकमा तीस–चालीस जनासम्म बसाएर आरामले खुवाइ–पियाइ गराउन मिल्ने कुर्सी–टेबलहरू राखिएका थिए । स्थानीय उत्पादनका परिकारसहित विदेशी छापावाल पेय पदार्थ, हुक्का, तोङ्वा आदि राखिएका थिए । माछा–मासु भने अनुरोध टिपाएअनुसार व्यवस्था मिलाइँदो रहेछ ।
घरमुनि झन्डै काँक्रोको बियाँ आकारमा खनिएको पोखरी र त्यसको चिस्यानले छाएको हरियालीले मोहित नै बनायो हामीलाई । त्यही दृश्यपान गर्दा–गर्दै हाम्रो खाजा तयार भयो । मीठो स्वादिलो गरी खाजा खायौँ र तल लोकमार्गमा झर्यौँ । होमस्टेले दिलाएको सन्तुष्टि मनभित्र सजाएर लाग्यौँ चखेवा भञ्ज्याङतिर ।
एउटा घुम्ती र सानो जङ्गल छिचोल्ने बित्तिकै फुत्त निस्कियो भेडाका बथान चरिरहेको उछ्याइलो नाघी । फरफर चलिरहेको चिसो हावाको वेगमा देखिएको अनुपम दृश्यले शरीर यति चङ्गा बनायो कि भटभटे एकातिर उभ्याएर नाच्न थालिहाल्यौँ हामी दुई भाइ । मुखबाट स्वतःस्फूर्त निस्केका गीत गाउँदै धित मरुञ्जेल नाचेपछि मात्रै फोटो, भिडिओ खिच्न थाल्यौँ । यति आनन्द आयो कि जीवनभरि नमेटिने खुसीको छाप त्यहीँ कुँदिएको अनुभूत भयो ।
मन केही शान्त हुँदै गएपछि वरिपरिका दृश्य नियाल्न थाल्यौँ । ट्याम्केमैयुम गाउँपालिकाभित्र पर्ने यो भूभाग मेरो जन्मस्थान धनकुटा चुङमाङबाट सधैँ देखिने ट्याम्के डाँडाको थाप्लोमुनि पर्दो रहेछ । केही थान च्याङ्ग्रा र धेरै थान भेडा चराइरहेका राई थरका गोठालाहरूसँग गफियौँ । उनीहरू भन्थे, “ठुल्ठुला भेडीगोठहरू त माथि ट्याम्के डाँडातिर सरिसक्यो नि । हामी १०–१५ वटा भेडा हुने, माथि जान नसक्नेहरू मात्रै पो छौँ यतातिर अहिले ।”
बाटो आएसँगै मानिसको आवतजावत पनि बाक्लिन थालेपछि एकान्त मन पराउने गोठहरू बसाइँ सर्न बाध्य भएछन् माथिल्लो भेगतिर । नाचेको ठाउँ छोडेर हामी सय फड्का माथि पुग्यौँ । खोटाङ र भोजपुर जोड्ने भञ्ज्याङको पानीढलो काटेर गल्छी बनाएछ मोटरबाटोले । त्यही गल्छीको दायाँतर्फ सडकपेटीमा होटल सुरु गर्दै थिए दुई नवीन घरहरूले । तिनीहरूको ठीक विपरीत धारबाट सुरु हुँदो रहेछ मुन्धुम पदमार्ग । एउटा काठको टुक्रामा खोपिएर काठकै तोक्चेमा झुन्डिएका अक्षरहरू बोल्दै थिए, “मुन्धुम ट्रेल शुभारम्भस्थल” । अक्षर पढ्ने बित्तिकै रोकियौँ हामी उत्साहित बनेर । मुन्धुम ट्रेल बितेका केही वर्ष यतादेखि पर्यटकहरूको गन्तव्यस्थल बन्दै आइरहेछ भन्ने कुरा मेरो मस्तिष्कले ख्याल गरिरहेथ्यो । त्यहाँबाट हाँसपोखरी, ह्याकुले, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै साल्पापोखरी पुगिने रहेछ । गुराँस फुल्दै गरेको त्यो समय पदयात्राका लागि उपयुक्त समय पनि रहेछ । तर हामी योजनाविहीन यायावर थियौँ । एउटा ज्याकेटसम्म नबोकी लहडमा निक्लेका लहडीहरूभित्र साल्पापोखरी घुम्ने सोच पलाउनै भ्याएन ।
होटलमा भेटिएका युवक हेमन्त राईका अनुसार हामीले हेर्नुपर्ने ठाउँ त धेरै रहेछन् । पाँचधारे चौकीका पाँच धाराहरू, दिदीबहिनीका नामले चिनिने ट्याम्के र साल्मेडाँडाका साथमा साल्पा भञ्ज्याङ र तावा भञ्ज्याङ पनि । तर हामी त्यसो गर्न सक्दैनथ्यौँ र सकेनौँ पनि । त्यही चखेवा भञ्ज्याङ पनि खातैखात पहाडहरू छिचोलेर जीवनमा पहिलो पटक पुगेका थियौँ । त्यो नै हाम्रा लागि ठूलो उपलब्धि थियो ।
मुन्धुम पदमार्गमा केही कदम हिँडेर उत्तरी हिमशृङ्खलाहरू नियाल्दै थियौँ, तुरुन्तै बदलियो आकाशको रङ्ग । बटारिएर आयो मान्छे उडाउने आँधी । त्यही वेगमा कुँडुलो परेर आयो आँखा छोप्ने कुहिरो । अँध्यारो यति द्रुत गतिमा छायो कि अगाडि दौडिँदै गरेका लक्ष्मण दाइलाई देख्न नै मुस्किल पर्यो मलाई । दौडिँदा–दौडिँदै होटलमा छिर्नै नपाई दर्कियो असिनापानी । घरहरूले हतार–हतार ढिक झारिहाले । हामी आत्तिँदै ढिक तानेर छिर्यौँ भित्र । धन्न, रेनकोट शरीरमै रहेछ र कपडा सुरक्षित रहे । हेलमेट शिरमै रहेछ र असिनाको चुटाइबाट बचायो ।
होटलको तातो चियाले चिसो सेक्यौँ । १५ मिनेटपछि सामसुम भयो बाहिर र ढिक खोलेर निक्लियौँ सडकमा । हेर्दा त सडकको भित्तापट्टि वारपार लागेछ असिनाको रास । होटलवाला भाइले भने, “यो भित्तामा थुप्रेको असिना १५ दिनमा पनि पग्लिसक्दैन ।”
मैले सोधेँ, “अनि यस्तो विधि असिना आज मात्रै परेको हो कि अरू बेला पनि परिरहन्छ भाइ ?”
उनले भने, “सधैँ त होइन तर हिउँदोमा चाहिँ यस्तै एक्कासि खसिबस्छ दाजु । अन्तभन्दा धेरै नै खस्छ यो ठाउँमा ।”
हाम्रो भटभटे पनि धोएर टलक्कै टल्काएछ पानीले । निक्कै असिना छेकेछ उसले पनि । प्लास्टिकले मोरेका झोला सुरक्षित नै थिए । छिनभरमा बदलिने लेक, लुगलुग कँपाउने जाडो र सिङ्गो भोजपुरसँग बिदा मागेर प्रवेश गर्यौँ खोटाङको भूमिमा ।
प्रवेशद्वारदेखि नै कालो वस्त्र खोलेर बेसरम नाङ्गो भइदियो सडक । लाज लागेछ बरु कुहिरोलाई र छोपिदियो अन्धमुष्टि बनेर त्यही बेला । तर छिनभरमै शर्मायो कुहिरो पनि र हुल्यो बाटोलाई घनघोर बाक्लो कटुसे पातालभित्र । मज्जा आएछ भटभटेको फगलाइटलाई । हाँस्न थाल्यो कुहिरोको बैँस सुम्सुम्याएर । कुतकुत्याएछ हुस्सुले पनि उसलाई । दुवै खेल्न थाले लुकामारी । पर्दा खोलेर परपरसम्म चिहाउन खोज्छन् लक्ष्मण दाइका आँखा तर झन् बाक्लो पर्दा हालिदिन्छ कुहिरोले । सडकको नाङ्गो रूपमाथि चिप्लेटी खेल्दा–खेल्दै भासिएर फन्फनाउन थाले भटभटेका पाउ एकै ठाउँमा । ओर्लेर दुवै भाइ लाग्यौँ तान्ने र ठेल्ने अभियानमा । ठीक त्यही बेला ताली मार्यो आकाशले र वर्षाउन थाल्यो अमृतधारा । जुत्ताको सत्यानास भयो । लेकाली जुका र भालुको भन्दा भटभटेमा समस्या आइदेला कि भन्ने त्रास बढ्दैथियो हामीभित्र ।
अन्त्यमा पानी, पात्लेघारी र काँठे कुहिरो तीनवटैले छोडे एकैपटक । तर आश्चर्य के भने, अगाडिको बाटोमा धुलो उडिरहेछ । लागिरहेछन् टन्टलापुर घाम । नियालेर हेर्यौँ, ओभानै छन् चरिरहेका भेडाहरू । खर्किरहेछन् पाखामा गोठालाहरू । छक्क र खुसी एकैसाथ छाउँदै गर्दा एउटा गोठालोले राडी काटेर अस्टकोट बनाए जस्तो देख्यौँ । अझै आँखा तन्काएर हेरेँ मैले । लामा बाउला भएको पुरानो स्वेटरमाथि घुँडामुनिसम्म झुन्डिएको जवारीकोट लगाए जस्तो देखियो । शिरमा ढाका टोपी छ । पेन्ट र जुत्ता छन् गोडामा ।
भटभटे रोकेर नजिकै बोलायौँ र कुरा खोतल्न थाल्यौँ—
“भाइ, च्याङ्ग्रा पनि पाल्नुभएको छ कि भेडा मात्रै हो ?”
“छैन हउ दाजु च्याङ्ग्रा त । हाम्रोमा भन्दा नि माथि लेकतिर पो सजाउँछन् च्याङ्ग्रा ।”
“अनि यो नै लेक होइन र भाइ ?”
“होइन नि दाजु । माथि टेम्केतिर पो हिउँ पनि खस्छ, च्याङ्ग्रा पनि गोठगोठै पाल्छन् । यता त तुसारो मात्रै खस्छ । चिसो कम हुने ठाउँमा रोगाउँछ नि च्याङ्ग्रा । ऊ त्यो लिम्बुनी डाँडाको शिरमा चाहिँ राम्ररी पालेको छ है ।”
“होइन, अनि चिसो कम हुन्छ भन्नुहुन्छ फेरि यति मोटो जवारीकोट पनि लगाउनुभएको छ त तपाईँले ? कि के भन्छन् यो लुगालाई ?”
उनी हाँसे र लुगा देखाउँदै भने, “यसलाई त ‘लुकुनी’ भन्छ दाजु ।”
“ए हो ? अनि तपाईँलाई चाहिँ के भन्छ त गाउँमा ?”
“मलाई चाम्लिङे साइँला भन्छन् । नाम चाहिँ धनबहादुर चाम्लिङ हो । अलि तल डाँडागाउँमा पर्छ घर ।”
“तपाईँले चराउने भेडालाई चाहिँ के भन्छ ? भालेलाई के भन्छ, पोथीलाई के भन्छ ?”
“भालेलाई साँडे र पोथीलाई भेडी भन्छ ।”
“अनि यो लुकुनी आफैँ बुन्नुहुन्छ ?”
“हामी आफैँ बुन्छौँ ।”
“कसरी बुन्नुपर्छ ?”
“अप्ठ्यारो छ नि बुन्न । भेडाको ऊन काट्दै रङ छुटाएर बेग्लै–बेग्लै थुप्रो लगाइन्छ । राम्ररी धोएर सुकाएपछि कोरेसोमा कोरेर नरम बनाइन्छ । आजभोलि चाहिँ मेसिन पनि पाइन्छ । त्यसैमा हालेर भुवा बनाइन्छ र चर्खामा राखेर धागो बनाइन्छ । त्यो धागोबाट ससाना डोरी बाटेर तानमा बुनिन्छ । बुनेका टुक्राहरूलाई यसैको धागोले जोडिन्छ र तातोपानी हाल्दै, भुवा थप्दै खुट्टाले बेस्मारी माडेपछि बाक्लो हुन्छ । अनि घाममा मज्जाले सुकाउनु पर्छ र मात्र यस्तो लुकुनी बन्छ । यो हामी छोरामान्छेले लगाउँछौँ । छोरीमान्छेले चाहिँ चौबन्दी जस्तै बुनेर लगाउँछन् । बनाउन गाह्रो, लगाउन न्यानो ।”
“नाम चाहिँ किन लुकुनी राखेको रहेछ त यसको ?”
“खै, त्यो त थाहा पाइएन हउ दाजु हामीले । हाम्रा बाजेबज्यैहरू पनि यसै भन्थे । तर यसले जाडोबाट पनि लुकाउँछ, पानीबाट पनि लुकाउँछ र पो लुकुनी भनेको हो कि ?”
चाम्लिङे साइँलाका चोटिला कुरा सुन्दा नै जीउमा न्यानो छायो । बुन्दा झन्झटिलो, हेर्दा राडी ओढे जस्तो देखिए पनि स्थानीय उत्पादन ‘लुकुनी’ सदाबहार लेकाली जाडो छल्न बहुतै कामकाजी पहिरन रहेछ ।
धनकुमारसँग बिदा भएर हामी सरासर ओरालो झर्यौँ । करिब १० किलोमिटर कच्ची बाटो ओर्लेपछि कालोपत्रले छुन थाल्यो । नाङ्गिएका भन्दा पनि ठेकेदारसँगको झगडाले कालो पोसाक लगाउनै पाएको रहेनछ बाटोले । निकै तल ओर्लेपछि सडक किनारामा बसेर फूल–तरुल केलाउने राईनी दिदीहरूलाई लक्ष्मण दाइले सोध्नुभयो,
“यता कतै चिया खाने दोकान पाइन्छ दिदी ?”
एउटी महिलाले अर्कीलाई सोधिन्, “होइन र, चिया बेच्ने दोकान त सुनेकै हो, चिया खाने दोकान पनि हुँदो रहेछ माइली ?”
सबै जना गलल्ल हाँसे । हामी पनि हास्यौँ । अर्की महिलाले फेरि सोधिन्, “तातो कि चिसो हउ भाइ ?”
“चिसो त नखाऊँ हउ दिदी । तातो मात्रै खान खोजेको अहिले ।”
अर्की एक जना महिला उठेर चोरीऔँलोले देखाउँदै भनिन्, “ऊ त्यो लिम्बुनी डाँडामुनि लहरे चौतारो छ । चौतारामाथि सानो बजार छ । हो, त्यही बजारमा चिया बेच्छन् । यतातिर त चिसो चिया मात्र बेच्छन् भाइ ।”
दिदीहरूलाई धन्यवाद दिएर अघि बढ्यौँ । ठीक ६ मिनेटमा पुग्यौँ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ९, निर्मली डाँडामा । त्यहाँको ‘पेलुङ मासु पसल एन्ड खाजाघर’ मा मैले सोधेँ,
“बहिनी, नास्ता पाइन्छ ?”
“चाउचाउ उमाले मात्रै हो, अरू नास्ता त छैन दाजु ।”
“चिया बिस्कुट ?”
“बिस्कुट छैन दाजु । चिया चाहिँ बनाइदिन्छु । ऊ परको पसलमा बिस्कुट पाइन्छ ।”
लक्ष्मण दाइ बिस्कुट किन्न जानुभयो । म चाहिँ तल खोलाबाट उक्लेको पुरानो मूल बाटो नियाल्न थालेँ । दायाँ–बायाँ लहरै उभिएका धेरै थान बर–पिपल देखिए । तिनका फेदमा भत्किँदै गरेका चौताराहरू देखिए । उहिले युवराज महेन्द्र त्यही मूल बाटो भएर हिँडेका, लहरे चौतारोमा सुस्ताएका, पेलुङ गाउँमा बास बसेर जनताका दुःख–सुख बुझेका कुरा सुनाउनुभयो छेउको मुढामा बस्नुभएकी बूढी हजुरआमाले । त्यस्तो इतिहास बोकेर उभिएका ती धरोहररूलाई मोबाइलमा कैद गर्न थालेँ म । मेरो पछाडि बाटो छेउमा एउटा भालु कुकुरको छाउरो केटाकेटीसँग जिस्किँदै थियो पहिले । त्यो बच्चो सुटुक्क आएर मेरो खुट्टासँग पनि जिस्कन थालेछ, मैले थाहै पाइनँ । पछाडि फर्कँदा त उसका मसिना दाँतले रेनकोटको सुरुवाललाई चाल्नी बनाइदिएछ । बदमासी गरेपछि आफैँ भाग्यो बाटो पारितिर । चाल्नु बनेको रेनकोट देखेर अँध्यारो बनेछ मेरो अनुहार । बिस्कुट लिएर आउँदै गरेका लक्ष्मण दाइ मेरो गति र छाउराको दौड एकैचोटि देखेर खुम्री पर्दै हाँस्न थाल्नुभयो । म जिल्ल परिरहेँ ।
पेलुङदेखि दिक्तेलसम्मका अधिकांश बारीहरू बसाइँ सरिसकेछन् । खेतको साम्राज्य चलिरहेको थियो । हिउँदे बालीले ढाकेका खेतहरू रहरलाग्दा देखिन्थे । खोला, खोल्सी र जरुवाहरूले चैते खडेरीको सातो बोलाउँदा रहेछन् । “भुलभुले दूधकुण्ड देउधाम” त्यसको एउटा नमुना रहेछ ।
हामीले कोसौँ टाढादेखि नियालिरहेका प्लास्टिकका टनेल जस्ता सेता वस्तुहरू एउटै मूलबाट उम्रेको विशाल पानी खसिरहेका लहरे धारा र कृत्रिम झरनाहरू रहेछन् । तेर्सो बाटोमै भटभटे छोडेर कान्ला उक्लियौँ र जरुवा, कुण्ड तथा मूर्तिको दर्शन गर्यौँ । मूलमा केही फरक प्रकृतिका माछा थिए । कुण्डको पानीमुनि आकारले अलि सानो तर काठमाडौँ बुढानीलकण्ठकै स्वरूपको, शेषनागमाथि सुतेका विष्णु भगवान्को मूर्ति थियो । पूजाआजा पनि चल्ने यो ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको स्थानलाई नगरपालिकाले धार्मिक पर्यटकीय महत्त्व क्षेत्र घोषणा गरी लगानी बढाउँदै रहेछ ।
त्यो रोमाञ्चक दृश्यलाई आँखामा कैद गरेर अघि बढ्यौँ । घरहरू बाक्लिन थाले । होटल, रेस्टुरेन्ट र गेस्टहाउसका साइनबोर्डहरू देखिन थाले । नियाल्दा दिक्तेलसँगै जोडिएको अल्छेढुङ्गा नजिक पुगिसकेका रहेछौँ । क्षणभरमा दिक्तेल बजार प्रवेशद्वारबाट ओरालो झर्यौँ । यो ठाउँलाई रत्नपार्क जिरो पोइन्ट भनिँदो रहेछ ।
बजारको सरसफाइ देख्दै प्रफुल्लित भयो मन । उत्तर–दक्षिण ढल्केर सुतेको पहाडको घाँटीलाई छपक्कै ढाकेर बसेको बजार । अघिल्लो साल मात्र ढलान गरेर बीचैबीच हिँडाइएको धुलोरहित एकनासको चौडा बाटो । तोकिएको निश्चित समयबाहेक चारपाङ्ग्रे निषेधित क्षेत्र । तीनपाङ्ग्रेले पनि नियमले बाँधिएर चल्नुपर्ने । पार्किङ निषेधित । आफ्नो घर र सडक आफैँ सफा गर्नुपर्ने । कुहिने फोहोर छुट्याएर आफैँ व्यवस्थापन गर्नुपर्ने । नकुहिनेलाई नगरपालिकाको गाडीमा आफैँ हालिदिनुपर्ने जस्ता नियमहरूले हरेक व्यक्तिलाई सचेत र सक्रिय बनाएको पाइयो ।
यस्तो हुँदा व्यापारमा त पक्कै असर छ जस्तो लाग्यो तर बाटो एउटा मात्रै भएको हुँदा ग्राहकहरू कतै छरिन नपाउने, सवारीसाधन कतै राखेर पनि चाहिएको सामान खरिद गर्न आउनै पर्ने बाध्यता भएका कारण व्यापारमा कुनै असर नपरेको देखियो ।
बजार घुम्दै हामी तल, सरस्वती मा.वि., बेसक्याम्प, त्रिवेणी चोक हुँदै हाटडाँडासम्म पुग्यौँ । दिक्तेललाई अझै एकै नजरमा कैद गर्न कालीमन्दिरतिर उक्लिने बाटो थोरै माथिसम्म चढ्यौँ । च्यादरका छाना ओढेका अधिकांश घरहरूलाई कङ्क्रिट ओढेका थोरै घरहरूले ओझेल पार्न खोज्दै गरेको देखियो ।
त्यसपछि बस्न खानका लागि सफा र मितव्ययी होटलको खोजी गर्दै फर्कियौँ बजारतिरै । एक जना प्रहरी भाइले होटल रुपाकोटको नाम दिए । त्यो संवाद सुनिरहेका अर्का भाइले “त्यस्तो महँगो ज्यानमारा होटलमा नजानोस्, बुकी टाट बनाउँछ त्यसले” भने । केही होटल बुझ्यौँ पनि । सस्ता तर सुविधा नभएका । त्यसपछि सिधै रुपाकोट पुग्यौँ । रु. १२००/– मा तातोचिसो सबै व्यवस्था भएको, अलग–अलग बेड भएको, काउन्टर छेउमै भनेजस्तो कोठा भेटेपछि खुसीसाथ झोला बिसायौँ र तातोपानी पिएर फेरि बजारतिरै निक्लियौँ ।
दिक्तेल निकै चिसो ठाउँ रहेछ । न लामखुट्टेको टोकाइ न घामको पोलाइ । न बाढीको कटान न पहिरोको त्राहिमाम् । स्याउँस्याउँ जुका लाग्ने लेक पनि होइन, हिउँ पर्ने नाघी पनि होइन । न रुखो पाखो न नाङ्गो डाँडो । बस्न खानका लागि स्वर्गीय आनन्दको ठाउँ । तर सामग्रीहरू चाहिँ तुलनात्मक रूपमा केही महँगो । फलफूल दमकभन्दा दोब्बर पैसा तिरेर किनेपछि अनुसन्धान गर्न करै लाग्यो ।
महँगो हुनुमा एउटा कारण ढुवानी समस्या र दोस्रो कारण व्यापारीहरूको मनोमानी रहेछ । तराईसँग दिक्तेलको सिधा सम्पर्क बाटो छैन । उदयपुरको गाईघाटबाट हलेसी छेउ निस्कने बाटो पनि ठूला गाडी चल्न सक्ने गरी पूरा भइसकेको रहेनछ । प्रायजसो मालवाहक गाडीहरू बर्दिबासदेखि खुर्कोट, घुर्मी, हिलेपानी, महादेवस्थान हुँदै दिक्तेल आइपुग्ने र निश्चित सामान मात्रै ल्याइने हुँदा ल्याएको सामान राम्रो मूल्य लिएर बेच्ने गर्दा रहेछन् व्यापारीले । भोजपुरसम्म इटहरी, धरान, धनकुटा हुँदै जाने, ओखलढुङ्गातिर पनि कटारी, घुर्मी हुँदै वा खुर्कोट, हिलेपानी हुँदै उक्लिने तर दिक्तेल चाहिँ बीचमा एक्लै छोडिने हुँदा यसका लागि भाग छुट्याएर मागअनुसारको निश्चित वस्तु मात्रै बोक्नुपर्ने रहेछ ।
हामी एउटा पुस्तक पसलमा पुग्यौँ । पसले दाजुसँग चिनजान भयो । उहाँ मोरङ, लालभित्ती घर भए पनि दिक्तेल बजारभित्रको सरस्वती मा. वि. मा शिक्षण गर्दै व्यापार पनि गर्नुहुँदो रहेछ । मैले खोटाङमै बसेर सिर्जनामा रमाउनुहुने कोही साहित्यकारहरू चिन्नुहुन्छ भनेर सोधेँ । उहाँले कवि रामविक्रम थापाको नाम लिनुभयो र फोन नम्बर पनि दिनुभयो । उहाँ पनि लालभित्तीकै हुनुहुँदो रहेछ । मैले फोन गरेँ र भोलिपल्ट बिहान भेट गर्न जाने निधो गरेँ । त्यसपछि जुत्ता पसल, कपडा पसल, फलफूल पसलमा छिर्यौँ । अधिकांश व्यापारीहरू तराईतिरै घर भएका पहाडे मूलका मानिसहरू रहेछन् । रुपाकोट होटलका मालिक चाहिँ होटल व्यवसायी सङ्घ खोटाङका अध्यक्ष पनि रहेछन् ।
दिक्तेल बजारलाई विभिन्न कोणबाट नियाल्दै भोलिपल्ट गरिने हलेसी दर्शनका लागि आवश्यक सामग्री खरिद गर्यौँ । होटल फर्केर मीठो शाकाहारी भोजन गर्यौँ । विस्तारामा पल्टिनुअघि मात्रै रेनकोट खोलेर जतनसाथ राख्यौँ । साना तर न्याना धुस्सामाथि बाक्ला सिरक ओढ्यौँ र आनन्दले निदायौँ ।


