गरुराहा
स्रष्टा परिचय:
वि.सं. २०३० असारमा जहडा, उदयपुरमा माता भगवती र पिता विष्णुप्रसाद आचार्यका सुपुत्रका रूपमा जन्मिएका नन्दलाल आचार्य नेपाली साहित्यका एक स्थापित स्रष्टा हुन् । हाल बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुरमा बसोबास गर्दै आएका उनले सानैदेखि नेपाली साहित्य लेखनमा रुचि राख्दै वि.सं. २०५३/५४ देखि विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू प्रकाशन गर्दै आएका छन् ।
साहित्यमा निरन्तर सक्रिय आचार्य नेपाली भाषाका प्रायः सबै विधामा कलम चलाउँछन् । उनका नाटक, समालोचना, निबन्ध, उपन्यास, लघुकथा र कथा विधाका कृतिहरू प्रकाशित छन् । उनले नेपाली साहित्यमा पुर्याएको योगदानका लागि एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।
हाल उनी विभिन्न साहित्यिक पत्रपत्रिका तथा संघ-संस्थामा आबद्ध रही नेपाली साहित्यको सेवामा समर्पित छन् । उनका महत्वपूर्ण कृतिमध्ये “गरुराहा” उपन्यास विशेष रूपमा चर्चित छ, जसलाई जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरले वि.सं. २०७६ मा प्रकाशित गरेको थियो । सो उपन्यासलाई “हाम्रो कथाघर डट कम” अनलाइन पत्रिकाले डिजिटल रूपमा पुनः प्रकाशन गरेको छ ।
अध्याय: ११
ज्योति! मेरो मनले परमप्रिय मित्रको बहिर्गमनको घटना सुनेर लागेको दुःख बिसाउने ठाउँको खोजी गरिरहेको थियो । धेरै थरी गुमाएर पाएको फलप्रति कि अति मोह हुन्छ कि अति घृणा उब्जन्छ ।
मैले पाएको भनेकै मालती थिइन् । उनीप्रति मेरो मनमा अतिशय मोह जन्मन थाल्यो । त्यसअघि सबैलाई रिझाएर मालती पाऊँ भन्ने थियो भने, प्रकाशको त्यागसँगै उसको सपना साकार पार्नका लागि मालती केवल मेरै हुनुपर्छ भन्ने मन भयो ।
काकाले फोन गरेर घर फर्किन भन्नुभयो । केटी लिएर नआए अरू उपद्रो सहनुपर्ने आभास दिनुभयो । नफर्के ढेडुझुलावालाले पूरै चमारबस्ती उजाड पार्ने धम्की पाएको कुरा सुनेर म अझ भयभीत भएँ ।
मालतीसँग सारा कुरा भए । उनले राताराता आँखा पारिन् र भनिन्, “तपाईं यिनीहरूको विश्वास नगर्नुस् । मेरो बुबा कत्तिसम्म गिरेका मान्छे हुन् भन्ने मलाई थाहा छ । हामीलाई फकाएर बोलाउँछन् र छुटाउँछन् । नछुटे षड्यन्त्रपूर्ण तवरले जीवनबाटै छुटाउँछन् । म तपाईंलाई गुमाउन कदापि चाहन्नँ ।”
“तिमी तनाव नलेऊ न । अढाई महिना एकै ठाउँमा बसेका मान्छेलाई कसैले छुटाउँदैमा छुटिने कुरा आउँदैन ।” मैले सम्झाउन खोजेँ ।
उनले तत्कालै भनिन्, “कुरा छाड्नुस् । मेरा बुबा पैसा र रक्सीको पछि लागेपछि जे पनि गर्छन् । रक्सीले मात्दै गएपछि लठैतहरूलाई जस्तोसुकै आदेश पनि दिन सक्छन् । पैसाको बलमा जसलाई पनि किन्न सक्छन् । फेरि मदन भण्डारीजस्ता शीर्ष राजनीतिज्ञको जीवन स्वाहा हुँदा त अपराधी पत्ता नलगाउने सरकारले हामी सर्वसाधारणलाई कुनाकाप्चामा बेपत्ता पार्दा कसले के बोल्ने र गर्ने ?”
“भनेजस्तो सजिलो छैन, मालती!” मैले उनको कुरा अस्वीकार गरेको आभास दिएँ ।
“तपाईं कहाँ हुनुहुन्छ ? हाम्रो गाउँमा अन्तरजातीय विवाह गरेर केटी ल्याए, गाउँलेको मनमौजी भोज खुवाउनुपर्छ । यहाँका कुनै नारी आफूखुसी विवाह गरेर अर्को गाउँ जान सख्त मनाही छ । उल्लङ्घन गर्ने धेरै जनाको जीवन बलिदानी भएको छ । त्यसको विवरण मलाई कण्ठै छ ।”
उनको अगाडि मैले हार खाएँ र विवाद नगरी चुपचाप रहँदो भएँ ।
करिब हप्तादिनपछि काका र भिनाजु हामीलाई खोज्दै विराटनगर आउनुभयो । नानाथरीका कुरा गर्नुभयो । हामीले गरुराहाको भूमि टेक्नासाथ त्यस भूमिमा शान्ति–सुव्यवस्था फर्कने कुरा गर्नुभयो ।
मालती नमान्दी भइन् । म मात्र फर्केँ भने वातावरण अझ भयावह हुने देखियो । म निक्कै बेर किंकर्तव्यविमूढ भइरहेँ ।
भिनाजुले उपाय सुल्झाउँदै भन्नुभयो, “झलहीमे अपन वकिल साहव रहैछे । बातचित करके समस्या सुल्झा लेबै ।”
उहाँको वकिल भेटी कानुनी उपचारको बाटो रोज्नुपर्ने सल्लाह राम्रै लाग्यो ।
“अदालत विआदर्ता प्रमाणपत्र देतै । चल, अदालतमे मुद्दा देबै ।” काकाले अदालतबाट विवाह–दर्ता प्रमाणपत्र पाउने तरिका बताएर झन् कसिलो कुरा गर्नुभयो ।
सूर्य अस्ताचलतिर लम्कँदै थियो । हामी राजविराज–झलहीका लागि हिँड्यौँ । झमक्क साँझ पर्दा झलही पुग्यौँ । हामी दुई वरै बस्यौँ । बुबा र भिनाजु मात्र वकिलकहाँ जानुभयो ।
वकिलको सल्लाहअनुसार हाम्रो विवाह दर्ता नहुने भयो, किनभने हाम्रो उमेर पुगेको रहेनछ । हामी न यताका न उताका भयौँ । के गर्नु र कसो गर्नु भयो ।
रात झलहीमै बित्यो । हामी लुकीछिपी हिँड्नुपर्थ्यो । नत्र ढेडुझुलावालाको पञ्जामा फँस्न सकिन्थ्यो । तसर्थ हामीलाई दुई दिनभित्रमा घर आइपुग्नु भनेर बिहानै भिनाजु र काका गाडीमा फर्कनुभयो । हामी भने रुपनीस्थित दिदीको घरसम्म पुग्ने इरादाले छलिएर खेतैखेत पैदल हिँड्यौँ ।
दिउँसो १ बजेतिर दिदीको हातको खाना खाइयो । दिदीसँग सामान्य भलाकुसारी भए । मैले भोलिपल्ट साँझसम्ममा गरुराहा पुग्ने योजना सुनाएँ । मालती भने बोल्दै बोलिनन् । उनी हतासमा भएको कुरा अनुहारले आभास दिइरहेको थियो ।
तीन बजेतिर शौचकर्म गर्न जान्छु भनेर मालती पश्चिमतिरको बगैँचातिर गइन् । निक्कै बेर नआएपछि कता गइन् भन्दै म खोज्न निस्केँ । पर एउटा वृद्धको ठूलो आवाज सुनियो ।
म त्यतै दौडिएँ । मेरा आँखाले नपत्याउने दृश्य देखेँ ।
वृद्ध त्यस्तै ७५ वर्ष कटेका हुँदा हुन् । उनको हातमा डोरीको एक छेउ थियो । डोरीको अर्को छेउ मालतीको हातमा थियो । वृद्ध असिनपसिन थिए । मालती पनि केस फुकेकी, अनुहार सुकेकी, कमलपित्ते रोगले पक्रेकी जस्ती थिइन् । दुवै डोरी तानातान गरिरहेका थिए । दुवैमध्ये कसैले पनि डोरी आफ्नो पार्न सकेका थिएनन् । घरि मालती चार हात जति वृद्धलाई घिसार्थिन् । घरि वृद्ध मालतीलाई घिसार्थे । म पुग्नासाथ मालती ठिङ्ग उभिइन्, एक्कासि डोरी छाडिदिइन् । वृद्धको हातमा पूरै डोरी आयो ।
एक्कासि मलाई देखेर वृद्धले केटी मर्न नदिने कुरा जाहेर गर्दै भने, “कहिके मतलब ई पहडनी छौंडी के छे । कहिके मतलब मरैल चाहै छे । हमर आँपके गाछीमे कहिके मतलब मरैला नहि देबै ।”
मैले सम्झाएर वृद्धलाई फर्काएँ र मालतीतिर फर्कें ।
उनको बोली सुनियो, “इन्डिया भागौँ भन्दा पनि नमान्ने अनि मर्नलाई घर जाने ?”
म चुपचाप तमासा हेर्दो थिएँ । उनी भन्दै गइन्, “त्यहाँ लात र बातको पीडाले रन्थनिएर मर्नुभन्दा, यहाँ आनन्दले मर्नु जाति भनेको! यो कहाँको बुढोले मर्नै दिएन ।”
“सङ्कट आयो भन्दैमा लत्तो नछाड । खुरुक्क घर हिँड । कसैले केही गर्दैनन् ।”
“अँ, गर्दैनन् । तपाईं लाटै हुनुहुन्छ । तपाईं जानुस् । म यतै कतै लुकेर जीवन गुजारा गर्छु ।”
“ए, तिमीबिना म एक्लै गएँ भने घर त जलाएकै छन् । केटी बेचेर आयो भनेर मलाई समेत सबैका सामु जलाउँछन् ।”
मालतीले जिद्दी गर्दै भनिन्, “कुनै पनि हालतमा म मुख देखाउन जान्नँ । मलाई भोलि आउने सबै कुरा आजै कण्ठ छ ।”
निक्कै बेरको गलफतीपश्चात् मालतीले पाइला चालिन् । हरेक पाइलामा आँसुका थोपा खसालिन् । जति सम्झाए पनि पत्थरको मन हुँदैन भन्थिन् । अब बिछोडका घडी नजिकिएका छन् भन्दी भइन् ।
एघार बजे गरुराहा पुगियो । आमा खुसी हुनुभयो, बुबा केही बोल्नुभएन । दुलही भित्र्याउने कर्मकाण्ड पूरा गरियो ।
×××
हुने कुरो नभई नछाड्दो रहेछ । छुटिन् । मालती मेरो बाहुपासबाट छुटिन् । हुन त आँसु खसाउँदै मतिर आउने भरमग्दुर प्रयत्न गरिन्, म नै कमजोर बनेर मुकाबिलामा उत्रन सकिनँ । घरको बाघ, वनको स्याल नै साबित भएँ ।
मलाई छुन तेर्सिएका हातहरूलाई लत्र्याउने काम उनकै फुपूले गरिन् । एकपटक भने जसोतसो सबैलाई छक्याउन सफल भइन् र मालती मेरो समीप आइन् ।
उपस्थित सबै मुखामुख गर्न थाले । मालतीको गर्जन सबैको कर्णविवरमा पुग्यो– “ए बुबा! तपाईं कस्तो बुबा हो ? भएभरका लठुवाहरूलाई रक्सी र मासुले मताएर दिनदहाडै मेरो इज्जत लुट्न लगाउनुहुन्छ ? मैले मेरो सर्वस्व राजदेवलाई सुम्पिसकेको सन्दर्भमा त्यो अब फिर्ता हुँदैन भन्ने थाहा छैन र ? म कुनै सुँगुरसँग जोडी बाँधिन गएकी हैन । एउटा प्रिय मान्छेलाई हृदयमा बसाएर उसैका साथमा छु । हुर्केकी छोरीले गरेको निर्णय स्वीकार्नुको सट्टा बदर गर्ने यो काइदा बिल्कुलै उचित छैन । मेरा लुगा च्यातचुत भइसके । बाँकी इज्जत पनि डुब्न लागिसक्यो । छोरी हो भन्ने ठान्नुहुन्छ भने कृपया यहाँबाट सबैजना फर्कनुस् । र, मेरो संसारमा रमाउने मौका दिनुस् । हैन, छोरी नै मान्नुहुन्न भने जबरजस्ती गर्ने–गराउने तपाईंको हक नै छैन भन्ने बुझ्नुस् ?”
एकक्षण सन्नाटा छाउँछ । कसैको केही बोल्ने आँट हुँदैन । म केवल दर्शक भएर हेरिरहन्छु । फुपू डेरा आँखाले मालतीलाई नियाल्छिन् । उनका बाबु जमिन कोर्न थाल्छन् । उपस्थित गाउँलेहरू अलमलमा पर्छन् ।
उनी भन्दै जान्छिन्, “हैन, बुबा! मलाई छोरी नै मान्नुहुन्छ भने यो जगहँसाइ किन ? जे हुनु भइगयो, त्यो अब सपारेर पनि सप्रने छैन । सन्तानको इच्छा बुझेर सम्बोधन गरी सन्तान सुख अनुभूत नगर्ने मान्छे आमाबुबा हुनै सक्तैनन् । जन्माएर मात्र कोही आमाबुबा बन्न सक्तैन । कसैले उचाल्दैमा उचालिएर कोही आफ्नी छोरीको अस्मिता लिलाममा राख्तैन । जहिले मलाई छोरी मान्नु र ठान्नुहुन्छ, तहिले माइती भनेर ढेडुझुला फर्किउँला । नत्र मेरो टाउकामा यस्तै लेखेको रहेछ भनेर चित्त बुझाउँला । फर्कनुस्, बुबा! फर्कनुस् । विचलित मनोदशालाई शान्त बनाउनुस् ।”
उनी मेरा हात समाउँछिन् । आफूतिर तान्छिन् । र, सबैका सामु उद्घोष गर्छिन्– “राजदेव! भन, म तिम्री पत्नी बन्न लायक छु कि छैन ? सबैका सामु भनिदेऊ– तिमीले विराटनगरको भगवती मन्दिरमा मेरो सिउँदो रङ्गाएका हौ कि हैनौ ? देवीलाई साक्षी राखी सँगै बाँच्ने, सँगै मर्ने कसम खाएका हौ कि हैनौ ? साँचो कुरा यस समाजलाई बताइदेऊ ।”
म त्यहाँ उपस्थित सबैसामु खडा भएर वचनैपिच्छे सकारात्मक जवाफस्वरूप मुन्टो हल्लाइदिन्छु । गरुराहाली गाउँलेहरू थपडी बजाएर समर्थन दिन्छन् । मालतीका बाबु र मतियाराहरू स्तब्ध हुन्छन् ।
“उसो भए, बुबा! कृपया गाउँलेहरूका वस्तुभाउ र अन्य सामानहरू फिर्ता गरिदिनुस् । मेरै कारणले दुनियाँले दुःख पाएको मलाई कदापि स्वीकार्य छैन । गाउँलेहरूलाई दुःख पुग्न गएकोमा क्षमा माग्नुस् । र, मलाई पनि यस गाउँमा नबस्न आदेश दिनुहुन्छ भने कसैले नदेख्ने ठाउँमा गएर बनिबुतो गरी जीविकोपार्जन गर्न तयार छु ।” मालती बोल्न बिसाउँछिन् ।
बुबा अघि सर्छन् । मालतीको नजिक आउँछन् । मालती करुण बोली निकाल्छिन्– “अझ यत्ति गर्दा पनि मेरो इज्जत जोगिएन भन्नुहुन्छ भने तपाईंको खुसीका लागि म जे पनि गर्न तयार छु । सिर्फ राजदेवलाई त्याग गर्न नभन्नुहोला । म तपाईंको त्याग र स्नेहलाई जीवनभर सजाएर राख्ने छु ।”
“ठीक छ, छोरी! तिम्रो खुसी नै मेरो खुसी हुने छ । अहिले भने घर हिँड । भोलि गाउँमा भेला बस्ने छ । त्यहीँ सबैलाई सुनाउनू । राजदेवले पनि उपस्थित भएर विश्वासिलो कुरा गर्नू ।” कपटको झलक देखिए पनि बुबाले मीठो स्वर निकाल्दा फुपू छक्क परिन् । मतियारहरूले अर्कातिर मुन्टो बटारे ।
त्यही मौकामा मालतीले नम्र भाव व्यक्त गरिन्– “म तपाईंकी छोरी हुँ । आफ्ना आमाबाबुलाई खुसी पार्नु मेरो कर्तव्य हो । सारा गाउँलेलाई रिझाएर मात्र सम्बन्ध दिगो हुन्छ भन्ने ठानेकी छैन । हाम्रो परिवारको आन्तरिक मामलामा गाउँलेहरूको सहयोगको अपेक्षा राख्नु नै एक प्रकारको भूल हो, बुबा । समाजलाई डाक्न छाडिदिनुस् । छोरीको वैवाहिक जीवनको फैसला समाजले गर्नु जरुरी छैन । समाज त आपत्को साथी हो । अहिले हामी आपत्मा छैनौँ । समाजको अगुवाइ आपत् निवारणका लागि हो । नदुखेको कपाल डोरी लगाएर दुखाउनु उचित छैन ।”
कोही केही बोलेन । आफ्ना तर्कले काम गरेको सम्झी मालती नै अघि सरिन्– “हामी समाजकै एक सदस्य भएका नाताले समाजकै अगुवाइलाई नस्वीकारी हुँदैन भने पनि ठीकै छ । भेला बसाउनुस्, बुबा! म राजदेवकै साथमा उपस्थित हुने छु । मैले भन्नुपर्ने कुरा पनि भन्छु । राजदेव पनि विश्वासका कुरा सार्वजनिक गर्न कन्जुस्याइँ गर्ने छैनन् । बरु गाउँलेहरूका धनमाल फिर्ता गरिदिनुस् । सोझा गाउँलेका मुहारमा खुसी नाच्न दिनुस् ।”
“जे होला, त्यहीँ होला । अहिले भने घर हिँड्ने काम गर् । भेलाले जे निर्णय गर्छ, त्यही गर्न म तयार भएपछि तैँले किन नाटक रच्नुपर्यो ? तेरो लागि मेरो सर्वस्व लुटिसक्यो । अरू लुटाउनु नपरोस् ।” एक्कासि बुबा आक्रोशित भए ।
मालतीले डेग बढाइनन् । बुबाको सङ्केतले फुपू अघि बढिन् । मालतीको चुल्ठो समातिन् र तान्न थालिन् । मालतीका अघि उनी टिक्न सकिनन् । लछारपछार चल्यो । फुपू भैँसीको गोबरमा चिप्लिन् र उत्तानो परिन् । हाँसोको फोहोरा छुट्यो । बुबा भने अझ क्रोधित भए । स्थिति तनावग्रस्त भयो ।
बुबाको इशाराले तुरुन्तै तीन जना केटा अघि आए र मालतीलाई पक्रेर तान्न थाले । त्यस संयुक्त बलसँग मालती जुध्न सकिनन् । जमिनमा पछारिइन् । दुई जनाले खुट्टा समाए । फुपूले एउटा हात पक्रिन् । अर्को पुरुषले अर्को हात अठ्यायो । अन्ततः झ्याइँकुटी पार्दै गाउँबाट निकाले ।
त्यसैबीचमा मालतीले रुँदै भनिन्– “बुबा! बुबा! यसो नगर्नुस् । मलाई जिउँदै लाससरह व्यवहार नगर्नुस् । म अझै स्वास फेर्दै छु । म मरेकै छैन, बुबा! मेरो कोमल अङ्ग अरूलाई छुने मौका नदिनुस् । पराईको विश्वास नगर्नुस्, बुबा! मलाई जिउँदै नमार्नुस्! राजदेवसँगै घरबार गर्न दिनुस्, बुबा!”
मालतीको अनुनय–विनय जङ्गलको रुवाइ भयो । उनका कपडा च्यातचुत भएर नदेखिनुपर्ने अङ्गहरू देखिन थाले । रक्सीले मातेका ठिटाहरू मुख मिठ्याउन थाले । यसोउसो गर्दै वक्षस्थल र गुप्ताङ्गमा हात पुर्याउन थाले ।
जाँड र रक्सीले मातेका बाबुलाई पनि त्यसको फिक्री थिएन । नारी भएर पनि दाजुको आज्ञापालक अन्धी फुपूलाई कुनै असर गरेन । आफूलाई सहयोग गर्ने मतियाराहरूको कृत्यलाई बुबाले अन्यथा लिन उचित ठानेनन् । देखेर पनि नदेखेजस्तो गर्दा भए । क्रन्दन सुनेर पनि नसुन्दा भए । परिस्थिति उल्टियो । मालती आफ्नै जन्मघर पुर्याइन् ।
भोलिपल्ट बिहानै पुलिसहरू आँगनमा देखा परे । “राजदेवको घर यही हो ?” भनी सोधे । म आँखा मिच्दै बाहिरिएँ । गाउँले भेला बस्नुपूर्व सईसाहेबले राजदेवलाई अन्याय परेको कुरा बुझ्न चौकीमै बोलाउनुभएको छ भन्ने कुरा सुनाए ।
जुँगे हवल्दार अघि सर्यो र खुलस्त कुरा राख्न थाल्यो– “गाउँलेले अन्याय सहनुपरेको, राजदेवले दुःख पाएको, मालतीको जीवनमा तुवाँलो देखापरेको सबै कुरा प्रहरीलाई थाहा छ । वास्तविकता नबुझी प्रहरीले कदम चाल्नु हुँदैन । तसर्थ हामी राजदेवलाई लिन आएका हौँ, पक्राउ गर्न होइन । सोधपुछ हुन्छ र फर्कन सकिन्छ ।”
जुँगेका कुरामा विश्वास गरेर म अघि लागेँ । बाटामा कुनै अप्रिय कुरा भएनन् । मैले भए–गरेका सारा कुरा बताउँदै गएँ । करिब एक घण्टाको दौडानमा मैले सारा कुरा सुनाइसकेको थिएँ । केही समयमै कडरबोना प्रहरी चौकी पनि आइपुग्यो ।
म सईको कार्यकक्षमा पुर्याइएँ । बस्न पाएकै थिएँ, सई जङ्गिएको सुनेँ– “के–के ताण्डव मच्चाइँदै छ, जङ्गली ठिटा ? गाउँघरतिर किन चर्चा कमाएर बसेको ? क्रान्ति गर्ने मान्छेले बिहेको नाटक रच्दैनन् त! क्रान्तिको नाममा केटी बेच्ने दलालहरू हौ! कति चाँडो धन सोहोर्न खोज्छौ ? हैन, तिमीहरूले गर्न चाहिँ के खोजेको नेपालमा ?”
म छक्क परेँ । चारैतिर हेरेँ । त्यहाँ अरू कोही थिएन । भर्खरै बोलिएका कुरा आफैँलाई भनिएका रहेछन् भन्ने यकिन भयो ।
“राजदेव भनेको तँ नै हैनस् ?” सईको अर्को प्रश्नको जवाफ मैले मुन्टो हल्लाएरै दिएँ ।
“गाउँलेहरूको अमनचयन अपहरण गरेर हामीलाई किन दुःख दिएको त ?” उसले अर्को प्रश्न राख्यो ।
“म धेरै कुरा बुझ्दिनँ, सर । मालतीले बिहे गरौँ भनिन् । म तयार भएँ । केटाकेटी राजीखुसीले बिहे गर्न सकिने व्यवस्थाबारे सुनेको थिएँ । त्यसैअनुरूप हामीले बिहे गरेको पनि अढाई महिना बितिसक्यो । अहिले आएर छुटाउने परिपञ्च रचिँदै छ, सर ।” मैले स्पष्टोक्ति दिएँ ।
“ए, कानुनको आडमा सामाजिक रीतिथिति ध्वस्त पार्ने आधुनिक क्रान्तिकारी तँ नै होइनस् ? तँलाई समाजको डर छैन ? जुन समाजले तँलाई पहिचान दियो, संस्कार र विचार दियो, त्यसैलाई लात मार्न सुहाउँदैन । हिजो जे गरिस्, गरिस् । अब समाजको अगाडि घुँडा टेक् । गरेका कर्तुतका लागि जम्ला हात गर् । कतै भद्रभलाद्मीहरूले दया देखाइहाले तोकिएको दण्ड तिर् र आफूलाई मनुष्य बना ।”
सईले भनेको दर्शनको आशय राम्ररी केलाएँ । मलाई पूरै गलत साबित गरिँदै थियो । आफ्नो चाहना मारेर र मालतीको विश्वास कुल्चेर हिँड्ने मन बिल्कुलै भएन । म त्यस कुरालाई मान्न तयार भइनँ ।
त्यस दिन दुई जना प्रहरीले मलाई नराम्ररी भकुरे । भकुन्डो खेलमा लात्तले भकुन्डो खेलाएझैँ नराम्ररी खेलाए । मेरो अनुरोध र आक्रोश दुवै असार–साउनका भ्यागुता कराएसरह व्यर्थ भए । मानवीयता रछ्यानमा मिल्काइयो । मासु र रक्सीको मातमा निकै बेर मेरो हुर्मत लिइयो ।
भकुन्डो हुनबाट विश्राम पाएपछि तुरुन्तै सईकहाँ ल्याइएँ ।
“अनि रामधुलाई पुग्यो कि अरू चाहियो, जङ्गली ठिटा!” सईले मुस्कुराउँदै भन्यो ।
“सर! कति अन्याय गर्नुहुन्छ । म फुटबल होइन नि! ३/४ जना रक्स्याहाले पास गरीगरी खेले । थाकेपछि यहाँ ल्याएर फ्याकिदिए । जनताको तिरोले पालित र लालित तपाईंहरू हामीजस्ता सोझासीधाका करङ सोझ्याउन मात्र जान्नुहुन्छ कि न्याय दिलाउन पनि सक्नुहुन्छ ? कसैको प्रलोभनमा फँसेर मजस्तो निर्दोषलाई पैतालामुनि कुल्चेर समाजमा शान्ति स्थापना गर्दै हुनुहुन्छ कि अशान्तिलाई मलजल गर्दै हुनुहुन्छ ? उत्तर आफूभित्र खोज्नुहोला ।” मैले आक्रोशपूर्ण विरक्ति पोखेँ ।
“एई ठिटा! चुपचाप मुखमा ताला लगाएर बस् । नत्र तेरो बङ्गरा खुस्केलान् । कानका जाली फुट्लान् । तिमीहरूजस्तै माओवादी जङ्गलीहरूकै कारण हामी असुरक्षित छौँ । आखिर को कतिखेर मर्छ, ठेगान छैन ।” सई कड्कियो ।
“सर! मैले कुनै दलको झन्डा बोकेर घोषणापत्र बाँड्दै हिँडेको छैन । म सामान्य तवरले आफ्नो जीवन चलाउन खोज्दै छु । मैले कसैलाई दुःख दिने नियतले केही काम गरेको छैन । मलाई अन्यायमा नपार्नुस् । मलाई न्याय दिलाउनुस्, सर!” मैले अनुरोधको भाका निकालेँ ।
सई अझ जोडले डुक्रियो, “हेर्, केटा! हामीले खाएका छौँ । खाएपछि काम गर्नै पर्यो । काम नगरी खानु पनि उचित होइन । हामी काम पनि गर्छौँ र दाम पनि लिन्छौँ । आज पो बाँचेका छौँ र खान्छौँ । मरेपछि डुमै राजा । मालतीको बाबुको खसी र रक्सीको गिलेन रित्तिसकेको छैन । रित्तिए फेरि आउँछ । पकेट अझै गरम छ । सक्छस् तँ पनि कोसिस गर् । सक्तैनस्, यस जाँतो घुमाइमा मज्जाले पिँधिई र आफ्नो सर्वस्व गुमा ।”
मैले जति बुझाउन खोजे पनि सईको पत्थर मन पग्लेन । नखाएको विष लाग्ने अवस्था आयो । सारा संसार नै मेरा विरुद्ध उभिएको अनुभूत गर्न पुगेँ ।
“साहब! साहब! हमरा बेटाके छोड़ि दिअऽ । ओकरा माथके बोझ हमरा कपार पर राखि दिअऽ । ओकरा इन्डिया पठा देवै हम । नेपालमे रहैला नइँ देबै ।”
छोराको साटो सजाय आफूलाई दिन आग्रह गरिएको त्यो आवाज ठूलो थियो । आत्तिएको थियो । परिचितजस्तो थियो । कसको थियो, छुट्याउन गाह्रो थियो ।
त्यत्तिकैमा बुबा देखापर्नुभयो । मलाई देखेर भक्कानिनुभयो । मेरो अनुहार, हातखुट्टा सुन्निएका थिए । भोकतिर्खा, गालीगलौज र शारीरिक–मानसिक सजायले म बोल्न र उभिन पनि नसक्ने अवस्थामा पुगेको थिएँ ।
मेरो टाउकोमा रहेको सारा दोषको भारी आफूले बोकेर मलाई छुटकारा दिलाउन चाहेको मनसाय राखेर मेरा पिताजीले फेरि विन्ती बिसाउनुभयो– “हम कहै छी । हमर बौवाके छोड़ि दिअऽ । ई दोसर बेर गलती नई करतै । एकर बदलामे हमरा कैद करू, हमरा जहलमे दिअऽ । गलती एकर नइँ, हमर छै । हमरा बात पर ध्यान दिअऽ ।”
उहाँको कुराले सईको मन छुँदै छोएन । उल्टै प्रहरीलाई इसारा गरेर उहाँलाई समेत हिरासतमा पसायो ।
पिताजीलाई पनि थुनामा राखेको खबरले आत्तिँदै काका र भिनाजु आउनुभयो र सईसँग विन्तीभाउ बिसाउनुभयो ।
उहाँहरूका कुराले सई एकछिन घोरियो र फलाक्न थाल्यो– “बुद्धि छोटो भएका कारण तिमीहरू दलितका दलित नै रहने भयौ । यहाँ आएर नानाभाँतीका कुरा गरे फँस्छौ । यो प्रहरी कार्यालय हो । कुनै नेताको विश्राम कक्ष होइन । यहाँ विन्तीभाउको सुनुवाइ हुँदैन । राजदेव अपराधी हो । उसको वकालत गरेर मतियार बन्दा लक्ष्मी बुढो पनि खोरमा पर्यो । अझ तिमीहरू पनि बकबक गर्छौ भने मेरो भन्नु केही छैन । भित्र जग्गा खाली नै छ । सज्जन हौ भने यहाँबाट गइहाल । नदुखेको कपाल किन दुखाउँछौ ?”
सहानुभूति मिश्रित वाणी सुनेर उहाँहरूको मनमा आश जागेछ । हामी बाबुछोराको मुक्तिका लागि पुनः अनुरोध गर्नासाथ उहाँहरू समेत हिरासतमा धकेलिनुभयो । कुराकानी त के गर्नु, मुखामुख गरेर चिसो रात गुजारियो । अपराधी एक, कैदी अनेक भइयो ।
खानाको त कुरै छाडौँ, पानी पिउनसमेत पाइएन । मच्छडको बखान त गर्नै परेन । हामीलाई हेर्न, भेट्न कोही आएन । बाँचेँ कि मर्योँ, खोजखबर कतैबाट गरिएन । कसैले गरे उही थुनिने अवस्था थियो । जङ्गबहादुरको बाउको शासन थियो । त्यसमा पैसा खर्च नगर्ने चोर र खर्च गर्ने साधु कहलिन्थ्यो ।
सूर्योदयसँगै जुँगे हवल्दार ठिङ्ग उभियो । कागजमा के–के लेखेको थियो, कुन्नि, न पढ्न दियो न पढेर सुनायो । मात्र ल्याप्चे लगाउन लगायो । पिताजी, काका र भिनाजुको ल्याप्चे पाउनासाथ उहाँहरूलाई छाडिदियो ।
अरू कचकच गरे पाँच दिनसम्म भोकै र तिर्खै राख्ने चेतावनी दियो । निरीह प्राणीहरू एक शब्द पनि नबोली गाउँतिर लाग्नुभयो । म एक्लाको एक्लै परेँ ।
म भोकले आलसतालस थिएँ । एउटा पुड्के प्रहरी आयो । फूलबारी गोड्न र पानी पटाउन अह्रायो । मैले पनि खाना खान पाए सबै काम गर्न सक्ने बताएँ । उसले भने उल्टै काम सके मात्र खाना खान मिल्ने बतायो । काम नगरे हिरासतमै सुकेर मर्नुपर्ने कुरा फलाक्न थाल्यो ।
सकिनसकी काम सिद्ध्याएँ । एक थाल माम्रीसहितको भात र दाल पाएँ । तीन छाक नखाएको मान्छे अमृत मानेर खाएँ । साह्रै आनन्द आयो । अब त बाँचिन्छ कि क्या हो भन्ने लाग्यो । अरू भात थप्न आग्रह गरेँ । थप पाइएन । बरु अलिकति दाल पाइयो । त्यही पिएँ र आएर चिसो सिमेन्टमा ढल्किएँ ।
∎∎∎∎∎
क्रमशः


