घमण्डले भरिएका हुन्छन्
अनुहार राम्रा हुनेहरु
काँडा फिँजाएर बस्छे गुलाफ
चिसो बोकेर बस्छ हिमाल
लेक चढेर फुल्छे गुराँस
गहिरिएर बग्छे नदी
टिप्नै हुँदैन
वैलिएर सड्छे सुनाखरी
हेर्नै हुँदैन
ज्योति छिनेर लान्छ प्रभाकर
डुब्नै हुँदैन
स्वास थुनेर मार्छ समुद्र
सुन्दर बगानहरुभित्र
पीडादायक छ मजदुरको जीवन
मनमोहक हिमालका काखमा
दुःखपूर्ण छ बाँच्ने संघर्षको कथा
‘सुन्दरता’
देख्ने आँखा र रमाउने मनभन्दा
अलग-अलग छ यो भोग्ने शरीर
अलग-अलग नै छन्
दृश्य र भोग्ने संसार
स्वभावले सारै नम्र हुन्छन्
अनुहार नराम्रो हुनेहरु
फोहोरी छ माटो
फोहोरी छ भकारो
तर यिनै फोहोरीले दिइरहेछन्
सबैभन्दा सुन्दर जीवन
गन्धे माटोमै फुल्छन् मनमोहक फूलहरु
दुर्गन्धित भकारोमै फल्छन्
जीवन दिने अन्नबालीहरु
धुस्रे किसान र फुस्रे मजदुरहरु नै हुन्
सुनौलो संसार बनाउने परिश्रमीहरु,
मेहनतीहरु।
°°°
दमक, झापा


