लघुकथा: आभासी हतकडी
बिहानको कलिलो घाम काठमाडौँको व्यस्त सडकमा चर्किँदै थियो । अफिस समयको हतारोमा रहेका कर्मचारी राजेशलाई अचानक पेटमा कडा दबाब महसुस भयो । वरपर सार्वजनिक शौचालय कतै थिएन । लाचार भई उनी अरूको नजरबाट बच्न ओझेल पर्ने ठाउँ खोज्दै एउटा साँघुरो गल्लीको कुनामा पुगे र आफ्नो प्राकृतिक आवश्यकता पूरा गर्न लागे ।
संयोगवश, त्यही बाटो हिँडिरहेकी युवती सरिताले उनलाई देखिन् । परिस्थितिको गहिराइ र लाचारीलाई बुझ्दै नबुझी, उनले रिसको झोंकमा मोबाइल निकालिन् र चिच्याउन थालिन्— “यो सडकछापले मलाई आफ्नो अङ्ग देखायो !”
“मैले त केवल…” राजेश अक्कनबक्क हुँदै केही भन्न खोज्दै थिए, तर सरिताले भिडियो खिच्न बन्द गरिनन् । ‘यौन दुर्व्यवहार’को एउटा भावुक र सनसनीपूर्ण कथा बुनेर उनले त्यो भिडियो टिकटकमा हालिन् । ‘लाइक’ र ‘भ्युज’को भोको भर्चुअल भीडले सत्यको अनुसन्धान नगरी क्षणभरमै त्यसलाई भाइरल बनाइदियो ।
त्यसपछि सुरु भयो सामाजिक सञ्जालको विवेकहीन अदालत । भीडले बाटोमै राजेशमाथि हात छाड्यो । भोलिपल्टै अफिसले उनलाई जागिरबाट निकाल्यो । उनकी छोरीले विद्यालयमा “बलात्कारीकी छोरी” भन्ने अपमान सहँदै मानसिक यातना भोग्नुपर्यो । वर्षौँदेखि कमाएको इज्जत र प्रतिष्ठा केही मिनेटमै धूलोमा मिल्यो । उनको सिङ्गो परिवार अपमानको भेलमा डुब्यो ।
केही दिनपछि प्रहरीको सूक्ष्म अनुसन्धान, सीसीटीभी फुटेज र प्रमाणहरूले सत्य उजागर गरिदिए । त्यो कुनै योजनाबद्ध यौन दुर्व्यवहार नभई एउटा दुर्भाग्यपूर्ण मानवीय लाचारी थियो । राजेश कानुनी रूपमा पूर्णतः निर्दोष ठहरिए ।
प्रहरीले राजेशको हातको फलामे हतकडी त खोलिदियो, तर समाज र प्रविधिले लगाइदिएको त्यो अदृश्य आभासी हतकडी कसले खोल्ने ? अदालतले उनलाई न्याय त दियो, तर भीडको डिजिटल उन्मादले उनको सामाजिक जीवनलाई जिउँदै मारिसकेको थियो ।
इटहरी, सुनसरी


