स्रष्टा परिचय:
वि.सं. २०३० असारमा जहडा, उदयपुरमा माता भगवती र पिता विष्णुप्रसाद आचार्यका सुपुत्रका रूपमा जन्मिएका नन्दलाल आचार्य नेपाली साहित्यका एक स्थापित स्रष्टा हुन् । हाल बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुरमा बसोबास गर्दै आएका उनले सानैदेखि नेपाली साहित्य लेखनमा रुचि राख्दै वि.सं. २०५३/५४ देखि विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू प्रकाशन गर्दै आएका छन् ।
साहित्यमा निरन्तर सक्रिय आचार्य नेपाली भाषाका प्रायः सबै विधामा कलम चलाउँछन् । उनका नाटक, समालोचना, निबन्ध, उपन्यास, लघुकथा र कथा विधाका कृतिहरू प्रकाशित छन् । उनले नेपाली साहित्यमा पुर्याएको योगदानका लागि एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।
हाल उनी विभिन्न साहित्यिक पत्रपत्रिका तथा संघ-संस्थामा आबद्ध रही नेपाली साहित्यको सेवामा समर्पित छन् । उनका महत्वपूर्ण कृतिमध्ये “गरुराहा” उपन्यास विशेष रूपमा चर्चित छ, जसलाई जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरले वि.सं. २०७६ मा प्रकाशित गरेको थियो । सो उपन्यासलाई “हाम्रो कथाघर डट कम” अनलाइन पत्रिकाले डिजिटल रूपमा पुनः प्रकाशन गरेको छ ।
अध्याय: ०५
ज्योति ! तिमीलाई म गरुराहाको भूतप्रेतको संसारमा विचरण गराउँदै छु । त्यहाँ भएका अविश्वास र अन्धविश्वासलाई उदाङ्गो पार्दै छु । मृत्युको अगाडि मायामोह पराजित भएको इतिवृत्ति सुनाउँदै छु । मेरा अभिभावकहरूको सोच र समझलाई तिमीकहाँ पठाउँदै छु । तिमी के–कति मात्रामा जतन गरेर राख्छ्यौ र के भन्न रुचाउँछ्यौ ! त्यो तिम्रो क्षेत्राधिकारको कुरा भयो । म भने अहिले त्यतैतिर लागेँ, है त !
लगातारको खडेरीले आँखामा आँसु त आएको थियो तर रुवाबासी भने भएको थिएन । २००७ सालको क्रान्तिसँगै गरुराहाको प्रकृतिले अर्को क्रान्ति गर्यो । खडेरी हटेर गयो । हैजा फैलिएर आयो । ओखतीमूलोको व्यवस्था छँदै थिएन । धन भएकाहरू देश–विदेश पुगेर उपचार गर्थे । रोगले छुँदै नछोओस् भन्ने कुरामा होसियार हुन्थे । धन नभएकाहरू कुरा पनि बुझ्दैनथे । आफ्नो सुरक्षा कसरी गर्ने भन्ने कुरामा अनभिज्ञ थिए । अझ भ्रम व्याप्त थियो ।
भूतप्रेत लागेर हैजा फैलिएको भनाइ व्याप्त थियो । रोगले छोएका मान्छेलाई पानी पिउन दिनुहुन्न भन्थे । भूतप्रेतले छुन्छ र रोग सर्छ भनेर बिरामीको वरपर जाँदैनथे । बिरामीले पानी खाला, अन्त कतै हिँड्ला र रोग फैलिएला भनेर होसियारी अपनाउँथे । बिरामीलाई घरमै थुनेर राख्थे । जहाँ बिरामी थुनिन्थ्यो, त्यहाँ कोही जाँदैनथे । बिरामीले बोलेको कुरा पनि भूतले बोलेको ठान्थे । सुन्दासुन्दै वाक्क भएकाले सद्दे मानिसहरूका लागि त्यो क्रन्दन सामान्य लाग्थ्यो ।
जो बिरामी हुन्थ्यो ऊ पानी पिउन माग्थ्यो । प्यासले गर्दा ज्यान जान लागेको अनुभूतिका साथ भगवान्को नाममा पानी देऊ भन्ने क्रन्दन सुनिन्थ्यो । मर्नुपर्छ भने भरपेट पानी पिएर मर्छु भन्नेहरू पनि हुन्थे— ‘पानि ! पानि ! हमरा पानि दे । पिआससे जान जा रहल छै । पानि पियै लऽ दे । भगवानके नाममे हमरा पानि दे । मरैयै पड़तए तऽ भरिपेट पानि पिबि कऽ मरवै । पानि विना हम बाजैओ लऽ नइँ सकैछी, हौ भगवान । पानि दे न ।’
एउटै किसिमको रोदन सर्वत्र गुन्जिरहन्थ्यो । क्रन्दन सुन्नेहरू भूतलाई बाँच्नै गाह्रो परेको बुझ्दथे र चाँडै घर छोडेर भाग्नु बुद्धिमानी ठान्दथे । हैजासँग प्रतिरोध गर्ने क्षमता बिरामीमा भए पनि भोक र तिर्खाले गर्दा रोगीको शरीरमा प्रतिरोधात्मक शक्ति कमजोर थियो । गरुराहा गाउँ नै पानीका लागि चिच्याइरहेको सुनिन्थ्यो । बिरामीलाई बाँच्न सकोस् भनी थोरै खाना दिइन्थ्यो । खाए–नखाएको हेरचाह गर्ने कोही हुन्नथ्यो; किनभने रोग सर्ने डरले उसको नजिक कोही पर्न चाहँदैनथ्यो ।
गाउँको पूर्वी भागमा एउटा फाँट थियो । छेउछाउमा झोक्राझोक्री थिए । त्यो दिउँसै स्याल कराउने सुनसान स्थल भनी चिनिन्थ्यो । त्यहाँ तीन कुना भएको पोखरी निकै गहिरो थियो । पानीको अभावले सुख्खा थियो । गहिरो भागमा केही पानी हुँदो हो । मान्छेहरू त्यही पोखरीको किनार भएर आवतजावत गर्थे । खरचुहिया चोक जाने त्यही मूल बाटो थियो । छुतहरूको बस्ती भने केही टाढा थियो । पोखरीदेखि सबैभन्दा नजिक भनेको त्यही चमारबस्ती गरुराहा मात्र थियो ।
विडम्बना नै भन्नुपर्छ; सुरुसुरुमा मर्नेहरूलाई जलाइयो । दिनानुदिन सङ्ख्या बढ्दै गएपछि खाल्डो खनेर गाड्न थालियो । अझ गाउँ नै रित्तिने गरी दिनहुँ मर्नेको सङ्ख्या बढ्दै जाँदा र रोग सर्ने त्रास फैलँदै जाँदा लास घिसार्दै बयलगाडीमा हालेर नजिकैको विशाल तीनकुने पोखरीमा फाल्न थालियो । कुकुर–बिराला मरून् कि मान्छे स्वर्गे होऊन्, एकै प्रकारले र एकै हिसाबले पोखरीमा फ्याँक्न थालियो ।
फ्याल्नु विवशता थियो । घाटमा दाहसंस्कार गर्ने मान्छेहरू नै थलिएका थिए । छुतहरूले छुने कुरै आउँदैनथ्यो । काजक्रियाका लागि खर्च जुटाउँदा समेत ऋणमा जाकिन्थे । दिनानुदिन गरुराहा गाउँ नै सिकिस्त भयो । गरिबी नराम्ररी झ्याङ्गियो । त्यस पोखरीमा काग, कुकुर, गिद्ध र स्यालहरूको रजाइँ थियो । उनीहरूका लागि दशैँ नै आएको थियो । मान्छेको बस्तीमा भने आँसु रित्तिएको अवस्था थियो । मान्छेको मासु नखुवाईकन गिद्धहरूका बच्चाहरू उड्दैनन् अरे ! गिद्धलाई पनि मान्छेको मासु सजिलै प्राप्त थियो । मांसाहारी जनावरहरूमा आनन्दको वर्षा भइरहेको थियो भने मानव समुदायमा शोकको बाढी उर्लिरहेको थियो ।
हो, त्यसै पोखरीमा मेरै परिवारका, एकै आँगनका नौ जना हजुरबुबा, हजुरआमाहरू फ्याँकिए । सास रहुन्जेल पानी पिउने झिनो आश गर्दै भनिरहे— ‘पानि ! पानि दे । हमरा पानि दे ।’ पानी दिनु भनेको विष पिलाउनु हो भन्ने कुरूप मानसिकता नभएको भए गाउँ नै सखाप हुन्नथ्यो होला । भोकप्यास मेट्न पाएका भए, गाउँघरकै जडिबुटी नै भए पनि खान पाएका भए प्राण गुमाउनु पर्दैनथ्यो होला । ‘हेरेर मर्नुभन्दा छेरेर मर्नु जाति’ भनेझैँ जे भए पनि खान दिएको भए अहिले गुनासो गर्ने कुरो रहन्नथ्यो होला । सुन्ने र बुझ्नेको मन समेत कुडिँदैनथ्यो होला ।
विशाल पोखरी लासले भरिँदै गइरहेको थियो । गाउँ छाडेर भाग्ने पुरुष पात्रहरूको सङ्ख्या दिनानुदिन बढ्दो थियो । दिनमा पचासै जना मरे पनि ‘कठैबरा’ भन्ने मन कसैको हुन्नथ्यो । बरु त्यसले दुःखको मुन्टै लुकायो भन्ने गर्थे । काजक्रियामा बसेका मान्छे पनि ढल्थे । क्रिया गर्ने मान्छे नै नरहीकन पनि परिवारै सखाप भए । मेरै परिवारमा पनि बुबा सानै थिए । अरू काकाहरू कोही टुकुटुकु हिँड्थे । कोही कोक्रामै च्याँच्याँ र म्याम्या गर्थे ।
धन्न ती लहानवाली खटरी दादी चाहिँ बाँचिछिन् र भकाभक मरेका ती आफन्तको लासलाई विसर्जन गरिछिन् । खटरीले चार छोराहरूलाई हुर्काइछिन् । नत्र कल्पना गर्न सकिन्छ— भर्खर संसारको सुवास लिइरहेका चेतनाशून्य ती टुहुरा बच्चाहरू भोकतिर्खाले प्याकप्याक्ती मुख बाउँदै मर्थे होलान् । किनकि त्यस गाउँमा अरू ठाउँका आफन्तहरू पनि प्रवेश गर्दैनथे । रोग सर्ने र भूत लाग्ने डर एकै साथ थियो । जानी–जानी मृत्यु डाक्न को जाने र ! मलाई त मर्न मन छैन भन्ने जस्ता कुरा गर्थे ।
मान्छेमा हुने संवेदना त्यस भयावह स्थितिमा हराइसकेको थियो । उसो त बाहिरी गाउँका केही आफन्तहरू आएर परपर उभिएर हेरविचार नपुर्याएका होइनन् । जसले जे गरे पनि हुने कुरा भइरहेकै थियो । बिमारले छोएका सबै जना बिते भन्ने पनि छैन । केहीले अझै पनि संसार हेरिरहेकै छन् । मेरी ती खटरी दादीले मेरा बुबा र काकाहरूलाई खुट्टा मात्र टेकाइनन्, संसारसँग सङ्घर्ष गर्ने तालिम पनि दिलाइन् । उनले दिएको तालिमकै कारणले मेरा बुबाले दुनियाँका लागि धन बटुलिदिए । आफ्ना लागि केवल रोगी शरीर मात्र साँचेर राखे । मेरा जेठा काका किसनले मालिकहरूको सेवामा भोकै र तिर्खै खटेर प्राण नै अर्पण गरे ।
कामतमै काम गर्दागर्दै उनको जीवनलीला समाप्त भयो । यद्यपि उनले लिएको अन्नको दाम चुक्ता भएन । उनी ऋणमै जन्मे, ऋणमै हुर्के र ऋणमै विलाए । कामतवालाले एक पैसो क्षतिपूर्ति दिएन । ऋण चुक्ता भयो भनेर सान्त्वना समेत दिएन । बरु उनले दिएको उत्सर्गले अरूहरूलाई भने केही राहत भयो । उनीझैँ बन्धुवा नोकरहरू बुढो भएमा वा रोगी देखिएमा परिवारजनसँग दुःख–सुख बाँडेर आफ्नै घरमा बस्न पाए । रोगी र अशक्त भएपछि निःशुल्क कामतमा खट्नुपर्ने अत्याचारबाट मुक्त भए । यो कामतवालाहरूको दयालु भावना होइन; यो त तिनीहरूको बाध्यता थियो । लोकलाजबाट बच्ने एउटा गुरुयोजना थियो ।
×××
हरिया मोचीको जेठो छोरो बिहे नभई बित्यो । भूतले मार्यो भनियो । हरियाको घरमा भूत पसेको ठानियो । उसले सपरिवार घर त्यागिदियो । गुहालीलाई घर सम्झी बस्न थाल्यो । शोकमा डुबेकै बखत अर्को विपत्ति थपियो । कान्छो छोरो रतुवा समेत थलियो । भूतले पक्रियो भन्ने हल्ला चलाइयो । रतुवालाई घरमा ल्याएर थुनियो । उसलाई पखालाले सताएको थियो । बेलाबेलामा ज्वरो पनि आउने गर्थ्यो । ऊ कोठाभित्र निस्लोट भएर सुत्यो । भोक–तिर्खा सबै पचायो । आमाबुबा चाहिँ गाईभैँसीसहितकै गुहालीमै सुते ।
भूतले छाडेछ भने छोरो भनौँला, नत्र यसलाई पनि गुमाउनु पर्ने भयो भन्ने सोचेर रोइरहे । जेठो बितेको तेह्र दिन पनि बितेको थिएन । बाँकी रहेको एक मात्र सन्तान पनि मृत्युको मुखतिर गइरहेकोमा उनीहरू बडो विषादमा परे । भगवान्लाई पुकार्दा भए । दुःखीका थाप्लामाथि भगवान्ले अझ दुःख थपेकोमा उनीविरुद्ध नै खनिने आशय व्यक्त गरे । करुणाका पुञ्जले दुःखीको दुःख हरण गर्न सक्नुपर्ने विचार समेत एक–अर्कामा बाँडचुँड गर्दा भए । रुँदारुँदा कतिखेर निद्रादेवीका शरणमा पुगे, उनीहरूलाई पत्तो नै भएन ।
उता राति २ बजे रतुवालाई ज्वरोले छाड्यो । उठेर ढोका खोल्न खोज्यो । बाहिरबाट साङ्लो मात्र लगाइएको थिएन, भोटे ताल्चा समेत झुन्ड्याइएको थियो । टाँटी भत्काएर बाहिर निस्कने बल थिएन । कट्टुमै दिसा–पिसाब गरेको थियो । कोठा गन्हाएर बसी नसक्नु भएको थियो । तिर्खाले घाँटी प्याकप्याक्ती भएको थियो । घरबाहिर कसैको चालचुल थिएन । ऊ जोड–जोडले करायो । रोयो, पछारियो । थाक्यो र हिक्क–हिक्क गर्दै त्यसै निदायो ।
केही बेरमै उठ्यो । तिर्खाले सताएकाले पानी माग्दै आमालाई पुकार्दो भयो— ‘माए ! पानि ! पानि दे ने ! पिआस लागल अई । पानि पिबै ।’ क्रन्दन बढ्दै जाँदा निकै बेरपछि हरिया दम्पती ब्युँझिए । छोराप्रति दयाभाव देखाउनुको सट्टा अझ भयभीत भए । उनीहरूले छोराको बोलीमा भूत बोल्दै गरेको ठाने । भूतले रतुवालाई खाइसकेको ठहर गर्दै आँखाभरि आँसु बनाएर हरियासँग टाँसिँदै श्रीमती बोली— ‘बेटाके बोली जकाँ बना कऽ भूत बाजि रहल छै । पक्के भूत ने रतुवाके खेने हेतै ।’
दुवै दम्पतीलाई खानको लागि भूतले बोलाएको ठहरका साथ हरियाले पनि आँसु पुछ्दै आशङ्का जाहेर गर्यो— ‘आब हमरा सभकें खाइ लऽ बजा रहल छै ।’ दुवैले एक–अर्काको बाहुपाश नछाड्ने निर्णय गरे । भूत आएर खाएमा पनि दुवैलाई एक साथ खाओस् । दुवै छोराहरूलाई खाइसकेपछि हामी मात्र भूतबाट जोगिएर हिँड्नुको के मतलब ! उनीहरूले दुईमध्ये एकलाई छाडेमा बाँच्न गाह्रो हुने निष्कर्ष समेत निकाले ।
उनीहरू खुसखुस कानेखुसी मात्र गर्थे । एक शब्द पनि बाहिर निकाल्दैनथे । आँगनमा भूत उभिएको छ र उनीहरूलाई छोराको स्वरमा डाकिरहेको छ, त्यता जानासाथ त्यसले एकै गाँस पार्छ भन्ने सोच्न थाले । उता रतुवा भने पानीका लागि पुकारा गरिरहेको थियो । कोही नआएपछि रुवाइको आवाज मन्द मन्द पारिरहेको थियो । मधुर स्वरमा रुँदारुँदै त्यत्तिकै फेरि निदायो ।
बिहानीपख ब्युँझियो । दिउँसो आमाले बाहिरफेरो जान नहुने, पानी खान नहुने, नत्र भूतले अझै सताउने र चाँडै मर्नुपर्ने कुरा गरेको सम्झियो । जे भए पनि पानी त पिउँछु पिउँछु, जसो गरे पनि पिउँछु पिउँछु भन्ने अठोट उसको मनमा आयो । बाँसको ढोकाको प्वालबाट घरभित्र चोर कुकुर छिर्ने गरेको उसले थाहा पायो र जसोतसो घस्रिँदै ऊ बाहिरियो । गाग्रो रित्तिउन्जेल पानी पियो । नजिकैको पोखरीमा गएर मज्जाले नुहायो । कट्टु परिवर्तन गर्यो र जस्ताको त्यस्तै भई चोर बाटो भएर कोठामा छिर्यो । अब भने ऊ ढुक्क भयो । कोठाको एक कुनामा बोरा ओछ्यायो, त्यहीँ पल्टियो । अर्को बोरा ओढ्यो र मज्जाले निदायो ।
एकाबिहानै उठ्यो । आमालाई बोलायो । हरिया दम्पती डरले छेउमै परेनन् । निकै बेर आमालाई ढोका खोलिदिनका लागि बोलायो । कोही नआएकाले ऊ त्यही चोर बाटो भएर बाहिरियो । रतुवा आँगनमा उभियो । चारैतिर सुनसान थियो । मान्छेको चालचुल कतै थिएन । उज्यालो हुनै लागेको थियो । ‘कि गाउँका सबै मान्छे मरे ! मेरा बुबाआमा पनि बिते कि !’ नानाभाँतीका आशङ्काहरू उसको मनमा आए ।
ज्वरो पनि छैन, पखाला पनि लाग्दैन तर भोकले सताएकाले आमाले खाना दिन्छिन् कि भन्ने आशाले रतुवाले आमालाई बोलाउन थाल्यो— ‘माए ! हम जीबिते छी, माए । आब हमरा जर सेहो नइँ लागल छै । पेटझड़ी सेहो नइँ लागल छै । अखैन हमरा भूख लागलं छै । माए ! खाइ लऽ दे ने गे माए ! तुँ कतऽ गेलही, माए !’ निकै बेरसम्म रतुवा रुँदै आमालाई बोलाउँदो भयो । उता हरिया दम्पती चाहिँ गुहालीमै गाईभैँसीसँग छलिएर रहँदा भए । बाहिर निस्के भूतले पक्रने भयले झन् हलचल नगरी ठूलो श्वास पनि फेर्न सकेनन् । रतुवाको करुण रोदन नमीठो तवरले फैलियो । टाढा–टाढासम्म पुग्यो ।
त्यसलाई हेर्न कोही पनि आएनन् । ऊ जस्तो सिकिस्त भएको मान्छे कोही बाँचेकै थिएन । ऊ मरिसक्यो भन्ने सबैले ठाने र दिउँसै भूतले तर्साइरहेको महसुस गरे । घाम निकै माथि पुगेपछि मात्र सबै गाउँलेहरू उठ्थे । एकाबिहानै उठेर यताउता गर्ने हिम्मत कसैको थिएन । रुवाइलाई पचाउन नसकेर आमा चाहिँ उठेर यसो प्वालबाट चियाइन् । रतुवा पो बीच आँगनमा बसेर रोइरहेको देखियो । हत्त न पत्त हरियालाई कोट्याइन् । दुवै उठे र आँगनतिर लम्के । रतुवालाई उठाएर काखमा लिए । सुम्सुम्याए । खानेकुरा खुवाए । पछि विस्तारै रतुवा तन्दुरुस्त हुँदै गयो ।
त्यस दिनदेखि हरियालाई भूतप्रेत केही होइन भन्ने लाग्यो । हो नै भने पनि आफ्नो छोरालाई प्राणदान दिने भूतप्रेत शत्रु नभएर मित्र भएको कुरा गर्दो भयो । कतिपय गाउँलेहरू जेठो छोराको शोकले हरियाको दिमागको नटबल्टु खुकुलो भएको जिकिर गर्दा भए । ऊ जतिबेला पनि बाहिरफेरो घुमफिर गर्दो भयो । हैजाले थलिएका परिवारकहाँ गई काम गरिदिँदो भयो । मरेका मान्छेहरू सबैजसोलाई पोखरीमा फालेर आउने काममा ऊ नै अघि हुन्थ्यो । ऊ एकै पटकमा दुई वटासम्म लास बोक्थ्यो ।
ऊ त्यसरी जुट्न थालेपछि चमारबस्ती मानिसहरूको लास–दुर्गन्धबाट बचेको थियो । नत्र भने मरेको दुई–तीन दिनमा मात्र लास फ्याल्ने काम गरिन्थ्यो । मान्छे नभएर त्यस्तो अवस्था आएको थियो । ज्योति ! मेरा पिता लक्ष्मी उमेरले काँचा भए पनि हरियाका दौँतरी भएका थिए । उसलाई हरतरहले सहयोग पुर्याउँथे । घरमा बस्न अङ्कुस लगाउने सदस्यहरू नभएपछि गाउँभरि चहारेर हिँड्थे । बिमारले थलिएका परिवारकहाँ पुगी गाईभैँसी–बाख्रापाठा भोकाएको र रोगाएकोमा फिक्री गर्थे । बारीमा लगेर बाँधिदिने, घाँस–पराल हालिदिने, पानी–खोले खुवाउने जस्ता काम गरेर उनी दिन बिताउँथे । उनलाई आफ्नो चिन्ता थिएन; खाली अरूको चिन्ता मात्र गर्थे । खटरी दादी झर्कोफर्को गर्थिन् । भाइहरू सम्हालेर घरमै बस् भन्थिन् । दादीको क्रोध उनलाई स्वाभाविक लाग्थ्यो । कहिलेकाहीँ उनी हात उज्याउँथिन्, त्यसलाई उनी आशीर्वाद ठान्थे । आमा भने पनि, बाबु भने पनि उनी मात्र थिइन् । त्यसैले पनि उनी नतमस्तक थिए । भूतप्रेत के हो र हैजा केको नाम हो, त्यस बारे उनलाई केही थाहा थिएन । एकातिर कलिलो उमेरका थिए भने अर्कातिर सुझ न बुझका लाटा नै थिए ।
∎∎∎∎∎
क्रमशः
–०००–
तपेश्वरी–१, गल्फडिया, उदयपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



