युवा मुक्तककार मुनाल गोदारको कृति ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जा, बलमाटा ।
युवा मुक्तककार मुनाल गोदार क्षेत्रीको पहिलो साहित्यिक कृति ‘मुनाल (बतासे प्रेम)’ मुक्तकसङ्ग्रह लोकार्पण गरिएको छ । ८३ वटा मुक्तक सङ्ग्रहीत उक्त कृतिको गत शनिबार (वैशाख १२) एक विशेष समारोहबीच लोकार्पण तथा परिचर्चा गरिएको हो ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको आठौँ वर्ष प्रवेशको सन्दर्भ पारेर भीरकोट नगरपालिका–७ वडा कार्यालयको आयोजनामा बलमाटास्थित कालिका पुस्तकालयमा ‘लोकार्पण, परिचर्चा एवम् सिर्जना वाचन कार्यक्रम–२०८३’ सम्पन्न भएको हो ।
भीरकोट–७ का वडाध्यक्ष ताराप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न समारोहमा भीरकोट नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्माचार्य प्रमुख अतिथि रहेका थिए । त्यस्तै, नगरपालिकाका संस्थापक नगरप्रमुख छायाराम खनाल र युवा समाजसेवी यामप्रसाद अधिकारी (लक्ष्मण) विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । प्रमुख अतिथि, विशिष्ट अतिथि, स्रष्टा एवम् समीक्षकहरू र मुक्तककार स्वयम्ले संयुक्त रूपमा कृतिको आवरण सार्वजनिक गरेका थिए ।
लोकार्पित कृति र मुक्तककार गोदारको लेखनशैलीमाथि युवा स्रष्टा एवम् साहित्यिक अभियन्ता मिलन समीर, शम्भु अर्याल र मनिषा कोइरालाले समीक्षात्मक टिप्पणी राखेका थिए । वक्ताहरूले भीरकोट क्षेत्र साहित्यमय बन्दै गएकोमा खुसी व्यक्त गर्दै स्रष्टाहरूले सिर्जनात्मक निरन्तरतामा जोड दिनुपर्ने बताए । सोही अवसरमा युवा शिक्षाकर्मी अमृत अर्यालले ‘सिर्जनशील सिकाइको सन्दर्भमा शिक्षक र विद्यार्थीको भूमिका’ विषयमा आफ्नो धारणा राखेका थिए ।
नेपाली लेखक सङ्घ, स्याङ्जाद्वारा प्रकाशित यस कृतिको सम्पादन मिलन समीरले गरेका हुन् । सङ्ग्रहमा समसामयिक विषयवस्तु, प्रेम र सामाजिक सन्दर्भ बोकेका ८३ वटा चोटिला मुक्तक समावेश छन् भने प्रत्येक मुक्तकको भाव झल्काउने रेखाचित्र (स्केच) समेत राखिएको छ ।
२०५९ भदौ २१ गते बुवा लालबहादुर र आमा नर्वदा गोदारको कोखबाट भीरकोट–७, स्याङ्जामा जन्मिएका मुनाल हाल पृथ्वीनारायण क्याम्पस, पोखरामा स्नातक (व्यवस्थापन) तहमा अध्ययनरत छन् । सानै उमेरदेखि साहित्य र समाजसेवामा रुचि राख्ने उनी डाँफे अनलाइन तथा डाँफे डिजिटेक प्रा.लि., पोखराका प्रमुख हुन् भने फोर.जी. इन्जिनियरिङ प्रा.लि., काठमाडौँमा व्यवस्थापकका रूपमा समेत कार्यरत छन् ।
कालिका पुस्तकालयका अध्यक्ष श्यामप्रसाद अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सञ्जु दोरङ्गा अर्यालले गरेकी थिइन् । कार्यक्रममा व्यवसायी नुवादत्त अर्याल, लेखबहादुर के.सी. (किरण) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सिर्जना वाचन सत्रमा वसन्त खनाल, दिलीप तिवारी, खगेन्द्रजंग थापा, डिल्लीराम भण्डारी, अमित सुनार, सुदीक्षा सुनार, सक्षम रोका, उषा सुनार, इशाना रोका, सरगम थापा, गुरुप्रसाद ढकाल, चण्डिकाप्रसाद भट्टराई, हरिप्रसाद पङ्गेनी, बबिन पाठक, लीला रेग्मी, लेखनाथ काफ्ले, पारिश्वर न्यौपाने र ध्रुवप्रसाद शर्मा पङ्गेनीलगायतका स्रष्टाहरूले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए ।
समारोहको अन्त्यमा आयोजकका तर्फबाट अतिथि, समीक्षक तथा स्रष्टाहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।


