वीरबहादुर विष्टको बाजुरेली खस भाषाको मुक्तक सङ्ग्रह ‘खण्सापका मुक्तक’ विमोचित
गोविन्दराज तिमिल्सेना / बाजुरा ।
बाजुरेली भाषा र माटोको सुगन्ध बोकेको मुक्तकसङ्ग्रह ‘खण्सापका मुक्तक’ सार्वजनिक भएको छ । नेपाली साहित्य क्षेत्रमा सशक्त रूपमा कलम चलाउँदै आएका मुक्तककार वीरबहादुर विष्टद्वारा बाजुरेली खस भाषामा लिखित उक्त कृतिको आज (आइतबार) विमोचन गरिएको हो ।
स्थानीय भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले सुदूर साहित्य प्रतिष्ठान, बाजुराको आयोजनामा सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमका बीच कृतिको विमोचन गरिएको हो ।
जम्मा १०१ वटा मुक्तक सङ्गृहीत यस कृतिमा विष्टले बाजुराको कला, पारिवारिक मायाप्रेम, राष्ट्रिय चिन्तन, सामाजिक भाव, राजनीतिक बेथिति र विकृति–विसङ्गतिजस्ता विषयलाई समेट्दै चोटिलो व्यङ्ग्य पस्किएका छन् । विष्टका सबै मुक्तकले गाउँ, समाज र देशप्रति ओजिलो भाव बोकेका छन् ।
बडीमालिका नगरपालिका वडा नम्बर ९, चौराटामा बुबा भक्ते विष्ट र आमा धौलीदेवी विष्टको कोखबाट जन्मिएका मुक्तककार विष्टको यो पहिलो कृति हो । विमोचन कार्यक्रममा बोल्दै उनले जम्मा पाँच दिनको छोटो समयमै रचना गरेर कृति सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । सरकारी पदमा रहँदा देखिएका विसङ्गति, तल्लो तहका कर्मचारीले भोगेका यथार्थ समस्या, आफ्नो जीवनकालका भोगाइ, बाजुराको परम्परागत कला–संस्कृति, रहनसहन र देशको वर्तमान परिवेशलगायत समग्र वस्तुस्थितिलाई समेटेर कृति तयार पारिएको उनले प्रस्ट पारे ।
यस कृतिले बाजुराको भाषा र साहित्यको थप जगेर्ना गर्ने अपेक्षा राखेको बताउँदै लेखक विष्टले स्वदेशमा अवसरको अभाव र विवशताले परदेशिनु परेको पीडा पनि मुक्तकमा झल्काएका छन् । ‘खण्साप’ले नीति निर्माण र कार्यान्वयनका बीचको खाडललाई तीखो व्यङ्ग्यमार्फत उजागर गर्दै कार्यदक्षताको कदर हुनुपर्ने भावसमेत प्रस्तुत गरेको छ ।
कार्यक्रममा बोल्दै मालिका माविका प्राचार्य तथा साहित्यकार शुभराज पाध्यायले ‘खण्सापका मुक्तक’ले समाज र देशको समसामयिक परिस्थितिको यथार्थ चित्रण गरेको बताए । कृतिको मौलिक पक्ष नै बाजुरेली भाषा भएकाले यसले नितान्त मौलिक भाषालाई जीवन्त बनाइराख्न मद्दत गर्ने कुरामा उनले जोड दिए । स्थानीय जनजीवन, संस्कृति, मानिसका सङ्घर्षका साथै माया–प्रेमका कोमल भाव र पारिवारिक स्नेहका सुमधुर क्षणलाई समेत स्थान दिएको यस कृतिले बाजुरेली साहित्य क्षेत्रमा छुट्टै छाप छोड्ने उनको भनाइ थियो ।
विमोचन कार्यक्रमकी प्रमुख अतिथि तथा बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले लेखक विष्टको उदाहरणीय कार्यको प्रशंसा गरिन् । उनले कृतिले कृतिकारको मात्र नभई सिङ्गो बाजुराको धर्म, संस्कृति र पहिचान झल्काएको बताउँदै सकारात्मक सोच भएका व्यक्तिबाट मात्रै उत्कृष्ट साहित्य सिर्जना सम्भव हुने धारणा राखिन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले यस मुक्तकसङ्ग्रहले बाजुरेली खस भाषा, ग्रामीण जीवनका दुःख, पीडा, अभाव र यथार्थलाई उजागर गर्दै स्थानीय साहित्य क्षेत्रमा नयाँ इँटा थप्ने विश्वास व्यक्त गरेका थिए ।


