संस्मरण: गुरुआमा अमृत्यश्वरी—२
याङ्जीले मलाई बारम्बार सुनाइरहन्थिन्, “दाइ, तपाईँलाई तपाईँकी गुरुआमा अमृत्यश्वरी दैवज्ञले भेट्न खोजिरहनुभएको छ रे ! उहाँले तपाईँको कुरा गरिरहनुहुन्छ, साथै सधैँ तपाईँ आउने बाटो हेरिरहनुहुन्छ भनी बेलाबेलामा अमिता म्याडमले मलाई सुनाइरहनुहुन्छ । तपाईँ आजभोलि नै तपाईँकी गुरुआमालाई भेट्न गइहाल्नुस् ।”
गुरुआमाका छोरीहरू अमिता दैवज्ञ र कृष्टिनासँगै याङ्जी भक्तपुरको चुनदेवीमा रहेको विङ्स मन्टेश्वरी स्कुलमा पढाउँछिन् । त्यस स्कुलमा याङ्जीले केही वर्षअघि मात्रै शिक्षणकार्य थालेकी हुन् । मैले याङ्जीलाई सुनाउँदै आइरहेको थिएँ, “याङ्जी, गुरुआमालाई चाँडै भेट्ने मेरो ठुलो रहर छ । अब, म एक-दुई दिनमा नै उहाँलाई भेट्न गइहाल्छु !”
मैले याङ्जीलाई यसरी वचन दिएको पनि कयौँ महिना व्यतीत भइसकेको थियो । चाहँदा-चाहँदै पनि गुरुआमालाई भेट्न सकिरहेको थिइनँ । म कहिले कता, कहिले कता गइरहन्थेँ, त्यत्तिकै व्यस्त भइरहन्थेँ । म व्यस्त हुने मेरो एक मात्र आधारभूमि साहित्यकर्म नै हो । केही दशकयतादेखि मेरो सम्पूर्ण ऊर्जा लेखन-पठन र विभिन्न साहित्यिक गतिविधिमै व्यतीत हुँदै आइरहेको छ तर साहित्यिक गतिविधिमै सक्रिय हुने क्रममा म जहाँ कहीँ पुगे पनि गुरुआमालाई सम्झिरहन्थेँ । उहाँलाई मेरो हृदयको एउटा कुनामा लुकाइरहन्थेँ— सम्मानपूर्वक, प्रेमपूर्वक । मलाई उहाँको झझल्को आइरहन्थ्यो— बारम्बार ।
एक साँझ— गुरुआमासँग भेट्ने समय लिने क्रममा उहाँले मलाई प्रफुल्ल हुँदै सुनाउनुभयो, “बाबु, भोलि शनिबार हो । बिदाको दिन । तिमी भोलि दिउँसो ठीक दुई बजे घरमै आउनू ! म तिम्रै प्रतीक्षामा हुनेछु ।”
म पुलकित भएँ ।
भोलिपल्ट अर्थात् २१ चैत, २०८२ का दिन गुरुआमा अमृत्यश्वरीले दिनुभएकै समयमा म उहाँलाई भक्तपुरको टौमढी टोलको घरमा भेट्न पुगिहालेँ । घरमा बुबा सुनीलराज दैवज्ञ (गुरुआमा अमृत्यश्वरीका जीवनसाथी) हुनुहुँदो रहेछ । मलाई देखेर उहाँ खुसी हुनुभयो । म पनि खुसी भएँ । उहाँले तुरुन्तै टेलिफोनमार्फत गुरुआमालाई म आएको खबर दिनुभयो । केही बेरमै गुरुआमा आउनुभयो । उहाँको साथमा उहाँकी छोरी अमिता पनि हुनुहुन्थ्यो । मलाई देखेर उहाँहरू दुवै खुसी हुनुभयो । उहाँहरूभन्दा म बढी खुसी भएँ । भेटेलगत्तै गुरुआमाले मलाई मायालु स्वरमा भन्नुभयो, “बाबु, तिमी आयौ ! धेरैपछि भेट्न पाएँ । खुसी छु म । अब हामी घरनजिकैको एक क्याफेमा गएर बस्छौँ ।”
गुरुआमा र दिदी अमिताले मलाई डोर्याएर घरनजिकैको टौमढी टोलमा रहेको क्याफेमा लिएर जानुभयो । कुराकानीको क्रममा दिदी अमिताले मतिर फर्केर भन्नुभयो, “मैले याङ्जीलाई धेरै समयअघिदेखि नै तपाईँलाई आमाले भेट्न खोजिरहेको कुरा सम्झाइरहन्थेँ । हुन त तपाईँसित भेट्न म पनि आतुर थिएँ । धेरै समयको प्रयत्नपछि आज भेट भयो; म पनि खुसी छु— आमाझैँ !”
मैले सोचिरहेको थिएँ कि गुरुआमासँगै दिदी अमिता र बहिनीहरू सुमी र कृष्टिनासँग पनि अवश्य भेट्न पाउनेछु । तर, गुरुआमा, बुबा सुनीलराज र दिदी अमितासँग मात्रै भेट्ने अवसर मिल्यो । सुमी र कृष्टिनासँग भने भेट्ने अवसर नै जुरेन । केही नरमाइलो महसुस गरेँ ।
दिदी अमिताले फेरि भन्नुभयो, “तपाईँ र याङ्जी दाजु-बहिनी भन्ने कुरा मलाई थाहा थिएन । याङ्जीले पनि मलाई यस विषयमा केही भन्नुभएको थिएन । उहाँ स्कुलमा सामाजिक शिक्षिका भएर आएको धेरै समयपछि मात्रै तपाईँ र उहाँ दाजु-बहिनी भन्ने थाहा पाएँ । त्यसपछि त झन् मेरो खुसीको सीमा नै रहेन !”
याङ्जीलाई त्यो स्कुलमा जोड्ने काम मैले नै गरेको थिएँ । उनी स्कुलमा जोडिनुअघि काठमाडौँको शान्तिनगर अवस्थित एमिल एकेडेमीमा पढाउँथिन् । उनले मलाई बेलाबेलामा सुनाइरहन्थिन्, “दाइ, मैले अबको वर्षबाट भक्तपुरकै कुनै स्कुलमा पढाउने सोच बनाएकी छु । के यो सम्भव होला त ? एमिल एकेडेमी मलाई अलिक पायक परेन । धेरै टाढा भो ! धेरै दौडधुपले गर्दा साह्रै कमजोर भइसकेकी छु म त ! शारीरिक र मानसिक दुवै थकान उत्तिकै छ । यस विषयमा मलाई तपाईँले सहायता गर्नुस् ।” याङ्जीले यसो भनेको केही महिनापछि मैले स्कुलको फेसबुक पेजमा शिक्षक-शिक्षिकाहरूको आवश्यकतामाथि सूचना फेला पारेँ । तत्काल मैले याङ्जीलाई त्यो कुरा भनेँ र सुनाएँ, “मेरी गुरुआमाका छोरीहरूले सञ्चालन गर्नुभएको स्कुल हो । तिमीले त्यसमा पढायौ भने एकदम बेस हुनेछ । एक पटक प्रयत्न गरिहेर्नू ! यस विषयमा म आशावादी छु ।”
नभन्दै उनले प्रयत्न गरिन् । केही समयपछि याङ्जी उक्त स्कुलकी शिक्षिका भएर गइन् । पढाउन थालेको छोटो अवधिमै उनी विद्यार्थीहरूमाझ लोकप्रिय भइन् । यसरी उनी लोकप्रिय हुनुमा शिक्षणकर्मप्रतिको उनको समर्पणभाव नै हो । उनले शिक्षणकार्य भक्तपुरको सल्लाघारी अवस्थित सेन्ट जोन्स आवासीय स्कुलबाट थालेकी थिइन् । मेरो शिक्षाको थालनी पनि सेन्ट जोन्स आवासीय स्कुलबाट नै भएको थियो । गुरुआमा त्यस स्कुलको तत्कालीन प्रिन्सिपल हुनुहुन्थ्यो । यो सुखद संयोग हो ।
भेट भएको केही समयपछि गुरुआमाले खुसी हुँदै मतिर फर्केर अलिक अघिको सन्दर्भ जोड्नुभयो, “गत २४ जेठ, २०८२, शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित ‘गुरुआमा अमृत्यश्वरी’ शीर्षक तिमीले लेखेको संस्मरण पढेर म निकै बेरसम्म भावुक भएकी थिएँ । त्यो प्रकाशित भएपछि धेरै प्रियजनबाट मलाई बधाईको ओइरो नै आउन थाल्यो । त्यसपछि त म झन् भावुक भइगएँ । मैले तिमीप्रति पटक-पटक कृतज्ञता प्रकट गरिरहेँ ।”
एक पटक म संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वङ्गःको भक्तपुरको सूर्यविनायक अवस्थित निवास निष्ठाछेँमा पुगेको थिएँ । निष्ठाछेँमा पहिलो पटक पुगेकै दिनमा संस्कृतिविद् तथा निबन्धकार ग्वङ्गःमार्फत मैले नयाँ कुरा पत्ता लगाएँ । उहाँ भन्दै हुनुहुन्थ्यो, “तपाईँकी गुरुआमाहरू अमृत्यश्वरी, त्रिपुरेश्वरी ग्वङ्गः र जगदम्बेश्वरी हाडा त मेरा भतिजीहरू हुन् ।”
गुरुआमा र दिदी अमितासामु संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वङ्गःसितको भेट-सन्दर्भलाई उप्काउँदै जाँदा गुरुआमाले पनि जोड्नुभयो, “काका तेजेश्वरबाबु ग्वङ्गः पछिल्लो समयमा अलिक अस्वस्थ हुनुहुन्छ । उहाँको उमेरले गर्दा पनि यसो भएको हो तर उहाँ अहिले पनि आफ्नो लेखन-पठन कार्यमा पूर्ण रूपमा सक्रिय नै देखिनुहुन्छ । अहिले पनि विभिन्न पत्रपत्रिकाहरूमा उहाँका लेख-रचनाहरू नियमित रूपमा प्रकाशित हुँदै आइरहेका छन् । यो सुखद पक्ष हो ।”
नेपालको पूर्व उद्योगमन्त्री उपेन्द्र दैवज्ञ गुरुआमा अमृत्यश्वरी दैवज्ञका ससुराबुबा हुनुहुन्थ्यो । उहाँ मन्त्री हुने समयमा दिदी अमिता उमेरको हिसाबले भर्खर-भर्खर केही महिनाको मात्रै हुनुहुन्थ्यो रे ! गुरुआमा अमृत्यश्वरीमार्फत थाहा पाएँ । मैले पहिलो पटक उद्योगमन्त्री उपेन्द्र दैवज्ञको नाम अग्रज पत्रकारद्वय भैरव रिसाल र भरतराज पोखरेलको ‘नेपालका मन्त्री र सांसदहरू’ नामक पुस्तकमा पढेको थिएँ । उद्योगमन्त्री उपेन्द्र गुरुआमाका ससुराबुबा हुनुहुन्थ्यो भन्ने कुराचाहिँ म जवान भइसकेपछि मात्रै थाहा पाएँ ।
भेटका क्रममा मैले गुरुआमा र दिदी अमितालाई मेरो पछिल्लो संयुक्त कवितासङ्ग्रह ‘प्रेमको आदिम गीत’ उपहारस्वरूप प्रदान गरेँ । उहाँहरू दुवै जना खुसी हुनुभयो । ‘प्रेमको आदिम गीत’ ग्रहण गर्दै गर्दा गुरुआमा अमृत्यश्वरी भावुक हुनुभयो र मतिर फर्केर भन्नुभयो, “छोरो, तिमी सानो छँदा अलिक बदमास थियौ । खेल्न पाएपछि स्कुल जान मान्दै नमान्ने स्वभावको । तैपनि मेरो वचनलाई चाहिँ आज्ञाकारी भएर मानिहाल्थ्यौ । यो तिम्रो राम्रो कुरा हो । हेर्दाहेर्दै ऊबेलाको मेरो बदमास छोरालाई अहिले म एक जिम्मेवार कविका रूपमा देख्न पाइरहेकी छु । योभन्दा ठुलो गौरवको कुरो मेरो निम्ति अरू के हुन सक्ला !”
गुरुआमाको वचनले दिदी अमिता र म नतमस्तक भयौँ ।


