गीत: उस्तै आकाश, उस्तै घाम…

गीतकार: पद्मावती सिंह
उस्तै आकाश, उस्तै घाम, उस्तै जुनतारा ।
छैन केवल साथमा मेरो जीवनको सहारा ।
कसरी बिर्सूँ त्यो गोरेटोमा हात समाई हिँडेको ?
काटौँला सँगै सुख र दुःख तिमीले भनेको ।
निर्मोही, बीचै बाटोमा छोडी गयौ नि मलाई ।
काट्दै छु रात आँसुले सधैँ सिरानी भिजाई ।
बसेको छु म जिन्दगीका निराश पलहरू अँगाली ।
रोएको छु म बादलले ढाकेको आकाश नियाली ।
भन्छौ तिमी कति सजिलै, बिर्सिदेऊ मलाई ।
बिर्सन सक्ने पाषाण हृदय पठाइदेऊ मलाई ।
(पद्मावती सिंह नारी मनोविज्ञानमा आधारित आख्यान लेखनकी वरिष्ठ एवम् सुप्रसिद्ध स्थापित साहित्यकार हुनुहुन्छ । उहाँ अहिले पनि साहित्य लेखन तथा गायनमा सक्रिय हुनुहुन्छ ।)
गीत: धनमाया

गीतकार: जीवन सोनी
मेरो निःस्वार्थ प्रेममा पनि, खोट देख्यौ तिमीले ।
उसको घर त धन फल्ने, बोट देख्यौ तिमीले ।
लुकाउँछौ पशुझैँ, उसले कोपरेका घाउहरू,
मेरो प्रेम-वचन, काँडाको चोट देख्यौ तिमीले ।
नबिराऊ बाटो भनी, सावधान गर्न खोज्दा पनि ।
तिमीलाई बचाउन मै, आगोमा पर्न खोज्दा पनि ।
पराईको घरलाई नै किन, ओत देख्यौ तिमीले ?
मेरो प्रेम-वचन, काँडाको चोट देख्यौ तिमीले ।
तिम्लाई ठेस लाग्दाखेरी, चस्स मुटु दुख्थ्यो मेरो ।
अप्ठ्यारोमा पर्दा तिमी, यता सास रुक्थ्यो मेरो ।
माया मैलो, चम्किएका नोट देख्यौ तिमीले ।
मेरो प्रेम-वचन, काँडाको चोट देख्यौ तिमीले ।
सल्यान, कर्णाली प्रदेश, हाल: भारत
गीत: तिमी हिँड्ने बाटोमा…

गीतकार: लीलाराज दाहाल
तिमी हिँड्ने बाटोमा फूल छरिदिऊँला !
पैताला टेक्ने ठाउँ नरम राखिदिऊँला !
मनमा छन् के कुरा नलुकाई भन ।
पछि त के होला, धड्कन बढ्ला झन् ।
तिमीलाई सिँगारी चट्ट पारिदिऊँला !
पैताला टेक्ने ठाउँ नरम राखिदिऊँला !
झुक्याउन कहिले विपनामा आउँछ्यौ,
सधैँ-सधैँ सपनामा आई सताउँछ्यौ ।
तिमी मुस्कुराए त जून टिपिदिऊँला !
पैताला टेक्ने ठाउँ नरम राखिदिऊँला !
बागमती-११, कर्मैया, सर्लाही


