नेपाली आख्यान, समालोचना र नाट्य विधामा सुपरिचित नन्दलाल आचार्यको जन्म उदयपुरको ठोक्सिला, जहडामा वि.सं. २०३० असार २८ गते भएको हो । स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरी शिक्षण पेसामा संलग्न रहँदा पनि उहाँले साहित्यमा आफ्नो एक विशिष्ट पहिचान बनाउनुभएको छ । साहित्यलाई जीवनधर्म मान्ने आचार्यले आफ्नो कलमलाई ‘लौरो’, मनलाई उपन्यास र संवेदनालाई ‘शल्यक्रिया’को विषय बनाउँदै सिर्जनात्मक यात्रालाई निरन्तरता दिनुभएको छ ।उहाँका प्रकाशित कृतिहरूले उहाँको बहुआयामिक साहित्यिक व्यक्तित्वलाई उजागर गर्छन् । ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाट्यकृति), ‘गरूराहा’ (उपन्यास), ‘एकहाते जीवन’ (निबन्धसङ्ग्रह), ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचनासङ्ग्रह), ‘लौरो’ (लघुकथासङ्ग्रह) र ‘शल्यक्रिया’ (कथासङ्ग्रह) जस्ता कृतिहरूले उहाँलाई बहुविधामा कलम चलाउने स्रष्टाको रूपमा स्थापित गरेका छन् । संवेदनशील दृष्टिकोणका साथ सामाजिक विषयवस्तुको कलात्मक उठान गर्नु उहाँको लेखनको प्रमुख विशेषता हो ।
नेपाली साहित्यमा, विशेषगरी लघुकथा विधामा, ‘उत्तरकथा’ लेखनको प्रयोग थालनी गर्ने श्रेय आचार्यलाई नै जान्छ । विश्व साहित्यमा प्रचलित यस परम्परालाई नेपाली माटोमा मलजल गर्दै उहाँले एक नौलो आन्दोलनको प्रारम्भ गर्नुभएको छ ।
यसै प्रयोगलाई निरन्तरता दिँदै उहाँले हाम्रो कथाघरको “लघुकथामा एक प्रयोग” स्तम्भ सञ्चालन गर्दै आउनुभएको छ । यस स्तम्भमा उहाँले प्रत्येक पटक तीन स्रष्टाका लघुकथा छनोट गरी तिनको विश्लेषणात्मक समीक्षा गर्नुका साथै तिनै कथामा आधारित उत्तरकथाहरू पनि सिर्जना गर्नुहुन्छ । यसरी उहाँले समीक्षा र सिर्जनालाई एकैसाथ अगाडि बढाउँदै नेपाली लघुकथामा एउटा नवीन र महत्वपूर्ण आयाम थप्नुभएको छ ।
प्रस्तुत छ “लघुकथामा एक प्रयोग”को
नयाँ ४१ औँ श्रृङ्खला
विषयसूची:
१. लघुकथा: कृतज्ञता — स्रष्टा: नवराज शर्मा
समीक्षा तथा उत्तरकथा — नन्दलाल आचार्य
२. लघुकथा: साङ्लो — स्रष्टा: रोजिना धमला
समीक्षा तथा उत्तरकथा — नन्दलाल आचार्य
३. लघुकथा: ढोका — स्रष्टा: लक्ष्मीकान्त चौधरी
समीक्षा तथा उत्तरकथा — नन्दलाल आचार्य
१. लघुकथा : कृतज्ञता
✒ नवराज शर्मा
नदीछेउमा आएपछि दुवै यात्री थचक्क बसे ।
“न घर पुगिने भो, न गन्तव्यमा ।” उकालो लाग्दै गरेको सूर्यलाई हेर्दै एउटा बोल्यो । अर्को केही नबोली बसिरहेको थियो, केही गमेझैँ गरेर ।
“समयले साथ नदिएपछि कसको के लाग्छ !” पहिलो थाकेको स्वरमा फेरि बोल्यो ।
“आ ! म त यहीँ सम्पन्न गर्छु ।” दोस्रो निधारको पसिना पुछ्दै बोल्यो । पोको फुकायो । केही सामग्री लियो । नदीतिर लाग्यो । उसलाई नियालिरहेको पहिलो यात्री बोल्यो, “न साधन, न माध्यम, कसरी सम्पन्न गर्ने ? म त अधुरो काम नगर्ने । भो !”
दोस्रो केही नबोली नदीमा प्रवेश गर्यो । नुहायो । अञ्जुलीमा जल लियो, सूर्यलाई चढायो । क्रमैसँग पूर्व, दक्षिण फर्कँदै जल, पुष्प, फल अर्पण गर्यो । अन्त्यमा भगवान् विष्णुको वन्दना गर्दै पहिलो यात्रीको छेउमा आएर बस्यो ।
“भाइ ! काम त सम्पन्न गर्यौ जस्तो छ नि !” पहिलोले व्यङ्ग्य गर्यो ।
“समयले जस्तो जुरायो, त्यस्तै गरेँ दाइ !” दोस्रोले नम्र स्वरमा भन्यो ।
“तिम्रो कर्म शास्त्रसम्मत भयो त ?”
गाउँले दाइको प्रश्नमा उसले भन्यो, “श्राद्ध भनेको पितृप्रति श्रद्धा र कृतज्ञता प्रकट गर्नु हो ठानेँ, गरेँ; शास्त्रसम्मत भयो-भएन, त्यो चाहिँ थाहा भएन दाइ !”
— भक्तपुर, हाल : भर्जिनिया, अमेरिका —
—❀❀❀—
❛समीक्षा❜
☞ लघुकथा शास्त्रीय दृष्टिले ‘कृतज्ञता’ लघुकथाको विमर्श
✒ नन्दलाल आचार्य
नवराज शर्माको ‘कृतज्ञता’ लघुकथा बाह्य कर्मकाण्ड र अन्तर्निहित श्रद्धाबीचको सूक्ष्म द्वन्द्वलाई सरल यात्राको प्रसङ्गमा कलात्मक ढङ्गले उभ्याउने रचना हो । नदीछेउ थचक्क बसेका दुई यात्रीबाट सुरु भएको कथा क्रमशः श्राद्धको मूल मर्मतर्फ उन्मुख हुन्छ । आरम्भमा थकान, बाध्यता र अधुरोपनको वातावरण छ; अन्त्यमा त्यही अधुरो देखिएको कर्म अर्थपूर्ण पूर्णतामा रूपान्तरित हुन्छ ।
लघुकथाको वस्तुविधान एकोन्मुख छ । एउटै घटना, सीमित पात्र र सानो परिवेशमा लघुकथा केन्द्रित छ । पहिलो यात्री व्यवहारवादी सोचको प्रतिनिधि देखिन्छ भने दोस्रो यात्री भावनात्मक तथा आध्यात्मिक चेतनाको । यही विपरीतता कथाको द्वन्द्वको मेरुदण्ड बनेको छ । संवादहरू छोटा छन्, तर तिनले पात्रको दृष्टिकोण क्रमशः उद्घाटित गर्छन् ।
कथानक सरल भए पनि अन्त्यतिर अर्थको तह फराकिलो हुन्छ । ‘न साधन, न माध्यम’ भन्ने पहिलो यात्रीको दृष्टिमा कर्मकाण्डका बाह्य साधन प्रधान छन् । त्यसको विपरीत दोस्रो यात्रीले उपलब्ध प्रकृति र आफ्नो श्रद्धाबाट कर्मको सार खोज्छ । यसरी लघुकथा घटना होइन, दृष्टिकोणको परिवर्तनमा चरमोत्कर्ष प्राप्त गर्छ ।
पात्रचित्रण न्यूनतम र प्रभावकारी छ । नामरहित दुई यात्रीले प्रतिनिधिमूलक चरित्र ग्रहण गरेका छन् । विशेषतः दोस्रो पात्रको नम्रता र सहज आस्था उपदेशविहीन ढङ्गले प्रकट हुन्छ । पहिलो पात्रको व्यङ्ग्यले कथाको वैचारिक तनावलाई अझ धारिलो बनाएको छ ।
भाषाशैली सरल, संवादप्रधान र स्वाभाविक छ । ‘उकालो लाग्दै गरेको सूर्य’, ‘नदीमा प्रवेश’, ‘अञ्जुलीमा जल’ जस्ता दृश्यात्मक बिम्बले लघुकथालाई जीवन्त बनाएका छन् । अन्तिम संवाद नै कथाको बीजवाक्य हो— श्राद्धलाई कर्मकाण्डबाट श्रद्धा र कृतज्ञताको मानवीय भावमा उचाल्ने ।
शीर्षक ‘कृतज्ञता’ सार्थक छ । यद्यपि लघुकथाको मूल वैचारिक द्वन्द्व अझ सूक्ष्म बनाउन केही संवाद संक्षिप्त पार्न सकिन्थ्यो । समग्रमा, शास्त्रीय दृष्टिले यो सीमित पात्र, एकोन्मुख कथानक, संवादजन्य द्वन्द्व, दृश्यात्मक प्रस्तुति र अर्थपूर्ण अन्त्य भएको शालीन लघुकथा हो । यसको शक्ति ठूलो दर्शन सुनाउनुमा होइन, सानो कर्मभित्र ठूलो भाव भेट्टाउनुमा छ ।
—❀❀❀—
❛उत्तरकथा❜
लघुकथा : पिण्ड
✒ नन्दलाल आचार्य
“तिम्रो छोराले तिम्रो श्राद्धमा पिण्ड चढाएन रे !” घाटबाट फर्केको पुरोहितले वृद्धको कानमा भनेपछि उनी झसङ्ग भए ।
“किन ?”
“विधि नपुगेको भन्दै मैले रोकिदिएँ ।”
वृद्धको अनुहारमा चिन्ताको बादल मडारियो । उनले देखे— आँगनमा छोरो एउटा असहाय वृद्धलाई खाना खुवाउँदै थियो । छेउमा औषधिको पोको र पानीको गिलास थियो ।
“श्राद्ध छाडेर यो के नाटक हो ?” वृद्ध गर्जिए ।
छोरो चुपचाप उठ्यो । वृद्धका खुट्टा छोयो र थाल अघि साऱ्यो ।
“बुबा, उहाँका छोराले घरबाट निकालेछन् । भोकले छटपटाइरहेका थिए ।”
“तर, पितृको तर्पण ?”
छोराले नदीबाट ल्याएको जलको लोटा देखायो, “श्रद्धा मनमा छ, बुबा ! कर्मकाण्ड जानेको छैन ।”
वृद्धका ओठ थरथराए । उनले वृद्धको अनुहार नियाले । निधारको खत, चाउरी परेको गाला र काँपिरहेका हात देखेपछि अचानक पछाडि सरे ।
छोराले सोध्यो, “बुबा, चिन्नुभयो उहाँलाई ?”
वृद्धले उत्तर दिएनन् । बरु असहायको थालबाट एउटा गाँस उठाएर मुखमा हाले र भने, “मैले जीवनभरि खोजेको पिण्ड यही रहेछ, जसलाई मैले आफ्नै बुबाको अनुहारमा आजसम्म देखिनँ !”
—❀❀❀—
२. लघुकथा : साङ्लो
✒ रोजिना धमला
मञ्चबाट पड्किएको तालीको गडगडाहटले सुन्तलीको च्यातिएको चोलीलाई एकछिन टाले पनि उसको आन्तरिक अँध्यारो हटेन ।
“मानव अधिकार हाम्रो उपहार हो, हामी दिन्छौँ !” मञ्चमा उभिएर गाउँका भलादमी रामबहादुरले दयाको भिखझैँ नारा फ्याँकिरहेका थिए ।
त्यति नै बेला पँधेराको डिलमा रामबहादुरकी बुहारीले छोइछिटो गर्दै सुन्तलीलाई गाग्रो भर्न दिइनन् । मञ्चको त्यो ठूलो भाषण पँधेराको चिसो धमिलो पानीमा बगेर हरायो । सुन्तलीका आँखाअगाडि एउटा स्पष्ट चित्र कोरियो— कसैको निगाहमा पाइने वस्तु अधिकार होइन, त्यो त अर्को रूपको दासता मात्र हो ।
त्यसपछि मानव अधिकार दिवसको दोस्रो सत्र सुरु हुँदै थियो । पुनः रामबहादुर हातमा माइक समात्न मञ्चतिर सोझिँदै गर्दा सुन्तलीले उनको बाटो छेकिन् ।
ओठमा व्यङ्ग्यको अमिलो मुस्कान उमार्दै उनले सुस्तरी भनिन्, “मालिक ! तपाईंले दिएको त्यो उपहार मैले पँधेरामै पखालेर आएँ । कसैले दयामा दिएको अधिकार त साङ्लो रहेछ मालिक, जसले मान्छेलाई सधैँ ऋणी बनाउँछ ।”
रामबहादुर निरुत्तर भए । सुन्तलीले थपिन्, “आफ्नो अधिकार त विभेदको पर्खाल ढालेर आफैँले खोस्नुपर्ने रहेछ !”
— उदयपुर लिटिल हेभन, गल्फडिया, उदयपुर —
—❀❀❀—
❛समीक्षा❜
☞ लघुकथा शास्त्रीय दृष्टिले ‘साङ्लो’ लघुकथाको विमर्श
✒ नन्दलाल आचार्य
रोजिना धमलाको ‘साङ्लो’ शीर्षकले नै कथाको भित्री गाँठो समात्छ । साङ्लो यहाँ फलामको वस्तु होइन; दया, आश्रय र कृपाको नाममा बाँधिने अदृश्य बन्धन हो । यही प्रतीकले लघुकथालाई सामाजिक यथार्थको चिसो ऐनासामु उभ्याउँछ ।
लघुकथाको आरम्भ निकै प्रभावकारी छ । मञ्चको तालीले सुन्तलीको च्यातिएको चोली टाले पनि उसको आन्तरिक अँध्यारो नटालिनु बाहिरी सम्मान र भित्री अपमानबीचको सुन्दर विरोधाभास हो । एउटा दृश्यले सिङ्गो सामाजिक विडम्बना बोल्छ । यही दृश्यात्मकता लघुकथाको सौन्दर्य हो ।
वस्तुविधान एकोन्मुख छ । मञ्च र पँधेराको समानान्तर परिवेशले कथ्यलाई दुई तहमा देखाउँछ । माथि अधिकारको भाषण छ, तल विभेदको व्यवहार । यी दुई दृश्यबीचको दूरी नै कथाको मुख्य द्वन्द्व बनेको छ । घटना सानो छ, तर त्यसको प्रतिध्वनि गहिरो छ ।
पात्र पनि सीमित छन् । सुन्तली प्रतिरोधको चेतना बोकेकी प्रतिनिधि पात्र बनेकी छे । रामबहादुर भाषण र व्यवहारको दोहोरो अनुहार बोकेको सामाजिक प्रवृत्तिको प्रतीक बनेका छन् । बुहारीको सानो व्यवहारले विभेदको संस्कार घरको चौघेरासम्म कसरी पस्छ भन्ने देखाउँछ ।
संवादहरू लघुकथाको धड्कन हुन् । विशेषतः “दयामा दिएको अधिकार त साङ्लो रहेछ” भन्ने भनाइले कथाको मर्मलाई एकैचोटि उज्यालो पार्छ । त्यसपछि “आफ्नो अधिकार … आफैँले खोस्नुपर्ने” निष्कर्षले पात्रको चेतनात्मक रूपान्तरणलाई स्पष्ट गर्छ । यहाँ व्यञ्जना र विचार सँगसँगै हिँडेका छन् ।
लघुकथाको लघुत्व पनि उल्लेखनीय छ । लेखकले लामो पृष्ठभूमि नखोली दुई सार्वजनिक क्षणलाई जोडेर अर्थको पुल बनाएकी छन् । मञ्चको उज्यालो र पँधेराको धमिलोपनबीच सुन्तलीको चेतना उज्यालिँदै जान्छ । यसले बाह्य प्रकाशभन्दा आत्मबोध ठूलो हुने सङ्केत दिन्छ । पात्रको मौनता, व्यङ्ग्य र अन्तिम प्रतिरोध क्रमशः बढ्दै जाँदा भावात्मक आरोह स्वाभाविक बनेको छ । त्यसैले पाठक केवल घटना हेर्दैन; सुन्तलीको चोट, अपमान र जागरणलाई भित्रैबाट महसुस गर्छ । यही अनुभूतिको तापले कथालाई स्मरणीय बनाउँछ र यसको प्रतिध्वनि लामो समयसम्म रहन्छ ।
शास्त्रीय दृष्टिले चरमबिन्दु रामबहादुरको निरुत्तरतामा पुग्छ । विडम्बनाको पर्दा त्यहीँ च्यातिन्छ । अन्त्यले कथ्यलाई प्रतिरोधको स्वर दिन्छ । यद्यपि अन्तिम भनाइ केही प्रत्यक्ष र घोषणामूलक भएकाले व्यञ्जनाको ठाउँ अलिक साँघुरिएको अनुभूति हुन्छ । त्यही विचारलाई दृश्य वा मौन प्रतिक्रियाबाट छोडिएको भए अन्त्य अझ तीक्ष्ण हुन सक्थ्यो ।
भाषा सरल छ । बिम्बहरू सजीव छन् । ‘पँधेराको चिसो धमिलो पानी’ कथाको सामाजिक चेतनाको प्रतीकझैँ लाग्छ । शीर्षक, घटना, द्वन्द्व र अन्त्यबीच राम्रो अन्तर्सम्बन्ध छ । समग्रमा, ‘साङ्लो’ दयाको आवरणभित्र लुकेको वर्चस्व चिन्न सिकाउने संवेदनशील लघुकथा हो । यसले अधिकार माग्नुभन्दा अधिकारलाई कृपाको वस्तु बन्न नदिनुपर्ने चेतना छोड्छ ।
—❀❀❀—
❛उत्तरकथा❜
लघुकथा : साँचो
✒ नन्दलाल आचार्य
“सुन्तलीले गाउँको इनारमा ताल्चा लगाई !”
बिहानै यो खबरले गाउँ तात्यो । हिजोसम्म पानी भर्न नपाएकी सुन्तली आज इनारको डिलमा साँचो घुमाउँदै थिई । रामबहादुर माइक बोकेर आइपुगे ।
“यो सार्वजनिक सम्पत्ति हो, खोल् !”
“हिजोसम्म मेरो स्पर्शले पानी बिटुलिन्थ्यो, आज कसरी चोखियो मालिक ?”
भीडमा खैलाबैला मच्चियो । रामबहादुरले प्रहरी बोलाउने धम्की दिए । सुन्तलीले कम्मरमा बाँधेको कागज निकालेर देखाई । त्यसमा गाउँसभाको निर्णय थियो— सबैलाई समान अधिकार ।
“कागज देखाएर पानी रोक्ने ?”
“मैले पानी रोकेकी होइन, विभेदको धारामा ताल्चा लगाएकी हुँ ।”
रामबहादुरले साँचो खोस्न हात बढाए । सुन्तलीले इनारको डोरी तान्दै बाल्टिन बाहिर निकाली । पानी छल्किएर उनका खुट्टामा पोखियो । उनले बाल्टिन गाउँकी दलित वृद्धातिर बढाइन् । वृद्धा झस्किइन्; वरिपरिका आँखा रामबहादुरको अनुहारमा अडिए ।
“पहिले तपाईं पिउनुस्,” सुन्तलीले भनी ।
रामबहादुरको घाँटी सुक्यो । माइक हातबाट खस्यो । भीडले पहिलोपटक ताली होइन, प्रश्न उठायो ।
सुन्तलीले साँचो वृद्धाको हातमा राख्दै भनी, “आजदेखि इनार खुल्यो; ताल्चा पानीमा थियो कि हाम्रो सोचमा ?”
—❀❀❀—
३. लघुकथा : ढोका
✒ लक्ष्मीकान्त चौधरी
“ढोका थुनेर के धन्दा चल्दै छ यहाँ ?”
मध्यरातको सन्नाटा चिर्दै पण्डितजी गुनगुनाए । ढोका अलिकति उघ्रियो । धमिलो उज्यालोमा छोराको सातो गएको अनुहार देखियो ।
“बा, सुस्तरी ! कसैले कान ठाडो गर्ला ।”
“यति राति के लुकाएको ?” बाका ओठ काँपे ।
छोराले टेबुलका पानातिर आँखा तेर्स्यायो, “किताब पढेको बा… नास्तिक दर्शन ।”
पण्डितजी अवाक् बने । दुवैका निधारमा चिटचिट पसिना छुट्यो ।
“गाउँलेले थाहा पाए भने ? पण्डितको छोरो नास्तिक भयो भनेर हुक्कापानी बन्द गरिदेलान् !”
छोराले सुस्केरा हाल्यो, “सोचलाई ढोकाले थुन्न नसकिने रहेछ बा, म त समाजसँग पो डराएको ।”
पण्डितजीले नबोली पुरानो बाकस उघारे । कुनाको धुलोम्मे पोको फुकाएर छोरासामु सारे । छोराका आँखा फराकिला भए ।
पानाको शिरमा बाबुकै पुरानो दस्तखत थियो । तल आफ्नै हातले लेखेको वाक्य देखियो— “शास्त्रमा प्रश्न सोध्नु पाप होइन, चेत खुल्नु हो । तँसँग लुकेको नास्तिकता होइन, पण्डितको छोरो हुनुको डर मात्रै रहेछ ।”
बाको गुप्त पाण्डुलिपि देख्दा छोराको आङ जिरिङ्ग भयो । उसले एकै झट्कामा ढोका पट्ट खोलिदियो— रातको सिरसिरे चिसो हावा सरासर भित्र छिऱ्यो ।
पण्डितजीले सोधे, “अब अँध्यारोसँग डर लाग्दैन ?”
छोराले बाहिरको सुनसान बाटोतिर हेर्दै भन्यो, “डर अँध्यारोको होइन बा, भोलि उज्यालो भएपछि यो ढोका फेरि लाग्छ कि लाग्दैन भन्ने पो हो… !”
— बेलका, रातापानी, उदयपुर —
—❀❀❀—
❛समीक्षा❜
☞ लघुकथा शास्त्रीय दृष्टिले ‘ढोका’ लघुकथाको विमर्श
✒ नन्दलाल आचार्य
लक्ष्मीकान्त चौधरीको ‘ढोका’ बाहिरी ढोकाबाट भित्री भयसम्मको यात्रा गराउने अर्थगर्भित लघुकथा हो । पढ्दै जाँदा एउटा बन्द ढोका मात्र देखिँदैन; त्यसपछाडि थुनिएको सोच, संस्कार र सामाजिक भयको संसार खुल्दै जान्छ ।
लघुकथा मध्यरातको सन्नाटाबाट सुरु हुन्छ । यही आकस्मिक प्रवेशले कौतूहल जगाउँछ । ढोका, धमिलो उज्यालो, काँपेका ओठ र चिटचिट पसिना— यी दृश्यात्मक सङ्केतहरूले वातावरणलाई सजीव बनाएका छन् । छोटा संवादले लघुकथाको गति थामेका छैनन्; बरु द्वन्द्वलाई क्रमशः कस्दै लगेका छन् ।
पिता र पुत्र दुई पुस्ता मात्र होइनन्, उनीहरू दुई मानसिक अवस्थाका प्रतिनिधि पनि हुन् । पुत्र प्रश्न गर्न चाहन्छ, तर समाजसँग डराउँछ । पिता बाहिर कर्मकाण्डी देखिए पनि भित्र प्रश्नशील चेतना बोकेका व्यक्ति रहेछन् । यस अप्रत्याशित समानताले लघुकथामा मधुरो आश्चर्य थप्छ ।
लघुकथाको द्वन्द्व बाहिरीभन्दा भित्री छ । ‘नास्तिक दर्शन’ पढ्नु अपराध हो कि प्रश्न गर्नु चेतनाको स्वाभाविक प्रक्रिया— यही तनावले कथानकलाई अगाडि धकेल्छ । बाकसबाट निस्किएको पुरानो पाण्डुलिपि कथाको रहस्योद्घाटन मात्र होइन, पुस्ताबीचको वैचारिक पुल पनि हो ।
‘ढोका’ शीर्षक बहुअर्थी र प्रतीकात्मक छ । भौतिक ढोका त अन्त्यमा खुल्छ, तर वास्तविक ढोका मनभित्रको भयको हो । त्यसैले ढोका यहाँ बन्द सोच, सामाजिक दबाब र सम्भावनाको प्रतीक बनेको छ ।
अन्तिम दृश्य विशेष प्रभावकारी छ । छोराले ढोका खोल्दा चिसो हावा भित्रिन्छ । बाहिरको हावा र भित्रको चेतना एकैचोटि चलायमान हुन्छन् । तर अन्तिम प्रश्नले उत्सवलाई फेरि आशङ्कामा बदलिदिन्छ । ‘भोलि उज्यालो भएपछि यो ढोका फेरि लाग्छ कि लाग्दैन’ भन्ने वाक्यले लघुकथा बन्द गर्दैन; पाठकको मनमा अर्को ढोका खोल्छ ।
शास्त्रीय दृष्टिले लघुकथा कौतूहल, एकोन्मुखता, सीमित पात्र, आन्तरिक द्वन्द्व, प्रतीकात्मक शीर्षक, क्रमिक रहस्योद्घाटन र खुला समापनमा सुसंगत छ । कतिपय ठाउँमा विचारलाई संवादले अलि प्रत्यक्ष बनाएको अनुभूति भए पनि अन्त्यको व्यञ्जनाले त्यसलाई सन्तुलित गर्छ ।
समग्रमा, ‘ढोका’ अँध्यारो कोठाको कथा होइन; उज्यालोमा पनि मानिसले आफ्नै हातले बन्द गरिरहने मानसिक ढोकाको कथा हो । यसको सबैभन्दा सुन्दर पक्ष यही हो— ढोका खुलेपछि पनि प्रश्न बन्द हुँदैन ।
—❀❀❀—
❛उत्तरकथा❜
लघुकथा : साँध
✒ नन्दलाल आचार्य
“बा, तपाईंको नाममा पक्राउ पुर्जी आएको छ !”
छोराको हातमा सरकारी पत्र देखेपछि पण्डितजीको अनुहार नीलो भयो । रातभरि खुला राखेको ढोका उनले हतारहतार बन्द गरे ।
“के लेखेको छ ?”
“गाउँमा अन्धविश्वास फैलाएको आरोपमा होइन बा, मन्दिरको जग्गा हडपेको उजुरीमा !”
पण्डितजी झस्किए, “त्यो त धर्मशालाका लागि छुट्याएको जग्गा हो ।”
“कागजमा त तपाईंको निजी सम्पत्ति लेखिएको छ ।”
बाहिर मानिसहरूको होहल्ला बढ्दै थियो । पण्डितजीले बाकसबाट पुराना लालपुर्जा निकाले । एउटा कागजको पछाडि छोराले बाल्यकालमा कोरेको चित्र थियो— खुला ढोका, भित्र देवताको मूर्ति र बाहिर हात फैलाएर उभिएका भोकाहरू ।
“यो चित्र अझै सम्झन्छस् ?” बाले सोधे ।
“सम्झन्छु बा, तपाईंले त्यस दिन भोकाहरूलाई धपाएर देवतालाई भोग लगाउनुभएको थियो ।”
पण्डितजीको हातबाट लालपुर्जा भुइँमा खस्यो । ढोकाबाहिर गाउँलेहरू नाराबाजी गरिरहेका थिए । छोराले ढोकाको चुकुल समात्यो ।
“खोलूँ बा ?”
पण्डितजीले देवताको मूर्तितिर हेरे, अनि छोराका आँखामा ।
छोराले ढोका खोल्यो— बाहिर न्याय माग्न उभिएका गाउँलेमध्ये सबैभन्दा अगाडि त्यही भोकै फर्काइएको बालकको छोरो थियो, जसको हातमा पण्डितजीकै हस्ताक्षर भएको जग्गादानको सक्कल तमसुक थियो ।
—❀❀❀—


