साहित्यिक समाचार:
निर्बन्ध-काव्य सिर्जनामाथि विमर्श सम्पन्न
वालिङ, स्याङ्जा ।
युवाकवि मिलन समीरकृत नवीनतम निर्बन्ध-काव्य सिर्जना “म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु” माथि केन्द्रित रहेर गरिएको विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको ७औँ वर्षोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको आयोजना वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले गरेको थियो । उक्त कार्यक्रम अभियानको ४०औँ पाइला अर्थात् शृङ्खलाको रूपमा रहेको थियो ।
स्याङ्जाली साहित्यको इतिहासमै यसरी फुटकर रचनामाथि केन्द्रित रहेर गरिएको विमर्श कार्यक्रम यो नै पहिलो हो । निर्बन्ध-काव्य सिर्जना “म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु” माथि विमर्श कार्यक्रम सोमबार अपराह्न वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेष्टुरेन्टको पुस्तकालय कक्षमा सम्पन्न गरिएको थियो ।
विमर्श कार्यक्रम अनौपचारिक रूपमा आयोजना गरिएको थियो । कार्यक्रमलाई वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवाकवि तथा साहित्यिक अभियन्ता मिलन समीरले सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रस्तुत निर्बन्ध-काव्य सिर्जनाका स्रष्टा युवाकवि मिलन समीर, वक्ताहरू अभियानका संस्थापक अभियन्ता शम्भु अर्याल, युवराज सुवेदी र वसन्त खनाल तथा अभियन्ता पारिश्वर न्यौपानेले प्रस्तुत निर्बन्ध-काव्य सिर्जनामाथि केन्द्रित रहेर गहन पाठकीय समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी साहित्यप्रेमी व्यक्तित्वहरूले नवीनतम निर्बन्ध-काव्य सिर्जनारम्भ भएकोमा खुसी प्रकट गर्दै शुभकामना व्यक्त गरेका थिए ।
करादीखोला, स्याङ्जामा जन्मिएका मिलन समीर हाल वालिङमा रहेर सिर्जनशील कर्ममा विशेष सक्रिय छन् । साहित्यिक अभियन्ताको पहिचान बनाएका सशक्त युवा स्रष्टा मिलन समीरका ‘गाउँमा साइरन बजेपछि’ (कविता सङ्ग्रह-२०६९), ‘प्रिय दुश्मन’ (शृङ्खला कविता- २०७९), ‘मिलन समीर र मिलन समीरहरू’ (शृङ्खला कविताहरू- २०८०) र ‘मिलनमन्त्र’ (मायालु मुक्तकहरू- २०८०) लगायतका एकल र संयुक्त रूपमा थुप्रै कृतिहरू प्रकाशित छन् ।
थुप्रै साहित्यिक कृतिको सम्पादन गरिसकेका मिलन समीर स्थानीयदेखि राष्ट्रिय स्तरका महत्त्वपूर्ण पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेका छन् ।
कविता : म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु !
एउटा अर्को उत्तरआधुनिक
अभागी युवा श्रवणकुमारको
असामयिक अप्रत्याशित मृत्युको
अकल्पनीय शोकको घडीमा
अन्धाअन्धी वृद्ध बाबुआमाको
अभागी अदृश्य आँखाहरूको
नाकेडाँडाको भिरालो बाटो हुँदै
अविरल सम्झनाको पिँधमा
एकोहोरो टोलाउँदै बसिरहेको
बाल्यकालीन स्मृतिलाई चिहाउँदै
साउने झरी बनेर झरेसँगै
भूमाफिया र दलालहरूको
गिद्धे नजर मैमाथि परेसँगै
हेलिएर नैतिकताको आचरणले
सधैँका लागि जीवनसागर तरेसँगै
बाँकी रहेको मानवीय इमानले नै
मसँग पटक-पटक बेइमानी गरेसँगै
सोच्दै नसोचिएका मान्छेहरू समेत
दुनियाँको नजरबाट कसिङ्गर भई झरेसँगै
दायाँबायाँ-तलमाथि जरैदेखि खनिखोस्री
मलाई पुरै रित्त्याएर आफ्नै भुँडी भरेसँगै
अमानवीय ध्याउन्नमा मानवता मरेसँगै
विवेकशील स्वभावले आफ्नो बसाइँ सरेसँगै
नयाँ सिसिफसको पुरानै नियति बेहोर्दै
अहिलेसम्म पनि उसैगरी जसोतसो
आँधीखोला उकालोमै बगिरहेको छु !उहिल्यैदेखि
अविरल बग्ने क्रममा
सधैँ सधैँका लागि
छेकिएपछि सीमा ओरालोको
केही अपवादबाहेक
देखिएपछि प्रायः मान्छेहरूको
सुन्दर अनुहारभित्र लुकेर बसिरहेको
घिनलाग्दो कुरूप चरित्र
भावीद्वारा मेरै फराकिलो निधारमा
लेखिएपछि दुर्भाग्यको महाभारत
आफू बग्ने धर्मको मूल मर्मलाई
मर्न नदिएर अहिलेसम्म अकालमै
असङ्ख्य अभागी आँखाको आँसु
अर्थात् म आँधीखोला उकालोमै बगिरहेको छु !समाहित भएर मभित्रै
सधैँ सँगै बग्ने बहानामा
चुपचाप आएर मिसिएका छन्
असङ्ख्य खहरेका भेलबाढी
सधैँका लागि छोडेर गएका छन्
मेरा पृथक् पाइलैपिच्छे भीषण पहिरोसँगै
छिचोलेर कहिल्यै नसकिने गेग्रानको थुप्रो !आँधीखोले ओरालोको
साँच्चिकै सजिलो मूलबाटो छेकेर
तार्सेभीरको टोपी खस्ने उकालोमा
आफू हिँड्ने वैकल्पिक बाटो बनाउँदै
चालेर आजीवन पृथक् पाइला
मलाई एक्लो बृहस्पतिको रूपमा
सधैँका लागि सबैको अगाडि
ध्रुवसत्य झुटो प्रमाणित गराउँदै
आजीवन एक्लै हिँड्न बाध्य बनाउने
सदैव स्पष्ट देखिने गहुँगोरो अनुहारका
अदृश्य “उ” कालो
अर्थात् मन कालो भएका
कपटीहरूको व्यवहारकै कारण
म अर्थात् आँधीखोला
उकालोमै बगिरहेको छु !
ओरालोलाई चटक्कै बिर्सिएर
त्यसपछि फेरि सधैँका लागि
उकालोको अप्ठ्यारो बाटो हुँदै
अविरल एक्लै बहनुपर्दाको
अकल्पनीय अप्रत्याशित पीडा
सहनै नसकिने परिस्थितिमा पनि
अझै सहनुको असह्य पीडा
अहिलेसम्म मलाई जत्तिकै
अरू कुन खोलालाई परेको छ होला र ?
अविरल दुई आँखाको बाटो हुँदै
अरू कुन खोला झरेको छ होला र ?
मसँगै बगिरहेको अविरल आँसुको अर्थ
अरू कुन खोलाले पो बुझेको छ होला र ?
अहिलेसम्म आफू एक्लै बसेर एकान्तमा
हरेक पल कुन खोला रुझेको छ होला र ?
चालेर पृथक् पाइला
आफू हिँड्ने वैकल्पिक बाटो
बनाउने अलिकति पनि ठाउँ
बाँकी नरहेको यस्तो अवस्थामा
आइपुगिसकेपछि बाध्यतामै सही
असङ्ख्य सूर्यको असीमित अँध्यारोमा
स्वयं आफूभित्रको सीमित उज्यालो बालेर
आँधीमुहानदेखि डहरैडहरको छेउ हुँदै
देउरालीको साँघुरो बाटोमा एक्लै हिँडेर
एउटा अर्को अन्त्यहीन आँसुको शृङ्खला
अर्थात् म आँधीखोला उकालोमै बगिरहेको छु !
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



