सूचना: ‘हाम्रो कथाघर’को नयाँ प्रकाशन तथा प्रसारण नीति-२०८३
सम्पूर्ण आदरणीय सर्जक तथा पाठकवृन्दमा नमस्कार !
नयाँ वर्ष २०८३ को शुभारम्भसँगै नेपाली साहित्यको प्रवर्द्धनमा क्रियाशील ‘हाम्रो कथाघर डट कम’ले आफ्ना प्रकाशन तथा प्रसारण सेवालाई थप व्यवस्थित र परिष्कृत बनाउन केही नयाँ नीतिहरू अवलम्बन गरेको छ । अबदेखि हाम्रा सामग्रीहरू विधागत प्रकृति र आवश्यकताअनुसार वेब पत्रिका, युट्युब र फेसबुक पेजमार्फत वर्गीकृत रूपमा प्रस्तुत गरिनेछन् ।
हाम्रा नयाँ नीतिहरू निम्नानुसार रहेका छन्:
१. पोस्टर काव्य शृङ्खला स्तम्भ
हाम्रो कथाघरले सुरुवाती दिनदेखि निरन्तरता दिँदै आएको र सर्जक एवम् पाठकवृन्दले अत्यन्तै रुचाएको निश्चित मिति (हरेक महिनाको १० र २५)मा प्रकाशित हुँदै आएको स्तम्भ ‘पोस्टर काव्य शृङ्खला’ स्थगित गरिन्छ र यस स्तम्भअन्तर्गतका रचनाहरू (गजल, मुक्तक, स्मार्ट कविता) अब निम्नानुसार प्रकाशन तथा प्रसारण गरिनेछन् ।
- क) स्मार्ट कविता:
प्राप्त हुने ३ देखि १३ हरफसम्मका सूक्ष्म लघु (स्मार्ट) कविताहरूलाई कविताको भावअनुसार सर्जकको तस्बिरसहितको आकर्षक पोस्टर डिजाइन गरी दैनिक रूपमा फेसबुकमार्फत सार्वजनिक गरिनेछ । महिनाभरि पोस्ट गरिएका ती कविताहरूलाई प्रत्येक महिनाको अन्त्यमा सङ्गृहीत गरी पिडिएफ (PDF) वा निश्चित लेआउटमा वेब पत्रिकामा प्रकाशित गरिनेछ । - ख) मुक्तक र गजल:
मुक्तक र गजल विधाका रचनाहरूलाई श्रव्य-दृश्य (अडियो/भिडियो) सामग्रीका रूपमा तयार पारी फेसबुकमा प्रसारण गरिनेछ । यसको कुनै निश्चित मिति तय नगरी अनुकूलता र सम्पादनको उपलब्धताअनुसार पोस्ट गरिनेछ । सर्जक स्वयंले उत्कृष्ट गुणस्तरको अडियो वा भिडियो पठाउनुभएमा त्यसको स्तर जाँच गरी प्राथमिकताका साथ प्रसारण गर्न सकिनेछ । - ग) अन्य काव्य विधा (गद्य, पद्य, छन्द, गीत र गीतिकविता):
यी विधाका रचनाहरूलाई स्तर र भावअनुसार कि त लिपिबद्ध (Web Magazine) रूपमा प्रकाशित गरिनेछ, कि त वाचन गरेर युट्युब तथा फेसबुकमार्फत प्रसारण गरिनेछ । तर एउटै रचना दुवै माध्यम (लेखन र वाचन)मा उपलब्ध हुनेछैन । सर्जकले आफ्नै आवाजमा रेकर्ड गरिएको सामग्री पठाउन सक्नुहुनेछ, तर त्यसको प्राविधिक गुणस्तर अनिवार्य हुनुपर्नेछ ।
२. आख्यान (उपन्यास, कथा र लघुकथा):
उपन्यास, कथा र मझौला कथाका हकमा भावअनुसार लिपिबद्ध प्रकाशन वा वाचन गरी प्रसारण गरिनेछ । लघुकथा भने विशेषतः लिपिबद्ध रूपमै प्रकाशित हुनेछन् । रचनाको प्रकृति र चापअनुसार प्रकाशन हुन १ देखि २ महिनासम्म लाग्न सक्नेछ । रचना प्राप्त भएको एक महिनाभित्रै प्रकाशन हुने वा नहुनेबारे सर्जकलाई जानकारी भने गराइनेछ । यस विधाअन्तर्गतका रचनाहरूमा पनि कुनै निश्चित मिति वा समय तोकिएको छैन । अनुकूलताअनुसार क्रमशः प्रकाशन तथा प्रसारण गरिँदै जानेछौँ ।
३. गैराख्यान (निबन्ध, नियात्रा, संस्मरण, जीवनी, समीक्षा, अन्तर्वार्ता आदि):
गैराख्यानका सामग्रीहरू मुख्यतया वेब पत्रिकामा लिपिबद्ध रूपमा प्रकाशन गरिनेछन् । नियात्रा, संस्मरण, जीवनी, डायरी र पत्रसाहित्यको हकमा उपयुक्तता हेरी श्रव्य-दृश्य सामग्री पनि तयार पार्न सकिनेछ । यसमा पनि ‘वाचन गरिएको रचना लिपिबद्ध नहुने र लिपिबद्ध रचना वाचन नगरिने’ नीति लागू हुनेछ ।
४. सामग्रीको मौलिकता र गुणस्तर:
‘हाम्रो कथाघर’ विशुद्ध साहित्यिक संस्था भएकाले यहाँ केवल साहित्यिक विधाका रचनाहरूलाई मात्र स्थान दिइनेछ । साथै अन्यत्र प्रकाशित भइसकेका वा गैरसाहित्यिक सामग्रीहरूलाई यसले स्विकार्नेछैन ।
५. रचना पठाउने विधि तथा प्रक्रिया:
- सर्जकले रचनाका साथमा आफ्नो नाम, ठेगाना र एक प्रति स्पष्ट तस्बिर अनिवार्य पठाउनुपर्नेछ ।
- स्थान वा व्यक्तिविशेष रचना भएमा सम्बन्धित तस्बिरहरू पनि संलग्न गर्न अनुरोध गरिन्छ (आवश्यकताअनुसार) ।
- एकपटकमा एउटा विधाको रचना पठाएपछि त्यसको प्रतिक्रिया वा प्रकाशन नभएसम्म सोही विधाको अर्को रचना नपठाउनुहुन विशेष अनुरोध छ (फरक विधाको पठाउन सकिनेछ) ।
- रचना पठाएको कम्तीमा एक महिना धैर्य गरिदिनुहुन विनम्र आग्रह गर्दछौँ ।
सम्पर्क तथा रचना पठाउने ठेगानाहरू:
- इमेल: hamrokathaghar@gmail.com
- ह्वाट्सएप: +91 8738093573
- मेसेन्जर: Hamro Kathaghar
(इमेलका माध्यमबाट प्राप्त रचनाहरूलाई पहिलो प्राथमिकता दिइनेछ) ।
सर्जक र पाठकको अटुट साथ र रचनात्मक सुझावको अपेक्षासहित, हामी नेपाली साहित्यको श्रीवृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
धन्यवाद !
भवदीय,
सम्पादक/व्यवस्थापन समूह
हाम्रो कथाघर डट कम
(hamrokathaghar.com)


