Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथामा एक प्रयोग अङ्क – १६ | हाम्रो कथाघर

भदौ १५, २०८२

लघुकथा: पारदर्शीता | विवेक दुलाल क्षेत्री “दमक” | हाम्रो कथाघर

भदौ १५, २०८२

लघुकथा: समाज | ईश्वर पोखरेल | हाम्रो कथाघर

भदौ १५, २०८२

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: १४

भदौ १४, २०८२

भदौ १३, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » मेरो बाल्यकाल

मेरो बाल्यकाल

गैर आख्यान - संस्मरण
डा. हरिप्रसाद भण्डारीडा. हरिप्रसाद भण्डारीअशोज २९, २०८१293 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

हेर्दाहेर्दै एक वर्ष पालेकी छोरी काखमै मरी ।
उनलाई यो सबै घटना सपना जस्तै लाग्यो । सपना होस् भन्ने ठानेका थिए तर सपना थिएन, सबै घटना विपनामा भएको थियो ।

मरेकी छोरीलाई काखमा च्यापेर उनी निकै रोए । जान्ने भएपछि त्यसरी रोएको त्यो उनको पहिलो दिन थियो ।
खेतीपातीका लागि गाउँको घर छोडेर खर्क झरेका थिए । खरले छाएको कटेरो थियो । गोरु र भैँसी तल बाँधेका थिए र आफूहरू आँटीमा बस्थे । रातीको समय, चारैतिर सुनसान थियो । त्यस समयमा उनीसँग बुढी आमा, अर्धमुर्छित श्रीमती, मृतक छोरी र गोठमा बाँधेका वस्तुभाउ बाहेक अरू कोही थिएन । अँगेनामाथि बलेको धिपधिपे बत्ती आफैँ रोइरहे जस्तै लाग्थ्यो । सारा परिवेश रुन्चे पाराको थियो । त्यसमाथि यत्रो विपत्ति ! उनीसँग रुनुबाहेक अर्को विकल्प थिएन । छाती पिटी पिटी रोइरहेकी बुढी आमा र रुँदारुँदै बेहोस भएकी श्रीमतीलाई सम्झाउन पनि सकिरहेका थिएनन् ।

गोठमा बाँधिएका वस्तुहरू यो सबै घटनादेखि बेखबर थिए । आफ्नै शुरमा उघ्राएर बसिरहेका थिए । यस्तैमा अन्धकार रात्रीलाई चिर्दै भर्जीतिरबाट फ्याउरो कराएको आवाज आयो । फ्याउरो करायो भने अशुभ हुन्छ भन्ने सुनेका थिए । मनमनै भने, ‘यो भन्दा अशुभ अरू के हुन सक्छ र !’
अर्को दिन बिहान मरेकी छोरीलाई आफ्नै हातले खाल्डोमा पुरेपछि उनी झन् भक्कानिए । केही समय छोरीको चिहानसँगै टाउको जोतेर रोए । घरमा आएका आफन्तहरू परम्परागत कार्यमा व्यस्त भए । फुर्सद भएकाहरूले पालैपालो उनीहरूलाई सम्झाउने प्रयास गरे तर हरेक प्रयास बिफल भइरहेका थिए । यसभन्दा पहिले जन्मेकी छोरी बाहुनले नाम राख्न नभ्याउँदै मरेकी थिई । त्यस बेला पनि सबै जना पीडाले छटपटाएका थिए । भोलिका दिनमा अरू सन्तान होलान् भन्ने आशा बोकेर बिस्तारै मन बुझाएका थिए । उस्तै दिन फेरि दोहोरियो । दोस्रो घटनाले काटेको घाउमा नुन चूक लगाएजस्तै भयो ।
पहिले जन्मेकी छोरी मरेको वर्ष दिनभित्रै अर्की जन्मेकी थिई । पुतली जस्ती राम्री । आँखैले कुरा गर्लीजस्ती । आफू जन्मेर बाआमाको आँसु पुछेकी थिई । घरमा खुसीयाली छाएको थियो । तर त्यो खुसी धेरै दिन टिक्न सकेन । वर्ष दिन पुगेकी छोरी अलबल्लै बिरामी होली र चट्टै छोडेर जाली भन्ने कुरा उनीहरूले कल्पनासम्म पनि गरेका थिएनन् ।

त्यस समयमा गाउँमा अस्पताल थिएनन् । यो धर्तीमा डाक्टर हुन्छन्, नर्स हुन्छन्, बिरामी पर्दा खाने औषधि हुन्छ भन्ने कुरा जानेका पनि थिएनन् । गाउँका डाक्टर भनेका धामी र झाँक्री मात्रै थिए । उनीहरू नारी छामेर वा आखत हेरेर रोग खुट्याउँथे । धुप बालेर र धजा उठाएर उपचार गर्थे । गाउँमा पाइने विभिन्न खाले जडीबुटीलाई पनि औषधिका रूपमा प्रयोग गरिन्थ्यो ।

उनले छोरी बिरामी भएपछि पोखराढिक लामालाई देखाएका थिए । लामाले फुकफाक गर्ने र सातो झिक्ने काम पनि गरेका थिए । ‘आत्तिनु पर्दैन, सन्चो हुन्च’ लामाको बोली अहिले पनि उनका कानमा बजिरहेको थियो तर लामाको बोली पनि सत्य भएन ।” उनले मनमनै सोचे, ‘के मेरा लागि स्वर्गको द्वार नखुल्ने नै हो त ? सन्तानविना कसरी स्वर्ग पुुगुँला । मृत्युपर्यन्त एक मुठी पानी दिने पनि कोही नहुने भयो । हे दैव ! तँ कति निष्ठुरी छस् । मैले तेरो के बिगारेको थिएँ र आज मलाई यसरी रुवाइरहेको छस् । झन् पछि झन् ठुलो कष्ट र पिडा दिँदै छस् ।’ यस्ता कुरा सोच्दै जाँदा उनको रुवाई झन् बढ्दै गयो । उनले अरूलाई पनि रुवाए । यो क्रम निकै दिन चल्यो । उनीहरूका लागि घर, आँगन र चारैतिरको वातावरण झन् झन् अँध्यारो हुँदै थियो । चुह्लोको गारोमा बल्ने टुकी बत्ती मात्रै होइन, अगेनामा आगो पनि बल्न छाड्यो । विरह, वेदना र विवशता बाहेक केही बाँकी रहेन त्यो घरमा ।

केही दिनपछि खर्कको खऱ्यानतिर घाँस काट्न गएकी विनिता रुँदै घर आइन् ।

“के भयो ?” आत्तिदै उनले सोधे ।

“आमा ! आमा ! भन्दै छोरीले बोलाई । रोएको आवाज पनि सुनेँ ।” विनिताले रुँदै भनिन् ।

“मरेकी छोरीले कसरी बोलाउनु ? यो सबै भ्रम हो ।” मसिनो स्वरमा उनले भने । उनको आवाजभन्दा विनिताको रुवाइको डाँको ठुलो भयो ।

विनिताको रुवाइको आवाज सुन्न नसकेर नजिकै रुखमा बसेका चराहरू पनि उडेर गए । केही बेर उनी पनि विक्षिप्त भए । छोरी मरेको भन्दा पनि स्वास्नी बहुलाउलीकी भन्ने पिरलोले सताउन थाल्यो ।
“उठ्, यसरी रुनहुन्न । छोरीको भन्दा पनि मलाई तेरो पिरलोले सताउन थाल्यो ।”
यसोभन्दै उनी आफैँ रुँन थाले ।

त्यस दिन वस्तुभाउले राम्ररी घाँसपानी खान पाएनन् । उनीहरू पनि भोकभोकै सुते । समय बित्दै गयो ।
गाउँलेहरूले प्रमानन्दलाई दोस्रो विवाह गर्ने सल्लाह दिन थाले ।

“यसका कोखबाट जन्मेका बच्चा नबाँचेपछि यसको कोखमै खराबी हुनुपर्च। यस्तीको आश गरेर अपुताली थामिँदैन । बेलैमा बुद्धि पुराउनु पर्च । नयाँ बाटो खोज्नुपर्च ।” गाउँलेहरूका तर्क यस्तै हुन्थे ।

यस विषयमा प्रमानन्दले निकै सोचे ।
विनितालाई विवाह गरेर ल्याउँदा उनी २२ वर्षका थिए । विनिताको उमेर भने नौ वर्ष मात्रै थियो । छोरीलाई कन्यादान दिने बेला ससुरा बलराम पाण्डेले भनेको कुरा सम्झना भयो ।
‘छोरी सानी छे । केही समय बुहार्तन गर्न पनि नसक्ली । हेला नगर्नु होला । मारे पाप पाले पुन्ने ।’

छोरी बिदाइ गर्ने बेला ससुरा एक्कासि भक्कानिएका थिए । त्यो समय अस्ति जस्तै लाग्यो उनलाई । जिन्दगीभरि सँगै बस्ने बाचा गरेर ल्याएकी पत्नीमाथि सौता हाल्ने पक्षमा उनी पुग्न सकेनन् । विनिता घरभित्र पसेपछि घरको रूपरङै फेरिएको थियो । सानी भए पनि उनको मेहनत र लगनले सबैलाई चकित पारेकी थिइन् । ‘यस्ती देउताको गाईजस्ती सोझी पत्नीका अघि सौता हाल्नु महापाप हो’ भन्ने ठाने उनले । गाउँलेहरूका सल्लाहलाई हावामा उडाइदिए ।

असौज महिनाको सुरुवाती समय, २०१५ सालको वडादशैँ आउने तरखर गर्दै थियो । गाउँलेहरू खेतीपातीको काम सकेर दशैँको स्वागतमा तल्लीन थिए । घर पोत्नका लागि कमेरो माटो लिन कमेरपानी जाने र रातो माटो लिन रामदल जाने क्रम पनि सुरु भइसकेको थियो ।
बिहानको समय थियो । रेसुङ्गाको डाँडोमाथि उक्लेर सूर्यले आफ्ना सुनौला किरण चारैतिर छर्दै थिए । विनिता आँगन बढार्दै थिइन् । गोठको काम सकेर प्रमानन्द उनी नजिक आएर भने,
“दशैँ आइसक्यो । घर लिप्ने होला । सबैले माटो ओसार्न थाले । तँ जान्छेस् कि म जाम । आज रातो माटो ल्याम, भोलि कमेरो लिन जाम्ला ।”

विनिताले कुनै जवाफ दिइनन् । खुरुखुरु आफ्नो काम गरिरहिन् । आफ्नो कुरा सुनेर पनि कुनै जवाफ नदिएको देखेर प्रमानन्द फेरी बोले,

“हैन किन नबोलेकी ? कि म जान्चु भन्, कि म जान्चु । दुईटैले घर छोड्न मिलेन ।”

“म जान्न, तपाईं जानुस् ।” आफूले गरिरहेको काम जारी राख्दै विनिताले भनिन् ।

“किन र ? मेरो अस्ति सड्केको ढाड अझै विसेक भएको छैन । फेरि माटो बोक्दा बल्झिन्छ कि । केही दिन गरुङ्गो कुरा नउठाउँकी भनेर ।” उनले भने ।

“मैले पनि उठाउँदिन ।” पहिलेकै पारामा विनिता बोलिन् ।

“के भन्छे यो ? दुईटैले नउठाएर आफैँ आउँछ त माटो ?”

“मलाई फेरी शङ्का लागेको छ । केही दिन विचार गर्नुपर्च।” विनिताले मुख फोरिन् ।

“ए हो र ? साँच्चै ?”
विनिता लजाइन् । हात धुने वाहना बनाएर गोठतिर गइन् ।

प्रमानन्दले पारितिर हेरे । धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण हिमाल धेरै दिनपछि सूर्यको प्रकाशमा टिलिक्क टल्किएको आभाष भयो उनलाई । लामो सास फेर्दै कूलदेवता, कालापोखराकी कालिका माई, कोटका छत्रखड्क अनि अरू पनि आफूले जाने बुझेसम्मका सबै देवी देउतालाई सम्झिए । मनमनै सबैलाई नमस्कार गरे र भने, — “प्रभू यसचोटि सबैका आँखा ओभाना बनाइदेऊ ।”

त्यसपछि विनिताका नजिक गए र भने, —
“सबै देवीद्यौतालाई धूपधजो उठाउनु । मनमनै सम्झनु ।”

“सबै गरिसकेकी छु । बिसौनाकी देवीलाई पाठी पनि भाकेकी छु ।”— एकैछिन दुवैका आँखा रसिला भए ।
आज धेरै दिनपछि आकाशमा सूर्य उदाएको महसुस गरे दुवैले ।

प्रमानन्द सबै काम आफैँ गर्थे । कुनै पनि गाह्रो काम गर्न विनितालाई अनुमति थिएन । बिहान सबेरै उठेर पँधेरामा जाने, गाग्रीमा पानी लिएर आउने, बाहिर रसेटामा आगो बालेर भैँसीलाई पानी तताउने र दिने, घाँसपात, गोबरसोत्तर, दोइलाई यी सबै काम प्रमानन्द एक्लैले गर्न थाले । विनिता भित्रको काममा मात्र सिमित भइन् ।
तिनताक गाउँमा कोही बिमारी हुँदा धामीझाँक्रीलाई देखाएजस्तै कुनै समस्या पर्दा वा भविष्यको बारेमा बुझ्न मनलागे ज्योतिषलाई हेराउने चलन थियो । एक दिन दुवै जनाले सल्लाह गरे । प्रमानन्द ज्योतिषीलाई हेराउन पारि गाउँ जाने भए ।

“किन आइस् ?” आँगनमा बसेर हुक्का तान्दै बाबुराम पण्डितले सोधे ।

“चिन्ता र पिरलोले कहिल्यै छोडेन । सन्तानको सुखभोग नगरी मरिन्चकी जस्तै भयो । दुईटी केटी जन्मेर आमा भन्न नपाइ मरे । म त बौलाउछुकी जस्तै भएँ ।” — लामो सास फेर्दै प्रमानन्दले दुःख बिसाए ।

“बेला नआइ केही हुँदैन । त्यसरी आत्तिएर हुन्च त लाटा । ललाटमा लेखेको कसैले मेट्न सक्दैन । तेरो ललाटमा के के लेखेको छ म हेरिदिन्चु ।”

ज्योतिषीको कुरा सुनेपछि प्रमानन्दको मन दुई भागमा विभाजित भयो । ज्योतिषीले चिना हेरिदिने कुरा गरेपछि एउटा मन खुसी भयो । कतै ललाटमै नलेखेको कुरा गरे भने के गर्ने होला ? अर्को मन दुःखी भयो ।

“चिना ल्याको छस् ?” ज्योतिषीले सोधे ।

“छैन ।” प्रमानन्दले सङ्क्षिप्त उत्तर दिए ।

“कस्तो मान्छे होला, कि बनाएकै छैनस् ।”

“छैन ।” ङिच्च हाँस्दै उनले भने ।

“जन्मेको तिथिमिति र समय त थाहा छ ?”

“छ, १९८० साल असोज ६ गते हो ।”

त्यसपछि ज्योतिषीले एक जना कारिन्दालाई बोलाए र भने, — “ए कान्छा, असी सालको पात्रो ले ले ।”

“तुला राशी हो ? न्वारनको नाम ‘ऋ’ बाट आउनु पर्ने ।”

“हो हो गुरु, मेरो न्वारनको नाम ऋषिराम हो । प्रमानन्द त मेरो बोलाउने नाउ हो । सुरुमा पोमा पोमा भन्थे । पछि आफैँले मिलाएर प्रमानन्द बनाएको हुँ ।”

“हुँ हुँ हुँ ।” — पात्रो हेर्दै ज्योतिषी केही बेर गुनगुनाए । अनि खुट्टो हल्लाउँदै र उज्यालो अनुहार बनाउँदै भने,
—“के भन्थिस् रे अगि ?”

“के भनेर खै ?”

“सन्तान भएनन्, अपुताली पर्ने भो भनेको हैनस् ?”

“हो हजुर ।”

“पिर नगर् । सन्तानको धनी छस् । आहा ! तेरा छोराछोरी एक से एक अब्बल हुन्चन् ।” — खुशी हुँदै पण्डितले भने ।

“हो र गुरु ?” प्रमानन्दको आशावादी स्वर हावामा मडारियो ।

“किन हैन ? यी हेर । कसले भन्छ तँ सन्तानहीन छस् भनेर ।” — आफूले लेखेका अक्षर देखाउँदै उनले भने ।

“अर्को कुरा यी यी यी तेरी स्वास्नीका गर्भमा छोराले बास गरिसक्यो । चौपट्टको भाग्यमानी छोरो जन्मन्च । कूलको कीर्ति राख्छ ।”

“साँच्चै हो गुरु !”

“कस्तो कुरा गरेको, मैले मात्रै भनेको हुँ र ? शास्त्रले भनेको, शास्त्रको कुरा कहिल्यै झुठो हुँदैन ।”

“दुईटी छोरी जन्मदै मर्दै गरे ।” — लामो सास फेर्दै प्रमानन्दले अगाडि भने । — “कतै यो पनि….!”

“त्यस्तो अशुभ कुरा सोच्नै हुन्न । सधै राम्रो सोच्नुपर्च । यसमा चिन्ता लिनु पर्ने विषय नै छैन । यसले बज्रभन्दा बलियो ग्रह लिएर आएको छ । केही हुँदैन ।”

सानो टुकी बत्तीको उज्यालोमा पनि त्यो साँझ प्रमानन्दको मझेरी झकिझकाउ उज्यालो देखियो । दुवै दम्पत्तिको अनुहार फक्रेको गुलाव जस्तै भयो । नाति पाउने कुरा सुनेपछि देउरूपाको अनुहार पनि हेर्न लायक भयो । बुहारीप्रतिको उनको दृष्टिकोणमा बिस्तारै परिवर्तन आउन थाल्यो । जेठको महिना आकाश खुला थियो । घाम घर माथि आउँदा नआउँदै सिरसिर हावा चलेर घर अगाडिको नास्पातीका हाँगा हल्लिरहेका थिए । प्रमानन्दका मनमा छटपटी थियो । घरी भित्र घरी बाहिर गरिरहेका थिए । आज के हुने होला ? उनका मनमा यस्तै कुरा खेलिरहेका थिए ।

विनिताले बिहानको खाना पनि राम्ररी खाइनन् । छटपट छटपट गरिरहिन् । सासुले कर गर्दा पनि उनले वास्ता गरिनन् । विनिताले सुरुमा त पीडालाई पचाउन सक्दो कोसिस गरेकी थिइन् । पछि सहनै नसक्ने भएपछि पर पर सुनिने गरी चिच्याउन थालिन् । महिना पुगेको कुरा देउरूपालाई पनि थाहा थियो । आशाका त्यान्द्रा बुन्दै र सन्तोषको लामो सास फेर्दै बुहारीको सेवा गर्न थालिन् ।

“ए कान्छा, जा झट्टै गएर माइलीलाई बोलाएर लेरआ । यो त आत्तिन थाली ।” — देउरूपाले चिच्याउँदै भनिन् ।

माइली गाउँकी सुँडेनी थिइन् । गाउँघरमा पर्दा सबैले उनैलाई बोलाउँथे । अरू महिलाहरू भन्दा उनको अनुभव अब्बल थियो । प्रमानन्द छिटो छिटो ढुङ्गाचौर माइली आमाका घरमा पुगे र एकै सासमा भएको बृतान्त सुनाए ।

“ए हो र ! ल राम्रो भयो । तँ जा म आउँचु ।” उनले भनिन् ।
विनितालाई बेथा लाग्दा घरमाथि आएका सूर्य बिस्तारै बिस्तारै कोटमाथि पुगे तर पनि विनिताको शरीर हलुङ्गो भएन । सुँडेनी र सहयोगमा खटिएका महिलाहरू हैरान भए । घरपरिवार र आफन्तजन सबै आत्तिए ।

विनिता झन् झन् गल्दै गइन् । समस्या बढ्दै गयो ।
“फलानाकी स्वास्नीलाई बिहानैदेखि बेथाले च्यापेको छ रे । अझैसम्म पनि बच्चा जन्मेको छैन रे । मर्नी बाच्नी ठेगान छैन रे !” वरपर हल्ला फैलियो । आफन्त र दाजुभाइहरू जम्मा हुन थाले । सबैले जानेको उपाए गरे तर समस्या घट्नुको साटो बढ्दै गयो ।

“थारपाइलेलाई लिनजानु परो । उनी आए भने हात हालेर पनि झिक्चन् । जातक खेर गए पनि आमालाई त बचाउनु परो नि ।” कसैले भन्यो ।

“हो, हो, उनलाई बोलाउनु पर्च ।”— धेरैले समर्थन जनाए ।झविन्द्रको नेतृत्वमा एउटा टोली थारपाइलेलाई लिन माथि कोटतिर लाग्यो ।

साँझ परिसकेको थियो । थारपाइले आइपुगे । भित्र बिरामीको अवस्था उस्तै थियो ।

“ल नआत्तिनुस् । मैले एउटा सिक्रेट खान्चु र काम सुरु गर्चु । जातकलाई बचाउन नसके पनि आमालाई मर्न दिन्न ।” — यसो भन्दै उनले एउटा चुरोट सल्काए र धुँवाको मुस्लो फाले ।
उनको कुरा सुनेपछि सबै जना आशावादी देखिए ।
थारपाइलेले चुरोट तानेर आधा पनि बनाएका थिएनन् । भित्रबाट ‘च्याँ च्याँ’ आवाज आयो ।

“के भयो हँ ?” सबैले जिज्ञासा राखे ।

“नाति जन्म्यो । जुठोमा लोटाम् कि के गरुँ ।” देउरूपा खुशी हुँदै ढोकाबाटै कराइन् ।

“जुठामा लोटाउन हुन्न, पछि नामै जुठे हुन्च । आफ्नो भाग्गे लिएर आको भए बाँच्च । केही गर्नु पर्दैन ।” —कसैले भन्यो । अरूले समर्थन जनाए ।

“आमालाई कस्तो छ ?”

“नाम्रो छ ।” देउरुपाले भनिन् ।
सबै जनाले अनुहार उज्यालो बनाए ।
ऊ त्यसरी जन्मियो ।

त्यसरी जन्मेको ‘ऊ’ म थिएँ ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

डा. हरिप्रसाद भण्डारी संस्मरण

यो पनि पढ्नुहोस्...

निबन्ध: बादलको रङ्गीन संसार | ज्ञानेन्द्र विवश | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

संस्मरण: कथाकार शुषमा चित्रकारप्रति – २ | हाम्रो कथाघर

व्यक्तिगत निबन्ध: नामको कथा र नामको विवेकशास्त्र | हाम्रो कथाघर

व्यक्तिगत निबन्ध: शिक्षा प्रणाली मात्र होइन समाज र अभिभावकको सोच नै पिछडिएको हो। | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

लघुकथामा एक प्रयोग अङ्क – १६ | हाम्रो कथाघर

भदौ १५, २०८२

लघुकथा: पारदर्शीता | विवेक दुलाल क्षेत्री “दमक” | हाम्रो कथाघर

भदौ १५, २०८२

लघुकथा: समाज | ईश्वर पोखरेल | हाम्रो कथाघर

भदौ १५, २०८२

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: १४

भदौ १४, २०८२

भदौ १३, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.