पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा
समिक्षक: हरिश ‘कल्पित’
कवि, नियात्राकार एवं पत्रकार छविरमण सिलवालको नवीनतम कृति नियात्रा सङ्ग्रह “अमेरिकाको घाम” मेरो हातमा पर्यो । लेखक तथा नियात्राकार छविरमणजीसँगको मेरो परिचय करिब साढे दुई दशक पुग्यो । मेरो पहिलो कृति “आस्था” (२०५७) को समीक्षा लेख्नुभएर उहाँसँग मेरो भेटघाट भएको थियो । भनौँ, अक्षरले जुराएको सम्बन्ध अहिलेसम्म उस्तै मित्रवत् छ । सायद मैले साहित्य क्षेत्रमा उहाँजत्तिको शालीन, भद्र र सहयोगी भावनाको अरू लेखक भेटेको छैन भन्दा पनि अत्युक्ति नहोला । वास्तवमै भन्नुपर्दा छवि जीको साहित्यिक कद उच्च छ । उहाँको एक सफल व्यवसायीको छवि त अलग्गै छ ।
कवि छविरमणको यसअघिको कृति कविता सङ्ग्रह “डोरम्याट” ले पनि साहित्य क्षेत्रमा हलचल मच्चाएकै थियो । उहाँको लेखनशैलीको त म पारखी नै हुँ भन्दा फरक नपर्ला । योभन्दा अघि पनि बेलायतको यात्रासम्बन्धी नियात्रा “ग्रिनविचको साँझ” लिएर आउनुभएको थियो । जे होस्, छविजी जहाँ-जहाँ जानुहुन्छ, त्यहाँ-त्यहाँका बारेमा एउटा कृति नै जन्मन्छ । साहित्यिक वृत्तमा उहाँको वैदेशिक यात्रालाई एउटा उपलब्धि नै मान्नुपर्छ ।
“अमेरिकाको घाम” नियात्रा सङ्ग्रहले पाठकलाई मज्जाले अमेरिकाका केही सहरहरूको भ्रमण गराउँछ । किन हामी नेपालीहरूका लागि अमेरिका सपनाको देश भयो भन्ने कुराको वृत्तान्त यसले प्रस्तुत गर्छ । अमेरिकाका विभिन्न सहरहरूका बारेमा बडो रोचक ढङ्गले लेख्नुभएको छ कि पाठकहरू अमेरिकाकै सहरमा हराउन पुग्छन् । करिब एक सय पचास पृष्ठको यो कृतिमा अमेरिकाका विभिन्न सहरहरूका बारेमा ६ वटा नियात्राहरू समेटिएका छन् ।
यस कृतिको पहिलो नियात्रा “अमेरिकाको घाम” बाट सुरु भएर लस भेगासदेखि लस एन्जलससम्मको यात्रामा टुङ्गिन्छ । अरू पाँचवटा नियात्राहरू स्लोभेनियामा बिताएका दस दिनबाट सुरु भएर “हिउँ पर्दै छ, स्वीमिङ चल्दै छ” मा अन्त्य भएका छन्, जुन युरोप भ्रमणका बारेमा लेखिएका छन् । अर्थात् रोचक-रोचक प्रसङ्गहरूले सिँगारिएको यस कृतिमा युरोपको पनि घाम अनुभव गर्न सकिन्छ । त्यसैगरी, अरू दुई शीर्षकका नियात्राहरूमा छिमेकी देश चीन एवं तिब्बतको प्रसङ्ग जोडिएको छ; जस्तै : “ब्रह्मपुत्रको किनारामा” र “खानाको सहरमा भोकभोकै” । भन्नुपर्दा यसमा एसियाको घाम पनि अनुभव गर्न सकिन्छ ।
कृतिभित्र पाठकलाई बाँधेर राख्ने शक्ति छ । एकचोटि पढ्न सुरु गरेपछि नसकेसम्म पाठकले छाड्न सक्दैनन् । लेखाइ सरल हुँदाहुँदै पनि पाठकलाई आकर्षित गर्ने खालको छ । पाठकले यो कृतिको रसास्वादन गर्दै अमेरिका र युरोपबारे धेरै कुराको जानकारी पाउनेछन् । लेखकले अमेरिकाको विकास देखेर आफ्नो देशको अवस्थाले मन विचलित भएको प्रसङ्ग उल्लेख गर्दा पाठकको पनि मन दुख्छ । उहाँ लेख्नुहुन्छ:
“राज्य सञ्चालकहरू कयौँ पटक यहाँ आएर भत्ता मात्र पचाउने काम गरेका छन् । त्यसैले उनीहरूलाई हाम्रो लेखले के नै हुन सक्छ र ? तापनि आफूले देखेका र भोगेका कुराहरूलाई लेख्ने जमर्को मात्र गरेको छु ।”
(पृष्ठ ४०, अमेरिकाको घाम)
हुन पनि हाम्रा नेताहरूको विदेश भ्रमण जनताका लागि उपलब्धि शून्य छ; केवल घुम्न र मोजमस्ती गरेर भत्ता पचाएर आउने मात्र हो । त्यहाँबाट कुनै कुरा सिकेर देशको हित गर्ने सोच नै नभएपछि कसको के लाग्छ र ? त्यसैले लेखकको निराशा बोल्छ । वास्तवमा आफ्नो देशको दुःख हामी आफैँलाई थाहा हुन्छ । जब विदेश जान्छौँ, त्यहाँको सम्पन्नता, वैभव र विकासले मोहित पार्छ । साथसाथै हाम्रो देशमा किन यस्तो हुन सकेन, किन विकासले फड्को मार्न सकेन भन्ने कुराले मन झनै पिरोल्छ । साधारण मान्छेलाई त यस्तो हुन्छ भने झन् कवि-लेखकहरूको संवेदनशील हृदयलाई आघात नपर्ने कुरै भएन ।
लेखक अमेरिकाका विभिन्न सहर घुमिरहँदा त्यहाँको चिल्लो सडकमा गुडेको गाडीमा बसेर पनि आफ्नो देशका सडकको दुर्दशा सम्झन पुग्छन् ।
“नेपालको सडकको हालत सम्झेर आफैँले आफैँलाई धिक्कारेँ । यस्तै-यस्तै नालायक नेताहरूलाई हामीले निरन्तर भोट दिएर सिंहासनमा बसाएका छौँ । गल्ती हामीजस्ता जनताको पनि हो, राम्रा र केही गरौँ भन्नेहरू यसरी विदेशमा अलमलिइरहेका छन् ।”
(पृष्ठ ५४, अमेरिकाको घाम)
हुन पनि देशको नाजुक अवस्थाले हरेक नेपालीको मन दुख्छ । विदेशको विकास देखेर हाम्रो देशमा किन यस्तो हुन सकेन भन्ने कुराले मन विथोलिरहन्छ । लेखकले यो कृतिमा आफूले बुझेको अमेरिका सहर, विद्यावारिधि गरेको आफ्नो एकमात्र छोरो धेरै वर्षपछि भेटेको हर्षित पल, भाइबुहारीसँगको सामीप्य र पारिवारिक भ्रमणको रमाइलो सबै कुरालाई अति नै रोचक ढङ्गले प्रस्तुत गर्नुभएको छ । पाठकलाई पढ्दा कहिँकतै पनि खिन्न लाग्दैन ।
अरू पाँचवटा नियात्रा युरोपको स्लोभेनिया भन्ने एउटा सानो र सुन्दर देशको भ्रमणबारे लेख्नुभएको छ । त्यहाँको रहनसहन, कला, संस्कृति र चिसो मौसम आदिका बारेमा अति नै रोचक प्रसङ्गहरूलाई कलात्मक ढङ्गबाट लेखिएको छ । यसले पाठकलाई युरोपको भ्रमण गराउँछ । आफ्ना आत्मीय साथी बिरमान श्रेष्ठजी एवं उहाँकी युरोपेली धर्मपत्नी आन्द्रेयाको आतिथ्य सत्कारबाट प्रभावित लेखक भन्नुहुन्छ:
“पहिलो पटक मैले समुद्र नजिकबाट देखेँ । नीलो समुद्रको नुनिलो स्वाद चाख्दै रमाइलो मानेर बिरमानजी अब हामी कोपरमा गएर समुद्रमा नुहाउने भन्दै मलाई लोभ्याउन थाले ।” “त्रिएस्ते मेरो मायाप्रीति गाँसिएको ठाउँ भएर पो तपाईंलाई देखाउन ल्याएको” भन्दै उनी मुसुमुसु मुस्कुराए । हुन पनि माया-प्रेमको हाँसो संसारमा अरू हाँसोभन्दा प्रिय लाग्छ मलाई । मैले केही क्षणअघिदेखि उनको अनुहारमा आएको खुसीको लहर नजिकबाट नियालिरहेको थिएँ । उनी भन्दै थिए, “ऊ त्यही नगरपालिकाको अफिसमा हो हाम्रो लगनगाँठो कसिएको अर्थात् कोर्ट म्यारिज भएको ।” “यो मायाको संसारमा माया नहुँदो हो त कस्तो हुन्थ्यो होला नि बिरमानजी ?” मैले उनको विगतलाई नयाँ मोड दिने प्रयत्न गरेँ । उनले भने, “कस्तो हुन्थ्यो नि बुढा, माया नभएको भए अहिले तपाईं र म यहाँ हुन्थ्यौँ र ?” उनको सटिक उत्तरले म झन् गम्भीर भएँ ।
(पृष्ठ १००, अमेरिकाको घाम)
हुन पनि यो संसार नै मायामा अडिएको छ । माया र विश्वासमा नै सम्बन्ध गाँसिएको हुन्छ । यो कृतिमा भएका रोचक प्रसङ्गहरूले पाठकको ध्यान खिच्न सक्ने सामर्थ्य राख्दछन् । युरोपको घामले पनि पाठकलाई न्यानो पार्छ । बाहिर हिउँ परिरहेको छ, कठ्याङ्ग्रिने जाडो छ तापनि उनीहरूको न्यानो आतिथ्यले लेखकलाई आह्लादित बनाउँछ ।
“हो नि, महिला पार्टीलाई सन्चो भएन रे तर बेलुकाको डिनरका लागि ससुराली नै जानुपर्ने भयो । के हो, तपाईंले के गर्नुभयो मेरी सासूलाई ? सधैँ उतै बोलाउनुहुन्छ त ।”
“खै, नजरवा कि कमाल होला नि… मज्जाले गिलास ठोकाउँछन् त । बुढालाई यो लोकल होइन अर्को वाइन लिएर आऊ भनेर अह्राउँछिन् त ।”
मैले हास्तै भने, “राम्रै हो नि, होइन र ?”
“हो त सर, मलाई सासू आमाले खातिर गरेको देखेर खुसी लागेको छ । जोकोहीलाई त उहाँले मन पराउनुहुन्न ।”
युरोपेलीहरूको आत्मीय व्यवहार देख्दा लाग्छ, हामी एसियालीझैँ युरोपेलीहरू पनि सम्बन्धको अति नै ख्याल राख्ने रहेछन् भन्ने कुरा पाठकहरूलाई छर्लङ्ग हुन्छ । युरोपको परिवेश, साहित्य, कला, रहनसहन र भौगोलिक अवस्था आदिका बारेमा लेखिएका यी नियात्राहरूले युरोप नै पुगेको अनुभूति गराउँछन् ।
अन्त्यका दुई नियात्राहरूमा छिमेकी देश चीनको एउटा प्राचीन सहर कुन्मिङ र तिब्बतको कला, व्यवसाय एवं नेपालीहरूलाई गर्ने व्यवहारका बारेमा पनि खुलेर लेखिएको छ । लेखकले त्यस्तो खानाको सहर कुन्मिङमा कसरी भोकभोकै बस्नुपर्यो भन्ने प्रसङ्गले पाठकलाई अचम्मित तुल्याउँछ ।
“एक दिन दुवै जना हिँड्दै नयाँ रेस्टुरेन्टको खोजीमा थियौँ तर हामीले भनेको जस्तो खाना फेला पार्न सकेका थिएनौँ । होटलमा चिनियाँ अक्षरमा लेखिएका ठूलठूला मेनु हामीले बुझ्ने कुरै भएन । यसो हेरेर फर्कन्थ्यौँ । घुम्दै जाँदा हामी एउटा होटलभित्र पस्यौँ । भित्तामा टाँगिएको मेनु सन्तोष हेर्दै थिए । मैले तन्दुरी जस्तै झिरमा टाँसिएको देखेँ र यसो गएर हेरेको त सिङ्गो कुकुर नै पो रहेछ । मैले हत्त न पत्त सन्तोषको हात समातेर तानेर बाहिर निस्केर छिटोछिटो हिँडेँ । सन्तोष ट्वाँ परे । केही पर पुगेपछि मैले सबै कुरा बताए । सन्तोषले मुख बिगारेर भन्यो- आज केही नखाने !”
(पृष्ठ १२३, अमेरिकाको घाम)
यसरी देशअनुसारको भाषा, संस्कृति, रहनसहन र खानपान बेग्लाबेग्लै हुने र कसैका लागि मीठो परिकार कसैका निम्ति देख्दैमा दिगमिग लाग्ने हुन्छ । यस्तै-यस्तै रोचक प्रसङ्गले “अमेरिकाको घाम” नियात्रा सङ्ग्रहका पानाहरू भरिएका छन् । पढ्दा पाठकहरूमा कौतूहल जाग्छ र नियात्राप्रति मोह बढ्छ । यति उत्कृष्ट कृति पाठकमाझ ल्याइदिनुभएर पाठकलाई गुन लगाइदिनुभएकोमा कवि एवं पत्रकार छविरमण सिलवालज्यू प्रति हार्दिक नमन व्यक्त गर्दछु ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



