डा. श्यामप्रसाद न्यौपानेका दुई कृति ‘सिमल भुवा’ र ‘मिस्कल’ एकैसाथ लोकार्पण
बर्दघाट, नवलपरासी । नेपाल स्रष्टा समाज, लुम्बिनी प्रदेशको आयोजनामा नवलपरासीको बर्दघाटमा एक भव्य साहित्यिक समारोहका बीच स्रष्टा डा. श्यामप्रसाद न्यौपानेका दुई कृतिहरू एकैसाथ लोकार्पण गरिएका छन् । २०८३ जेठ ३ गते आइतबार बर्दघाट प्रेस क्लबको सभाहलमा आयोजित ‘कृति लोकार्पण एवम् रचनावाचन’ कार्यक्रममा डा. न्यौपानेद्वारा लिखित कवितासङ्ग्रह ‘सिमल भुवा’ र लघुकथासङ्ग्रह ‘मिस्कल’ सार्वजनिक गरिएको हो ।
साहित्यकार रमेश समर्थनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सुरुवातमा विष्णु गजुरेलले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण स्रष्टा र अतिथिहरूलाई स्वागत गरेका थिए ।
कार्यक्रममा सार्वजनिक गरिएका दुवै कृतिमाथि समीक्षकहरूले विस्तृत रूपमा समीक्षात्मक चर्चा गरेका थिए । जसअन्तर्गत लघुकथासङ्ग्रह ‘मिस्कल’माथि समीक्षक रुद्र ज्ञवालीले र कवितासङ्ग्रह ‘सिमल भुवा’माथि शेषकान्त पौडेलले आ-आफ्नो समीक्षात्मक दृष्टिकोण प्रस्तुत गरेका थिए । उनीहरूले डा. न्यौपानेका सिर्जनाले समाजको यथार्थ चित्रण गर्नुका साथै नेपाली साहित्यभण्डारमा महत्त्वपूर्ण इँटा थपेको कुरामा जोड दिएका थिए ।
कृति लोकार्पणसँगै स्रष्टाहरूबाट रचनावाचनसमेत गरिएको उक्त कार्यक्रमले बर्दघाटको साहित्यिक माहोललाई थप रङ्गीन बनाएको थियो । समारोहमा ऋषि आजाद, हुमनाथ आचार्य, हृदय लेकाली, सिर्जना खनाल, तिलक भट्टराई, उद्धव देवकोटा, यदु लामिछाने, हरिप्रसाद भट्टराई, अर्जुन पाण्डेय, डा. हरिप्रसाद घिमिरे, नारायण भण्डारी, मुक्ति तिवारी, विष्णु खनाल भण्डारी, समीप रेग्मी, तुलसीराम पाण्डे, तोमा तिवारी न्यौपाने र लक्ष्मी बर्तौलालगायत करिब तीन दर्जन स्रष्टाहरूको उत्साहजनक उपस्थिति तथा सहभागिता रहेको थियो । उपस्थित स्रष्टाहरूले आ-आफ्ना सुन्दर सिर्जना वाचन गरेर कार्यक्रमलाई थप रोचक बनाएका थिए ।
कार्यक्रमको अन्त्यमा सभापति रमेश समर्थनले स्रष्टा डा. न्यौपानेलाई बधाई तथा शुभकामना दिँदै साहित्यिक यात्राको निरन्तरताका लागि शुभकामना व्यक्त गरेका थिए । शब्द र सिर्जनाको यो सुन्दर सङ्गमलाई सञ्चालक कुसुमाकर ढकाल ‘कृष्ण’ले अत्यन्तै आकर्षक शैलीमा सहजीकरण गरेका थिए ।


