Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

अर्घाखाँचीमा दुई साहित्यिक कृति विमोचन

पुस २५, २०८२

बाल लोककथा: नयाँ युगको सुरुवात | हाम्रो कथाघर

पुस २४, २०८२

बाल-उपन्यास: अद्भूत विवाह भाग: ०३ | हाम्रो कथाघर

पुस २४, २०८२

समीक्षा: शब्दमा जीवन र भावनाको त्रिवेणी: ‘आस्था’ र ‘ग्याब्रियले’ को संयुक्त समीक्षा

पुस २३, २०८२

समीक्षा: जरत्कारु: नारी सशक्तिकरणको पौराणिक पुनर्पाठ | हाम्रो कथाघर

पुस २३, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » नियात्रा: निर्वस्त्र रातमा प्रेमको कोसेढुङ्गा | हाम्रो कथाघर

नियात्रा: निर्वस्त्र रातमा प्रेमको कोसेढुङ्गा | हाम्रो कथाघर

गैर आख्यान - नियात्रा
डा. दामोदर पुडासैनी किशोरडा. दामोदर पुडासैनी किशोरपुस २२, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

नियात्रा: निर्वस्त्र रातमा प्रेमको कोसेढुङ्गा
— डा. दामोदर पुडासैनी ‘किशोर’


अजस्र शक्ति ब्युँतिन्छ निर्वस्त्र प्रेमका आँकुराबाट ।

जोमसोमको माथिल्लो बजारबाट छुक्साङका लागि गुड्न ठिक्क परेको रहेछ बस । हतार-हतार हामीले टिकट किन्यौँ । मान्छेको धुइरो र सामानको बैरालाले टेक्ने ठाउँ थिएन । खाङ्ग्रे डोकोमा खसीबोका झैँ रुल्लटुल्ल उभियौँ । हाम्रो बस कुदेपछि दक्षिणतिर पूरै सेताम्य देखियो निलगिरि । हात अलि तन्काए चुचुरोसम्म नै सुम्सुम्याउन सकिने जस्तो लाग्दथ्यो । भिरमा भेडा बत्तिए झैँ गुडिरहेछ हामी चढेको मिनीबस । मिनीबस नै नअटाउने जस्तो साँघुरो बाटो छ कालीगण्डकीको किनारैकिनार । खोलाको विपरीत उत्तरतिर उक्लिन खोज्दैछ हाम्रो गाडी । अब रुखपात भन्नु कतै-कतै अञ्जुलीमा अटाउने ससाना बुच्काहरू मात्र देखिन्छन् । एकातिर धौलागिरि, अर्कातिर निलगिरिले बिचको घामलाई जिस्काइरहेछन् । जतिसुकै चम्किए पनि बादल र कुहिरोले इन्तु न चिन्तु बन्न खोज्दैछ घाम । भर्खरकी गुदुमुने छोरीले बाबाको काँधमा चढ्दै ओर्लँदै गरे झैँ चुचुरादेखि धाडसम्म नै बेरिँदै, फैलिँदै, ढाक्दै, हराउँदै चर्तिकला प्रदर्शन गरिरहेछ कुहिरोले ।

दुईतिर फुस्रे पहाडहरूको माझमा फैलिएको छ कालीगण्डकी । संसार गेरु रङ्गमा छ, गेरु रङ्गमै बगिरहेछ कालीगण्डकी । नदीको माथितिर सेताम्य उडिरहेछ भुइँकुहिरो । कुहिरोले होइन, बालुवाले बनाइरहेछ भुइँकुहिरो । बगर नै उठेर उड्न थालेपछि लेप्सिँदै लेप्सिँदै कुलेलम ठोक्दो रहेछ नदी पनि । “एक पटक सुसेल्दा एक कोस बाटो नाघिन्थ्यो । खुट्टैले नाघिन्थ्यो । अहिले मोटर पाएर मात्तियो गोडा” — मेरो दायाँ सिटमा बस्नुभएका ग्याल्जेन दाइको गुनासो थियो । भन्दै हुनुहुन्थ्यो — “जति साधन भेटियो त्यति अल्छी बन्दो रहेछ ज्यान । दुःख नभोगेको ज्यान र हुरी नखेपेको रुख दह्रो हुनै सक्तैन ।”

मैले त्यसअघि नै जोमसोमदेखि मुक्तिनाथसम्म एक पटक पैदल र एक पटक सरकारी गाडीमा यात्रा गरिसकेको थिएँ । यस पटकको बसको त्यो धुस्नुकोच्याइ यात्रा भने सबैभन्दा झुर लागिरहेथ्यो । नाम मात्रको बस छ, सजिलोसँग बस्न नपाइने । ड्राइभर र कन्डक्टरले यात्रुलाई हेपेको र चेपेको देख्दा वाक्कदिक्क भइने । सम्झाऊँ भने कुटाइ खाइएला भन्ने डर । सिटमा सँगै बसेका सहयात्रीसँग यसो दुःख-सुख साटौँ भने क्यासेटमा घन्किएको गीतको चर्को आवाजले कान फुट्ला भन्ने डर । कुराकानी त सुन्नै पाइने होइन । यस्ता पहाडी र हिमाली भेगमा त पैदल यात्रा नै बेस रहेछ । कम से कम माटोसँग स्पर्श गर्न र मान्छेसँग संवाद गर्न त निस्फिक्री पाइन्छ ।

माटोको सुवास चाख्न नपाउने र मान्छेको स्पर्श नपाउने हो भने यात्राको कुनै अर्थ हुँदैन । पहाडहरूमा अब एक सिन्को घाँस पनि कतै देखिँदैन । झन्-झन् रहस्यमयी र झन्-झन् रङ्गीन लाग्दैछन् तिनीहरू । गेरु रङ्गे पहाडहरू आफैँमा बहुरङ्ग र बहुरूपी बनेर उठिरहेछन् । कालीगण्डकी बगरभरि शालिग्राम खोज्नेहरू झुण्ड-झुण्ड देखिन्छन् । ठाउँ-ठाउँ बेच्न पनि राखिएका छन् ।

नाङ्गा पहाडहरू नाघ्दै पूर्व दिशा मुक्तिनाथतिरबाट झरेको कागखोला र उत्तर दिशाबाट आएको कालीगण्डकीको सङ्गमस्थल नै कागबेनी हो । ‘तिब्बती शब्द ‘काक’ अर्थात् ‘खण्ड’ वा ‘अवरोध’ र नेपाली शब्द ‘बेनी’ अर्थात् ‘दुई नदीको सङ्गम’ को योगबाट ‘काकबेनी’ नाम रह्यो । पछि यसैलाई ‘कागबेनी’ पुकार्न थालियो’ भन्ने मैले कतै पढेको थिएँ । हो, त्यही कागबेनीमा पुग्यौँ हामी, घाम ओरालो लागिरहेका बेला ।

प्राकृतिक रूपमा जति अलौकिक छ कागबेनी, धार्मिक रूपमा त्यत्तिकै स्तुत्य छ । हिन्दु र बौद्ध अनुयायीहरू उत्तिकै आस्थाले सल्बलाइरहेका देखियो कागबेनीमा । कागबेनीको धार्मिक प्रसङ्ग अर्थ्याउँछु म साथीहरूलाई — पौराणिक कालमा निलगिरि पर्वतमा आश्रम बनाई बस्दथे कागभुसुण्डी ऋषि । उनी दैनिक कृष्णगण्डकी र कागखोलाको सङ्गम त्यही कागबेनीमा स्नान गर्दथे । त्यसैबेला सप्तऋषिहरूले सुखपूर्वक तपस्या गर्ने ठाउँ भेटेनन् र सोध्न पुगे कागभुसुण्डीकहाँ । उनले त्यसका लागि कागबेनी सबैभन्दा पवित्र र उपयुक्त स्थल भएको बताएपछि उनीहरू त्यहीं बसी तपस्या गर्न थाले । ती ऋषिहरूले त्यहाँ पिण्डतर्पण गरेका कहानी सुनेपछि आज पनि कयौँ आस्थावान्हरूले त्यहाँ श्राद्धतर्पण गरेका भेटिन्छन् ।

सुनौला पहाडहरूको माझमा आँखाको नानी जस्तो, मरुभूमिको पानी जस्तो र एक्कासि भेटेको मोती जस्तो बाँचिरहेछ कागबेनी । पूर्वतिरबाट भिरालिँदै पश्चिमतिर झरेको, दक्षिणबाट अग्लिँदै उत्तरतिर फैलिएको भूभागमा तिब्बती शैलीका आकर्षक घरहरू छन् । घरका बिच-बिचमा स्याउ, खुर्पानी र आरुका बोटहरू छन् । छेउ, कुना, उकालो, ओरालो ठुला-ठुला बैँसका रुखहरू छन् । उत्तरी कुनामा फैलिएको बस्ती माझमा पुरानो दरबारको भग्नावशेष झन्-झन् जीर्ण देखिँदैछ । दक्षिणतिर ढुङ्गाको ठुलो पर्खालले घेरिएको भिरालो फाँट छ । कागबेनीवासीले त्यही फाँटमा आफ्नो जाँगर उमारेका छन् मकै हुर्काएर, गहुँ उमारेर, जौ, उवा, फापर, आलु र किसिम-किसिमका हरिया तरकारी सपारेर ।

हामी चढेको बसले बजारको शिरदेखि पुच्छरसम्म एक फन्को लगायो र मोडियो उत्तरतिर । त्यताबाट पूर्वतिर उकालो चढे मुक्तिनाथ पुगिन्छ र उपल्लो मुस्ताङ जान उत्तरतिर लाग्नुपर्छ । हामी चढेको बसले छुक्साङसम्म लगिदिने कार्यक्रम छ । कागबेनी बजार सुन्दर छ, तर सुनसान छ । दुई हजार आठ सय दस मिटर उचाइमा रहेको कागबेनीका हरेक घरका छानामा बौद्ध श्लोकहरू लेखिएका लुङ्दरहरू फहराइरहेछन् । घरहरू, पसलहरू र होटलहरूमा झ्याल र ढोकाहरूमा सिसा जडिएको छ, तर ती सबै बन्द छन् । अत्यधिक बतास चल्ने भएकाले र हिउँदभर हिउँ पर्ने भएकाले झ्याल-ढोका बन्द गर्ने चलन चलेको हुन सक्छ । माटाको पर्खालले बनाइएका घरहरू, शुष्क किसिमको हावापानी, तिब्बती बोलीचाली रहनसहन, ढुङ्गाका विशाल पर्खालहरू देख्दा बिल्कुलै नयाँ संस्कृतिमुक्त सहरमा पुगेको महसुस भयो हामीलाई । घर र बस्तीको बनोट हेर्दा त्यसले कुनै प्राचीन किल्लाको आभास दिन सफल बनिरहेछ, साँघुरा गल्ली र पुराना घरहरूले पुरानोपनको झल्को दिइरहेछन् ।

प्याजी रङ्गको बख्खु र पाइन्ट पहिरेका एक हुल मान्छेहरू दक्षिणतिरबाट उकालो चढ्दै थिए । उनीहरू सबैको हातमा माने घुमिरहेको थियो र मुख-मुखले ‘ॐ मणि पद्मे हुँ’ जप्दै थिए । उनीहरू शान्त बस्तीको छेउबाट शान्तिको याचना गरिरहेका थिए । हाम्रा गुरुजीले तिनीहरू सबैलाई किचमिच पार्ने शैलीमा गाडी दौडाए । बिचराहरू कोही कुलामा र कोही भिरमा फाल हालेर ज्यान जोगाए, तैपनि तिनीहरू हाँसिरहे । कसैले अपशब्द निकालेनन् । मान्छे नै उडाउँला जस्तो गरेर जोडले चलिरहेछ हावा । झन्डै-झन्डै भाँचिएलान् जस्तो गरी उठ्दै नुहिँदै गरिरहेछन् बैँसका हरिया वृक्षहरू । जन्मेदेखि नै बतासको बल थाम्दा-थाम्दा हाँगा बाङ्गिसकेका छन् सबै बैँसहरूका । हाम्रो बस बताससँग धावा खेल्दै कालीगण्डकी र मुक्तिनाथ खोलाको सङ्गम कागबेनी किनारमा पुग्यो । त्यहाँ भिरालो चौरमा पाँच दिदीबहिनीहरू उवा बत्ताउँदै रहेछन् । उनीहरूले बाटोभरि पनि उवाको बिस्कुन सुकाइरहेका रहेछन् । हाम्रा गुरुले उवा नै छरीवरी हुने गरी बस दौडाइदिए बिस्कुनमाथिबाटै । हिमालयमा बल्ल-बल्ल फलेको त्यो अन्न नासिदिएकामा हाम्रो मन कुँडियो । हामी सहयात्रीले आपसमा चित्त दुखायौँ । बाहिरपट्टि हिँडिरहेकी एउटी गोरी दिदीले बोलेको आवाज सुनियो — ‘Wait wait, grains are greater than gold’ । हाम्रा गुरुजीमा त्यो संवेदना शून्य । उनले बसलाई अलि तलसम्म पुर्याए । फरक्क फर्काए, फेरि कुल्चाए बिस्कुनलाई र बोले — ‘बल्ल देखिहोली झुमाले मेरो करामत ।’ हामीले बुझ्यौँ — तरुनीहरूलाई रवाफ देखाउन त्यसो गरेछन् उनले ।

घाम निर्विघ्न वर्षिरहेछ । तिब्बती संस्कारलाई जिउँदो बनाउन खोजिरहेछ कागबेनीले । तिब्बती शैलीका घरहरू । घरछेउछाउ र घरभित्र-बाहिर कतै न कतै सजिएका बुद्ध मूर्तिहरू र दलाई लामाका तस्बिरहरू । छाना-छानामा फहराइरहेका लुङ्दरहरू र गुम्बाबाट ध्वनि र प्रतिध्वनि बन्दै निस्किरहेका ‘ॐ मणि पद्मे हुँ’ का समवेत स्वरहरू । हर्दम असीम गुञ्जन एकत्रित गर्दै कुदिरहने हावाका नवीन झोक्काहरू — सबै-सबैले मनलाई नौलो मझेरीमा धाप मार्दछन् । ‘कति राम्रो गुम्बा हगि त्यो, यतैतिरको सुनौलो माटाको सुनौलो पहाड जस्तो’ — म बोलेँ । ‘त्यो काग चोदे थुप्तेन साम्फेललिङ्ग गुम्बा हो’ — मेरो दायाँतिर बस्नुभएका चैले निवासी एक दाइले अर्थ्याउनुभयो । माटाले छापेका छानाका घरहरू बिचमा मौरीको रानी झैँ जगधम्म बसिरहेछ गुम्बा । सयौँ वर्ष पुरानो दरबार र गुम्बालाई नयाँ कलेवर दिन खोज्दैछन् कागबेनीवासीले । समयका चित्रहरूलाई समयले नै सच्याउनु उम्दा हो जस्तो लाग्छ मलाई, उनीहरूको काम देखेर । साउदी अरबको राजधानी रियादमा त्यस्तै दरबार देखेको थिएँ मैले । दुवैमा माटाले चारैतिर झ्यालविहीन गारो बनाइएका, दुवै शत्रुबाट बच्ने उपाय अपनाएर निर्माण गरिएका, दुवै मरुभूमि प्रदेशमा । एक जाडो छल्ने नियतले र अर्को गर्मी छल्ने अभिप्रायले । तत्कालीन गृहनिर्माणको अत्युच्च नमुना देखेँ मैले ती दुवै दरबारहरूमा ।

पूर्वतिर उकालो लाग्यो मुक्तिनाथ जाने बाटो । पश्चिमतिर जाने बाटो भने साङ्दाला (५११० मिटर) हुँदै डोल्पा जाने रहेछ । हाम्रो गाडी भने उत्तरतिर लाग्यो कालीगण्डकीको किनारैकिनार । कहिले खोला नजिकै पुग्ने र कहिले अलि परको बस्तीमा छिर्ने क्रम जारी छ । दक्षिणतिर छ हजार नौ सय चालिस मिटर अग्लो निलगिरि । घरी बादलको घुम्टोले अनुहार छोप्छे, घरी घामको लेदो मुहारभरि पोतेर चम्किँदै अघि बढ्न धाप दिन्छे । उनको नायक सात हजार एक सय छत्तीस मिटर अग्लो तिलिचो भने ठुस्सिएर लुकेको छ । निलगिरि साथमै छिन् मेरी । उनी मलाई हेरेर अघाउँछिन् । म उनलाई हेरेर अघाउँदिन । उनले नै डोर्याएर त्यहाँसम्म पुर्याएकी हुन् मलाई । सँगै हिँडेर संसार भुलिरहेछौँ हामीले । सँगै भएरै पीडा र बन्धनहरू धमाधम फेरिरहेछौँ हामी दुवैले । मेरी निलगिरि अझ अग्लिएकी हेर्न चाहिरहेछु मैले । उनीसँगको मेरो यात्रा अझ उच्च र सुनौलो बनोस् भन्ने आकाङ्क्षा छ । उनको पीडा होस् या प्रेम आफ्नैसँग साट्न पाउनु जस्तो सन्तोष अरू के नै हुन्छ र यो संसारमा ।

हाम्रो बायाँतिरबाट दक्षिणतिर बगिरहेको नदीमा छताछुल्ल पोखिएको छ घाम । हावामा घुलिएर उडेका बालुवा कणहरूले धुलिमण्डल छ जतासुकै । पहाडभरि प्यागोडा शैलीका र शिखर शैलीका असङ्ख्य मन्दिरहरूले मन लोभ्याउँछन् । रुखका लहरहरू छन्, झुरुप्प झाडीहरू छन्, मान्छेका जुलुसहरू छन्, बथान घोडा, हात्ती, मृग र बँदेलहरू छन् । तिनीहरू न कुनै वनस्पति हुन् न कुनै प्राणी, हुन् केवल ढुङ्गाका विशाल आकृतिहरू । आकृति नै आकृतिको विशाल कोलाज देखिँदैछ संसार । गहिरो खोँच ओर्लेर अलिकति उकालो चढेपछि सानो गाउँ आइपुग्छ हाम्रो सामु । ‘ताङ्वे’ गाउँ हो यो — सहयात्री दाइले चिनाउनुभयो हामीलाई । मैले आइफोन खोलेँ । ‘माई अल्टिच्युड’ एपले ३०१९ मिटर उचाइ देखायो । चौँरीगाई र भेडाहरू छरीवरी रङ्गमङ्गिएका देखिन्छन् ताङ्वे गाउँमा । गाउँमा धाराहरू प्रशस्त देखिए । सडक छेउमै एक युवक नुहाइरहेछ । अरू दस-बाह्र युवक जिस्क्याइरहेछन् उसलाई । हाँसोको फोहोरा र गफको शृङ्खला चर्को बनिरहेछ । सायद नुहाउनु अचम्म मानिँदैछ त्यहाँ । ताङ्वेमा सत्तरी जति घरहरू देखिन्छन् । घरभन्दा धेरै देखिन्छन् छोर्तेनहरू । पहाडको काखमा पहाडकै ढिस्का जस्ता फुस्रा घरहरू देखिन्छन् ताङ्वेमा । मलाई लाग्छ — पहाडमा गाउँ बसाउनु भनेको सम्भावनाका पहाडहरूलाई खुरुखुरु खोतल्नु हो ।

हामीले ताङ्वे छोड्दा धुलोको भुमरीले ढपक्कै ढाक्यो हामीलाई । धुलो नै धुलोको वर्षाले धुलिमाटी बनाइदियो हाम्रो पुरै शरीर । हरेक क्षण खतराको घन्टी सुन्दै कुलेलम ठोकिएको छ बस । एक हुल खच्चडहरू पिठ्युँभरि भारी बोकेर घोडेटोबाट अघि बढिरहेछन् । एउटा ठाडो नदी पारिपट्टि पूर्वबाट पश्चिमतर्फ झर्दै कालीगण्डकीमा मिसिएको देखियो । दुई वर्षअघि मुस्ताङ जिल्लाका कार्यालयहरू र तिनका काम-कारबाहीको निरीक्षण गर्न म त्यही खोलासम्म पुगेको थिएँ । जिल्ला विकास समिति मुस्ताङले झोलुङ्गे पुल जडान गर्न ठेक्का लगाएको थियो । म पुग्दा एकातिरको जगको काम हुँदै थियो । त्यसै ठाउँमा तयारी झोलुङ्गे पुल देख्दा मनले राम्रो सपना पूरा भए झैँ मान्यो ।

हामी चढेको बस त्यही पुलको वल्लो किनारमा रोकियो । त्यो किनारमा प्रहरी चौकी र चिया-चमेना पसलहरू रहेछन् । ‘छुक्साङ बस स्टप यही हो सर । अब चैलेसम्म पैदल हिँड्नुपर्छ । सरहरू आज यहीं बस्नुहुन्छ भने म बन्दोबस्त मिलाउँछु’ — सब-इन्स्पेक्टर चङ्ख कडायत बोले । उनी जोमसोमदेखि हामीसँगै बसमा गएका थिए । उनी त्यही चौकीका रहेछन् । ‘भो, आज यता नबसौँ, अलिकति भए पनि बाटो काट्यो भने भोलिलाई सजिलो पर्छ, बरु पारिको गाउँमा बसौँला नि हुन्न ?’ — मैले खोलापारिको गाउँ देखाएँ । सारा संसार फुस्रो, सुक्खा र निर्जन देखिरहेको बेला त्यो गाउँ भने हरियो-परियो र गुचुमुच्च परेको रमणीय देखिँदैथ्यो । आँखाको नानी जस्तो, तिर्खाएको बेलामा भेटेको पानी जस्तो, फक्रक्क फक्रेको जवानी जस्तो देखियो छुक्साङ गाउँ । पाटोमा तररर मकै उम्रिरहेको थियो । अलि परतिर फापरले राताम्मे देखिन्थ्यो, झन् तलतिर लहलह थियो आलुबारी । छुक्साङ देख्दा हामीमा रहेको थकाइ अलि मत्थर भयो ।

‘त्यसो भए हजुरहरूले आज चैलेमै बास बसेको बेस । चैले ऊ त्यहाँ पर्छ । साँझ पर्दा त्यहाँ पुगिहाल्नुहुन्छ’ — कडायतजीले अलि पर एउटा सुनौलो डाँडो देखाउनुभयो । त्यहाँबाट बस्ती देखिँदैनथ्यो । हामी झोलुङ्गे पुल तर्दै त्यतातिर लाग्यौँ । छुक्साङ गाउँ छेउको बारीमा आलु गोड्दै गरेकी एउटी दिदीलाई सोधेँ — ‘दिदी, यहाँबाट चैले पुग्न कति समय लाग्छ ?’ ‘त्यस्तै दस मिनेट’ । दिदीको जवाफ सुनेपछि हामीलाई भने कम्तीमा डेढ घण्टा लाग्ने मेरो अड्कल साथीहरूलाई सुनाएँ । नभन्दै दुई घण्टामा मात्र त्यहाँ पुग्यौँ । त्यतातिरकाले दस-पन्ध्र मिनेटमा पार गरेको बाटो हाम्रा लागि एक-डेढ घण्टामा पार गर्नु फलामको च्युरा चपाउनु झैँ हुन्छ ।

गुचुमुच्च छुक्साङ गाउँको माझबाट छ बाटो । हिँड्दा-हिँड्दै गाउँबाट अर्को बाटो पो झरेछौँ हामी । ‘भाइहरू, चैले जाने भए ऊ त्यो बाटो जानुहोस्’ — एउटी दिदीले दौडँदै आएर बाटो देखाइदिनुभयो । सही बाटो भेट्न थप पन्ध्र मिनेट घुम्नुपर्यो । धन्न, ती दिदीले नबताइदिएकी भए रातमा ठुलै हन्डर खान्थ्यौँ होला हामीले । कालीगण्डकीको किनारैमा छ छुक्साङ गाउँ । दुईतिर अग्ला पहाडको बिचमा अलि समथर पनि छ गाउँ बसेको धरातल । दायाँबायाँ भित्ताभरि किसिम-किसिमका चित्रहरू टाँसे झैँ देखिन्छन् रक्तिम भू-आकृतिहरू । निलो आकाशमुन्तिर रक्तिम पहाडहरूका बिचमा कालीगण्डकी बगर नै बगर हिँड्दैछौँ । गोला र चिल्ला ढुङ्गाहरू, शालिग्रामहरू र महासागरमा थिग्रिएको जस्तो बालुवाहरूका चाङले बनेका छन् पहाडहरू ।

‘हेर्नुहोस्, हजारौँ वर्ष पहिले यो क्षेत्रमा टेथिस सागर थियो । भूगर्भ भित्रको तिब्बती प्लेट र भारतीय प्लेटको टकरावले कालान्तरमा यहाँ हिमाल ठडियो र महासागर मर्यो’ — मैले साथीहरूलाई बताए । त्यहाँका ढुङ्गा, बालुवा बगर हेरेपछि साथीहरूले पत्याउनुभयो । बाटामाथि फिँजाइएका गुच्चा जस्ता गोल ढुङ्गाहरूमा टेक्दा ग्वार ग्वार गर्ने एक किसिमको सङ्गीत बजिरहेछ । ज्यान थाकेको छ । तर, चैले नपुगी सुस्ताउने ठाउँ नभएकाले नरोकिई हिँड्नुपर्ने बाध्यता छ । लक्ष्यले थकाइलाई थन्क्याउँछ, जाँगरमा जोस थप्छ ।

घाम डुब्ने र हामीले कालीगण्डकी पुल तर्ने एकै पटक भयो । हरिया र खैरा बलौटे ढुङ्गा, चिप्ला र काला ढुङ्गाहरू, गोलढुङ्गे बालुवाको बिस्कुनले बेग्लै देखिएको छ कालीगण्डकी । त्यो गेग्र्यानयुक्त बगरमा हिँड्दा मसिना ढुङ्गाहरू जुधेर मरमर सुनिँदैछ बेग्लै सङ्गीत । कतै-कतै भेटिने राइसल्लाका कोणधारी रुखहरूले थपिदिँदैछन् जीवनका सुकिला आशा । कञ्चन बगिरहेछ कालीगण्डकी । कालीगण्डकी उत्तरबाट एकै झरेकी हुन् तर त्यहाँ पुगेपछि दुई रूपमा निस्केकी छिन् । एक भङ्गालो खुला नदी बनेर र अर्को भङ्गालो पहाड छोडेर पहाडी मुखबाट । दुवै भङ्गाला त्यहीँ मिसिएका छन् र एकै बनेर सुरु गरेको छ एउटा अविरल यात्रा ।

त्यति पानी काठमाडौँमा पुगे कति सुन्दर बन्दो हो काठमाडौँ, कति स्वस्थ बन्दो हो काठमाडौँ । मैले मेरी निलगिरिलाई छपछपी छ्यापिदिएँ कालीको पानी । निलगिरिले फिँजाइरहिन् ममाथि प्रेमका कोमल प्वाँखहरू । जोमसोमदेखि बायाँ बगेकी कालीगण्डकी अब दायाँ परिन् । उनलाई त्यतै छोडेर घुस्यौँ हामी घना पठारको स्वच्छ र सफा चैले गाउँतिर ।

कालीको किनारमा उभिँदा आँखैमा ठोकिएला झैँ देखिए माथिल्लो आकाशनेर चैलेका चार घर । उकालाका हरेक इन्चहरूमा पाइलाहरू धर्मराउँछन् । मेरै सहाराले मसँगै उचाइ चढिरहेकी छिन् मेरी निलगिरि । उनको स्पर्शले मेरा सारा थकाइहरू निस्तेज बन्दैछन् । मेरो प्रेमको रापले विस्तारै गल्दैछन् उनका निराशा र अन्योलका बादलहरू । प्रेमिल यात्रालाई छेक्न सक्तैनन् कुनै ढुङ्ग्याने पहाडहरूले । बन्धनहीन समर्पणको शक्ति बोकेर हामीले सरक्कै चैलेका ठाडो भिर नाघेको देखेर निलगिरिसँगै मुसुक्क हाँस्नुभयो अर्का मित्र ।

काली किनारबाट झन्डै पैँतालिस मिनेट उकालो चढेपछि मात्र भेटियो चैले । चैलेको आँगनमा पहिलो पाइला परेपछि एक पटक अँगालोभरि तिमीलाई बाँधुँ जस्तो लाग्यो मलाई, निलगिरि । त्यहाँसम्म पुगेर तिम्रो र मेरो मायाको शिलालेख ती पत्थरे पहाडभरि लेख्न पाएकामा म मनमनै निलगिरि जत्तिकै अग्लिएको थिएँ । प्रेमको न्यानोले पुरै पग्लिइसकेको थियो हाम्रो थकाइ । त्यो आदिम एकान्तमा फुर्केर अनवरत गाइरहे संसारको सर्वोच्च प्रेमगीत, वरिपरिका पहाड, गुफा र हावाका लर्कनहरूले । यो आदिम एकान्तमा तिमीलाई पाउनु मेरो जिन्दगीभरिको सर्वोच्च खुसी हो भन्दै बैँसको हाँगामा छेकारो परेर च्वाप्प म्वाइँ खायौ तिमीले । निस्फिक्री रमाइरहेका नाङ्गा रक्तिम पहाडहरू मनमा सारेर बिन्दास शैलीमा कयौँबेर अँगालामा कसिइरहेँ मैले तिमीलाई । घोडा धपाउँदै उकालो चढिरहेका दाइहरूको आवाजले मात्र झसङ्ग झस्कियौँ, हामी दुवै । जून पनि अलि बढी नै मादकता छरेर हतारले ओर्लिइरहेथ्यो डाँडाको टुप्पाबाट हामीतिर नै । सग्लो र सुन्दर प्रेमको अमुक भाषामा रमाउन पाउनु जतिको आनन्द अरू के नै हुन सक्तछ र जीवनमा ?

निधारमुन्तिर चनाखो बनेर चम्किएको आँखो जस्तो रहेछ चैले । माथितिर सुनौला पहाडहरू छन्, पारितिर र वरिपरि राताम्मे पहाडहरू छन् । बारीका हरिया पाटाहरू, भोटे पिपलका चहकिला झ्याङहरू बोकेर पहाडकै पिठ्युँतिर पच्चिस-तिस घरहरूमा चमक-चमक चम्किरहेको रहेछ चैले । आकाश ओढेर, धर्तीमा अडेस लागेर र बतासमा ब्युँतिरहेछ, हर्दम चैले ।

चैलेमा जति घर छन् ती सबै होटलहरू छन् । एक, दुई, तीन, चार, सात घरसम्म बास नपाउने छाँट आयो हाम्रो । ‘हिँईईई…’ ठाडै कोपर्ला जसरी हिनहिनाउँदै एक्कासि घोडा उफ्रिएपछि सातोपुत्लो गयो हाम्रो । ‘डराउन पर्दैन, जिस्केको मात्र हो क्या’ — दाइले घोडा समातेपछि मात्र अलि ठेगानमा बस्यो, हाम्रो मुटु । ‘दाइ, होटल खाली छैन ?’ — मैले सोधेँ । ‘आज टुरिस्ट धेरै छ, सबैतिर भरिइसक्यो, उ: त्यो ग्रिनपिसमा बाँकी होला ।’ चैलेको शिरतिर देखाउनुभयो दाइले । ग्रिनपिस होटलभित्र गोराहरूको भिड नै रहेछ । कोही पल्टेका, कोही चाउचाउ, चिज र सुप खाँदै । खानेकुरा देखेपछि त कुर्लदै ओर्ल्यो भोक । खोसेरै खाइदिऊँ जस्तो लाग्दै थियो । बस्ने बास पाइयो । फापरको रोटी, चाउचाउ, रायोको साग र दालभात पाएपछि बल्ल बग्रियो ज्यान ।

आकाश नाङ्गो छ । नाङ्गो आकाशका नाङ्गा ताराहरू आफ्नै पुर्पुरोमा अडेस लाग्न झरे झैँ लाग्दैछन् । बस्ती छ, तर कोलाहल छैन । त्यहाँ शान्तिको वर्षा छ, कलुषितताको गन्ध छैन । शान्तिको अनुपम अँगालामा संसार बिल्कुल नौलो लाग्दैछ । जीवनका कयौँ थकित भारहरू त्यतै बिसाइए झैँ लाग्दैछ । इच्छाका पातहरू अलि बेग्लै वृक्षबाट पिपिराउन खोज्दैछन् । त्यो चकमन्न अन्धकारमा आशाका वेगवान् छालहरू छचल्किन खोज्दैछन् । होटलको नाङ्गो छानामाथि उभिँदा — हावाको एक झोक्काले म्वाइँ खाँदै भन्यो — उचाइ चढ्न सक्यो भने धमाधम खुल्छन् संसारका सबै रहस्यहरू ।

श्वेत साम्राज्यमा ठिङ्ग उभिएर जिस्क्याइरहिन् मलाई निलगिरिले । शान्त र शालीन ढपमा चनाखो बनेर जाग्राम छन् सुन जस्ता पहाडहरू । हरेक पहाड, खोँच र नदीका छालहरूसँगै जिस्किइरहेछ जून । हिउँका केस्रा बोकेर बत्तिइरहेको वायुले कोपर्दैछ हाम्रा नाक कान र पुरै शरीरलाई । चिसाको हुँकारले पनि अत्याउन सकेको छैन तिम्रो र मेरो अटल प्रेमलाई । एकातिरबाट निर्निमेष हेरिरहिछ्यौ र सिरेटोका खम्बाहरूमा अडेस लागेर मस्किइरहिछ्यौ तिमी । अर्कातिर कालीगण्डकीको सुसाई र डाँडा-डाँडाबाट खुर्मुरिँदै उक्लिँदै गरेका हावाका झोक्काहरूको दोहोरीमा तिम्रो र मेरो प्रेम कथा खोतलेर झन्-झन् तेजिलो बन्दैछु म । उत्सर्गका कोरसहरूमा प्रेमको उन्मुक्त बगैँचा फिँजाउन पाउँदा फूलहरूमा ओर्लिइरहेको जून पनि मस्तले फैलिँदो रहेछ समुद्रका नीलिम छालहरू जस्तै ।

प्रेमिल वर्षामा निथ्रुक्क भिजेको त्यो साँझ कसरी बिर्सन सकौँला र तिमीले र मैले । साच्चै हाम्रो प्रेमको माइलस्टोन बन्यो चैलेको निर्वस्त्र रात । प्रेम ! प्रेम !! प्रेम !!! प्रेमबाहेक केही बाँकी रहँदो रहेनछ एउटा उत्सर्गपूर्ण धुनको सप्तरङ्गी प्रेममा । मित्र निदाए पनि हामी दुवै निदाएनौँ । अँध्यारोमै एक अर्कालाई हेरिरह्यौँ । टाढैबाट एक अर्कालाई छामिरह्यौँ । निद्रा नपुगे पनि शरीर स्वच्छ बनिरह्यो हाम्रो । ‘साच्चै थाहा पाउनुभयो कि पाउनुभएन होला मित्रले हाम्रो प्रेमको प्रगाढता ?’ — सोध्न भुसुक्कै बिर्सेछु मैले, रङ्गीन धुनहरूका तरङ्गमा इच्छाका बिरुवाहरू उमार्दैमा ।


–०००–
चैले, मुस्ताङ
२०७१ असार १५ गते, आइतबार

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

डा. दामोदर पुडासैनी ‘किशोर’ नियात्रा निर्वस्त्र रातमा प्रेमको कोसेढुङ्गा

यो पनि पढ्नुहोस्...

संस्मरण: बाल्यकाल | हाम्रो कथाघर

नेवारी समुदायमा माँ तलेजु भवानीको महत्त्व | भाष्कर मैनाली शर्मा | हाम्रो कथाघर

निबन्ध: बादलको रङ्गीन संसार | ज्ञानेन्द्र विवश | हाम्रो कथाघर

संस्मरण: कथाकार शुषमा चित्रकारप्रति – २ | हाम्रो कथाघर

व्यक्तिगत निबन्ध: नामको कथा र नामको विवेकशास्त्र | हाम्रो कथाघर

व्यक्तिगत निबन्ध: शिक्षा प्रणाली मात्र होइन समाज र अभिभावकको सोच नै पिछडिएको हो। | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

कथा: रमनीया | हाम्रो कथाघर

कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट | हाम्रो कथाघर

कथा: उदयबहादुर जोकोहीलाई नमस्कार गर्दैनन् | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: ३१ | हाम्रो कथाघर

भर्खरै

अर्घाखाँचीमा दुई साहित्यिक कृति विमोचन

पुस २५, २०८२

बाल लोककथा: नयाँ युगको सुरुवात | हाम्रो कथाघर

पुस २४, २०८२

बाल-उपन्यास: अद्भूत विवाह भाग: ०३ | हाम्रो कथाघर

पुस २४, २०८२

समीक्षा: शब्दमा जीवन र भावनाको त्रिवेणी: ‘आस्था’ र ‘ग्याब्रियले’ को संयुक्त समीक्षा

पुस २३, २०८२

समीक्षा: जरत्कारु: नारी सशक्तिकरणको पौराणिक पुनर्पाठ | हाम्रो कथाघर

पुस २३, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.