कवि: कृष्ण पक्ष थापा
मैले गर्ने मतदान
कागजको एउटा टुक्रा होइन,
यो त मेरै मुटुको धड्कन हो,
मेरा बाबाको पसिनाको गन्ध हो,
मेरी आमाको आँखाभित्रको अधुरो सपना हो,
अन्याय र विभेदहरू विरुद्धको आवाज हो,
मेरो मतदान कुशासनविरुद्धको घन्टी हो,
असहमति हो,
मेरो मत एउटा क्रान्ति हो ।
त्यसैले म खोज्दै छु
त्यस्तो क्रान्तिकारी मान्छे,
उसँग भाषणको रङ्गीन आकाश होइन,
हिलाम्मे र धुलाम्मे बाटोमा हिँड्न सक्ने पाइला होस्,
अन्धा र अपाङ्गता भएकालाई
डोर्याउन सक्ने हात होस्,
चहर्याइरहेका घाउहरूले
खोजिरहेको एउटा मलहमजस्तो
उसको उपस्थिति
एउटा आशा र एउटा भरोसा बनोस् ।
उसँग होस् त्यस्तो बहीखाता
जसमा एक-एक हिसाब राखिएको होस्
अन्याय, दमन र विभेदहरूको,
भ्रष्टाचार, बेथिति र विसङ्गतिहरूको,
दूरदराजका गाउँबस्ती र
गरिबका झुपडीबाट हराएका सपनाहरूको,
किसानको परिश्रम र फसलका असमान मूल्यहरूको,
परदेशमा दुखेका मनहरूको,
पराई भूमिमा पोखिएका आँसुहरूको,
चेलीहरूको आर्तनाद र पीडा,
खाडीमा बगेका रगत र पसिनाहरूको अभिलेख
र तिनलाई सम्बोधन गर्ने एउटा आशाको किरण होस् ।
ऊ छटपटिएको होस्
बेरोजगारीको तथ्याङ्क र
राहदानी बनाउनेको भिड देखेर,
रातभर निदाउन नसकेको होस् ऊ
प्रतिभा पलायनका लामहरू देखेर,
उसले बुझेको होस्—
यो सपनाहरूको पलायन मात्र होइन,
यो देशको, सम्भावनाहरूको र भविष्यको पलायन हो ।
उसले गाउने गीत
गरिब, मजदुर, भूमिहीन र
सीमान्तकृतहरूको सुसेलीजस्तै होस्,
जनजाति, दलित, उत्पीडितहरूको
सुस्केराजस्तै सुनियोस् ।
म खोज्दै छु त्यस्तो क्रान्तिकारी,
मेरो मत एउटा क्रान्ति हो ।
जो मरुभूमि बन्दै गएका हाम्रा मस्तिष्कहरूमा
विचार र योजनाहरूको वर्षा होस्,
र निर्माण गरोस् एउटा हरियो ओआसिस,
जो चेतनाको आगो होस्,
वैश्विक परिवेश, भूराजनीति र
अन्तर्राष्ट्रिय सम्बन्ध बुझेको,
प्रष्ट र सन्तुलित विचार भएको,
उसको स्वाभिमान सगरमाथाजस्तै
उच्च र अटल भएको होस् ।
जो सत्ताको उचाइमा पुगेपछि
आकाशमा हराउने बादल नबनोस्,
धर्तीमै जोडिइरहोस्,
र रमाओस् भुइँमान्छेहरूसँग
र खोज्न सघाओस् तिनका सपनाहरू ।
मलाई एउटा
उत्तरदायित्वको अर्को नाम चाहिएको छ,
एउटा यस्तो आवाज
जो गोलीभन्दा ठूलो
र गालीभन्दा तिखो होस्,
जसले घृणा र प्रतिशोधलाई होइन,
प्रेम र सद्भावलाई राजनीति बनाओस् ।
युद्धको र सङ्घर्षको मैदानमा
ढाल बनेर उभिने उही होस्,
प्रश्नहरू आउँदा
मुस्कुराएर जवाफ दिने उही होस् ।
मेरो मतदान क्रान्ति हो,
जितको लागि मात्र पनि होइन,
सहीको पक्षमा उभिने साहसका लागि हो ।
किनकि इतिहासले सिकाएको छ
अङ्कहरूमा हारे पनि
जो मनमा सधैँ-सधैँ बाँचिरहन्छ,
जो सदा-सदा अमर हुन्छ हाम्रा छातीहरूमा,
म त्यस्तो पात्र खोजिरहेछु,
म त्यस्तो नायक खोजिरहेछु ।
म एक नेपाली हुँ,
एक विचार हुँ, एक सपना हुँ ।
हुन त यो चुनावमा म एकमात्र मत हुँ,
तर उसले मेरो एक मत
केवल एउटा अङ्कमा सीमित नगरोस् ।
मबाट छुटेर मेरो मत र विचारको खुड्किलामा हिँडेर,
मेरो सोचाइ र आकाङ्क्षाको पहाडहरू चढेर
मेरो सपनाको सगरमाथा छुन सक्ने
एउटा आरोही खोजिरहेछु ।
जसले बुझेको होस्—
उसको उचाइको आधार म हुँ,
म र मेरोजस्तै एक-एक मत हो ।
उसले बुझेको होस्
उसको शक्ति र आरोहण मेरै विस्तारित स्वरूप हो,
जो मेरो ऐना होस्—
जो मभन्दा कत्ति पनि अलग नहोस्,
जो मेरै प्रतिबिम्ब होस् ।
जो कसैको होइन, तर सबैको होस् ।
जो शक्ति होइन, विश्वास बनोस् ।
जो कुर्सी होइन, यात्रा बनोस् ।
मलाई गन्ने
सङ्ख्याको हिसाबले होइन,
प्रेम र सम्मानको भाषाले होस् ।
मेरो मत एउटा क्रान्ति हो ।
र यदि ऊ अङ्कमा पराजितै भयो भने पनि
मेरो छाती झुकेको नलागोस्,
किनकि सत्यको उचाइ
सत्ताको उचाइभन्दा पनि ठूलो हुन्छ ।
मेरो मत एउटा क्रान्ति हो ।
मेरो मत पाउने मान्छे क्रान्तिकारी हुनुपर्छ,
म खोज्दै छु त्यस्तो क्रान्तिकारी
जो पर्खाल, बारुद र आगोसँग नझुकोस्,
किनकि
मेरो मत एउटा क्रान्ति हो ।
हाल : इजरायल


