नियात्रा: चीन चिनाउने सेमिनारका २४ दिने अनुभूतिहरू
चीन जाने रहर सानैदेखिको हो । पुस्तक तथा पत्रपत्रिकामा चिनियाँ कम्युनिस्ट पार्टीले गरेको राजनीतिक तथा सांस्कृतिक क्रान्तिबारे पढ्दा, क्रान्तिपछि माओले अवलम्बन गरेका राज्य सञ्चालनका नीति तथा देङ सियाओपिङले नीतिमा गरेका फेरबदल र त्यहाँका नागरिकहरूले गरेको कठोर मेहनत एवं परिश्रमका कारण देशले हासिल गरेको समृद्धिबारे अग्रजहरूका मुखबाट प्रशंसा सुन्दा त्यहाँ पुग्ने हुटहुटी बढिरहेको थियो । कोसिस गरिरहे रहर पूरा हुने दिन पनि आउँदा रहेछन् ।
जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालय (Ministry of Commerce of People’s Republic of China) को प्रायोजन र जियाङ्सी भोकेसनल कलेज अफ फरेन स्टडिज (Jiangxi Vocational College of Foreign Studies) को आयोजनामा भएको “विकासोन्मुख देशहरूका लागि उद्योग र व्यापारको समावेशी तथा दिगो विकास” (Inclusive & Sustainable Development of Industry and Trade for Developing Countries) नामक सेमिनारमा सहभागिता जनाउने अवसर जुर्यो । दक्षिणपूर्वी चीनमा पर्ने जियाङ्सी (Jiangxi) प्रान्तको राजधानी नान्चाङ (Nanchang) सहरमा २८ मे २०२६ देखि १८ जुन २०२६ सम्म आयोजित उक्त सेमिनारमा नेपालका ५ जनासहित क्यारिबियन तथा अफ्रिकी मुलुकहरूबाट जम्मा २१ जनाको सहभागिता रहेको थियो ।
सन् २०२६ मे २६ को रात ११:३० बजे, चाइना साउदर्न एयरलाइन्स (China Southern Airlines) को CZ 3068 उडान नम्बरको A320 एयरबस चढिसकेपछि एक प्रकारको मानसिक तनाव हटेर आनन्द अनुभूत हुन थाल्यो । उज्यालो हुँदा ग्वाङझाउ (Guangzhou) सहरको बाइयुन अन्तर्राष्ट्रिय विमानस्थल (Baiyun International Airport) मा ओर्लियौँ । अध्यागमनको काम सिध्याउँदै बाहिर निस्कँदा एक जना चिनियाँ महिला हामी सहभागी हुने सेमिनारको नेमप्लेट दुवै हातले माथि उचालेर उभिइरहेकी देख्यौँ । “निहाउ” भन्दै हामी उनकै अगाडि उभियौँ । निहुरिएर उनले हामीलाई स्वागत गरिन् । एउटा बसमा चढाएर होटेलसम्म पुर्याइन् र खाना खाएर आराम गर्न अनुरोध गर्दै, “३:१५ बजे पुनः विमानस्थल प्रस्थानका लागि तयार रहनुहोला” भनी बाहिरिइन् ।
रातभरिको अनिँदो मान्छे, खाना खाएर म सुतिहालेँ । ब्युँझँदा दिउँसोको २ बजेको रहेछ । तयार भएर काउन्टरमा निस्कँदा उनी पर्खिरहेकी रहिछन् । उनले फेरि उही विमानस्थलको आन्तरिकतर्फ लगेर हामीलाई बिदाइ गरिन् । हामी त्यहाँबाट जियाङ्सीका लागि उडान भरेर ५:३० बजे चाङ्बेई अन्तर्राष्ट्रिय विमानस्थल (Changbei International Airport) पुग्यौँ । त्यहाँ कार्यक्रमका स्वयंसेवकका रूपमा रहेका जियाङ्सी युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स (Jiangxi University of Finance and Economics) का विद्यार्थीहरू— लिबेला, फुन्नी र उनका साथीहरू हामीलाई लिन आइपुगे । यो विश्वविद्यालय हाम्रो कार्यक्रमको सहआयोजक पनि रहेछ । उनीहरूले हामीलाई त्यहाँबाट लगेर ‘हलिडे इन’ (Holiday Inn) नामको पाँचतारे होटेलको चौथो तलाका छुट्टाछुट्टै कोठामा राखिदिए । मेरो कोठा नम्बर ४१५ थियो । त्यो रात चिनियाँ खाना खाएर हामी सुत्यौँ ।
भोलिपल्ट त्यही होटेलको भुइँतलामा रहेको सेमिनार हलमा राखेर हामीलाई सम्पूर्ण कार्यक्रमबारे अभिमुखीकरण गराइयो । चिनियाँ सिमकार्ड पनि त्यहीँ उपलब्ध गराइयो । हामीलाई अभिमुखीकरण गराउने गुरुआमा प्राध्यापक जेन (Jane) हुनुहुन्थ्यो ।
दिउँसो १२ बजेको खानापछि केही क्षण आराम गरी जियाङ्सी युनिभर्सिटी (JUFE) को सेमिनार हलमा पुर्याइयो । त्यहाँ विश्वका अन्य देशहरूबाट आएका प्रतिनिधिहरूसँग भेटघाट तथा परिचय आदानप्रदान गर्ने अवसर मिल्यो । दिउँसो २ बजेदेखि विश्वविद्यालयका प्राध्यापक युआन होङलिन (JUFE का उपाध्यक्ष) र राव जियानहुआ (सीपीसी सदस्य) ले मन्तव्यसहित स्वागत गरे । उनीहरूले चिनियाँ भाषामा बोले र फुन्नीले अंग्रेजीमा अनुवाद गरिदिइन् । त्यही कार्यक्रममा हामीलाई छाता, डायरी, कलम, झोला र भ्रमण तालिका पुस्तिका (Itinerary book) दिइयो । मलाई भ्रमण तालिका पुस्तिकाले उत्साहित बनायो; किनकि त्यहाँ जुन १ तारिखका दिन बुलेट ट्रेन चढाएर सेन्जेन सहर घुमाउन लग्ने तालिका देखाइएको थियो । म रेल नचढेको मान्छे, जीवनकै पहिलो रेल यात्रा त्यो पनि बुलेट ट्रेनबाट हुने निश्चित भएपछि उत्साहित नहुने कुरै भएन ।
उद्घाटन कार्यक्रमपछि हामीलाई विश्वविद्यालयको संग्रहालय घुमाइयो । यसको स्थापनाकालदेखि हालसम्मका गतिविधि, विकास र उपलब्धिबारे जानकारी गराइयो । यो जियाङ्सी प्रान्तको दोस्रो ठूलो विश्वविद्यालय भएको जानकारी भयो । त्यो दिन बेलुकी उनीहरूले विशेष रात्रिकालीन भोजन गराए । एउटा उच्च स्तरको रेस्टुरेन्टमा लगेर गराइएको भोजनमा मैले विभिन्न सामुद्रिक खानाका प्रकारहरू र स्थानीय बियरको स्वाद लिएँ । खानापछि उनीहरूले हामीलाई होटेलमै ल्याएर छाडिदिए ।
भोलिपल्ट बिहानको नास्तापछि ९ देखि १२ बजेसम्म प्राध्यापक ये वेइहुआ (Ye Weihua) द्वारा ‘चीनको एक सिंहावलोकन’ (An Overview of China) शीर्षकमा चीनको इतिहासदेखि वर्तमानसम्मका राजनीतिक परिवर्तन, विकासक्रम, सांस्कृतिक रूपान्तरण, भाषा, भेषभूषा र जातजातिको अवस्थाबारे सारांशमा जानकारी गराइयो । यसैबाट थाहा भयो कि चीनले छिमेकी राष्ट्रहरूलाई धेरै महत्त्व दिएको छ । चीनमा चिनियाँ कम्युनिस्ट पार्टीबाहेक अन्य आठ वटा राजनीतिक दलहरू पनि अस्तित्वमा रहेछन्, तर ती दलहरू प्रतिस्पर्धी नभएर सहयोगी भूमिकामा रहेछन् भन्ने कुरा प्रस्ट बुझियो । राज्यका नीति-नियमलाई आफैँले बनाएझैँ गरी सबै नागरिकले आत्मसात् गरेर पालना गरेको पाइयो । सरकारलाई भगवान्का रूपमा मान्ने र राष्ट्रपति नै ‘गडफादर’ हुन् भन्ने छाप सबैको मनमा रहेको देखियो ।
दिउँसो २ देखि ५ बजेसम्म प्राध्यापक वाङ सियाओपिङ (Wang Xiaoping) ले ‘चीनको आर्थिक विकासका मुख्य विशेषताहरू’ (The Main Characteristics of China’s Economic Development) शीर्षकमा चीनको समग्र आर्थिक विकासक्रम, अपनाइएका नीति, सिद्धान्त र तिनले पारेको प्रभावबारे अत्यन्तै गहकिलो कार्यपत्र अंग्रेजी भाषामा प्रस्तुत गरे । सन् १९७८ देखि योजनाबद्ध अर्थतन्त्र (Planned economy) बाट बजार अर्थतन्त्र (Market economy) तर्फ गएको जानकारी प्राप्त भयो । अहिले चीनमा खुला अर्थतन्त्र रहेको कुरा प्रस्ट थाहा भयो ।
मे ३० को पहिलो सत्रमा सहप्राध्यापक वान यिना (Wan Yina) द्वारा ‘चीनको सुशासन र शासन क्षमतामा विचार तथा अभ्यास’ (Thoughts and Practices on Good Governance and Governance Capacity of China) शीर्षकको कार्यपत्र प्रस्तुत भयो । त्यसमा चीनले बनाएका जनताकेन्द्रित नीति-नियम र सरकारले गरेको जनसेवा छर्लङ्ग पारिएको थियो । सेवा-सुविधा प्रवाह र भ्रष्टाचार न्यूनीकरण गर्न अपनाइएका विधि तथा प्रविधिका विषयमा गम्भीरतापूर्वक प्रशिक्षित गराइयो । यसबाट नीति-नियमहरू पूर्णतः जनताकेन्द्रित रहेको र सबै नागरिकमा समान रूपमा लागु भएको जानकारी पाइयो ।
दोस्रो सत्र दिउँसो २ देखि ५ बजेसम्म चल्यो । यसमा ‘चीनको व्यापार मोडेलहरूको नवीनता र अभ्यास’ (Innovation and Practice of China’s Trade Models) बारे छलफल भयो । यसै गरी मे ३१ मा ‘उद्योग र व्यापारसँग डिजिटल अर्थतन्त्रको एकीकरण विकास’ (Integration Development of Digital Economy with Industry and Trade) विषयमा छलफल भयो । यसबाट के बुझियो भने, चीनमा अहिले कागजी रुपियाँ देखिनै छाडेको छ । कसैको खल्तीमा पैसा हुँदैन र कसैले नगद लिन पनि मान्दैन । जति व्यापार हुन्छ, सबै डिजिटल भुक्तानी (Digital payment) हुन्छ । अधिकांश खरिद-बिक्री अनलाइन प्रणालीबाट हुने गर्छ । तथ्यांक (Data) लाई महत्त्वपूर्ण सम्पत्तिका रूपमा सुरक्षित राखिन्छ र त्यसलाई विश्लेषण (Analysis) एवं संश्लेषण (Summarise) गरी सूचना तथा जानकारी (Information) मा परिणत गर्दै राष्ट्रिय-अन्तर्राष्ट्रिय सूचना, घटना, आवश्यकता, माग र आपूर्तिको अवस्था क्षणभरमै ग्रहण गर्दै सोहीअनुसार कदम चालिन्छ । जनताले डिजिटल माध्यमबाट देखाएका गतिविधिहरूलाई संवेदनशील ढङ्गले हेरिने, विश्लेषण गरिने र तुरुन्त सम्बोधन गरिने प्रविधि तथा प्रवृत्तिको विकास भएको जानकारी पाइयो ।
जुन १ का दिन बिहान ९ बजे सेन्जेनका लागि बुलेट ट्रेन चढियो । विमानभन्दा सफा, शान्त, सुरक्षित र प्रतिघन्टा ३२० किलोमिटरका दरले दौडिँदा पनि डब्बाभित्र हलचल वा आवाजको कुनै अनुभूति नहुने ! बाहिरी संसार हेर्दा मात्रै दौडिरहेको भान हुने । आगमन (Arrival) र प्रस्थान (Departure) समयमा सेकेन्डको अन्तर होला तर मिनेटको फरक नपर्ने रहेछ । ३ घण्टामा सेन्जेन पुगियो । २० वर्षअघिसम्मको माछा मार्ने सानो गाउँ (Fisher village) आजको डिजिटल सहरमा परिणत भएको प्रत्यक्ष देख्न पाउँदा चीनको वैभवले आकाश छोएको अनुभूति भयो । सहरभन्दा अग्लो पहाडमा निर्मित लियानहुशान (Lianhuashan) पार्कमा रहेको देङ सियाओपिङको कांस्य प्रतिमा (Bronze statue of Deng Xiaoping) को अवलोकन गरियो । त्यहाँबाट देखिने सेन्जेन सहरको रमणीयता अक्षरमा वर्णन गर्न सकिँदैन ।
साँझपख सेन्जेन बे पार्क (Shenzhen Bay Park) बाट पारिपट्टि नजिकै देखिने हङकङलाई पनि नियाल्न पाइयो । भोलिपल्ट ‘योनयु सफ्टवेयर कम्पनी लिमिटेड’ (YonYou Software Co. Ltd.) को भ्रमण गरियो र ‘औद्योगिक डिजिटल रूपान्तरणको मार्ग र दिगो विकासका अभ्यासहरू’ (Path of Industrial Digital Transformation and Practices of Sustainable Development) का बारेमा जानकारी प्राप्त भयो । सोही दिन हामीलाई ‘स्काईवर्थ ग्रुप कम्पनी लिमिटेड’ (Skyworth Group Co. Ltd.) को भ्रमण गराइयो । त्यहाँ ‘इलेक्ट्रोनिक सूचना उद्योगमा हरित आपूर्ति शृंखलाको निर्माण’ (Construction of Green Supply Chain In the Electronic Information Industry) सँगै ‘बुद्धिमान उत्पादन र समावेशी रोजगारी प्रवर्धन मोडेलहरू’ (Intelligent Manufacturing and Inclusive Employment Promotion Models) बारे कम्पनीका महाप्रबन्धक लियाओ जी (Liao Jie) बाट जानकारी दिलाइयो ।
जुन ३ को बिहान ९ बजे ‘सेन्जेन गेटाई ग्रुप कम्पनी लिमिटेड’ (Shenzhen Getai Group Co. Ltd.) को भ्रमण गराइयो । त्यहाँ ‘अप्टोइलेक्ट्रोनिक उद्योगमा न्यून कार्बन उत्पादन प्रक्रिया, साना तथा मझौला उद्यमहरूको नवीन विकास र दिगो विकास सहयोग’ (Low Carbon Production Processes in the Optoelectronic Industry, Innovative Development of Small and Medium Sized Enterprises and Sustainable Development Cooperation) का विषयमा कम्पनीका महाप्रबन्धक ली योङ्गाङ (Li Yonggang) द्वारा जानकारी गराइयो । त्यही दिन अपराह्न ४:१५ को बुलेट ट्रेन चढाएर अर्को सहर गान्झोउ (Ganzhou) पुर्याइयो । रेलभित्रै खानाको व्यवस्था मिलाइएकाले होटेलमा पुगेर खानाको झन्झट भएन ।
जुन ४ का दिन ‘ग्री इलेक्ट्रिक एप्लायन्सेज कम्पनी लिमिटेड’ (Gree Electric Appliances Co. Ltd.) को भ्रमण गराइयो । त्यहाँबाट ‘हरित उत्पादन प्रणाली, चक्रीय अर्थतन्त्र मोडेल र गृह उपकरण उद्योगको दिगो औद्योगिक विकासको अनुभव’ (Green Manufacturing System, Circular Economy Model / Experience in Sustainable Industrial Development of the Home Appliance Industry) बारे जानकारी पायौँ । सोही दिन दिउँसो २ बजेपछि ‘नानकाङ न्यू फर्निचर सेन्टर’ (Nankang New Furniture Centre) को अवलोकन भ्रमण गराउँदै ‘फर्निचर औद्योगिक क्लस्टरको रूपान्तरण र स्तरोन्नति, हरित तथा न्यून कार्बन व्यापार र समावेशी औद्योगिक विकास मार्ग’ (Transformation and Upgrading of the Furniture Industrial Cluster, Green and Low Carbon Trade and Inclusive Industrial Development Paths) बारे जानकारी दिलाइयो ।
जुन ५ का दिन बिहान ९ बजे गान्झोउ शुष्क बन्दरगाह (Dry port) भ्रमण गराउँदै ‘आन्तरिक खुला बन्दरगाहहरूको निर्माण, बहु-मोडल यातायात प्रणाली र क्रस-बोर्डर व्यापार’ (Construction of Inland Open Ports, Multi-Model Transport System and Cross-Border Trade) को विकासबारे जानकारी गराइयो । त्यो ठाउँबाट रेलको सञ्जाल (Connectivity) रुस हुँदै जर्मनीसम्म पुगेको रहेछ । फेरि त्यही दिन बेलुका ४:१५ को बुलेट ट्रेनबाट हामीलाई नान्चाङ सहरमै फर्काइयो ।
भोलिपल्ट ६ जुनका दिन थकाइ मार्न छुट्टी दिएर बिहानको सत्र सञ्चालन गरिएन । दिउँसो ‘ग्लोबल भ्यालु चेन्समा चीनको औद्योगिक र व्यापारिक स्थान’ (China’s Industrial and Trade Position in Global Value Chains) शीर्षकमा प्राध्यापक डेङ जुन (Deng Jun) ले प्रशिक्षण दिइन् । जुन ९ सम्मका पूरै कक्षाहरू लेखा (Accounting), वित्तीय रिपोर्टिङ (Financial Reporting) तथा ‘उद्योग र व्यापारमा हरित विकास’ (Green Development in Industry and Trade) आदि विषयमा केन्द्रित रहे । यसैबिच जियाङ्लिङ मोटर्स (Jiangling Motors) कम्पनीमा गई विद्युतीय (EV) गाडीको निर्माण र बिक्रीवितरणसम्बन्धी जानकारी पनि लिइयो ।
जुन १० र ११ मा नान्चाङ वान्शु प्यालेस (Nanchang Wanshou Palace) र एनी (Anyi) नामक एक प्राचीन गाउँको भ्रमण गराइयो । यो चाहिँ एउटा अति पुरानो गाउँलाई संरक्षण गरी जस्ताको तस्तै राखिएको रहेछ । “हाम्रो धरातलीय यथार्थ यही हो वा हामी यो पृष्ठभूमिबाट आएका हौँ” भन्ने हेक्का राखिरहन, विकासले मात्तिनबाट जोगिन, भावी पुस्तालाई आफ्नो इतिहास चिनाउन र विश्वलाई दृश्यावलोकन गराएर पर्यटन व्यवसाय प्रवर्धन गर्न पुरानो गाउँलाई संरक्षण गरिएको रहेछ ।
१२, १३ र १४ जुनमा हाम्रा लागि मानव संसाधन विकास (Human Resource Development), वित्तीय सहयोग प्रणाली (Financial Support System) तथा ‘औद्योगिक र व्यापार विकासमा सांस्कृतिक कारकहरू र क्रस-सांस्कृतिक सञ्चार’ (Cultural Factors and Cross-cultural Communication in Industrial and Trade Development) सम्बन्धी कक्षाहरू सञ्चालन भए । १५ जुनका दिन बिहान ८ बजे बसमा चढाएर जिङ्देजेन (Jingdezhen) सहर लगियो । यो माटाका भाँडाकुँडा उत्पादन गर्ने उद्योगहरूकै सहर रहेछ । यहाँ उत्पादित सामग्रीहरूले विश्वबजार ढाकेका रहेछन् । हातले बनाउने केही परम्परागत उद्योगहरूलाई पनि संरक्षण गरिएको रहेछ । ती उद्योगबाट उत्पादित सामग्रीको मूल्य आधुनिक मेसिनबाट उत्पादित सामग्रीको तुलनामा दशौँ गुणा महँगो हुँदो रहेछ । ‘सेरामिक क्यापिटल’ (Ceramic Capital) भनिने यो ठाउँको जस्तो माटो चीनका अन्य कुनै पनि क्षेत्रमा नपाइने रहेछ ।
दिनभर सेरामिक क्यापिटल घुमाएर बेलुका हामीलाई नान्चाङ नै फर्काइयो । भोलिपल्ट बिहान ९ बजेदेखि सेमिनारको समीक्षा तथा सारांश लेखनमा व्यस्त गराइयो । दिउँसो २ बजेपछि समापन समारोह आयोजना गरी प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरियो । सहभागीहरूले आआफ्नो देशबाट लगेका सामग्रीहरू पनि आदानप्रदान गर्यौँ । हामीले नेपालका तर्फबाट नेपाली झण्डाको लोगो लगेका थियौँ । केन्याका प्रतिनिधिहरूले चिया र किरिबाटी (Kiribati) का साथीहरूले हस्तकलाका सामग्रीहरू (Handicrafts) ल्याएका रहेछन् । सोही दिन बेलुकी त्यहाँको एउटा विशाल होटेल ‘साङ्ग्रीला’ (Shangri-La) मा हाम्रा लागि भव्य रात्रिभोजको आयोजना गरिएको थियो ।
उपर्युक्त औपचारिक कार्यहरूका अतिरिक्त बिहान-बेलुकाको स्वतन्त्र समयमा हामीले गरेका गतिविधि र लिएको आनन्दको पाटो यहाँ उल्लेख गरी साध्य छैन । अङ्ग्रेजी नाम ‘टम’ (Tom) भएका ‘होटेल होलिडे इन एक्सप्रेस रिभरसाइड’ (Holiday Inn Express Riverside) का प्रबन्धकले हरेक बेलुका आफ्नै गाडीमा राखेर नयाँनयाँ ठाउँ घुमाउन लग्थे । बायी स्क्वायर पार्क (Bayi Square Park), वान्डा प्लाजा (Wanda Plaza), छिङ्शान लेक (Qingshan Lake) आदि अनेक रमाइला ठाउँहरू घुमाउने, स्थानीय परिकारहरू चखाउने र ऐतिहासिक-पुरातात्त्विक महत्त्वका विषयमा विस्तृत जानकारी दिलाउने काम अत्यन्तै उत्साहका साथ गरे । उनको यो हार्दिकताले चिनियाँ नागरिकहरूको सुन्दर हृदयलाई स्पर्श गर्ने अवसर दिलायो ।
हाम्रा आँखामा चीन विकसित मुलुक हो । देखाइएको, चिनाइएको र सुनाइएको आधारबाट हेर्दा एकैसाथ उसले गरेको सर्वाङ्गीण विकासले चीनलाई स्वर्गको टुक्रा बनाएको छ । तर उनीहरू आफूलाई कहिल्यै विकसित मुलुक भन्दैनन्, विकासोन्मुख देश (Developing country) नै भनिरहेका छन् । हुन पनि हो, उनीहरू हरेक कुरामा रातारात रूपान्तरण गरिरहेका छन् । आज जस्तो छ, भोलि त्योभन्दा नयाँ खोज, अनुसन्धान र प्रयोग गरिरहेका छन् । चिनियाँ नागरिकहरू शिक्षित, सभ्य र सहयोगी भावनाले भरिपूर्ण छन् । अरू देशको आन्तरिक मामिलामा अहस्तक्षेपको नीति उनीहरूको अत्यन्तै मूल्यवान् गहना हो । शान्ति, सद्भाव, सहयोग र सहकार्य उनीहरूको संस्कार रहेछ । व्यापारका माध्यमबाट विश्वलाई जोड्ने सी जिनपिङको महत्त्वपूर्ण योजना ‘बीआरआई’ (BRI) पनि कुनै रणनीतिक चाल नभई तिनै संस्कारबाट बनेको संस्कृतिको एउटा विकसित नमुना रहेछ ।
यसरी हेर्दा मैले प्रत्येक चिनियाँ नागरिकमा इमानदारी र सहयोगी भावना देखेँ । उनीहरू अत्यन्त सौहार्द, शान्त र जगत्मैत्री रहेछन् भन्ने थाहा पाएँ । हार्दिकता उनीहरूको मूल गहना रहेछ । राष्ट्रप्रेम, सरकारप्रेम र प्रकृतिप्रेम त उनीहरूको रगतको कणकणमा घोलिएको अनुभूति भयो । आजसम्मका सबै राष्ट्रपतिहरूलाई उनीहरूले समकालीन समयका मुख्य अभिभावकका रूपमा सम्मान गर्दा रहेछन् । अरूको आत्मसम्मानमा ठेस नपुगोस् भनेर सदैव ख्याल गर्ने, गल्ती भइहालेमा निहुरिएर क्षमा याचना गर्ने र बिग्रिएको काम आफैँ अघि सरेर सपार्ने उनीहरूको बानी रहेछ ।
कार्यक्रममार्फत बाँड्न खोजिएको सन्देश:
मेरो बुझाइमा चीनले हामीलाई यो कार्यक्रममा बोलाएर दिन खोजेको सन्देश यस प्रकारको थियो—
“आउनुहोस्, हामीलाई आफ्नै आँखाले नियाल्नुहोस्, स्पर्श गर्नुहोस्, मस्तिष्कले अनुभूत गर्नुहोस् र हृदयले जे बोल्छ त्यही धुन आफ्नो देशलाई सुनाउनुहोस्, समाजमा गुञ्जायमान गराउनुहोस् । त्यस कार्यले जनमैत्री चीनको वास्तविक सौन्दर्य के रहेछ र चीनले कसैको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन भन्ने कुरा संसारले बुझ्ने छ । चीनलाई विश्वका नागरिकहरूको कोमल हृदयमा खुसी भर्दै आफ्ना व्यापार तथा प्रविधिको विस्तार गर्ने र सम्पूर्ण विश्वलाई उत्तिकै समृद्ध बनाउँदै लैजानेबाहेक अन्य कुनै स्वार्थ छैन भन्ने कुरा विश्वले बुझ्न जरुरी छ । किनभने, भूमण्डलीकृत (Globalized) विश्वमा कुनै एउटा देश, क्षेत्र, जाति वा भाषा मात्र समृद्ध भएर दिगो भविष्यको परिकल्पना गर्नु मूर्खताबाहेक केही होइन । प्रकृतिले दिएको अमूल्य उपहारलाई मानव मस्तिष्कको अधिकतम प्रयोग गरी चराचर जगत्को हितमा लगाउनु मानवीय कर्तव्य हो र त्यही कर्तव्य पूरा गराउन चीन आफ्नो सचेत चेतना विश्वभर फैलाउन चाहन्छ ।”
क्षेत्रीय प्रबन्धक (Area Manager)
नेसनल हेल्थ केयर नेपाल
विराटनगर, मोरङ


