विषय: ‘हाम्रो कथाघर डट कम’ दोस्रो वार्षिकोत्सवको सुखद अवसरमा विशेष घोषणा र आभार ज्ञापन।
आदरणीय सर्जक, पाठक तथा श्रोताहरू,
नेपाली भाषा साहित्यको सेवा र श्रीवृद्धिका लागि समर्पित ‘हाम्रो कथाघर डट कम’ले आज, सन् २०२५ जुन १६ का दिन, आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव मनाउँदैछ। सन् २०२३ जुन १६ मा युट्युब र फेसबुकबाट सुरु भएको हाम्रो यात्रा, तपाईंहरूकै अथाह माया र विश्वासका कारण आज आफ्नै वेबसाइटमार्फत स्थापित हुन सफल भएको छ।
यो दुई वर्षे यात्रा निश्चय पनि सहज थिएन। तर, तमाम चुनौतीका बाबजुद तपाईं सम्पूर्ण भाषाप्रेमी सर्जक, पाठक तथा श्रोताहरूले प्रदान गर्नुभएको अटुट विश्वास, न्यानो अपनत्व र निरन्तर हौसलाले यो यात्रालाई अविस्मरणीय र सार्थक बनाएको छ। यहाँसम्मको यात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति हामी हृदयदेखि नै कृतज्ञता ज्ञापन गर्दछौँ।
विशेष गरी, ‘हाम्रो कथाघर’लाई जीवन्त राख्ने हाम्रा आदरणीय स्रष्टाहरूको अमूल्य योगदानलाई हामी कहिल्यै बिर्सन सक्दैनौँ। यसै योगदानको उच्च कदर गर्दै र कृतज्ञता स्वरूप, दोस्रो वार्षिकोत्सवको यस सुखद अवसरमा ‘हाम्रो कथाघर डट कम’मा प्रोफाइल स्थापित हुनुभएका सम्पूर्ण स्रष्टाहरूलाई डिजिटल “सम्मान-पत्र” प्रदान गर्ने निर्णय गरेका छौँ। हाम्रो उद्देश्य यो खुसीमा सम्पूर्ण स्रष्टाहरूलाई एकसाथ समेट्नु हो।
आगामी दिनहरूमा पनि नेपाली भाषा साहित्यको उत्थानका लागि अझै नवीनतम र प्रभावकारी कार्यक्रमहरू लिएर आउने प्रतिवद्धता व्यक्त गर्दछौँ। यहाँहरूको निरन्तर साथ र सहयोगको अपेक्षासहित सबैलाई धन्यवाद !
शुभकामनासहित,
हाम्रो कथाघर डट कम परिवार
(www.hamrokathaghar.com)












































































































































































