स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित
काठमाडौँ । नेपाल स्रष्टा समाजको अर्धवार्षिक साहित्यिक पत्रिका ‘स्रष्टा दर्पण’ अङ्क-३३ लोकार्पित भएको छ ।
राजधानीमा मङ्गलबार आयोजित एक कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, पवन आलोक, श्रीओम श्रेष्ठ ‘रोदन’, राधेश्याम लेकाली, प्रकाश घायल, शङ्कर भारती लगायतले उक्त पत्रिका लोकार्पित गर्नुभयो ।
कृति लोकार्पण गर्दै प्रा.डा. भट्टराईले भन्नुभयो, ‘संस्कृति सभ्यतासँगै बदलिँदो रहेछ । हिजो जे थियो, आज जे छ, त्यो संस्कृति नै हो । तर संस्कृतिमा आफ्नोपन हुनुपर्छ । संस्कृतिको जगेर्ना गर्ने यो प्रयास स्तुत्य छ ।’
उहाँले संस्कृतिलाई मान्छेले ठूलो शक्ति, भक्ति र तिर्खाका रूपमा लिनुपर्ने बताउनुभयो । अर्का वक्ता प्रा.डा. गौतमले भन्नुभयो, ‘स्रष्टा दर्पणमा संस्कृतिका बारेमा अहिलेसम्म नआएका विषयवस्तु पनि आएका रहेछन् ।’ उहाँले अङ्क पठनीय र सङ्ग्रहणीय भएको आफूले पाएको बताउनुभयो । नेपाल स्रष्टा समाजको भूमिकाको प्रशंसा गर्दै उहाँले भन्नुभयो, ‘साहित्यको प्रवर्द्धन गर्न साहित्यिक कार्यक्रम जरुरी छ । यो सत्कर्म नेपाल स्रष्टा समाजले गर्दै आएको छ ।’ समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले ‘स्रष्टा दर्पण’ समाजको ऐनाका रूपमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसले यो पत्रिका हेर्छ, उसले पनि संस्थाको अडिट गर्न सक्छ ।’ उहाँले गत वर्ष ३४ वटा विभिन्न साहित्यिक गतिविधिहरू समाजले गरेको जानकारी दिनुभयो । उहाँले पत्रिकाको यो अङ्कमा लुकेका संस्कृतिहरूलाई समेत खोज गरी तयार पारिएका लेखहरू समेत समावेश गरिएको बताउनुभयो ।
कार्यक्रममा समाजका संरक्षक पवन आलोक, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, समाजका महासचिव प्रकाश घायल लगायतले समाजका गतिविधिहरूका बारेमा आफ्नो मन्तव्य राख्नुभयो ।
समाजको बागमती प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता नेपाल स्रष्टा समाजका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक शङ्कर भारतीले गर्नुभयो । साथै, कार्यक्रमको सञ्चालन सदस्य एलिसा ढुङ्गानाले गर्नुभयो भने स्वागत मन्तव्य सदस्य सुशील रिजालले राख्नुभयो ।
साहित्य र संस्कृति विशेष अङ्कका रूपमा आएको यो पत्रिकाभित्र साहित्य र संस्कृतिसँग सम्बन्धित खोजमूलक लेख, अन्तर्वार्ता, निबन्ध, कविता आदि ३१ थान रचनाहरू समावेश गरिएका छन् ।
आयोजकले जानकारी दिएअनुसार साहित्य र संस्कृतिका अध्येता, अनुसन्धानकर्ता र पाठक सबैका लागि उपयोगी हुने महत्त्वपूर्ण अङ्कका रूपमा यो पत्रिका आएको छ ।


