निबन्ध
सम्झना यस्तो होस्
➢ ज्ञानेन्द्र विवश
सम्झना यस्तो होस्, जसलाई जहिल्यै सम्झिँदा पनि त्यो कहिल्यै पुरानो नलागोस् । सम्झना कहिल्यै बिरानो नहोस् । सधैँ ताजा भएर सम्झनामा याद आइरहोस् । मायाभन्दा कसैलाई सम्झनु मीठो भइरहोस् । यही मिठासले भरिएका पलहरू भएर जीवन मुस्कानमय खुसीमा रमाइरहन सकोस् ।
सम्बन्ध यस्तो होस्, जसको सम्झनाले मनको भीरबाट खस्न खोजेको आत्मालाई फेरि उचालेर सुरक्षित स्थानमा राखोस् । माया यस्तो होस्, जसले चोटलाई स्पर्श गर्दा झन् दुखाउने होइन, मलम बनेर बिस्तारै सुकाइदियोस् । मित्रता यस्तो रहोस्, जसको स्मृतिमा आक्रोशको धुवाँ होइन, विश्वासको न्यानो बाफ उठोस् । प्रेम यस्तो होस्, जसलाई सम्झिँदा आँखा रसाए पनि त्यो आँसु पीडाको होइन, कृतज्ञताको बनोस् । जीवन यस्तो रहोस्, जसका अध्यायहरू पल्टाउँदा हरेक पानाबाट उज्यालो बिहान झुल्किरहेको होस् । जुन बिहान तुँवालो र हुस्सुले ढाकिएको होइन, खुला मौसमले साथ दिएको होस् ।
वास्तवमा मानिसको जीवन स्मृतिहरूको सँगालो हो । हामीले बाँचेका दिनहरू, भेटेका अनुहारहरू, बोलेका शब्दहरू— सबै मिलेर हृदयभित्र अदृश्य डायरी लेखिरहेका हुन्छन् । त्यही डायरीको कुनै पाना पल्टाउँदा यदि मनमा आक्रोश उम्लियो भने त्यो सम्बन्ध अधुरो थियो । यदि घृणाको सानो कण पनि बाँकी छ भने त्यो प्रेम पूर्ण थिएन । साँचो सम्बन्ध त त्यही हो, जसको सम्झनामा विगतको तीतोपन घुलिसकेको हुन्छ; जसको यादले घाउ होइन, घाउ निको भएको दाग देखाउँछ र त्यो दाग पनि गर्वजस्तै लाग्छ ।
सम्झना यस्तो आनन्द बनोस् कि समयको दूरीले त्यसलाई कमजोर होइन, अझ प्रौढ बनाओस् । कुनै दिन छुट्टिएका हातहरू, कुनै मोडमा अलग्गिएका बाटाहरू— तिनको याद आउँदा मनले गुनासो नगरोस् । बरु मनले सहजै भन्न सकोस्— ‘त्यो क्षण मेरो जीवनको सुन्दर अध्याय थियो ।’ किनकि सबै सम्बन्ध सधैँका लागि रहनु आवश्यक छैन; तर तिनीहरूले दिएको उज्यालो सधैँका लागि हुन सक्छ ।
आफूले दिने र पाउने माया यस्तो होस्, जसले स्वामित्व होइन, स्वतन्त्रता सिकाओस् । जसले कसैलाई बाँधेर होइन, उड्न दिएर प्रेमको अर्थ बुझाओस् । मित्रता त्यस्तो होस्, जहाँ मौनताले पनि संवाद गरोस् । त्यहाँ शब्दहरू नभए पनि विश्वास जीवित रहोस् । जहाँ दूरीले सम्बन्धलाई कहिल्यै नघटाओस्, बरु गहिर्याएर अनुभूतिको मिठासले तृप्त पारिरहोस् ।
जीवन पनि त्यस्तै हो— कहिलेकाहीँ आँधीहुरी, झरी-वर्षा र त्यसपछि खुलेको सफा मौसम ! कहिलेकाहीँ आकाश र धरतीलाई जोडेर देखाएको मायाको इन्द्रेणी-सौन्दर्यको उपस्थिति ! तर यदि हाम्रो हृदयमा यस्ता सम्बन्धहरूको बलियो जग छ भने आँधीले पनि सबै उडाएर कतै बेवारिसे फाल्न सक्दैन । बाढीले पनि बगाएर कतै भड्खालोमा पुर्याएर जाक्दैन । सम्झनाले साथ दिँदा एक्लोपन एक्लोपनजस्तो लाग्दैन । विगत वर्तमान बनेर अँगालो हाल्न आउँछ । बिर्सिसकेका दिनहरू फेरि मुस्कान बनेर फर्किन्छन् । दुखेका घाउहरू निको भएर आनन्दले रमाइरहेका हुन्छन् । विछोड पनि मिलनजस्तै बन्छन् ।
कसैलाई सम्झिँदा कदापि पनि मनमा कुनै आक्रोश नआओस् । घृणाको छाया नपरोस् । बरु त्यो सम्झनाले यस्तो शान्ति देओस्, पुनर्मिलनको पलजस्तै हर्षले भरिएको भाव जागृत होस् । वर्षौँदेखि चर्किएको घाउ अन्ततः निको भएको अनुभूति होस् । पीडा रहे पनि त्यसले अब पोल्दैन; त्यो सिकाइ बनेर बस्छ ।
साँचो अर्थमा सुन्दर सम्बन्ध भनेको त्यही हो— जुन अन्त्य भए पनि अन्त्यजस्तो नलागोस् । जसले बिछोडमा पनि कृतज्ञता छोडेर जाओस् । जसलाई सम्झिँदा मनले भनिरहोस्— ‘यस्तो माया, यस्तो मित्रता र यस्तो प्रेम पाएकोमा म भाग्यमानी थिएँ ।’
अन्ततः जीवनको मूल्य दिनहरूको सङ्ख्यामा होइन, ती दिनहरूमा बगेको भावनाको शुद्धतामा हुन्छ । यदि हामीले यस्तो सम्बन्ध बाँध्न सक्यौँ भने विगत कहिल्यै बोझ बन्दैन । त्यो सधैँ प्रेरणा बन्छ र त्यस्तो प्रेरणाले नै जीवनलाई साँच्चिकै जीवन्त बनाउँछ— जहाँ सम्झनाहरू दुःख बिर्साउने औषधि हुन्छन् । हरेक स्मृति आत्माको उत्सव बनेर खुसीहरू प्रदान गरिरहेका हुन्छन् ।
अन्ततः जीवनको सार यही हो— हामी कति समय बाँच्छौँ भन्ने होइन, कस्तो हृदय लिएर बाँच्छौँ भन्ने कुरा । त्यसैले म चाहन्छु— मलाई कसैले जति नै घृणा गरे पनि उसलाई भेट्नासाथ मुस्कानले स्वागत गर्न सकूँ । किनकि मुस्कान हार होइन, त्यो मनको परिपक्वपन हो । जतिसुकै रिसाए पनि हृदयको हार्दिकताले प्रस्तुत हुन सकूँ; किनकि रिस क्षणिक हुन्छ, तर व्यवहारले छोडेको प्रभाव दीर्घकालीन हुन्छ ।
आखिर बाँचुन्जेलको न हो जिन्दगी ! यहाँ कोही अमर भएर आएको छैन । दुई दिनको यो यात्रामा हामीले कति चित्त दुखाउनु ? किन सानो चित्तलाई अझ सानो टुक्रामा विभाजित गर्दै जानु ? जीवन आफैँमा क्षणभङ्गुर छ; यसलाई कटुता र आक्रोशले किन झन् भारी बनाउनु ? जब समयले अन्ततः सबै कुरा समेटेर लैजान्छ, तब हाम्रो अहङ्कारको अर्थ के रहन्छ ? हाम्रो रिसको उपलब्धि के हुन्छ ?
त्यसैले कसैप्रतिको बोली र व्यवहार त्यति उराठलाग्दो, मन दुखाउने, मन रुवाउने किन बनाउनु ? शब्दहरू तीरझैँ पनि हुन सक्छन्, तर तिनै शब्दहरू मलम पनि हुन सक्छन् । किन न हामी प्रेमले स्पर्श गरौँ ? मायाले बोलाऔँ ? कठोरता देखाएर हामीले के जित्छौँ र ? कोही टाढिन चाहन्छ भने उसलाई टाढिन दिऔँ । सम्बन्धलाई जबरजस्ती बाँधेर राख्दा त्यो न प्रेम रहन्छ, न सम्मान ! तर ऊप्रतिको रिस, राग र तिक्तता मनभित्रै नरहोस् । त्यसलाई समयसँगै शान्त पारौँ । चोखो सद्भाव बचाएर राख्नु नै साँचो विजय हो ।
जीवन-दर्शनको गहिराइमा हेर्दा थाहा हुन्छ— हामी अरूका लागि जति दयालु बन्छौँ, वास्तवमा आफूलाई त्यति नै हलुका बनाउँदै जान्छौँ । क्षमा गर्नु भनेको अरूलाई उपहार दिनु मात्र होइन, आफ्नो आत्मालाई भारमुक्त गर्नु पनि हो । घृणाले मनको आकाश अँध्यारो बनाउँछ; सद्भावले त्यसमा उज्यालो छर्छ ।
यदि कोही टाढिन्छ भने उसको सम्झना यत्तिकै विगतको अँध्यारो कोठामा बन्द नहोस् । बरु टाढै रहेर पनि, नबोलेर पनि, नदेखिएर पनि त्यो स्मृति अमर रहोस् । आँखामा झल्झली आइरहोस् । बाडुली नआए पनि मायाभन्दा सम्झना झनै गहिरो होस् । तर त्यो सम्झना सधैँ मायाको मिठासले भरिएर रहोस् । उसलाई सम्झनासाथ मनमा पीडा होइन, एक प्रकारको आनन्द जागोस्— यस्तो आनन्द, जसले महसुस गराओस्— “त्यो व्यक्ति मेरो जीवनको सुन्दर अध्याय थियो ।”
सम्झना यस्तो होस् कि बिर्सन खोज्दा पनि बिर्सन नसकियोस्, तर त्यो नबिर्सनु पीडादायक होइन, प्रेरणादायी रहोस् । किनकि साँचो प्रेम र साँचो मित्रता दूरीले समाप्त हुँदैन; त्यसले रूप बदल्छ । उपस्थिति हराए पनि प्रभाव रहिरहन्छ । आवाज नआए पनि अनुभूति बाँच्छ । आँखामा नभेटिए पनि मनमा भेटिन्छ । दोबाटो, चौबाटोमा जम्काभेट नभए तापनि सम्झनामा भेट भइरहन्छ ।
अन्ततः, जीवनलाई विशाल हृदयले अँगाल्न सक्ने सामर्थ्य नै सबैभन्दा ठूलो साधना हो । हामीले छोडेर जाने सम्पत्ति धन होइन, व्यवहार हो । हामीले कमाएर जाने ‘कीर्ति-पद’ मात्र होइन, सम्झनामा बस्ने ‘मिठास’ पनि हो ।
त्यसैले सम्बन्ध यस्तो होस् कि बिछोडमा पनि सम्मान रहोस् । माया यस्तो होस् कि दूरीमा पनि उज्यालो छाइरहोस् । र, जीवन यस्तो होस् कि अन्तिम क्षणमा फर्केर हेर्दा हामीले कसैको हृदय टुक्र्याएको होइन, जोडेको स्मृति मात्र देखियोस् । त्यही नै साँचो जीवन-दर्शन हो । जहाँ घृणाभन्दा प्रेम ठूलो हुन्छ, अहङ्कारभन्दा करुणा विशाल हुन्छ र मायाभन्दा मीठो सम्झना हुन्छ ।


