सञ्चारकर्मी तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ लोकार्पित
काठमाडौं। जीवन आफैँमा एउटा यात्रा हो। यो यात्रामा कहिले खुसीका उज्याला क्षण आउँछन् त, कहिले पीडा, सङ्घर्ष र निराशाका अँध्यारा मोड। यिनै अनुभूति, भोगाइ र जीवनका आरोह–अवरोहलाई शब्दमा बुन्दै सञ्चारकर्मी तथा युवा मुक्तककार गोविन्द्र राज तिमिल्सेना (कुसुम कान्छो) ले आफ्नो मुक्तकसङ्ग्रह ‘जिन्दगीको यात्रा’ पाठकमाझ ल्याएका छन्।
हामी र हाम्रो कृति समाजको ३१औँ कृतिका रूपमा रहेको ‘जिन्दगीको यात्रा’ शनिबार काठमाडौंको बालुवाटारस्थित लीलाध्वज थापा साहित्य प्रतिष्ठानको मञ्चबाट लोकार्पण गरिएको हो। बाजुराको दुर्गम भूगोलमा जन्मिएर पत्रकारिता पेसामा सक्रिय तिमिल्सेनाको यो पहिलो एकल कृति हो।
कृतिमा जीवनका आरोह–अवरोह, प्रेम, वियोग, सङ्घर्ष, सामाजिक यथार्थ, पीडा, दुर्गम क्षेत्रका समस्या, देशको परिवेश तथा मानवीय संवेदनासँग सम्बन्धित मुक्तकहरू समेटिएका छन्। पत्रकारितासँगै साहित्य सिर्जनामा सक्रिय तिमिल्सेनाले आफ्ना भोगाइ र अनुभूतिलाई मुक्तकमार्फत अभिव्यक्त गरेका छन्।
‘जिन्दगीको यात्रा’ हामी र हाम्रो कृति समाजद्वारा प्रकाशित ३१औँ कृति रहेको संस्थाका सचिव बद्री उप्रेतीले बताए। एक समारोहबीच लोकार्पण गरिएको कृतिमा प्रेम, वियोग, सम्बन्ध, परिवार, सङ्घर्ष, समाज, जन्मभूमि र जीवनका अनुभूतिलाई मुक्तकका माध्यमबाट प्रस्तुत गरिएको उनले बताए। कृतिले नेपाली मुक्तक साहित्यमा आफ्नो छुट्टै स्थान बनाउने अपेक्षा गरिएको उनको भनाइ थियो।
कृति लोकार्पण समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेलले ‘जिन्दगीको यात्रा’ लेखकको जीवनभोगाइ, अनुभूति, सङ्घर्ष र समाजप्रतिका दृष्टिकोणको साहित्यिक अभिव्यक्ति भएको बताए। नवसर्जक तिमिल्सेनाको यस कृतिले नेपाली साहित्यमा नयाँ सम्भावना थप्ने विश्वास व्यक्त गर्दै उनले कृतिकारलाई बधाई तथा शुभकामना दिए।
समालोचक प्रा. डा. भरत कुमार भट्टराईले कृतिमाथि समीक्षा गर्दै कलिलो उमेरमा रचित तिमिल्सेनाका रचनाले भावी दिनमा नेपाली मुक्तक साहित्यमा अमिट छाप छोड्ने विश्वास व्यक्त गरे। उनले कृतिकारलाई शृङ्गारिक मुक्तकारको उपमा दिँदै आफ्ना कमजोरी सुधार्दै आगामी दिनमा थप उत्कृष्ट कृति सिर्जना गर्न शुभकामना दिए।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले कृतिलाई शुभकामना दिँदै नेपाली मुक्तक साहित्यमा थप प्रगतिको कामना गरे। बाजुराजस्तो दुर्गम ठाउँमा जन्मेर काठमाडौंको प्रतिष्ठित मञ्चमा पुस्तक लोकार्पण गर्नु खुसीको विषय भएको उनले बताए।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले ‘जिन्दगीको यात्रा’ले नेपाली मुक्तक साहित्यमा नयाँ पुस्ताको सिर्जनात्मक उपस्थितिलाई थप बलियो बनाउने धारणा व्यक्त गरे। कृतिकार तिमिल्सेनाले आफ्नो मन्तव्य राख्दै कृतिमा आफ्ना जीवनका अनुभूति, भोगाइ, प्रेम, पीडा र समाजका विविध पक्षलाई मुक्तकमार्फत अभिव्यक्त गर्ने प्रयास गरेको बताए। समारोहमा उपस्थित सम्पूर्णप्रति उनले धन्यवाद व्यक्त गरे।
दुर्गम बाजुरामा रहेर पत्रकारिता र साहित्य सिर्जनालाई सँगसँगै अघि बढाउँदै आएको उल्लेख गर्दै तिमिल्सेनाले पाठकले कृतिलाई माया र सकारात्मक सुझावसहित ग्रहण गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा अर्जुन चन्द, अनमोल बुढा तथा सञ्चारकर्मी मीनबहादुर खड्कालगायतले कृतिभित्रका रचना वाचन गरेका थिए। संस्थाका विशिष्ट आजीवन सदस्य गोविन्द्र राज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल प्रमुख अतिथि तथा समालोचक प्रा. डा. भरत कुमार भट्टराई र लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा विमल भौकाजी, पत्रकार महासङ्घका अध्यक्ष, वरिष्ठ साहित्यकार सुनिल अधिकारी, संस्थाका अध्यक्ष मदन नेपाल, सचिव बद्री उप्रेती, सञ्चारकर्मी मीन खड्का, अमर कठायतलगायत लेखक तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो।
पत्रकारितासँगै साहित्यको यात्रा
विकट जिल्ला बाजुरामा जन्मिएर पत्रकारिता पेसामा सक्रिय तिमिल्सेनाले लामो समयदेखि गाउँ–समाजका कथा लेख्दै आएका छन्। अभावमा बाँचिरहेका नागरिक, दुर्गम बस्तीका समस्या, विकासका चुनौती र सम्भावनालाई समाचारमार्फत बाहिर ल्याउने क्रममा उनले समाजलाई नजिकबाट नियाल्दै आएका छन्। त्यही क्रममा देखेका र भोगेका जीवनका अनेक पाटालाई साहित्यका माध्यमबाट पोख्न थालेका हुन्।

सञ्चारकर्मीका रूपमा उनले विशेषगरी दुर्गम क्षेत्रका नागरिकका समस्या र सम्भावनालाई प्राथमिकतामा राख्दै आएका छन्। पत्रकारिताले उनलाई समाजलाई नजिकबाट बुझ्ने अवसर दिएको छ भने साहित्यले त्यही समाज र जीवनलाई भावनाको भाषामा अभिव्यक्त गर्ने बाटो दिएको छ। समाचारमा सत्य, तथ्य र घटनालाई प्रस्तुत गर्ने तिमिल्सेना साहित्यमा भने भावना, अनुभूति र कल्पनालाई शब्द दिन्छन्।
त्यसैले उनका सिर्जनामा पत्रकारिताबाट प्राप्त सामाजिक दृष्टि र साहित्यिक संवेदनशीलताको मिश्रण देखिन्छ। तिमिल्सेना वि.सं. २०७८ देखि पत्रकारितामा सक्रिय छन्। यस अवधिमा उनले सामाजिक रहनसहन, कृषि, व्यवसाय, भाषा, कला, संस्कृति लगायतका विषयमा कलम चलाउँदै आएका छन्।
साहित्यमा भने तिमिल्सेनाले सानैदेखि रचनाहरू कोर्दै आएका थिए। बाजुरेली (खस) भाषामा समेत मुक्तक लेख्दै आएका उनले स्थानीय भाषा, संस्कृति र जीवनशैलीलाई साहित्यमा समेट्ने प्रयास गर्दै आएका छन्। उनका सिर्जनामा प्रेम र सम्बन्धसँगै जन्मभूमि तथा समाजप्रतिको अपनत्व पनि उत्तिकै बलियो देखिन्छ।
विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा रचनाहरू प्रकाशित हुँदै आएका तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ एकल कृति हो। यसअघि उनी संयुक्त रूपमा प्रकाशित ‘हामी र हाम्रो मुक्तकसङ्ग्रह २०८२’ र ‘हामी र हाम्रो अमर कृति २०८३’ मा सहलेखकका रूपमा सहभागी भएका थिए। ती कृतिमा उनका दर्जनौँभन्दा बढी रचना प्रकाशित भइसकेका छन्।
सञ्चारकर्मीका रूपमा दुर्गम समाजका आवाज बुलन्द गर्दै आएका तिमिल्सेनाका लागि ‘जिन्दगीको यात्रा’ केवल पुस्तक मात्र नभई उनको साहित्यिक यात्राको महत्त्वपूर्ण दस्तावेजसमेत हो।

