साहित्य खबर
‘आख्यान मञ्जिरा’ कार्यक्रममा चार पुस्ताका कथामाथि विमर्श
काठमाडौँ, ३० फागुन— रमेश विकल साहित्य प्रतिष्ठानको सहकार्यमा ‘कथा यात्रा समूह’ले ‘आख्यान मञ्जिरा’ शीर्षकमा वरिष्ठ कथाकार रमेश विकलको परिवारका चार पुस्ताका कथामाथि विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।
रमेश विकल साहित्य प्रतिष्ठानका सचिव आलोक चालिसेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा कथा यात्रा समूहका सदस्यहरूले विभिन्न कथाकारको कृतित्वमाथि समीक्षात्मक प्रस्तुति राखेका थिए । कार्यक्रममा रमेश विकलको कथाकारिताका विषयमा पवित्रा अधिकारीले ‘नयाँ सडकको गीतमा गुञ्जिएको मानवतावादी चिन्तन’ र विश्व कुइँकेलले ‘भ्वाइलेन र भाउजू’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी, दोस्रो पुस्ताका कथाकार विजय चालिसे (रमेश विकलका छोरा एवं गोरखापत्र संस्थानका पूर्व अध्यक्ष) का कृतिमाथि प्रमोद प्याकुरेलले र महेन्द्र चालिसे (अर्का छोरा) का कृतिमाथि दीपक लोहनीले ‘अमूर्तताको अस्तित्वमा महेन्द्र चालिसे’ शीर्षकमा प्रस्तुति दिए । तेस्रो पुस्ताका कथाकार आलोक चालिसेमाथि हरिश कल्पितले समीक्षा राख्नुभयो भने चौथो पुस्ताकी कथाकार आयुषा चालिसेको कथाकारितामाथि डा. हिमलाल श्रेष्ठ र कुमार काफ्लेले चर्चा गर्नुभयो ।
कथा साहित्यको क्षेत्रमा गरिएको यस प्रकारको सिर्जनात्मक अभ्यासले रमेश विकलको साहित्यिक विरासतको मात्र नभई, पुस्तान्तरणसँगै कथ्य र सोच्ने शैलीमा आएको परिवर्तनलाई समेत उजागर गरेको छ । कार्यक्रममा सात जना कथाकारको समीक्षा समेटिएको पुस्तिका पनि सार्वजनिक गरियो ।
प्रतिष्ठानका सचिव आलोक चालिसेका अनुसार, कथा यात्रा समूह र प्रतिष्ठानबीच ‘आख्यान मञ्जिरा’ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने सहमति भएको छ ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



