सुमना श्रेष्ठको “म अवसरवादी !” कविता : एक काव्यिक पृष्ठभूमि र प्रेरणाको सन्दर्भ
समालोचक : असल चरित्र
कविता:म अवसरवादी !
कवि : सुमना श्रेष्ठ
हो, म अवसरवादी हुँ,
जनताको पीडामा मलम लगाउन खोज्नु,
अन्धकारमा आशाको बत्ती बाल्न खोज्नु,
न्यायको बाटोमा सत्यको साथमा हिँड्नु,
अवसर हो भने, त्यो अवसर म रोज्छु !
हो, म अवसरवादी हुँ,
किनकि म सुशासन खोज्छु,
किनकि म विधिको शासनको सम्मान गर्छु,
किनकि मलाई जनताको आँसु सुकाउनु छ,
र मलाई थाहा छ, यो परिवर्तनको घडी
कसैले रोकिदियो भने,
फेरि भ्रष्टहरूको दिन आउनेछ,
सर्वत्र अँध्यारो छाउनेछ ।
तिमीहरू मलाई हाँसोमा उडाउन सक्छौ,
“अवसरवादी !” भनेर चिच्याउन सक्छौ,
तर म मौन रहन्न
किनभने, मौनता पनि स्वीकृति हो ।
मौनता पनि अपराध हो ।
म अवसरवादी हुँ ।
शब्दमा होइन, संकल्पको अर्थमा
म चाहन्छु अवसर, देशलाई फेरि उठाउने,
युवालाई आस्था दिलाउने,
राजनीतिलाई जनसेवा बनाउने ।
यदि सेवा गर्नु अपराध हो भने,
म त्यो अपराध स्वीकार्छु ।
यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने,
म पागलपन स्वीकार्छु ।
किनकि मैले देखेको छु,
बढ्दो भीडमा बारुदी आँखा,
लाचार आमा, रित्तो काख र
मानेको छु – देश मरेको छैन, देश त केवल निदाएको छ ।
त्यसैले हो, म अवसरवादी हुँ ।
सपनाको पुनर्जन्मको अवसर खोज्दै
जब एकदिन, यो देश बिउँझन्छ,
त्यो बिहानको घामसँगै
मेरो नाम “अवसरवादी” करार हुँदा पनि,
सबै भन्दा खुसी मै हुनेछु ।
१. पृष्ठभूमि
२०८२ कात्तिक २६ गते साहित्यपोस्ट साहित्यिक अनलाइन पत्रिकामा प्रकाशित यो कविता प्रथम पटक आफ्नो फेसबुक वालमा साझा गर्दै पूर्वसांसद सुमना श्रेष्ठले ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको “पागल” कविताबाट प्रेरित’ भनेर लेखेकी थिइन् । त्यसै पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ कविता नेपाली साहित्यमा प्रतिरोधी आत्मस्वीकृतिको उत्कर्ष मानिन्छ । समाजले “पागल” भनेको पात्र स्वयंले त्यसैलाई उल्ट्याएर नैतिक श्रेष्ठताको घोषणापत्र बनाउँछ । नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘पागल’ केवल एक आत्मस्वीकृतिको काव्य नभई, समाजले थोपरेको मूल्य–निर्णयप्रति गरिएको सशक्त प्रतिरोधी वक्तव्य पनि हो । यस कविताले “पागलपन” लाई कमजोरी होइन, बरु नैतिक र मानवीय उच्चताको प्रतीकका रूपमा स्थापित गरेको छ । यिनै काव्यिक परम्पराबाट प्रेरणा लिँदै पूर्वसांसद सुमना श्रेष्ठको सामाजिक सञ्जालमा सार्वजनिक कविता “म अवसरवादी !” ले नेपाली राजनीतिक–सामाजिक यथार्थसँग गहिरो रूपमा संवाद गर्ने एक महत्त्वपूर्ण आधारको काम गरेको छ ।
महाकविको “पागल” कविताबाट प्रेरित सुमना श्रेष्ठको “म अवसरवादी !” कविता यही काव्यिक परम्पराको समकालीन पुनर्पाठ हो, जहाँ ‘पागल’ को सट्टा ‘अवसरवादी’ शब्दलाई समाजले दिएको गालीबाट राजनीतिक–नैतिक पहिचानमा रूपान्तरण गरिएको छ । आफ्नो फेसबुक वाल मार्फत पहिलोपटक सार्वजनिक गरिएको पूर्वसांसद सुमना श्रेष्ठको यस “म अवसरवादी” कवितामा प्रेरणा छ, नक्कल छैन । देवकोटाको कविताबाट भाव–संरचना ग्रहण गरिएको छ, तर समस्या, भाषा र समय पूर्णतः समकालीन लाग्छ ।
२. शीर्षक : “अवसरवादी” वैचारिकता
“अवसरवादी” शब्द नेपाली राजनीतिक भाषामा अत्यन्त नकारात्मक स्तर हो । राजनीतिक नेतृ तथा पूर्वसांसद सुमना श्रेष्ठले यसै शब्दलाई स्वीकृत गरेर उल्ट्याउने साहस गरेकी छन् । “हो, म अवसरवादी हुँ…” यो उद्घोष केवल आत्मपरिचय होइन, राजनीतिक आरोपलाई नैतिक घोषणामा रूपान्तरण गर्ने भाषिक रणनीति हो । देवकोटाको “हो, म पागल छु” जस्तै, यहाँ “हो, म अवसरवादी हुँ” भन्नु भनेको आरोपको शक्ति खोस्नु जस्तै हो ।
३. संरचना : पुनरुक्ति र घोषणात्मक प्रवाह
कविता घोषणापत्रीय शैलीमा अघि बढ्छ । कवितामा पुनरुक्तिको प्रयोग “हो, म अवसरवादी हुँ” को बारम्बार प्रयोगले गर्दा पाठकहरूमा पनि आत्मविश्वास सिर्जना गर्छ । पाठकलाई बचाउ होइन, आमन्त्रण गर्नुका साथै कवि आफूलाई दोषी होइन, नैतिक अभियोगकर्ता बनाउँछन् । यो पुनरुक्ति देवकोटाको “म पागल” को प्रतिध्वनि हो, तर यहाँ भावुकताभन्दा बढी राजनीतिक सचेतता देखिन्छ ।
४. विषयवस्तु विश्लेषण : अवसरको नयाँ परिभाषा
यस “म अवसरवादी !” कवितामा “अवसर” व्यक्तिगत लाभ होइन— जनताको पीडामा मलम लगाउन, अन्धकारमा आशाको बत्ती बाल्नका लागि नैतिक जिम्मेवारी, परिवर्तनको सम्भावना र नागरिक कर्तव्य जस्ता कार्यले “अवसरवाद” शब्दको सामाजिक पुनर्परिभाषा गर्छ । समाजमा सकारात्मक रूपान्तरणका निमित्त स्वच्छ र सकारात्मक अवसरको विकल्प छैन । तर समाज र राष्ट्रिय हितको सन्दर्भमा यो कुरा लागू हुन नसकेको गुनासो र आक्रोश कवितामा पाउन सकिन्छ ।
४.१. मौनता अपराध : नैतिक मेरुदण्ड
“मौनता पनि अपराध हो ।” यो पङ्क्ति कविताको नैतिक मेरुदण्ड हो । देवकोटाले समाजको पाखण्डलाई पागलपनबाट व्यङ्ग्य गरेका थिए भने, नेतृ / कवि सुमना श्रेष्ठले यस कविता मार्फत निष्क्रिय बौद्धिकतामाथि प्रश्न उठाएकी छन् । यहाँ कविता केवल आत्मकथा मात्रै होइन, पाठकमाथिको आरोपपत्र पनि हो । कवि सुमना श्रेष्ठको यो कविता राजनीतिक कविता भन्न मिल्छ तर नारा भने कदापि मिल्दैन । भ्रष्टाचारको भय, सुशासनको चाहना, युवामा आस्था, राजनीति र जनसेवा यी सबै कुरा प्रत्यक्ष नाम नलिएर पनि कवितामा सशक्त सङ्केतका रूपमा आएका छन् ।
कवितामा आएको पङ्क्ति : “फेरि भ्रष्टहरूको दिन आउनेछ” यो भविष्यको चेतावनी हो, जहाँ कविता सचेत नागरिकको आवाज बन्छ । भ्रष्टहरूलाई सचेत बनाउँदै यसले भविष्यको खतरामाथि सङ्केत गर्दछ ।
५. बिम्ब र प्रतीक : सरल बिम्ब
कवितामा प्रयोग भएका “बारुदी आँखा” जस्तो बिम्बले हिंसा र घृणाले भरिएको चेत, “रित्तो काख” ले सामाजिक–राजनीतिक असफलता तथा “देश निदाएको छ” जस्ता बिम्बले आशावादी राष्ट्रबोध गराउँछन् । “देश मरेको छैन” भन्ने जस्तो कविताका पङ्क्तिले महाकवि लक्ष्मीप्रसाद देवकोटाको “पागल” कविताको निराशाबीचको आशालाई समकालीन पुनर्जीवन दिन्छ ।
६. कवि : आफैँमा वक्ता
यस “म अवसरवादी” कविताका आधारमा भन्ने हो भने कवि एक्लो विद्रोही होइन, ऊ नागरिक हो । राजनीतिक चेत भएको व्यक्ति हो, साथै ऊ आलोचनालाई आत्मसात् गर्न सक्ने नैतिक पात्र हो । देवकोटाको “पागल” जस्तै, यो वक्ता भी समाजभन्दा नैतिक रूपमा अग्लो देखिन्छ ।
७. भाषा / शिल्प
कविताको भाषा सरल, संवादात्मक र नौलो कलात्मक प्रयोगको संयोजनले गर्दा सुन्दर र परोक्ष रहेको देखिन्छ । सामाजिक सञ्जालमै सार्वजनिक भएको यो कविता एक अर्थमा पढिने मात्र होइन, साझा गरिने कविता समेत हो भन्न सकिन्छ । कविताको शिल्प मुक्त छन्द र भाषणीय लयका साथै घोषणात्मक अन्त्यको शैलीले सुमना श्रेष्ठको राजनीतिक क्षेत्रमा आफ्नो दक्षता र अभ्यास बढी भएको महसुस गराउँछ । यो शैली अन्य साहित्यिक शुद्धताभन्दा सामाजिक प्रभावमा केन्द्रित भएको देखिन्छ । कतिपय ठाउँमा कविता घोषणामा बढी र बिम्बमा कम भएको झैँ लाग्छ । केही पङ्क्तिहरू भाषणीय लाग्न सक्छन् । तर यो कमजोरी होइन, कविताको उद्देश्यअनुसारको शिल्पगत चयन हो ।
८. निष्कर्ष
देशको सामाजिक, आर्थिक, राजनीतिक र विकासको क्षेत्रमा आफ्नो अमूल्य योगदान पुर्याउनुभएकी साथै अझै पुर्याइरहनुभएकी राजनीतिक नेतृ सुमना श्रेष्ठको कविता “म अवसरवादी !” महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ को अनुकृति होइन, उत्तर–आधुनिक पुनर्व्याख्या हो । प्रेरित हुनु र नयाँ उत्पादन गर्नु प्रगतिशील चेतनाको प्रतीक हो । त्यसैले पनि यस कविताले :
- गालीलाई गर्वमा बदल्छ
- आरोपलाई आदर्शमा रूपान्तरण गर्छ
- मौनतालाई अपराध भन्छ
- आशालाई राजनीतिक जिम्मेवारी बनाउँछ
निष्कर्षतः यदि देवकोटाको ‘पागल’ कविता निरङ्कुश समाजको दर्पण हो भने, सुमना श्रेष्ठको ‘ अवसरवादी’ निष्क्रिय लोकतन्त्रको ऐना हो ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



