पराजुलीको उपन्यास ‘बखान’माथि वालिङमा विमर्श
स्याङ्जा ।
युवा लेखक तथा पत्रकार वसन्त पराजुलीको उपन्यास ‘बखान’माथि स्याङ्जाको वालिङमा विमर्श गरिएको छ । ‘वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान–२०७६, स्याङ्जा’को आयोजनामा गत वैशाख १३ गते आइतबार अपराह्न, वालिङ बजारस्थित नेचुरल भ्यु पोइन्ट रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित यस उपन्यासमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्त रूपमा चित्रण गरिएको छ ।
कार्यक्रममा बोल्दै उपन्यासकार पराजुलीले ऐतिहासिक घटनाक्रमलाई आख्यानीकरण गर्दा जोखिम मोलेरै भए पनि पुस्तक तयार पारेको बताए । चितवनको बस्ती विकास, नेपालमै पहिलो सहकारीको स्थापना र त्यहाँको राजनीतिमा बखानसिंह गुरुङले पुर्याएको योगदानलाई आफूले उपन्यासमा उतारेको उनले प्रस्ट पारे ।
पुस्तकमाथि समीक्षात्मक टिप्पणी राख्दै साहित्यिक अभियन्ता मिलन समीरले ‘बखान’ बखानसिंह गुरुङको जीवनी मात्र नभई एउटा ऐतिहासिक कालखण्डको दस्तावेज भएको दाबी गरे । उनले भने, “बखानमा २००७ सालको क्रान्तिको कथा, तत्कालीन समाजको तस्बिर, सहकारी अभियान र चितवनको समग्र परिवेश समेटिएको छ । यसमा चितवनको बस्ती विकास, नेपाली काङ्ग्रेसको इतिहासका साथै पर्यावरणीय चेतसमेत सूक्ष्म रूपमा केलाइएको छ ।”
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्वकेन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंह गुरुङको योगदानको चर्चा गर्दै उनको ऐतिहासिक व्यक्तित्वलाई आख्यानमार्फत बाहिर ल्याएकोमा लेखक पराजुलीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कवि तथा निबन्धकार शम्भु अर्यालले सहजीकरण गरेको उक्त कार्यक्रममा स्थानीय साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । हाल नेपाल पत्रकार महासङ्घ, चितवन शाखाका अध्यक्षसमेत रहेका पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रिमी आइज’ (अङ्ग्रेजी) कथासङ्ग्रह प्रकाशित छन् ।


