नेपाली लेखक सङ्घ स्याङ्जाको अधिवेशन र पर्या-काव्य उत्सव सम्पन्न
वालिङ, स्याङ्जा । नेपाली लेखक सङ्घ, स्याङ्जाको चौथो जिल्ला अधिवेशन तथा ऐतिहासिक प्रथम स्याङ्जा पर्या/हरित काव्य उत्सव-२०८३, यही जेठ १६ गते शनिबार वालिङमा भव्यताका साथ सम्पन्न भएको छ । सङ्घका उपाध्यक्ष एवं युवा स्रष्टा युवराज सुवेदीको अध्यक्षतामा वालिङ खेलमैदानस्थित पतञ्जलि योगपीठको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा वरिष्ठ स्रष्टा देवीप्रसाद वनवासीको प्रमुख आतिथ्य रहेको थियो । सोही अवसरमा देवीप्रसाद वनवासी र मिलन समीरद्वारा सम्पादित एवं शिवकुमार अधिकारीद्वारा लिखित कथाकृति ‘कोपिला’ को सामूहिक लोकार्पण गरिएको थियो । कार्यक्रममा ध्रुवप्रसाद शर्मा पङ्गेनी, दीपक लम्साल, नेत्रनारायण रेग्मी, कुमार राना र विश्वप्रेम अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै साहित्यिक एवं वातावरणीय सचेतनाको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो ।
ऐतिहासिक पर्या-काव्य उत्सवअन्तर्गत दुई दर्जनभन्दा बढी स्रष्टाहरूले पर्यावरण र प्रकृतिको संरक्षणमा केन्द्रित रहेर आफ्ना उत्कृष्ट रचनाहरू प्रस्तुत गरेका थिए । रचना वाचन गर्नेहरूमा लक्ष्मी रेग्मी खनाल, मुनाल गोदार, विष्णु पङ्गेनी पाण्डे, खगेन्द्रजङ्ग थापा, जिबी राना, शोभाकान्त रेग्मी, गणेश खत्री, गुरुप्रसाद ढकाल, लीला रेग्मी, ढालबहादुर के.सी., इन्द्रप्रसाद पाठक, विक्रम संवत्, सरस्वती अर्याल काफ्ले, पारु थापा पल्ली, राजु गैह्रे, स्मारिका अर्याल, सीताराम अधिकारी, ध्रुवप्रसाद शर्मा पङ्गेनी, नेत्रनारायण रेग्मी, मिलन समीर र पारिश्वर न्यौपाने लगायत हुनुहुन्थ्यो ।
अधिवेशनले आगामी कार्यकालका लागि युवा स्रष्टा पारिश्वर न्यौपानेको अध्यक्षतामा १२ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा युवराज सुवेदी, महिला उपाध्यक्षमा शान्ता थापा, सचिवमा गुरुप्रसाद ढकाल, कोषाध्यक्षमा शोभाकान्त रेग्मी र सहसचिवमा मुनाल गोदार चयन हुनुभएको छ भने सदस्यहरूमा राजु गैह्रे, जिबी राना, खगेन्द्रजङ्ग थापा, इन्द्रप्रसाद पाठक, पार्वती थापा पल्ली र सरस्वती अर्याल काफ्ले रहनुभएको छ । पारिश्वर न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको संयोजन सङ्घका केन्द्रीय सचिव एवं साहित्यिक अभियन्ता मिलन समीरले गर्नुभएको थियो । वि.सं. २००८ मा स्थापित नेपाली लेखक सङ्घले स्याङ्जामा २०६७ सालदेखि सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।
— समाचारदाता: मिलन समीर —


