यौनकथा: किच्कन्नी
प्रेमिल उपन्यास किन्ने ध्येय बोकेर बागबजार जान आकासेपुल चढ्दै थिएँ । ओरालो झर्दै गरेकी एउटी बैँसालु किच्कन्नीले मेरो कुममा आफ्नो तरुण वक्षले ड्याम्मै हानी । झन्डै लडेँ । आँखा जुधे ।
‘आँखा देख्नुहुन्न ?’ ऊ बिनापत्तो रन्की ।
‘मैले कि तपाईंले नदेख्या ? मभन्दा तपाईं माथि । के म एक सिँढी माथि उफ्रेर ठोकिन आएँ ?’ मेरो पनि कनपारो तातियो ।
‘त्यसो भा सरी!’
ऊ ओरालो झरी र लगनखेल जाने माइक्रोमा पसी । म त्यहीँ उभिएर त्यो किच्कन्नीलाई हेरिरहेँ ।
झ्यालबाट अलिकति टाउको निकालेर हेरी किच्कन्नीले । म त्यतै टोलाइरहेको थिएँ । टाढैबाट आँखा जुधे । उसका ओठ अलिकति तन्किए, परैबाट देखेँ । प्रत्युत्तरमा मेरा झपक्क कलिला दाह्री–जुँगा भिरेका ओठ पनि रमाए । थाहा भएन, उसले देखी कि देखिन सोरठी भाकामा नाचेका मेरा ओठलाई!
माइक्रो गुड्दै गर्दा बुढीऔँला देखाएर हवाई चुम्बन मारी । म खत्रक्कै भएँ उसको चुम्बनको मट्याङ्ग्राले ।
माइक्रो भद्रकाली कटुन्जेल हेरिरहेँ । ओझेल भएपछि थाहा भयो— उसको बैँसालु स्तनले कुममा होइन, हृदयमै पो ठोकेर गएछ । अचानक भेटिएको दृश्य केही बेरमै हराएपछि छटपटी चल्दो रहेछ । आफैँलाई प्रश्न गरेँ— के यो कुरकुरे बैँसको कम्पन हो ? कति भेटिए, बिर्सिए; तर यसरी मनको गहिराइसम्म भाला रोपेर गएका घटनाहरू भने थिएनन् ।
निकै बेर किच्कन्नी गएको दिशातिर टोलाएपछि झसङ्ग भएँ ।
कति साह्रो सुन्दर मृगनयनी! लाग्यो, उसका ती आँखा आँखा नभई कुनै यात्रा गर्दा देखिने मनमोहक दृश्यहरू हुन्; या हिँड्दाहिँड्दै कुनै साहित्यकारले भेटेको सुन्दर विषय, जुन विषयलाई कुत्कुत्याउँदै मुक्तकदेखि महाकाव्यसम्म रचना गर्न सकिन्छ ।
या अचिनारु विपरीतलिङ्गीद्वारा अन्जानमै संवेदनशील अङ्गमा स्पर्श हुँदा लागेको झट्का— जो गोप्य रूपमा स्मृतिपटमा लाहाछाप भएर चलबलाइरहँदो रहेछ । मोहित, पुलकित, छटपटी या के भनौँ— ठ्याक्कै त्यही विषयले अलस-तलस भएँ । स्पर्श मिठास थियो भने सम्पर्क नम्बर नमाग्नु बज्रदण्ड ।
ओछ्यानमा पल्टिएँ । मोबाइल खोलेर सधैँझैँ समाचार हेरेँ । संसद् चलिरहेको बेला माननीय हर्क साम्पाङ राईले सभामा के प्रश्न उठाए, सत्तापक्षले कस्तो जवाफ दियो, अनि प्रधानमन्त्री आएर विपक्षीका प्रश्नको जवाफ दिनुभयो कि नाइँ भन्ने आदि कुरा सुन्न आतुर हुन्थेँ र समाचार सुन्ने गर्थेँ । तर आज समाचारमा चखिलोपना थिएन ।
फ्री फायर खोलेर भुलिने प्रयास गरेँ, त्यो पनि वाहियात लाग्यो । बागबजारबाट ल्याएको जीवित खड्का मगरको ‘धागो’ कवितासङ्ग्रह हेरेँ । माया–प्रीतिको उपन्यास किन्ने रहर थियो, तर खोजेजस्तो पाइनँ ।
कोइला काट्न मेघालय (भारत) जाँदा गाउँका भँडारे बाजेले आफूले पढेको दार्जिलिङ्गे नेपाली उपन्यासकार प्रकाश ‘कोविद’को ‘नीलो चोली’को बखान गर्नुहुन्थ्यो । त्यस्तै उपन्यास खोजेको, पाइएन । छेउमै नयाँ कवितासङ्ग्रह ‘धागो’तिर आँखा पुगेपछि धागोमै रुमलिने विचारले किनेर ल्याएको थिएँ ।
तर कविताको पाठक भए पनि आज मलाई ‘धागो’भित्रको कविताले पूर्णतः छुन सकेन । पढ्दै जाँदा आधासम्म त मजै लाग्थ्यो, तर त्यहाँदेखि उही आकासेपुलमा ठोकिने किच्कन्नी आएर कविताको दहमा पौडेको मनलाई पाखामा पछारिदिन्थी र हातै हालेर मेरो अर्धनग्न शरीरलाई खेलाउन थाल्थी ।
रुमसाथी कम्प्युटर सिकेर आयो । लामो सास तानेर गन्गनियो, ‘काठमाडौँमा पनि के साह्रो गर्मी हुन थाल्यो!’
सुनेँ, तर केही भनिनँ । मन किच्कन्नीतिरै थियो ।
‘ए पाडुले! बोल्दैनस् त ?’ उसले मलाई झक्झकायो ।
हामी गाउँकै सानैदेखिका साथी भएकाले उसले मलाई ‘पाडुले’ उपनाम दिएको थियो । मैले भने उसका अलिक ठूला आँखा भएकाले ‘ढाडे’ भन्ने गर्थेँ ।
‘धत्, चुप लाग न ढाडे! मन एउटीले चोरेर लगिछे,’ भन्दै किच्कन्नीसँगको घटना सुनाएँ ।
ऊ मरीमरी हाँस्यो ।
‘झ्याक्ने पाडुले! बाटोमा भेटिएकी परीको सपना नदेख् । जीवनको सहयात्री त गाउँकी अमिलो पसिना गन्हाउने नै हो । ओखरामा बस्ने भ्यागुतोले रानीपोखरीको पानीमा डुबुल्की मारेको सपनाजस्तै हो तेरो । पढ्नेतिरै ध्यान दिएर लोकसेवा भिड्ने सपना बुन् ।’
‘लोकसेवा, जागिर अनि कमाएर कहिले ल्याउने काठमाडौँमा बसाइँसराइ ? म त तुरुधुइँ गरेको केही दिनमै काठमाडौँको बासिन्दा बन्ने हो । अनि काठमाडौँमै घर भएकी हेर्ने हो । ठूला घरकी छोरीकै कमाइमा गुलाबफूल उडाउने हो,’ मैले आफ्नो परिकल्पनाको सुर्केथैली खोलेँ ।
झनै खिसी गर्दै ढाडे हाँस्यो र भन्यो, ‘बकम्फुसे सपना नदेख् है केटा! कोही त सपना पूरा नहुँदा घुमाउने लाग्या बोको पो भइन्छ । बा–आमाले भनेझैँ खुट्टाअनुसारको जुत्तो हेर्नुपर्छ ।’
‘बा–आमाको अर्ती–उपदेशलाई शिरमा राखेर समय–सन्दर्भ हेर्दै ठूलै जुत्ता भेटेँ भने थाङ्ना घुसारेर पनि लगाउँछु । तर जुत्ता ब्रान्डेड हुनुपर्यो,’ मैले आफ्नै तर्क राखेँ ।
‘बाटोमा भेटेको जुत्ता अर्काको गन्हाउने पनि हुन सक्छ । मुले, हामीजस्ता कुमार–कन्याले अर्काको जुत्तो भिरेर कति किलोमिटर हिँड्ने भन्या ?’
सोचेँ— ढाडेले मेरै भलोका लागि भने पनि खै, मन त्यही किच्कन्नीको छातीमै ठोकिन पुग्थ्यो ।
यसरी मन बहकिरह्यो । रातभरि निद्रा लागेन । मथिङ्गलभित्र भने त्यही किच्कन्नीले मर्निङवाक गरिरही । मलाई कहिल्यै थाहा थिएन, ढाडे त्यस्तो घुरेर सुत्दो रहेछ ।
वसन्त र वर्षा ऋतु बिते । शरद् ऋतु आयो । काठमाडौँ ढकमक्क फुल्यो । तर म फुल्न सकेको थिइनँ । स्नातकोत्तरको परीक्षाफल राम्रै आयो । ढाडे अचेल मसँग बस्दैन, मामाको छोरासँग भत्केकोपाटीतिर बस्न थाल्यो ।
कहिलेकाहीँ ह्वाट्सएपमा कुरा हुन्थ्यो । उसको टिकटक भने निरन्तर हेरिरहन्थेँ । मैले पनि टिकटकमा राम्रै भ्युज पाउन थालेको थिएँ, पैसाचाहिँ कमाउन सकेको थिइनँ ।
एक दिन टिकटक खोज्दै गर्दा उही ठोकिएकी किच्कन्नीलाई देखेँ । ‘कतै उही त होइन ?’ भन्दै उसको प्रोफाइल हेर्दै जाँदा तर्सिएँ— त्यही पुलमाथिको रेलिङ समातेर रत्नपार्कतिर हेरिरहेको मेरो तस्बिर!
शीर्षकमा लेखिएको थियो—“आज भेटेको झ्याक्ने । ऊसँग अकस्मात् ठोकिएँ, अनि केही बेरको द्वन्द्व । गल्ती मेरै, उसको कनपारो तताएको मैले नै । कुनै हितैषीले चिन्नुहुन्छ भने सम्पर्क नम्बर कमेन्टमा राखिदिनुहोला ।”
त्यो पोस्ट देखेर म बुरुक्कै उफ्रिएँ । तुरुन्तै मेरो अर्को टिकटक आइडीबाट ‘यो लठुवासँग मेरो परिचय छ’ भनी कमेन्ट पठाएँ ।
‘प्लिज! उसको नम्बर दिनुहोस् न,’ किच्कन्नीको अनुनय आयो ।
मैले आफ्नै नम्बर दिएँ ।
दुई दिनपछि ‘थ्याङ्क यु’ भन्ने सन्देश आयो । मेरो सम्पर्क नम्बर किच्कन्नीसम्म पुगेको खुसीमा फेरि रमाएँ ।
नयाँ नम्बरबाट फोन आउने प्रतीक्षामा थिएँ । एक दिन नुहाउँदै गर्दा मोबाइल बज्यो । साबुन दलेको जिउ लिएर हतारिँदै कोठामा पुगेँ । अपरिचित नम्बर देखेर खुसी हुँदै फोन उठाएको त एनसेलको अफर पो रहेछ! खत्रक्क परेर फेरि बाथरुम छिरेँ ।
किच्कन्नीको फोनको व्यग्र पर्खाइमा थिएँ । हप्ता कटेछ, तर महिना बितेजस्तै भयो । अन्ततः फोन आयो, धेरै खुसी भएँ । उठाएपछि लल्याकलुलुक भएँ ।
पढाइमा मन जान छाड्यो । मनपर्नेसँगै मन गएपछि तन स्वदेशमा भए पनि मन परदेशी भयो । खाँदाखेरि उसैलाई सम्झेँ, ओछ्यानमा पल्टिँदा झनै सम्झेँ ।
धेरै बेरपछि फेरि फोन आयो । तर उताबाट कुनै शब्द आएन, केवल श्वासको उत्तेजना मात्र सुनिन्थ्यो । कताकता मैले पनि शरीर शिथिल भएको महसुस गरेँ । अचानक उतैबाट आएको स्वरले म झसङ्ग भएँ ।
‘आई एम सरी है! त्यो दिन मेरो गल्ती भए पनि तिमीमाथि झोक्किएँ ।’
हाँस्दै भनेँ, ‘फेरि पनि गल्ती गर्ने हो त ? अनि त्यसरी नै झोक्किने रहर छ ?’
‘छि! कस्तो लाज नलागेको त्यस्तो कुरा गर्न! ल, मलाई मार्केटिङ जानु छ । भोलि त्यही पुलमा भेटौँ न, अनि कुनै क्याफेमा बसेर गफ गरौँला । तीन बजे आऊ है ?’
‘मेरो क्लास छ, चार बजे भेटौँ न ।’
‘हुन्छ ।’— यति भनेर उतैबाट फोन काटियो ।
पुलको त्यही कुनामा उभिएर म पर्खिरहेको थिएँ । टाइट टी–सर्ट र प्यारेलल जिन्स पाइन्टमा किच्कन्नी देखा परी । सिधै आएर हात मिलाई । लिपिस्टिक दलिएका पातला ओठ अझै तन्किएर खुले । मेरा ओठ पनि प्रतिवादी बने । मेरा आँखा उसको अनुहारलाई छाडेर एक जोर आकर्षक स्तनमा ठोकिएर अडिए । बैँसालु नयनयन्त्रले मापन गर्यो त्यो दाहिने ढुकुरलाई, जसले मेरो कुममा ठोकिएर हृदय थर्काएको थियो ।
मेरो दृश्यभाषा बुझेर होला, पातलो सल तानेर छाती छोप्ने अभिनय गरी किच्कन्नीले ।
क्याफेमा टाँसिएर बफ मम खाँदै थियौँ । म अलिक पर सरे पनि ऊ नजिकै टाँसिएर मीठो गफ गर्थी । गफैगफमा भनी, ‘तिमीसँग ठोकिएपछि एउटा नयाँ ऊर्जा थपियो, तिर्सना उम्लियो । हरेक सम्झनामा रहरले सामाजिक सीमा नाघ्न तान्थ्यो । मन लाग्थ्यो— सीमा नाघेर अनुभूतिको डहर–डहरै घुमिरहूँ ।’
मैले पनि हृदयको बिर्को उघारिदिएँ । ऊ मुस्कुराई, मेरो मुस्कानले पनि त्यसलाई साथ दियो ।
किच्कन्नीकै चाहनामा एक रात म उसको व्यक्तिगत कोठासम्म तानिएँ ।
ऊसँगै एउटै ओछ्यानमा सुत्नुपर्दा म थरर काँपेँ । मन पराउनु जायज भए पनि सीमा नाघ्नु उच्छृङ्खलता हो भन्ने ठानेर म उठेर हिँड्ने प्रयास गर्न थालेँ । ‘हाम्रो समाज र संस्कारले मान्यता नदिएसम्म यसरी हामफालिहाल्नु राम्रो होइन’ भन्दै बिन्ती गरेँ । तर ऊ मान्ने पक्षमा थिइन । मेरो संयमलाई नपुंसकता भन्दै खिसी गरी र मलाई आफूतिर आकर्षित गर्न उक्साइरही । म ऊद्वारा दम दिएर छोडिएको घडी भएँ— टिक् टिक्, टिक् टिक्, टिक् टिक् ।
ती ओठ, त्यो स्पर्श, तातो श्वास–प्रश्वास र टाढाबाट आइरहेको सुस्केराजस्तो आवाज…। मायाको उत्कट अभिव्यक्ति, हतारिएका हातका पञ्जा र त्यसमाथि सक्रिय औँलाहरू ।
भूकम्पझैँ ठूलो झट्का लाग्यो । मानौँ, सिङ्गो संसार धराशायी भयो ।
त्यो अँध्यारो रात । शयनकक्ष पनि चुकअँध्यारो थियो ।
त्यही घरमा हो या छिमेकीको घरमा, बाहिर कसैले कलबेल बजाइरहेको थियो— टरङ्टरङ्, टरङ्टरङ्, टरङ्टरङ्…। म भने अझै जागै थिएँ र किच्कन्नी मलाई अँगालेर गहिरो निद्रामा थिई ।
—०००—
त्रियुगा नगरपालिका–११, हिमालीटोल, उदयपुर


