स्रष्टा परिचय:
वि.सं. २०३० असारमा जहडा, उदयपुरमा माता भगवती र पिता विष्णुप्रसाद आचार्यका सुपुत्रका रूपमा जन्मिएका नन्दलाल आचार्य नेपाली साहित्यका एक स्थापित स्रष्टा हुन् । हाल बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुरमा बसोबास गर्दै आएका उनले सानैदेखि नेपाली साहित्य लेखनमा रुचि राख्दै वि.सं. २०५३/५४ देखि विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू प्रकाशन गर्दै आएका छन् ।
साहित्यमा निरन्तर सक्रिय आचार्य नेपाली भाषाका प्रायः सबै विधामा कलम चलाउँछन् । उनका नाटक, समालोचना, निबन्ध, उपन्यास, लघुकथा र कथा विधाका कृतिहरू प्रकाशित छन् । उनले नेपाली साहित्यमा पुर्याएको योगदानका लागि एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।
हाल उनी विभिन्न साहित्यिक पत्रपत्रिका तथा संघ-संस्थामा आबद्ध रही नेपाली साहित्यको सेवामा समर्पित छन् । उनका महत्वपूर्ण कृतिमध्ये “गरुराहा” उपन्यास विशेष रूपमा चर्चित छ, जसलाई जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरले वि.सं. २०७६ मा प्रकाशित गरेको थियो । सो उपन्यासलाई “हाम्रो कथाघर डट कम” अनलाइन पत्रिकाले डिजिटल रूपमा पुनः प्रकाशन गरेको छ ।
अध्याय: ०८
ज्योति ! तिमीलाई मेरो विगत घुमाउने क्रम रोकिएको छैन । अरू धेरै अप्ठ्यारा बाटाहरू मैले पार गरेको छु । तिम्रो मनमा पनि विविध खाले आशङ्काहरू जन्मिरहेका होलान् । तर , ख्याल गर– म तिमीलाई औसत जीवन–कहानी बताउँदै छु । एकएक केस्रा केलाउन सक्ने सामर्थ्य कोहीसँग छैन । भए पनि त्यसको आवश्यकता यहाँ पर्दैन ।
अँ त ज्योति ! मेरो पत्रले मालती केही आश्वस्त भएकी हुनुपर्छ । पत्र लेख्न छाडिन् । फोन–वार्ता गर्ने कुरो सजिलो पनि थिएन । गोपनीयता कायम राख्न पनि फोन–वार्ता र पत्र आदानप्रदान चाँडो–चाँडो हुनु घातक हुन्थ्यो । अर्कातिर मौका पनि मिल्नुपथ्र्यो । के भो , कसो भो । केही महिना हामी बेखबर भयौँ ।
मेरो बिक्रू दाजुको बिहे धुमधामसँग गरिएको थियो । त्यस बेला राम्रो घरको वर भेटे राम्रै दाइजो दिने चलन थियो । मेरो बुबाको नाम ‘लक्ष्मी’ थियो । साहु–महाजनहरूले भने ‘दारासिंह’ राखिदिएका थिए । जवानीमा उहाँ एक किलो चामलको भात सिध्याउने गर्नुहुन्थ्यो । तीन जना जनले गर्ने काम एक्लै गरिसिध्याउनुहुन्थ्यो तर ज्याला भने एकै जनाको लिनुहुन्थ्यो । सबै साहुहरू उहाँलाई जनमा खटाउन मरिहत्ते गर्थे । कम समयमा धेरै काम गरिदिने र औसत ज्यालामै सन्तुष्ट हुने भएकाले उहाँ सर्वत्र लोकप्रिय हुनुहुन्थ्यो । सोझो मनले काम गर्ने र कसैले बाङ्गो–टिङ्गो बाटो पक्रे त्यसमाथि जाइलागिहाल्ने भएकाले जोकोही पनि उहाँसँग डराउँथे ।
बलियो भएकै कारण फुक्र्याउन ‘दारासिंह’ उपाधि दिएको बारे उहाँ अनभिज्ञ हुनुहुन्थ्यो । आफूबाट प्रसन्न भएर मालिकहरूद्वारा उपाधि बक्स भएको भन्ठानेर मख्ख पर्नुहुन्थ्यो । बुद्धिमा त होइन , बलमा उहाँ गरुराहाकै राजा हुनुहुन्थ्यो । उहाँसँग बलमा प्रतिस्पर्धा गर्ने अर्को मान्छे जन्मेकै थिएन । उहाँसँग बल जति भए पनि त्यसको उपयोगले ठूलाठालु नै लाभान्वित भए । फुक्र्याई–फुक्र्याई काममा जोताए । उहाँको उपयोग गरेर धन थुपारे । त्यसको हेक्का उहाँलाई भएन । उहाँ मालिकहरूको सहानुभूतिप्रति गर्व गर्दै ठान्नुहुन्थ्यो– काम गर्न पाएकै छु । सम्मान भेटेकै छु । पेटभरि अन्न परेकै छ । जडौरी नै भए पनि मालिकहरूबाट कपडासमेत उपहार भेटेकै छु । ज्याला पनि पाएकै छु । परिवारजनको पनि लालनपालन गरेकै छु ।
चमार समुदायमा उहाँसँग नातो गाँस्न मान्छेहरू मरिहत्ते गर्थे । यति दाइजो र उति दाइजो दिन्छु भनेर लोभ देखाउनेहरू प्रशस्तै थिए । उहाँले बिक्रू दाजुको विवाहमा एक पैसो दाइजो लिन्नँ भनेर अडान लिनुभयो । कतिपय मानिसहरू दारासिंह छोराको विवाह गराउन अनिच्छुक रहेछन् भनेर फर्केर जान्थे । कतिपय भने यसको स्वभाव हक्की छ भनेर घुमाउरो पाराले प्रलोभनमा फसाउने प्रयत्न गर्थे । कालान्तरमा आफ्नो शिर झुक्ने काम नगराउन आग्रह गर्दै बुबा भन्न थाल्नुभयो– “बेटीए टा दिअ , दहेज नहि चाही । आर किछु नहि कहबाक छै , खाली हमर स्वाभिमानी मुडी नीचा नइँ करिहें ।”
मैथिली समाजमा दाइजो लिन्नँ भनेर अडान लिने मान्छे एकाध भए पनि कन्या दिनेले दाइजो नदिई स्वयम् मान्दैनथे ! समाजको रीतिलाई सम्मान गर्न भन्दै बिक्रूको विवाहमा नमान्दा–नमान्दै पनि हिरो साइकल , सिको फाइभ घडी र गाईको एउटा बाच्छी प्राप्त भएको थियो । त्यसबेला नमागीकन यत्तिका सामान दिनुलाई थुप्रो दाइजो दिएको ठानिन्थ्यो । पूरै गरुराहालाई भोजभतेरमा सामेल गराइएको थियो । त्यसले गर्दा बुबा निकै वर्ष ऋणमा जाकिइरहनुभयो ।
त्यस्तै धुमधामका साथ स्वजातिमा विवाह गराउने मनसायले बुबाले मलाई डाक्नुभयो । म मालतीको घरबाट आफ्नो घर आइपुगेँ । वेलिबिस्तार सुनेपछि विवाह–प्रस्ताव अस्वीकार गर्दै भएँ । विवाहको समय नआएको बताउँदै भएँ । आफ्नो खुट्टामा नउभिई वैवाहिक जीवनमा फस्नु जीवनकै सर्वाधिक भूल हुने बखान्दै भएँ । विवाह पुरुषको लागि जीवन–गतिको पूर्णविराम रहेको तर महिलाको चाहिँ गतिशीलताको तीव्रता भएको फलाक्दै भएँ । मेरा कुराले उहाँ केही मत्थर हुनुभयो । त्यस बेला जिद्दीपनबाट बचेँ । ठूलो सफलता हात लागेको अनुभव भयो ।
उही औसत जीवन त बाँच्नु थियो । जीवन–रथ घचेट्दै गएँ । झिनामसिना झमेला सहँदै गएँ । नयाँ–नौलो महसुस गरिएन । मन कताकता दुखिरहेको थियो– कसैलाई वचन दिइसकेको थिएँ । त्यस वचनलाई निर्वाह गर्नु चानचुने कुरा थिएन । सुझबुझ खट्केको थियो । आदर्श फलाक्न त मनग्यै आउँथ्यो । व्यवहारमा उतार्न भने निकै सकस पर्ने निश्चित थियो ।
ज्योति ! हिउँदको समय थियो । दिनानुदिन जाडो बढ्दो थियो । गरुराहा अन्नबाली भित्र्याउन व्यस्त थियो । हरियालीको मात्रा घट्दो थियो । खेतहरू उजाडिँदा थिए । गाईभैँसी , बाख्रापाठाका लागि चरिचराउ गर्ने ठाउँ भने फैलँदो थियो । गाउँमा कतै चर्पीको व्यवस्था थिएन । बिहानै लोहोटामा पानी बोकेर खेतको ओल्टेकोल्टेमा मानिसहरू बस्थे । कोही–कोही पोखरीको छेउछाउ बस्थे । लोहोटामा पानी नबोक्नेले पोखरीको पानीले नै काम चलाउँथे । छोरी–खाल अलि हिचकिचाए पनि छोरा–खालमा लाजधकको लेस पनि थिएन ।
ज्योति ! उदयपुरजस्तो भित्रीमधेसको ग्रामीण इलाकाकी बासिन्दा भएकीले पनि तिमी यस्ता कुरामा भुक्तभोगी छ्यौ । नभए गाउँमा बस्दै गएपछि अवश्य जानकार हुनेछ्यौ । जवान महिलाहरूलाई दुष्ट पुरुषहरूको गिद्धेदृष्टिबाट बचेर शौचकर्म पूरा गर्न चर्कै थियो । त्यसैले प्रायः उनीहरू साँझ–बिहान मिर्मिरेमै आफ्नो कर्म गर्ने रुटिन बनाउँथे । त्यही समयमा आफूलाई अभ्यस्त तुल्याउँथे । अर्कातिर दिउँसो जानै पर्ने भयो भने सहेलीका साथ सितिमिति कोही पुग्न नसक्ने ठाउँ पुग्थे । र , आनन्दले शौचकर्म पूरा गर्थे ।
पन्सेरामा मेरो र ढेडुझुला गाउँपालिकामा मालतीको घर परे पनि लगभग शौचकर्मको स्थान एउटै हुन्थ्यो । दुवै गाउँबाट पर एउटा निर्जन पोखरी थियो । वरपर दतिवनका बोटबिरुवा थिए । साथै , घाँस र काँसले पोखरीको वरपरको भाग ढाकिएको थियो । ठाउँठाउँमा स–साना झोक्राझोक्री थिए । स–साना चराचुरुङ्गीको आवाजले त्यहाँको वातावरण सङ्गीतमय थियो । विशाल भू–भाग भएको र थोरै मात्र मान्छेहरू पुग्ने भएकाले पोखरीको डिल र पानी दुर्गन्धरहित थियो । यदाकदा दतिवनको घाँस काट्न कामतवालाका नोकरहरू आउँथे । अरूहरू कोही जाँदैनथे । मालतीसँग मेरो विछोड भइसकेपछि सम्झनामा भुटभुटिनुको विकल्प थिएन । आँखाभरि आँसु बनायो । कामधाममा रुचि घटायो । कसैसँग हत्तपत्त नबोल्यो । खाली सोचमग्न भयो । मेरो काम नै यत्ति हुन्थ्यो ।
हामी दुवैले सल्लाह गरेका थियौँ– दतिवनको रूखमुनि पानको पात आकारमा एउटा डब्रा (खोपिल्टो) थियो । त्यहाँ पान आकारकै प्वाल बनाएको थिएँ । म चिठी लेखेर त्यहीँ राख्थेँ । उनी पनि आफ्नो अनुकूल बनाएर त्यहाँ राखेको पत्र लिन्थिन् र आफूले लेखेर ल्याएको पत्र छाडेर जान्थिन् । पत्रमा एक–अर्काप्रतिको प्रेम–अनुराग , पारिवारिक अवधारणा , गाउँलेहरूको सोच–समझ , भविष्यका सपनाजस्ता कुराहरू समेटिएका हुन्थे । म उनको पत्र पाएर भावविभोर हुन्थेँ । चाहिँदोभन्दा बढी आसक्ति मनमा आउन खोज्थ्यो । सम्हालेर राख्न खोज्थेँ । यसरी हामी आ–आफ्नो घरमा हुँदा पनि एक–अर्काको निकटतामा रहन्थ्यौँ ।
म एकाध महिना मात्र आफ्नो घरमा बसेँ । उतैबाट खबर आएपछि मात्र ढेडुझुला पुगेँ । अहिले म सम्झिरहेको छु– दशैँ–तिहार सकिनासाथ मालतीका बाबुले भनेका थिए– “राजदेव सर ! परीक्षा आउन निकै बाँकी छ । केही महिना भाइबहिनीलाई मालतीले नै पढाउँछे । तपाईंलाई जागिर लगाइदिन्छु , हिँड्नुस् काठमाडौँ ।” त्यस बेला म अन्कनाएँ । उनले थपे– “के अन्कनाउनुहुन्छ ? दुई–चार पैसा कमाइ पनि हुन्छ । सहर हेर्न र घुम्न पाइन्छ । नयाँ कपडा जोड्नुहुन्छ । आफूलाई चाहिएका किताब–कापी किन्न बाउ–आमा गुहार्नु पर्दैन । जीवनमा नलिई नहुने अनुभव प्राप्त हुन्छ ।”
उनको कुरो मनासिब लाग्यो । खासमा म साइकल वा पैदल यात्रा गरी राजविराज , लहान , लौकीजस्ता एकाध ठाउँहरूमा मात्र पुगेको थिएँ । मौका मिल्यो , पुगियो राजधानी । फराकिला चिप्ला सडक लमतन्न फैलिएका । यातायातका साधनहरूको घुइँचो । ध्वनि र वायु प्रदूषणको वर्णन गरी साध्य नहुने । अर्कातिर दुर्गन्ध र मान्छेको कोलाहलको हिसाबै नगरे हुने । हेर्दाहेर्दै , सुन्दासुन्दै र घुम्दाघुम्दै वाक्कदिक्क भइयो ।
सम्झेँ आफ्नै गाउँ–ठाउँलाई । गाउँ हरियाली थियो । सुनसान थियो । लोकमार्गमा गुडेका साधनले गर्ने ध्वनि प्रदूषण त्यत्तिकै विलाएर जान्थ्यो । मान्छेको कोलाहलभन्दा चराचुरुङ्गीको चिरबिराहट बढी हुन्थ्यो । बिहान–बेलुका भएको सङ्केत तिनै चराचुरुङ्गीले दिन्थे । सहरमा त घामले पनि समय दिन नसकेजस्तो लाग्यो । किनभने गगनचुम्बी महलको फेदमा उभिएर घामको दर्शन गर्नुभन्दा सजिलो स्वर्गको बाटो फेला पार्नु हुँदो रहेछ ।
एकातिर म पाखाभित्ताको मान्छे । मधेसी रीतिरिवाज र संस्कृतिमा हुर्के–बढेको खाट्टी मधेसी ! राजधानीको अत्याधुनिक रहनसहन अपाच्य हुनु सामान्य कुरा थियो । अर्कातिर मालतीको प्रेममा फसिसकेको र उनीबाट अलग भएको परिप्रेक्ष्यमा काठमाडौँ कोक्याउनु नौलो कुरो थिएन । काठमाडौँ हिँड्ने भएपछि उनले आँखाभरि आँसु पारेकी थिइन् । ओठ कमाइरहेकी थिइन् । बोल्न खोज्थिन् । साहस हुन्नथ्यो । वरपर परिवारजन उपस्थित थिए । मौन संवादको विकल्पै थिएन । बुबाको निर्णय एकातिर , अर्कातिर म अर्काको छोरो थिएँ । बीचमा उभिएर प्रतिकार गर्ने पारिवारिक अधिकार उनलाई छँदै थिएन ।
ज्योति ! मलाई सम्झना भइरहेछ– सुरुआतमा सिनामङ्गलस्थित कटन गार्मेन्टमा मैले काम गरेँ । काम सिक्न खासै समय लागेन । त्यसभन्दा बढी आम्दानी हुने फर्निचर कम्पनीमा काठ काट्ने , रन्दा लगाउने लगायतका अह्राएका कामहरू गर्न थालेँ । शरीरमा चोटपटक नलागोस् भनेर होसियारी अपनाउँथेँ । यो शरीर मेरो मात्र होइन मालतीको समेत हो भन्ठान्थेँ । हात–खुट्टामा चोटपटक लागे मलाई मात्र पीडा हुन्न , मालतीलाई समेत दुख्छ भन्थेँ । हर्दम उनकै यादमा डुबिरहन्थेँ । उनकै लागि खानुपर्छ , उनकै खुसीका लागि कमाउनुपर्छ । उनकै मनोबल अभिवृद्धिको काममा जुट्नुपर्छ । त्यस बखत मेरो मनमा यस्तै भावना दगुर्थे ।
हप्ता–हप्ता दिनमा पारिश्रमिक पाइन्थ्यो । पहिलो पटक मेरो हातमा रु . ३ ,५०० ।– पारिश्रमिक हात परेको थियो । यति ठूलो रकम पाएको जीवनमा पहिलो पटक थियो । धन कमाउन पाउँदाको आनन्द बेग्लै थियो । कामको झमेलामा सम्पूर्ण आनन्द र दुःख बिर्सिदिन्थेँ । फुर्सद मिल्दा भने मालतीकै सम्झनामा तड्पिन्थेँ । जसोतसो दिनहरू बित्दै थिए । दुई–चार दिन राजधानीबाट बाहिरिन्छु भन्दै मालतीका बाबु हिँडे । दुई हप्ता बित्दा पनि मलाई उत्तिसाह्रो असर गरेन । किनभने काम पाएकै थिएँ , पैसा खेलाउन भेटेकै थिएँ ।
काठका अन्य सामानहरू बनाउन पनि सिकिरहेको थिएँ । एक किसिमले तालिम पनि पाइरहेको थिएँ । मैले त्यसै काममा भविष्य बन्ने सपना देखिरहेको थिएँ । त्यस बेला अझ मालती खट्केकी थिइन् । बिहानको समय थियो । काममा व्यस्त थिएँ । अन्य मिस्त्रीहरू पनि व्यस्त थिए । त्यसै बेला गरुराहाको हरिश मोची टुप्लुक्क देखा पर्यो । गार्मेन्ट छाडेर म फर्निचरमा काम गर्न थालेकोमा छक्क पर्दै भन्यो– “राजदेव ! तूँ एतऽ काज करए लगलें ?”
मैले स्वीकारोक्तिस्वरूप टाउको हल्लाएँ । एउटी पहाडिनी केटीले दिएको चिठी भनेर मेरो हातमा थम्याउँदै ऊ हिँडिहाल्यो । खसखस लाग्यो । खाममा मालतीका अक्षर थिए । अनुमान लगाउन मलाई गाह्रो भएन । गोप्य कुराहरू खुले साह्रोगाह्रो पर्छ भनेर पिसाब फेर्ने निहुँले बाहिरिएँ । एकान्तमा पुगेर चिठी खोलेँ–
प्राणप्रिय राजदेव ,
यहाँ मेरो हालत कस्तो छ भनेर म अक्षरमा व्यक्त गर्न सक्तिनँ । यहाँ परिस्थिति कस्तो भइसक्यो भन्ने बारे मात्र सङ्केतसम्म गर्न सक्छु । विश्लेषण गर्न सक्तिनँ । म बडो बिलखबन्दमा परेकी छु । दलदलमा भासिँदै गएजस्तो अनुभव हुँदै छ । अब हाम्रो जीवन–यात्रामा विराम लागेजस्तो छ । खै , के भनूँ , हाम्रो सम्झौताको गाग्री माटाको परेछ । फुट्न लागिरहेछ । त्यसलाई पुनः जोडेर काम गर्नु प्रायः असम्भव भइरहेछ ।
राजदेव ! यहाँको परिस्थिति एकपछि अर्को जटिल भइरहेछ । तिमी तुरुन्तै आऊ र सहज बनाऊ । तिमी राजधानीमा टाँसिरहने हो भने सम्भावनाका सम्पूर्ण ढोकाहरू बन्द हुनेछन् । खासमा बुबाले मेरो विवाह किसनपुरको केटासँग गरिदिने हुनुभा’छ । लेनदेनको काम पनि सिधियो । वैशाख २६ गते दिवा लग्नमा बिहे हुने मितिसमेत तय भयो । लत्ताकपडा किन्ने कामसमेत सकियो । लगभग बिहेका लागि गरिने मुख्य–मुख्य काम सबै सकिए ।
हेर ! म अब धेरै दिन बाँच्दिनँ होला । तिमी आउने आशमा प्राण बचाएर राखेकी छु । यो तन तिमीलाई हवाला गरिसकेकी छु । मन–मस्तिष्क सबै तिमीलाई नै सुम्पिसकेकी छु । र , पनि तिमीले मलाई छोएका छैनौ । म समेत तिम्रो समीपमा उभिएकी छैन । आँखामा आँखा जुधाएर हामीले प्रेमका गन्थन समेत गरेका छैनौँ । भावनात्मक रूपमै हाम्रो प्रेमरथ गुडिरहेको छ । यतिखेर म तिमीबिना जमिनको माछोझैँ भड्किरहेकी छु ।
हेर राजदेव ! तिम्रो मनलाई सम्बोधन गर्न म तिमीलाई तिमी भनेरै सम्बोधन गरिरहेकी छु । यो मेरो अधिकारै हो भन्ने बोध तिम्रो अभावमा भएको हो । हुन पनि तिमी मभन्दा एक–डेढ वर्ष कान्छा रहेछौ । मैले सामाजिक संरचना र चालचलन अनुसार ‘तिमी’ भन्न पाउने नै रहेछु । अझ तिम्रै जिद्दी थियो– ‘तपाईं’ शब्दले आदरभाव झल्काए पनि आत्मीयता झल्काउँदैन । मलाई माया गरेकै हो भने आजैदेखि ‘तिमी’ भन्न सुरु गर । नत्र भने म पनि तिमीलाई ‘तपाईं’ भन्न थाल्ने छु । तिम्रो त्यस भनाइले मेरो मन छोयो । त्यसैले ‘तिमी’ भन्ने धृष्टता गरेकी हुँ । बिहेपछि पतिको भाउ दिऊँला ।
ए , मूल कुरो त झन्डै बिर्सेछु । म तिमीलाई ‘यादव’ ठान्थेँ । आमा पनि यादव नै ठान्नुहुँदो रहेछ । त्यसैले उहाँले मधेसी भए पनि यत्तिको लायक र इमानदार केटोलाई ज्वाइँ बनाउन पाए त हाम्रो एउटा तनाव कम हुने थियो भनेर मलाई उकास्नुभयो । म पनि यस कुरामा गम्भीर भएँ । मधेसमा बसेपछि स्थानीय रङमा घुल्नु जरुरी छ जस्तो लाग्यो । सोहीबमोजिम घटनाक्रम विकसित हुँदै गए ।
धेरै पछि साँचो कुरा पर्दाफास भयो । तिमी त तथाकथित तल्लो मानिने चमार जातका पो रहेछौ । तिम्रो र मेरो पारिवारिक खान्दानमा हिन्दु धर्मबाहेक अर्थोक केही पनि नमिल्ने रहेछ । फराकिलो दुरी बुझेर म सुरुमा छक्क परेँ । भित्रभित्रै भुटभुटिएँ । मैले जोरजुलुम गरिरहँदा तिमी तर्की–तर्की हिँड्नुको रहस्य बल्ल बुझ्न सकेँ । त्यही शालीनता र शिष्टताले त मलाई तिम्रो नजिक–नजिक ल्याएको थियो ।
राजदेव ! तिमीसँग नजिकिन प्रेरित गरिरहने आमा तिमी मधेसी–दलित वर्गमा पर्छौ भन्ने थाहा पाएपछि मलाई नै हकारपकार गर्न थाल्नुभयो । नानाभाँतीका कुरा भनेर म अलच्छिन भएको साबित गर्न थाल्नुभयो । त्यस बेला मैले भनेकी थिएँ– “मैले धेरै कुरा जानेकी पनि छैन । जान्नु आवश्यक पनि ठानिनँ । र , मैले उसको परिवार र समाजसँग नभई राजदेव स्वयमसँग बिहे गर्न लागेकी हुँ ।”
“राजदेव चमार हो । सिनो फाल्ने फोहोरी जात हो । ढोल पिट्दै माग्दै खाने जात हो । भलै राजदेव राजामहाराजको सन्तानजस्तो सुन्दर र उदार स्वभावको भए पनि ऊसँग गाँसिएको जातीय रङ र रगतले ऊ यस घरको ज्वाइँ बन्न किमार्थ सम्भव छैन ।” आमाको यस्तो कुराको प्रतिकार गर्दै मैले खुलस्त भनेकी थिएँ– “तपाईं जे भन्नुस् आमा ! ऊ पढेलेखेको समझदार मान्छे हो । हातमा सीप छ , पाखुरीमा तागत छ । व्यवहारमा खाट्टी बाहुन–क्षेत्रीजस्तो छ । जे भयो , भयो । म उसलाई त्याग्न सक्तिनँ ।”
उहाँ रिसाउनुभयो । तैँले कुलको इज्जत डुबाउने परिस् , तुरुन्तै टुङ्गो नलगाए नरकमा जाक्ने परिस् भन्न थाल्नुभयो । र , बुबालाई फोन गरेर सारा वृत्तान्त बताउनुभएछ । हडबडाउँदै बुबा घर आइपुग्नुभयो । मेरा कुरा सुन्न खोज्नुभयो । मैले पनि डराउँदै ‘ऊ पनि मलाई मन पराउँछ’ भनेँ । “त्यस चमारेले ठूलो आँट गरेछ , तँलाई पाखा नलगाई भएन ।” , बुबाले आक्रोश पोख्नुभयो ।
मलाई सकस पर्यो । के गरूँ र कसो भनूँ भयो । आखिरमा हुने कुरा नभई छाड्दैन । म मन खोलेर कुरा राख्छु भन्ने मन भयो । बुबासँग प्रत्यक्ष बोल्ने आँट थिएन । चुपचाप निरीह भएर रहँदी भएँ । फुपू आइन् । उनी उमेरमा ३५ कटेकी भए पनि मेरी मिलनसार सुखदुःखकी साथी थिइन् । यस पटक भने गम्भीर देखिन्थिन् । “मालती ! अब पुराना कुरा भुल् । नयाँ कुरा सोच् । नयाँ संसार बसा । मनमा कल्पेको थोत्रे संसारमा रमाउने सपना भुलिदे । राजदेव राजधानीमै रत्तिएको छ । ऊ त्यत्तै भुल्छ । तँ यता अर्कैसँग बिहे गरेर घरजम गर् ।”
फुपूका कुराले म तीन छक्क परेँ । उनमा पनि हाम्रो सम्बन्धविरुद्ध उत्रने साहस देखेर मलाई के भयो , भयो । पड्कन थालेँ– “फुपू , मैले तपाईंलाई एक मात्र शुभचिन्तक ठानेकी थिएँ । आमाबाबुले तपाईंलाई पनि रटाउनुभएछ । तपाईं उहाँहरूको विचार बोलिरहनुभएको छ । सुन्नुस्– म राजदेवसँगै बिहे गर्छु । बरु मर्छु तर बुबाले खोजेको केटासँग बिहे गर्दिनँ । मालतीको जीवनसँग खेलबाड नगर्न उहाँहरूलाई सल्लाह दिनुस् । आफ्नो अहङ्कार तुष्टिका लागि मेरो अन्तस्करणलाई कुल्चने काम बन्द गर्नुस् । मलाई यसरी नै सताइरहने हो भने म तपाईंहरूको सहाराबिना नै खुसी र सुखी रहन सक्छु ।”
मेरो कुराको कुनै प्रतिकार नगरी उनी अलप भइन् । आधा घण्टापछि गालीगलौजसहित बुबाको हातबाट रामधुलाई भेटेँ । जति पिटे पनि ‘राजदेव ! राजदेव !!’ भनेर चिच्याउँदी भएँ । के भनूँ राजदेव ! जङ्गे शासनका विरुद्ध म के उत्रन सक्थेँ र ! अहिले म कोठामा थुनिने गरेकी छु । शौचकर्मका लागि मात्र फुपूको साथमा बाहिरिन पाउँछु । फुपू पनि तटस्थ भएर मेरो दशा हेरिरहेकी छन् ।
आमाको माया र सहानुभूतिबाट समेत टाढिएकी छु । तिमी छिटो आऊ र मलाई बचाऊ । नत्र भने मरेको अनुहार पनि हेर्न पाउने छैनौ । मात्र खबर सुन्न पाउनेछौ ।
तिमीलाई नै जीवन सुम्पेकी असहाय केटी
मालती
∎∎∎∎∎
क्रमशः


