नेपाली आख्यान, समालोचना र नाट्य विधामा सुपरिचित नन्दलाल आचार्यको जन्म उदयपुरको ठोक्सिला, जहडामा वि.सं. २०३० असार २८ गते भएको हो । स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरी शिक्षण पेसामा संलग्न रहँदा पनि उहाँले साहित्यमा आफ्नो एक विशिष्ट पहिचान बनाउनुभएको छ । साहित्यलाई जीवनधर्म मान्ने आचार्यले आफ्नो कलमलाई ‘लौरो’, मनलाई उपन्यास र संवेदनालाई ‘शल्यक्रिया’को विषय बनाउँदै सिर्जनात्मक यात्रालाई निरन्तरता दिनुभएको छ ।उहाँका प्रकाशित कृतिहरूले उहाँको बहुआयामिक साहित्यिक व्यक्तित्वलाई उजागर गर्छन् । ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाट्यकृति), ‘गरूराहा’ (उपन्यास), ‘एकहाते जीवन’ (निबन्धसङ्ग्रह), ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचनासङ्ग्रह), ‘लौरो’ (लघुकथासङ्ग्रह) र ‘शल्यक्रिया’ (कथासङ्ग्रह) जस्ता कृतिहरूले उहाँलाई बहुविधामा कलम चलाउने स्रष्टाको रूपमा स्थापित गरेका छन् । संवेदनशील दृष्टिकोणका साथ सामाजिक विषयवस्तुको कलात्मक उठान गर्नु उहाँको लेखनको प्रमुख विशेषता हो ।
नेपाली साहित्यमा, विशेषगरी लघुकथा विधामा, ‘उत्तरकथा’ लेखनको प्रयोग थालनी गर्ने श्रेय आचार्यलाई नै जान्छ । विश्व साहित्यमा प्रचलित यस परम्परालाई नेपाली माटोमा मलजल गर्दै उहाँले एक नौलो आन्दोलनको प्रारम्भ गर्नुभएको छ ।
यसै प्रयोगलाई निरन्तरता दिँदै उहाँले हाम्रो कथाघरको “लघुकथामा एक प्रयोग” स्तम्भ सञ्चालन गर्दै आउनुभएको छ । यस स्तम्भमा उहाँले प्रत्येक पटक तीन स्रष्टाका लघुकथा छनोट गरी तिनको विश्लेषणात्मक समीक्षा गर्नुका साथै तिनै कथामा आधारित उत्तरकथाहरू पनि सिर्जना गर्नुहुन्छ । यसरी उहाँले समीक्षा र सिर्जनालाई एकैसाथ अगाडि बढाउँदै नेपाली लघुकथामा एउटा नवीन र महत्वपूर्ण आयाम थप्नुभएको छ ।
प्रस्तुत छ “लघुकथामा एक प्रयोग”को
नयाँ ३९ औँ श्रृङ्खला
१. लघुकथा : सोच
✒ धनसिंह विश्व
“आज एक दिन त हो, गएर आइहाल्छु ।” अनुमति माग्दै हिँड्न हतास छे ऊ ।
फोनमा घण्टी बज्यो । कोसित, के कुरा भयो कुन्नि, अचानक ऊ निराश भएर कोठाबाट बाहिर निस्किई । उसको उदासीनता देखेर मैले व्यङ्ग्य गर्दै भनेँ, “अचानक आँधी आएजस्तो आज दिउँसै अँध्यारो भयो, के चाल पर्यो ?”
मेरो छेउमा आएर भनी, “आज नारी दिवसको कार्यक्रममा जाउँला भनेको, गाउँबाट सासूआमा यता सहर आउँदै रहिछिन् ।”
“के भयो तो आमा आउँदा ? तिम्रो पनि त आमा नै हुन् । आउनु भनौँ कि त ? आमालाई म हेर्दै गरौँला, तिमी गएर आऊ, हुँदैन ?” हौसला दिएँ ।
“हुन त हुन्छ नि, तर बुहारी नदेख्दा के भन्नुहुन्छ ? आजै कार्यक्रम हुनु, आजै घरमा आमा आउनु । अब थाकेर आएकी आमालाई हेर्नु कि जानु ! आ ! जान्नँ बरु ।” अलिक बिस्मात मानेर भनी ।
“म हुन्छु त, घरै बसौँला । जानु, जान मन लागेको ठाउँमा ।” प्रेमपूर्वक सान्त्वना दिँदै भनेँ ।
“अब यतिका बेला कसरी जानु ?”
कसैले दैलो ढकढकायो । “के को महाभारत चल्दै छ ?” आमा टुप्लुक्क दैलोमा आइपुग्नुभएको देखेर दुवै चुप भयौँ ।
“आमा ! ढोग गरेँ है । खबरै नगरी कति छिट्टै आइपुग्नुभएछ । हजुरलाई सन्चै छ ? गाउँघर सबैमा आरामै होला नि ?” मैले ढोग गर्दै भनेँ ।
आमाले मलाई कराउँदै भन्नुभयो, “सहर आएपछि आफ्नी आमालाई चटक्कै बिर्सिने कस्तो औषधि पाइन्छ हो यहाँ ? एउटा फोनसम्म छैन । के हो चाला ?”
आमाले फेरि भन्नुभयो, “आज तँ घरको काम गरेर बस, बुहारी र म नारी दिवसको कार्यक्रममा जान्छौँ । बुहारी, छिटो गर, अबेर भयो ।”
–०००–
गेजिङ, पश्चिम सिक्किम
❀❀❀
❛समीक्षा❜
☞ मातृप्रेमका दृष्टिले धनसिंह विश्वको ‘सोच’ लघुकथाको विश्लेषण
✒ नन्दलाल आचार्य
धनसिंह विश्वद्वारा लिखित ‘सोच’ लघुकथा नारी संवेदना, पारिवारिक सामञ्जस्य र विशेषगरी मातृप्रेमको एउटा सूक्ष्म एवं उदात्त नमुना हो । प्रस्तुत छ, मातृप्रेमका दृष्टिले यस लघुकथाको छोटो चर्चा :
- १. शीर्षकको सान्दर्भिकता र वैचारिकी : कथाको शीर्षक ‘सोच’ आफैँमा दार्शनिक र अर्थपूर्ण छ । मानिसको व्यवहार उसको सोचको उपज हो । यस कथामा दुई प्रकारका सोचको द्वन्द्व र मिलन देखिन्छ । एकातिर बुहारीको सोच छ; जहाँ कर्तव्य र रहरबीचको द्वन्द्व छ भने अर्कोतिर सासूको सोच छ— जहाँ अधिकार र अपनत्वको सुन्दर सम्मिश्रण छ । मातृप्रेम केवल जैविक आमामा मात्र सीमित हुँदैन, बरु त्यो त एउटा संरक्षणमुखी दृष्टि हो भन्ने कुरालाई यस शीर्षकले न्याय दिएको छ ।
- २. सासूमा लुकेको आमाको स्वरूप : नेपाली साहित्य र समाजमा अक्सर सासूलाई कठोर, नियन्त्रणकारी र बुहारीको स्वतन्त्रतामा बाधक पात्रका रूपमा चित्रण गरिन्छ । तर, ‘सोच’ लघुकथामा सासूको प्रवेशसँगै यो भ्रम चिरिएको छ । मातृप्रेमको वास्तविक स्वरूप तब झल्किन्छ, जब सासूले बुहारीलाई ‘पराइ घरबाट आएकी कामदार’ नभई ‘आफ्नै छोरी’ सरहको व्यवहार गर्छिन् । कथाको अन्त्यमा आमाले भन्नुभएको संवाद : “आज तँ घरको काम गरेर बस, बुहारी र म नारी दिवसको कार्यक्रममा जान्छौँ । बुहारी, छिटो गर, अबेर भयो ।” यसले मातृप्रेमको शिखर चुमेको छ । छोरालाई घरको जिम्मेवारी सुम्पेर बुहारीलाई सामाजिक मूलधारमा लैजान खोज्नुले सासूभित्रको ‘आमा’ लाई उजागर गर्दछ ।
- ३. बुहारीको कर्तव्यबोध र सासूप्रतिको सम्मान : मातृप्रेम एकतर्फी हुँदैन । बुहारीको मनमा सासू आउने खबरले उत्पन्न भएको छटपटी र कार्यक्रम छोड्ने निर्णयले सासूलाई उनले दिएको ‘आमा’ को दर्जा स्पष्ट पार्छ । “अब थाकेर आएकी आमालाई हेर्नु कि जानु । आ ! जान्नँ बरु,” भन्ने बुहारीको अभिव्यक्तिमा सासूप्रतिको अगाध श्रद्धा र प्रेम झल्किन्छ । आमाप्रतिको यो सेवाभाव नै बुहारीले सासूलाई दिएको ‘मातृ-सम्मान’ हो ।
- ४. लैङ्गिक समानता र नारी सशक्तीकरणमा मातृप्रेम : कथाले नारी दिवसको सन्दर्भ जोडेर मातृप्रेमलाई झन् सशक्त बनाएको छ । अक्सर घरभित्रै नारीबाट नारी अपहेलित हुने समाजमा, यहाँकी आमाले बुहारीलाई सशक्तीकरणको बाटोमा डोर्याएकी छिन् । छोरालाई “तँ घरको काम गर” भन्नुले पितृसत्तात्मक सोचमा प्रहार मात्र गरेको छैन, बरु आमाले आफ्नो सन्तान (छोरा र बुहारी दुवै) लाई समताको दृष्टिले हेरेको पुष्टि हुन्छ ।
- ५. संवादात्मक लालित्य र भावनात्मक गहिराइ : कथाको संवाद शैली निकै छरितो र मर्मस्पर्शी छ । आमाले छोरालाई गर्ने “सहर आएपछि आफ्नी आमालाई चटक्कै बिर्सिने कस्तो औषधि पाइन्छ हो यहाँ ?” भन्ने ठट्टा मिश्रित गालीमा आमाको अधिकार र वात्सल्य लुकेको छ । यो ‘मिठो गाली’ नै नेपाली आमाहरूको प्रेम व्यक्त गर्ने मौलिक शैली हो ।
- ६. निष्कर्ष : धनसिंह विश्वको ‘सोच’ लघुकथाले सासू-बुहारीको सम्बन्धलाई नयाँ उचाइ दिएको छ । यसमा मातृप्रेम केवल रगतको नातामा मात्र सीमित छैन; यो त विचार, बुझाइ र त्यागमा पनि प्रतिविम्बित छ । बुहारीले सासूमा आमा देख्नु र सासूले बुहारीमा आफ्नो प्रतिछायाँ वा छोरी देख्नु नै यो कथाको मूल सन्देश हो । समग्रमा, ‘सोच’ एउटा सकारात्मक क्रान्ति हो । यसले घरभित्रको वातावरणलाई प्रेमिल बनाउन ‘सोच’ बदल्नुपर्छ भन्ने सन्देश दिँदै मातृप्रेमको ऊर्जावान् सुगन्ध छरेको छ ।
❀❀❀
❛उत्तरकथा❜
लघुकथा : परिवर्तनको छाया
✒ नन्दलाल आचार्य
जब आमाले बुहारीको हात समातेर दैलो काट्नुभयो, भित्तामा झुन्डिएको पुरानो घडीको सुई अचानक उल्टो घुमेझैँ भान भयो । एउटा सामान्य उत्सवको खुसीभित्र लुकेको गहिरो षड्यन्त्रको गन्ध मैले मात्र सुँघिरहेको थिएँ । आमाको त्यो हतार र बुहारीको त्यो अचानकको तत्परता— के यो केवल नारी दिवसको मोह थियो वा कुनै अदृश्य विद्रोहको सङ्केत ?
म रित्तो कोठामा एक्लै उभिएर उनीहरू ओझेल परेको हेरिरहेँ । भान्सामा पाक्दै गरेको चियाको बाफले कोठा कुहिरीमय बन्यो । अचानक दराजको एउटा कुनाबाट एउटा खाम खस्यो, जसमा लेखिएको थियो— “मुक्तिको मूल्य” । त्यो खामभित्र नारी दिवसको निमन्त्रणा कार्ड होइन, वर्षौँदेखि गुम्सिएको एउटा अदालती कागज थियो ।
बाहिर सडकमा चर्को नारा घन्कियो— “समानता र अधिकार !” तर भित्र मेरो हातमा भएको त्यो कागजले भनिरहेको थियो कि आमाले आज बुहारीलाई कार्यक्रममा होइन, आफ्नै छोराको विरुद्ध साक्षी बस्न अदालत लैजाँदै हुनुहुन्थ्यो । जसलाई मैले मेरो घरको जग ठानेको थिएँ, उनीहरू त मेरै चिहान खन्न एउटै डुङ्गामा सवार भइसकेका रहेछन् ।
❀❀❀
२. लघुकथा : लाम्टोको सुगन्ध
✒ उमानाथ दाहाल
“कताबाट आउनुभो दाजु ?” अम्बिकाप्रसादले अलि हडबढाएको स्वरमा हरिभक्तलाई प्रश्न राखे ।
हरिभक्तले बेरसिलो आवाजमा जवाव फर्काए— “त्यै कुलङ्घार विष्णेको चर्तिकला बुझेर आएको । आमा यत्रो सुन्निएको खुट्टो लिएर बसेकी छन्, जेठो छोरो छेउमा अँध्यारो मुख लगाएर बसेको छ । सिङ्गो घर नै निरास छ ।”
“अनि सुन्नुभो ?” अम्बिकाप्रसादको हाउभाउ केही सुनाउन हतार भएजस्तो देखियो । उनले भने— “त्यो विष्णे त भर्खर दुर्घटनामा परेछ नि, हानेछ बाइकले गाडीलाई । अस्पताल पुर्याएका छन् ।”
“हो र !” हरिभक्तले आश्चर्य व्यक्त गरे । उनले अझै थपे— “घरमा आमाबाबुसँग झगडा गरेर हिँडेको अनि मनस्थिति ठीक भए पो राम्ररी कुदाओस् । पाप कराएछ फटाहालाई ।”
अम्बिकाप्रसाद अगाडि बढ्न खोज्दै भने— “म खबर गरिदिन्छु ।”
खबर सुनेर विष्णेका आमा र दाजु आत्तिए । तथापि दाजुको कुनै आवाज सुनिएन भने आमा रोइकराई गर्न लागिन् । उनले जेठालाई अस्पताल गएर अवस्था बुझ्न भनिन् । तर जेठो चल्मलाएन । आफू खुट्टाको कारण जान असमर्थ भएकोले कसैगरी अस्पताल जान धेरै पटक आमाले भनेको सुनेपछि अहिलेसम्म चुप रहेको जेठाले मुख खोल्यो— “किन यति जिद्दी गर्नुहुन्छ ? अघि मात्रै त्यसले गरेको दुर्व्यवहार बिर्सिनुभयो ? झटारो हानेको दाउरो त्यहीँ छ । खुट्टो सुन्निएर दाउरोभन्दा ठूलो देखिँदै छु, के मुख लिएर हेर्न जानु त्यसलाई ? म त जान्नँ ।”
आमाको अनुहारलाई ममताको पसिनाले छ्याप्प ढाक्यो । उनी दर्दमिश्रित आवाजमा बोलिन्— “त्यो मुर्ख भयो भनेर हामी पनि त्यसरी मुर्ख नहौँ । के गर्नु, आफ्नै कोखको उत्पादन हो । कसको छोरो भन्दा सबैले मलाई नै सम्झिन्छन् । इज्जतलाई ख्याल गर्नुपर्छ बाबु ! बाबु पछिको दाजु तैँ होस्, जा बुझेर आइज ।”
धेरै पटक भनिन् उनले । तर पनि जेठाले जान इन्कार गरेपछि उनी दुखित बनिन् र भन्न लागिन्— “तिमीहरू छोरा मान्छेको मन ढुङ्गाजस्तै हुँदो रहेछ । हामी आमाहरू त्यसरी टेक गरेर बस्न सक्तैनौँ । सन्तानलाई कुनै कष्ट पर्यो भने उसका पहिलेका सबै भूलहरू बिर्सन सक्छौँ हामी ।”
जेठो केही बोलेन । ऊ सुनिरहेको मात्र थियो, जसरी एउटा भक्तले एकाग्र भएर भागवत कथा सुन्छ । आमा अझै नबोली बस्न सकिनन् । उनले चोटिलो आवाज निकालिन्— “सुनिस् ! अहिले मेरो खुट्टाको दर्द सबै हरायो, तर मुटु भने चुँडिएझैँ दुखिरहेको छ ।”
–०००–
शिवसताक्षी नगरपालिका दुधे, झापा
❀❀❀
❛समीक्षा❜
☞ मातृप्रेमका दृष्टिले उमानाथ दाहालको ‘लाम्टोको सुगन्ध’ लघुकथाको विश्लेषण
✒ नन्दलाल आचार्य
उमानाथ दाहालद्वारा रचित लघुकथा ‘लाम्टोको सुगन्ध’ मातृत्वको विराटता, क्षमाशीलता र सन्तानप्रतिको अगाध स्नेहलाई जीवन्त रूपमा प्रस्तुत गर्ने एक उत्कृष्ट सिर्जना हो । यस लघुकथाको चर्चा मातृत्वको विशिष्टता र कलात्मक पक्षलाई केन्द्रमा राखेर निम्नानुसार गर्न सकिन्छ :
- १. विषयवस्तु र परिवेशको गहिराइ : कथाको उठान छिमेकीहरू बीचको संवादबाट हुन्छ, जहाँ विष्णे (कान्छो छोरो) को विद्रोही स्वभाव र दुर्घटनाको प्रसङ्ग छ । आमाको खुट्टा सुन्निएको छ, त्यो पनि आफ्नै छोराले हानेको दाउरोको चोटले । तर, त्यही छोरो दुर्घटनामा परेको खबर सुन्नासाथ आमाको शारीरिक पीडा मानसिक छटपटीमा परिणत हुन्छ ।
- २. मातृप्रेमका विविध आयाम : कथाको मुख्य केन्द्रबिन्दु मातृप्रेमको पराकाष्ठा हो ।
क) क्षमाशीलता : जेठो छोरो प्रतिरोधात्मक छ, ऊ तर्क गर्छ— “के मुख लिएर हेर्न जानु त्यसलाई ?” तर आमाको तर्क भिन्न छ । आमाका लागि सन्तानको गल्तीभन्दा उसको अस्तित्व ठूलो हुन्छ ।
ख) अपनत्व र उत्तरदायित्व : “कसको छोरो भन्दा सबैले मलाई नै सम्झिन्छन्” भन्ने संवादले आमाको सन्तानप्रतिको जिम्मेवारी र सामाजिक साखको चिन्तालाई झल्काउँछ । - ३. पात्रगत विश्लेषण र लैङ्गिक मनोविज्ञान : कथामा पात्रहरू बीचको मनोवैज्ञानिक भिन्नता स्पष्ट छ । जेठो छोरो नैतिकता र स्वाभिमानको प्रतीक हो भने आमा पात्र यस कथाको मेरुदण्ड हो । उनी कठोरता (ढुङ्गा) र कोमलता (ममताको पसिना) बीचको भिन्नता प्रस्ट्याउँछिन् । “तिमीहरू छोरा मान्छेको मन ढुङ्गाजस्तै हुँदो रहेछ” भन्ने संवादले पुरुष र महिला बीचको भावनात्मक खाडललाई चित्रण गर्छ ।
- ४. शीर्षकको सार्थकता र बिम्ब विधान : कथाको शीर्षक ‘लाम्टोको सुगन्ध’ अत्यन्त प्रतीकात्मक र लालित्यपूर्ण छ । ‘लाम्टो’ (स्तन) केवल शारीरिक अङ्ग मात्र नभई यो जीवनको स्रोत, पोषण र सन्तानसँगको नाभीदेखिको सम्बन्धको प्रतीक हो ।
- ५. कलात्मक पक्ष र भाषाशैली : लघुकथाकार उमानाथ दाहालले संक्षिप्त संवाद र सघन भावमार्फत लघुकथाको धर्म निर्वाह गरेका छन् । “आमाको अनुहारलाई ममताको पसिनाले छ्याप्प ढाक्यो” र “मुटु भने चुँडिएझैँ दुखिरहेको छ” जस्ता अभिव्यक्तिले पाठकको हृदयलाई स्पर्श गर्छन् ।
- ६. निष्कर्ष : ‘लाम्टोको सुगन्ध’ केवल एउटा परिवारको झगडाको कथा होइन, यो मानवीय संवेदनाको उच्चतम रूपको खोजी हो । जतिसुकै कुलङ्घार छोरो भए पनि, उसले आमालाई शारीरिक चोट नै पुर्याए पनि, आमाको ममताको मूल कहिल्यै सुक्दैन भन्ने भावलाई कथाले कलात्मक ढङ्गले पुष्टि गरेको छ ।
❀❀❀
❛उत्तरकथा❜
लघुकथा : न्यायको तराजु
✒ नन्दलाल आचार्य
अस्पतालको आइसियु बाहिरको सन्नाटालाई चिर्दै विष्णेको बारेमा जेठोको मोबाइलमा एउटा अपरिचित सन्देश आयो— “पापको भारी बिसाउने ठाउँ दुर्घटना होइन, विष्णेको कोठाको घर्रा हो ।”
यो सन्देशले जेठोको मनमा भुईँचालो गयो । आमाको ममताले विष्णेको दुर्व्यवहार बिर्सिए पनि जेठोको मस्तिष्कमा शङ्काको बीउ पलायो । उसले अस्पतालको शय्यामा छटपटाइरहेको भाइलाई हेर्यो, जसको अनुहारमा पश्चात्ताप होइन, एउटा डरलाग्दो रहस्य लुकेको भान हुन्थ्यो । घर फर्केर उसले विष्णेको कोठा खोतल्यो । त्यहाँ रगत लतपतिएको जेठी बुहारीको नागरिकता र आमाको नाममा रहेको जग्गाको कीर्ते धनीपूर्जा भेटिए ।
विष्णेको दुर्घटना भवितव्य थिएन, बरु आफ्नै कर्तुत लुकाउन गरिएको एउटा असफल नाटक थियो । अस्पतालमा आमाले “छोरा मान्छेको मन ढुङ्गा हुन्छ” भनिरहँदा, यहाँ त छोराकै भेषमा एउटा ‘कुलङ्घार’ ले घरकै जग खन्दै रहेछ । अन्त्यमा, ममताको सागरमा डुबेकी आमाले अस्पतालमा भाइको हात सुमसुम्याउँदै गर्दा, जेठो छोरो घरको आँगनमा विष्णेको हर्कतका प्रमाणहरू जलाउँदै थियो । तर, खरानी उडेर आमाकै सुन्निएको खुट्टामा टाँसियो । भाइ बाँच्नु र मर्नुको दोसाँधमा थियो, तर जेठोका लागि भने ऊ अघि नै मरिसकेको थियो ।
❀❀❀
३. लघुकथा : मीत छोरो
✒ मोक्ष खतिवडा
“आफ्नो त पुर्पुरो नै उस्तो ! भएको छोरो बिहे गर्ने उमेरमै बित्यो !”
श्रीमान् पनि द्वन्द्वकालमा गुमाइसकेकी कान्छी माया अहिले बाटोमा आमा भेट्न हिँडेकाहरूको चहलपहल नियाल्दै आफ्नै मनसँग गन्थनाइन् । बेलैमा आफ्नै लागि मात्र खाना तयार गरिन् । घरि भित्र, घरि बाहिर गर्दै मन अमिलो पार्दै, खाऊँ कि नखाऊँको दोधारमा परेझैँ छट्पटाइरहिन् ।
“आ… मेरो भाग्यमा नभएको कुरा खोजेर मिल्छ र ?” उनी भान्सामा आफ्नो खाना पस्किन मात्र लागेकी थिइन्, बाहिर कसैको पदचाप सुनिन् । तुरुन्तै बाहिर निस्केर हेरिन् ।
“आमा, ढोग गरेँ ! नदेखेको, नभेटेको अलि समय भयो, बिर्सनुभयो जस्तो लाग्यो,” भन्दै आमाको गोडामा निहुरियो । “म हजुरको मीत छोरो चेतन हुँ । विदेशतिरै थिएँ, भर्खर मात्र आएको हुँ,” भनी गरुङ्गो कोसेलीको झोला आमालाई थमायो ।
“बाबु सम्झेर आयौ नि, मेरो छोरा !” भन्दै चेतनलाई अँगालोमा हालिन् । धेरै बेर विगतका तितामिठा गफ भए ।
पकाएको खानाभन्दा अरू थप साधन-सुधन गरी छोरालाई खुवाइ कान्छी माया आफू नखाए पनि अघाएको महसुस गरिन् ।
–०००–
झापा
❀❀❀
❛समीक्षा❜
☞ मातृप्रेमका दृष्टिले मोक्ष खतिवडाको ‘मीत छोरो’ लघुकथाको विश्लेषण
✒ नन्दलाल आचार्य
मोक्ष खतिवडाद्वारा रचित ‘मीत छोरो’ लघुकथा मातृप्रेमको एउटा अत्यन्तै मार्मिक, गहिरो र मनोवैज्ञानिक चित्रण गरिएको उत्कृष्ट सिर्जना हो । यस लघुकथाको मातृप्रेमका दृष्टिले गरिएको चर्चा तलका बुँदाहरूमा केन्द्रित छ :
- १. पुत्रवियोगको पीडा र मातृत्वको छट्पटी : कथाको प्रारम्भमै कान्छी मायाको एकलकाँटे र रिक्त जीवनको तस्बिर कोरिएको छ । “आफ्नो त पुर्पुरो नै उस्तो ! भएको छोरो बिहे गर्ने उमेरमै बित्यो !” यो वाक्यले कान्छी मायाको मनभित्र गुम्सिएको त्यो मातृत्वको तिर्खालाई झल्काउँछ ।
- २. भावनात्मक सम्बन्ध र मीत छोरोको आगमन : मातृप्रेम कुनै जैविक नियममा मात्र बाँधिएको हुँदैन भन्ने पुष्टि ‘चेतन’ को आगमनले गर्छ । चेतनले आमाको गोडामा निहुरिएर ढोग गर्नु र आमाले उनलाई “बाबु सम्झेर आयौ नि, मेरो छोरा !” भन्दै अँगालो हाल्नुले मातृत्वको विशालतालाई प्रस्ट्याउँछ ।
- ३. त्याग र परितृप्तिको स्वरूप : मातृप्रेमको सबैभन्दा सुन्दर र विशिष्ट गुण भनेको ‘त्याग’ हो । “कान्छी माया आफू नखाए पनि अघाएको महसुस गरिन् ।” यो वाक्यले मातृप्रेमको आध्यात्मिक स्वरूपलाई चित्रण गर्छ । सन्तानको खुसीमा आफ्नो अस्तित्व बिर्सनु नै साँचो मातृत्व हो ।
- ४. सामाजिक परिवेश र मातृत्वको सहारा : कथाले द्वन्द्वकाल र वैदेशिक रोजगारी जस्ता समसामयिक विषयलाई पनि छोएको छ । यस्तो परिवेशमा एक्लिएकी आमाका लागि ‘मीत छोरो’ केवल एउटा पात्र मात्र होइन, बरु एउटा सहारा र आशाको किरण हो ।
- ५. कलात्मक पक्ष र लालित्य : खतिवडाको लेखनमा एउटा छुट्टै लय र सरलता छ । “मन अमिलो पार्दै”, “खाऊँ कि नखाऊँको दोधार”, “पदचाप” जस्ता शब्दहरूको चयनले कथालाई सजीव बनाएको छ ।
- ६. निष्कर्ष : समग्रमा, ‘मीत छोरो’ लघुकथा मातृप्रेमको एउटा उदात्त नमुना हो । यसले देखाउँछ कि आमाको मन कहिल्यै रित्तो हुँदैन; त्यहाँ मायाको भण्डार सधैँ भरिभराउ हुन्छ । मातृत्वलाई रगतको सीमाबाट मुक्त गराई मानवीय संवेदनाको उच्च धरातलमा पुर्याउनु यसको सफलता हो ।
❀❀❀
❛उत्तरकथा❜
लघुकथा : अपरिचित ओत
✒ नन्दलाल आचार्य
आँगनको डिलमा उभिँदा कान्छी मायाको मनमा एउटा चिसो ढ्याङ्ग्रो ठोकियो— “चेतनका आँखाहरूमा छोराको न्यानोपन होइन, एउटा अपरिचित शिकारीको दाउ लुकेको छ ।” झट्ट हेर्दा सत्कार मान्न आएको पाहुना जस्तो देखिए पनि उसको झोलाबाट निस्किएका विलासी सामान र गह्रौँ सुनका बालाहरूले कोठाको रित्तोपनलाई गिज्याइरहेका थिए ।
चेतनले विदेशको कमाइ भन्दै कान्छी मायाको हातमा एउटा तमसुक थमायो, जसमा उनको बाँकी रहेको सानो कटेरो र खेतको टुक्रा उसको नाममा नामसारी गर्ने सर्त लुकेको थियो । “आमा, एक्ली हुनुहुन्छ, अब म सबै स्याहार गर्छु,” भन्दै गर्दा उसको स्वरमा सेवाको सुवास होइन, स्वार्थको दुर्गन्ध थियो । कान्छी मायाले बुझिन्— यो मीत छोरो रिक्तता भर्न आएको होइन, भएको रित्तो धरातल पनि लिलाम गर्न आएको रहेछ ।
रात छिप्पिँदै गर्दा, उनले भान्साको जुठो भाँडो माझ्दै गर्दा झ्यालबाट देखिन्, चेतनले अन्धकारमा कसैसँग फोनमा साउती मारिरहेको थियो— “बुढीको जग्गा हात लाग्यो, अब यसलाई वृद्धाश्रम पठाइदिए हुन्छ ।”
कान्छी मायाको ओठ लेप्रिए । उनले बिस्तारै भित्र गएर बाकसबाट एउटा पुरानो तस्बिर निकालिन् र बलिरहेको लालटिनमा झोसिदिइन् । “छोरा गुमाउनु तो केवल एउटा वियोग रहेछ, तर कसैको ‘छोरा’ बन्नु त व्यापार पो रहेछ !” उनी बिहानको उज्यालो नहुँदै झोला बोकेर बाहिरिइन्, तर घरको साँचो भने चेतनको सिरानीमुनि होइन, गाउँको साझा धर्मशालाको मूल ढोकामा झुन्ड्याएर ।
❀❀❀


